[स्मरण] राजाका कुरा बुझ्नै मुस्किल
राजनीतिक दलहरूका उच्चपदस्थ व्यक्तिसँग मेरो राम्रो सम्बन्ध रहेकाले ‘दरबारका धेरै कुरा नेताहरूसम्म पुर्याउने व्यक्ति यही हो’ भन्ने ढंगले पनि राजा वीरेन्द्रका अगाडि मविरुद्ध धेरै कुराहरू पुर्याइएको रहेछ ।
वीर अस्पतालको सरकारी डाक्टर भएर दरबारका साथै राजनीतिक क्षेत्र र सामाजिक क्षेत्रका विभिन्न व्यक्तिको स्वास्थ्य उपचारमा म निरन्तर सक्रिय भएँ । राजनीतिक दल र सामाजिक सेवासम्बद्ध व्यक्तिहरूको कुरा गर्दा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशमशेर, मनमोहन अधिकारी, कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण समजस्ता समाजमा आफ्नो नाम र पौरखले चिनिएका धेरै व्यक्तिको स्वास्थ्य उपचारमा म संलग्न रहेँ ।
राजनीतिक दलका व्यक्तिहरूको उपचारमा संलग्न हुने क्रममा कहिलेकाहीँ उनीहरूका बैठक–कक्ष हुँदै बेडरुमसम्म पनि पुगेँ होला । रोगसँग जुझिरहेको व्यक्ति र डाक्टरका बीचमा जे–जस्तो सम्बन्ध हुन्छ, उनीहरूसँग पनि मेरो त्यस्तै सम्बन्ध रह्यो । त्यसै कुरालाई लिएर मेरा विरुद्ध दरबारमा अनेक अफवाह पनि फैलाइयो । राजनीतिक दलहरूका उच्चपदस्थ व्यक्तिसँग मेरो राम्रो सम्बन्ध रहेकाले ‘दरबारका धेरै कुरा नेताहरूसम्म पुर्याउने व्यक्ति यही हो’ भन्ने ढंगले पनि राजा वीरेन्द्रका अगाडि मविरुद्ध धेरै कुराहरू पुर्याइएको रहेछ ।
राजा वीरेन्द्र विसं ०४६ को पूर्वाद्र्धमा राजनीतिक दलहरूसँगको सघन संवादमा थिए । त्यस क्रममा राजामा कहिले नैराश्य र छटपटाहट देखिन्थ्यो भने कहिले पूर्ण सन्तुष्टिभावका साथ प्रस्तुत भएका देखिन्थे । वार्ता शान्तिपूर्वक र सकारात्मक मोडतर्फ अघि बढ्दा उनमा खुसीका रेखाहरू दौडिएको देखिन्थ्यो भने संवादहरू बीचमै टुट्दा र कुरा नमिल्दा दु:खी भएको पनि देखिन्थ्यो । राजाको निजी चिकित्सक भएकाले यस्ता कुरा मैले पनि नजिकै रहेर देख्ने र अनुभव गर्ने मौका पाएँ ।
यत्तिकैमा मुमाबडामहारानी रत्न चितवनको दियालो बंगलामा गएर बस्ने कुरा भयो । र, मलाई पनि उहाँको स्वास्थ्यसम्बन्धी रेखदेखका निम्ति त्यहीँ खटाइयो । दियालो बंगलामा उहाँको सामान्य चेकजाँच गरेपछि मेरो पनि के नै काम हुन्थ्यो र ! यसो मानिसहरू भेट्ने, त्यहाँका मानिसमा रहेको स्वास्थ्य स्थिति, रोग र रोकथामका लागि सल्लाह दिने काममै समय बितिरहेको थियो । कुराकानी गर्दै जाँदा चितवनको देवघाटमा एउटा स्वास्थ्य शिविर सञ्चालन गर्ने र जनचेतना जगाउने काम गर्नुपर्यो भन्ने मनमा लाग्यो ।
देवघाटका जनतामा साधु–समाज, मठाधीश र महन्तहरूप्रति बेग्लै किसिमको आस्था र विश्वास रहेछ । त्यो कुराको आभास पाएपछि त्यहाँका तीनै जना महन्तलाई एउटै मञ्चमा ल्याएर एउटा स्वास्थ्य शिविर उद्घाटन गर्ने र त्यहाँका जनतालाई स्वास्थ्यबारे जनचेतना जगाउने अभियान सुरु गर्नुपर्यो भनेर ती महन्तहरूलाई भेट्न गएँ । विशाल आश्रम निर्माण गरेर ती महन्तहरू एउटा उचाइमा पुगेका थिए । उनीहरूको नाम र प्रतिष्ठा उच्च थियो । मैले तीनै जनालाई एकै ठाउँमा ल्याएर शिविर सञ्चालन गर्ने आकांक्षा राखेँ । तर, एक जना महन्त गएको ठाउँमा अर्को जानै नमान्ने रहेछन् । धन–सम्पत्ति र घर–परिवार सबै त्यागेर हिँडेका र लोभ–मोह केही नभएका भनिएका त्यस्ता व्यक्तिमा पनि यस किसिमको अहम् देख्दा भने अचम्म लागेर आयो ।
यसैबीच प्रकाशचन्द्र लोहनीका पिता वेदप्रसाद लोहनीसँग देवघाटमै भेट भयो । उहाँ त्यतिबेला त्यहीँ बस्नुहुँदो रहेछ । उहाँलाई त्यहाँका जनताको स्वास्थ्य समस्याप्रति मैले चासो दिएको देख्दा उत्साह पनि मिलेको रहेछ । उहाँले नै महन्तहरूसँग ‘एकपटक म कुरा गर्छु’ भन्नुभयो ।
उहाँले महन्तहरूलाई मीठो भाषामा सम्झाउनुभएछ । ‘राजाका निजी चिकित्सकले भनेको कुरा मान्दा जायज नै होला’ भन्ने ढंगले सम्झाएपछि महन्तहरू सामूहिक रूपमा स्वास्थ्य शिविरमा सहभागी हुन सहमत भएछन् । त्यसपछि त शिविर बडो सानदार ढंगले सम्पन्न भयो । देवघाटमा साधु–सन्त मात्र होइन, त्यस क्षेत्रका तीनै जिल्लाका मानिसहरूले मृगेन्द्र सम्झना चिकित्सा गुठीका तर्फबाट प्रदान गरिएको नि:शुल्क स्वास्थ्य सेवा लिने मौका पाए ।
तर, मैले त्यस्तो काम गर्न थालेको कुरा दरबारका केही मानिसलाई चित्त बुझेको रहेनछ । ‘स्वास्थ्य शिविर सञ्चालन गर्ने बहानामा डाक्टरले राजनीति गर्न खोजेको’ भनेर दरबारमा कुरा पुर्याएछन् । त्यति मात्र होइन, बडामहारानीको स्वास्थ्य रेखदेखका निम्ति खटिएको व्यक्ति सर्वसाधारणको स्वास्थ्य चिन्ता गरेर किन सडकमा उत्रिनु पर्यो !’ भन्ने ढंगले आलोचना र कुराहरू दरबारमा पुर्याइएछ ।
मलाई पनि कता–कता डर लागेर आयो, कहीँ राजाले ‘ आफ्नो र दरबारको नाम बेचेर यस्तो काम गर्नुपर्ने के जरुरी थियो र ?’ भनेर प्रश्न गरे भने के जवाफ दिउँला । यसैबीच बडामहारानी रत्नलाई भेट्न दियालो बंगलामा राजा वीरेन्द्र आएका बेला मेरो भेट भयो । राजा वीरेन्द्रले मेरो कामलाई लिएर न कुनै गाली गरे, न त कुनै प्रशंसा नै गरे । हाँस्दै यत्ति भने, ‘डाक्टर ! यू आर ह्याबिङ ए नाइस टाइम ?’
उनको यस आशयभित्र के रहस्य थियो, आजसम्म मैले बुझ्न सकेको छैन ।
प्रस्तुति: ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...