मोफसलको गोल
राजधानीमा फुटबल गतिविधि शून्य रहेका बेला मोफसलमा भने लाखौँ राशिका प्रतियोगिता गराउने होड
मोफसलतिर साना–ठूला प्रतियोगिता नहुँदा हुन् त नेपाली फुटबलको स्थिति अचेल कस्तो हुँदो हो, कल्पना पनि गर्न सकिन्न । सायद गतिविधिको हिसाबले नेपाली फुटबल शून्यमा झथ्र्यो होला । धन्न काठमाडौँबाहिर फुटबल हुन्छ र खेलाडीले खेल्ने काम पाएका छन् । नेपाली फुटबललाई जीवन्त राख्ने जस यी प्रतियोगितालाई दिनैपर्छ । त्यसैले पनि यी प्रतियोगिताका आयोजक नेपाली फुटबललाई आफूहरूले नै धानेको दाबी गर्नसमेत पछाडि पर्दैनन् ।
हुन पनि अहिले विशेषत: पूर्वका धेरै सहरमा प्रतियोगिता नियमित हुने गर्छन् । अचेल यसले महोत्सवकै रूप पनि लिने गरेको छ । दर्शकको पनि कमी हुन्न, आखिरमा फुटबल नेपालमा सर्वाधिक लोकप्रिय खेल हो । अब त पश्चिमतिर पनि यस्तै फुटबल संस्कृति विकास हुन थालेको छ । यता काठमाडौँतिर फुटबल हुन छाडेको भने धेरै भइसकेको छ । भूकम्पपछि त प्रतियोगिता हुन नै सकेका छैनन् । एकाध अन्तर्राष्ट्रिय प्रतियोगितालाई छाड्ने हो भने काठमाडौँमा फुटबलको गतिविधि शून्यजस्तै छ ।
लिग हुन नसकेको पनि धेरै भयो । भूकम्पअगाडि सुरु भएको राष्ट्रिय लिगले अन्त्यको अवसर त पायो तर त्यसपछि लिग पनि हुन सकेका छैनन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले धेरैपल्ट लिग गर्ने घोषणा गरेको छ । अब त हुने नै भयो भनेर दाबी पनि गरिए । तर, प्रत्येकपल्ट यी घोषणा कागजमै सीमित रहे । यस्तोमा राष्ट्रिय लिग मात्र होइन, निकै पुरानो इतिहास रहेको सहिद स्मारक लिगसमेत खालि पुराना दिन सम्झने बहाना भएको छ ।
कुनै समय थियो, काठमाडौँमा एकपछि अर्को प्रतियोगिता हुन्थे र आफूहरूलाई गाह्रो भयो भनेर क्लबहरू गुनासो गर्थे । अहिले त्यसको ठीक उल्टो स्थिति छ । त्यसैले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि यो तथ्य स्वीकार्न आनाकानी गरेका छैनन्, नेपाली फुटबलमा अहिले जे भइरहेको छ, त्यो सबै मोफसलकै प्रतियोगिताले मात्र सम्भव भएका हुन् । “मोफसलका प्रतियोगिताको महत्त्व हाम्रा लागि धेरै छ, यो तथ्य सत्य हो,” उनी भन्छन् ।
एसिया कप छनोटमा नेपालले खेल्ने भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कोजी ग्योटोकु आफैँ मोफसलका प्रतियोगिता हेर्न बाहिर निस्केका थिए । टिम निर्माणका लागि छनोट र नयाँ खेलाडीको खोजीका लागि उनीसामु पनि यिनै मोफसलका प्रतियोगितामा भर पर्नुबाहेक अरू कुनै विकल्प थिएन । तर, यी प्रतियोगिता जसरी सञ्चालन भइरहेका छन्, त्यसलाई लिएर उनी खुसी हुन भने सकेनन् । “यी प्रतियोगिता ठीक ढंगले हुन सकेका छैनन्,” कुराकानीमा उनले भनेका थिए ।
यस्तै अनुभव स्वयं एन्फा अध्यक्ष श्रेष्ठको पनि छ । उनले एकपल्ट मोफसलमा हुने प्रतियोगिताको वर्गीकरण गर्ने घोषणा पनि गरेका थिए । तर, फेरि काम भने गरेनन् । खास–खास ठूला प्रतियोगिता एन्फाको स्वीकृतिमा हुने गरेका छन् । तर, त्यस्ता धेरै प्रतियोगिता पनि छन्, जसले एन्फासँग कुनै प्रकारको सहकार्य र समन्वय गरेको छैन । “यी प्रतियोगिताले विकृति ल्याउने डर पनि छ, यसबारे सजग हुनुपर्छ,” अध्यक्ष श्रेष्ठ दोहोर्याउँछन् ।
नेपाली फुटबललाई जीवन्त राख्ने श्रेय पाइरहे पनि मोसफलका प्रतियोगितालाई लिएर साँच्चै गुनासो गर्ने ठाउँ धेरै छन् अनि आलोचनाका पक्ष पनि उत्तिकै । मोफसलमा फुटबल प्रतियोगिता अहिले जसरी चलिरहेका छन्, तिनलाई त्यसरी नै चल्ने दिने हो भने डर छ, केही वर्षमा यी प्रतियोगिता धराशयी हुनेछन् र हराएर जानेछन् । अहिले सबैभन्दा विकृतिका रूपमा अगाडि आएको छ, सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता आयोजना गर्ने लहड ।
एउटा प्रतियोगिताले केही रकम बढाएर पहिलो पुरस्कारको घोषणा गरेको सार्वजनिक हुन पाएको हुन्न, अर्को प्रतियोगिताले त्यसलाई उछिनेर बढी पुरस्कार राशि घोषणा गरिहाल्छ । केही वर्षअघिसम्म लिगमा वितरण हुने पुरस्कार राशि बराबरकै नकआउट प्रतियोगिता अचेल मोफसलमा हुन थालेका छन् । त्यस्ता प्रतियोगिताको सूची बनाउने हो भने लामै हुन्छ । पहिलो हुने टिमले १० लाख रुपियाँभन्दा बढी पुरस्कार पाउने प्रतियोगिता नै अहिले तीनवटा छन् । जस्तो : धनगढीमा भएको सुदूरपश्चिम खप्तड गोल्डकपले पहिलो हुने टिमलाई ११ लाख ११ हजार १ सय १ रुपियाँ दिएको थियो । दोस्रो हुनेले त्यसको ठीक आधा पायो । त्यहाँ आर्मी पहिलो भएको थियो भने दोस्रो सशस्त्रको एपीएफ । इटहरीमा भएको मदन भण्डारी मेमोरियल गोल्डकपले पहिले हुनेलाई १२ लाख रुपियाँ दियो, दोस्रो हुनेलाई ६ लाख । त्यहाँ थ्री–स्टारले उपाधि चुमेको थियो भने मनाङ–मस्र्याङ्दी दोस्रोमा रह्यो । पुरस्कार राशिको होड यत्तिमै रोकिएन ।
त्यसको एक पाइला अगाडि सरेर झापामा हालै मात्र सम्पन्न झापा गोल्डकपले उपाधि जित्नेलाई १२ लाख ५१ हजार रुपियाँ प्रदान गरेको थियो । दोस्रोको भागमा ६ लाख रुपियाँ पर्यो । उपाधिसँगै यति धेरै रकम हात पार्ने टिम रह्यो, आर्मी । घरेलु झापाली टिमले दोस्रो स्थानमै चित्त बुझायो । पुराना प्रतियोगितामध्ये पोखराको आहा गोल्डकपले पहिलो हुनेलाई ७ लाख १ हजार रुपियाँ दिएको छ भने धरानको बूढासुब्बा गोल्डकपले उपाधि जित्नेलाई ६ लाख ।
पोखरामा आर्मी र धरानमा थ्री स्टार विजयी रहे । झापामै भएको काँकरभिट्टा गोल्डकप पनि कमको छैन, उसले पनि उपाधि जितेको आर्मीलाई आठ लाख रुपियाँको चेक दिएको थियो । त्यहाँ उपाधि चुमेको थियो, आर्मीले । मोफसलमा हुने प्रतियोगिताको पुरस्कार राशि मात्र जोड्ने हो भने करोडमाथि पुगिसकेको छ । हुन सक्छ, आउने वर्ष यी पुरस्कार राशिमा अझ वृद्धि हुनेछ । डर यहाँनेर नै छ । नेपाली फुटबलको पछिल्लो इतिहासले पनि यही भन्छ, यो राम्रो होइन ।
सहिद स्मारक लिगमा पनि पुरस्कार राशि एक संस्करणपछि अर्कोमा ह्वात्तै बढेको थियो । राष्ट्रिय लिगमा उपाधि जित्नेले मात्र एक करोड रुपियाँ पाएको थियो । अहिले यी प्रतियोगिता हुन गाह्रो छ किनभने यति बराबरको पुरस्कार राशिको व्यवस्था गर्न पनि गाह्रो छ । लिगले गरेर कुनै समय यस्तो स्थिति तयार भएको थियो कि क्लब टाट पल्टिने अवस्थामा समेत पुगे । त्यसैले धेरै क्लब भित्रभित्रै लिग नहुँदा पनि खुसी हुन्छन् र हाकाहाकी लिग अझै केही वर्ष नहोस् भन्छन् ।
यस्तै स्थिति ढिलो–चाँडो मोफसलका प्रतियोगितामा तयार हुन सक्छ । फेरि आयोजनाका आधारमा पनि मोफसलका अधिकांश प्रतियोगिताको विशेषता नै कमजोर व्यवस्थापन हुने गर्छ । कुन प्रतियोगिता कुन–कुन टिमले खेल्ने हो, टुंगो हुन्न । एउटा खेल ९० मिनेटको हो अथवा आफू अनुकूल कम समयको हो, त्यो पनि निश्चित हुन्न । नकआउटका आधारमा हुने हुँदा एक खेलमा हार्नुको अर्थ प्रतियोगिताबाटै बाहिरिनु हुन्छ, त्यसैले टिमसामु पुन: आगमनको अवसर पनि हुन्न ।
कहिलेकाहीँ एउटै टिमले लगातार दुई दिन खेल्नुपर्ने पनि हुन्छ । एक खास खेलाडीले एक दिन एउटा क्लबबाट खेलिरहेको हुन्छ, त्यही खेलाडीले लगत्तै अर्को दिन अर्को प्रतियोगितामा फरक टिमबाट पनि खेलिरहेको हुन्छ । एउटै खेलाडीले सातै दिन लगातार फरक–फरक टिमका लागि खेलेको अविश्वसनीय उदाहरण पनि छ । त्यसैले खेलाडी घाइते हुने र प्रदर्शनमा लगातार गिरावट आएका धेरै उदाहरण अगाडि आइसकेका छन् ।
मोफसलका अधिकांश प्रतियोगिताले फुटबलका आधारभूत नियमलाई पनि बेवास्ता गर्ने गरेका छन् । यस्तोमा प्रश्न उठ्छ, ती प्रतियोगिताको अर्थ नै के, जसले समग्र खेल विकासलाई कुनै मद्दत गर्दैन । बरू, उल्टै स्तर घटाउन मद्दत गरिरहेको छ । एन्फा यसमा गम्भीर हुनु त आवश्यक छ नै, स्वयं प्रतियोगिताका आयोजक पनि गम्भीर हुनुपर्छ । फुटबलविज्ञ सञ्जीव मिश्र बारम्बार भन्ने गर्छन्, “मोसफलमा हुने प्रतियोगिताका कमजोरी र त्यसले जन्माउने खराबीबारे सचेत हुन हतार भइसकेको छ ।”
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...