रानी ऐश्वर्यको त्यो दबाब
गाउँलेको सहयोगमा उनीहरूकै लागि सञ्चालन भइरहेको गुठीलाई दरबारमा बुझाउन म राजी भइनँ ।
लामो समय राजपरिवारका सदस्यहरूको निजी चिकित्सक भएर काम गरेपछि जनसाधारणको स्वास्थ्य समस्याप्रति पनि केही योगदान पुर्याउन सकिन्छ कि भनेर घोत्लिन थालेँ । त्यतिबेला सर्वसाधारणबाट शुल्क उठाएर स्वास्थ्य सेवा सञ्चालन गर्न सम्भव थिएन । फेरि, व्यक्तिगत रूपमा भनेर आर्थिक सहयोग/चन्दा दिन पनि को नै तयार हुन्थ्यो र ! त्यसैले ६ फागुन ०३२ मा आफू बसिरहेको जमलस्थित निजी घर एकाएक मृगेन्द्र चिकित्सा गुठी (हृदयघातबाट छोरी सम्झनाको निधनपछि उनको नाम पनि थपियो) स्थापना गरी गुठीकै नाममा रजिस्ट्रेसन पास गरिदिएँ । र, त्यहीमार्फत काठमाडौँको सुन्दरीजल क्षेत्रका जनसाधारणलाई स्वास्थ्य सेवा र सहयोग पुर्याउन सुरु गरेँ ।
बुबा, श्रीमती र भाइ देवेन्द्रराज पाण्डेका अतिरिक्त प्रसिद्ध साहित्यकार बालकृष्ण सम, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद घिमिरे, समाजसेवी भीमबहादुर अधिकारीजस्ता व्यक्तित्वको साथ र सहयोग नपाएको भए त्यो गुठी स्थापना र सञ्चालन सम्भव हुने थिएन । उनीहरूको नि:स्वार्थ सेवाभावबाट म ज्यादै प्रभावित छु । अर्कोतर्फ, निजी सम्पत्ति बेचेर चिकित्सा सेवामा योगदान पुर्याउने चलन मुलुकमा खासै नफस्टाएकाले पनि होला, मानिसहरूले मलाई त्यतिबेला बहुलाएको समेत आरोप लगाए । डीपी भण्डारीले त लेख नै लेखे ‘बौलाहा काठमाडौँको बौलाहा डाक्टर’ शीर्षकमा ।
त्यतिबेला संस्थागत समाजसेवाका क्षेत्रमा राजपरिवारका सदस्यले मात्र प्रत्यक्ष हात हाल्ने चलन थियो । त्यसमा पनि अधिराजकुमार हिमालय शाहकी पत्नी अधिराजकुमारी प्रिन्सेप शाह समाजसेवाका काममा तल्लीन भएर लागेको देखिन्थ्यो ।
रेडक्रसलगायतका संस्थामार्फत उनी सक्रिय थिइन् । विसं ०३४ को अन्त्यतिरको कुरा हो । उनले मलाई एक दिन बेलुकाको खानामा बोलाइन् र एकाएक मेरो नाममा स्थापना भएको चिकित्सा गुठीका कामलाई लिएर असन्तुष्टि व्यक्त गरिन् ।
खाना खाइसकेपछि कुराकानीको सुरुआतमै उनले भनिन्, “यो मृगेन्द्र चिकित्सा गुठी राजपरिवारमा बुझाइदेऊ ।” म त ट्वाँ परेँ । एकाएक यस्तो कुरा कहाँबाट आयो ? मैले प्रतिक्रिया जनाउनै पाएको थिइनँ, उनैले फकाउने शैलीमा अगाडि भनिन्, “यो गुठी हाम्रो सञ्चालनमा आयो भने हामी यसलाई अनुसन्धान र औषधोपचारका लागि विश्वप्रसिद्ध अमेरिकाको मेयो क्लिनिकजस्तो बनाइदिन्छौँ ।”
गाउँलेको सहयोगमा उनीहरूकै लागि सञ्चालन भइरहेको गुठीलाई दरबारमा बुझाउन म राजी भइनँ । त्यसपछि एक–दुई दिनको फरकमा तीन दिनजस्तो मलाई बेलुकाको खानाका लागि डाकिन् र सोही कुरा दोहोर्याइरहिन् । आखिरी दिनमा त उनले धम्कीकै भाषा प्रयोग गरिन्, “तपाईंले मैले भनेको मान्नुभएन भने मभन्दा माथिबाट आदेश आउनेछ । त्यसपछि नमानेर सुख !”
म थप चकित परेँ । माथि भनेर उनले कसलाई संकेत गरेकी होलिन् ? केही दिन सोचमग्न पनि भएँ । यत्तिकैमा एक दिन तत्कालीन बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहले मलाई दरबारमा बोलाएर सोधिन्, “त्यो गुठी किन खोल्नुभयो ? यसमार्फत के गर्न खोज्नुभएको हो ?” मैले सबै कुरा बताएँ । त्यसपछि उनले भनिन्, “तपाईंले गुठी चलाउन त चलाउनूस् तर यो गुठीलाई सुन्दरीजल क्षेत्रबाट सारेर कतै लगेर चलाउनूस् ।”
मैले भनेँ, “हजुरहरूको कुरा काट्न सक्ने म को नै हुँ र ? तर, यो बाहुनको छोरा आफ्नो पैसा वाग्मती किनारमा बसेर दान गर्न चाहन्छ । मैले धेरै वर्ष सरकारहरूको काम गरेँ, अब मलाई यस ग्रामीण क्षेत्रका मानिसका निम्ति स्वास्थ्य सेवा प्रदान गर्ने मौका पाए हुन्थ्यो !” त्यसपछि रानी ऐश्वर्यले कुनै प्रतिक्रिया जनाइनन् । चुप रहिन् ।
दरबार सुन्दरीजल क्षेत्रका गाउँले जनतालाई गुठीमार्फत स्वास्थ्य सेवा पुर्याएकामा भन्दा सुन्दरीजल जेलमा थुनिएका राजनीतिक बन्दीलाई स्वास्थ्य सेवाका नाममा राजनीतिक सेवा पो गर्छ कि भनेर भयातुर रहेछ । त्यसैले त्यो गुठीलाई सुन्दरीजल क्षेत्र आसपासबाट हटाउने दरबारिया चाहना रानी ऐश्वर्यबाट व्यक्त भएको बुझ्न मलाई कठिन भएन ।
सौभाग्य नै भनौँ ! त्यसपछि भने दरबारबाट यस विषयमा खासै चासो व्यक्त भएन । सैनिक निगरानी भने भइरह्यो । ग्रामीण जनताको सेवा गर्न पनि हामीले छाडेनौँ । निरन्तर त्यो गुठी सुन्दरीजल क्षेत्रमा अद्यापि क्रियाशील छ । पछिल्लोपल्ट १९ फागुनमा शिक्षाविद् केदारभक्त माथेमालाई एक लाख रुपियाँ नगदसहित सम्मान प्रदान गरिरहँदा गुठीलाई दरबारमा बुझाउन प्रिन्सेप शाह र रानी ऐश्वर्यले दिएको दबाब भने झलझली सम्झना आइरह्यो ।
प्रस्तुति : ईश्वरी ज्ञवाली
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...