कोहलपुर होइन, मुम्बई एक्सप्रेस
नेपाली फिल्मको समृद्धि र साखका लागि कोहलपुर एक्सप्रेस मार्काका चोरिएका फिल्म र फिल्मकर्मीलाई धाप मार्न सक्दै सकिन्न ।
आधा शताब्दीसम्म बलिउडको दबदबाबाट प्रताडित भयो, नेपाली फिल्म । उताका फिल्म कपी गर्दै यता बनाइन्थ्यो, थोरै तलमाथि थपथाप गरेर । सोही कारण स्वदेशी फिल्मको स्वतन्त्र र मौलिक छवि बन्नै सकेन । पछिल्लो केही वर्षयताचाहिँ हिन्दी फिल्मको ‘ह्याङ’भन्दा माथि उठ्ने प्रयत्न जारी छ । आफ्नै परिवेशका कथा र पात्र रोज्न थालिएको छ । तर, कहिलेकाहीँ यस्ता फिल्म पनि प्रदर्शन हुन्छन्, जुन विदेशी फिल्मबाट पूरापूर चोरिएको हुन्छ । कोहलपुर एक्सप्रेस ज्वलन्त उदाहरण हो । यो सन् २००५ मा प्रदर्शित तमिल फिल्म मुम्बई एक्सप्रेस (यही नाममा हिन्दी भाषामा पनि बनाइएको छ) को हुबहु कपी हो । अझ मन कुँडिने सत्य यो फिल्मकी निर्मात्री स्नातकोत्तर हिरोइन केकी अधिकारी हुन् । अनि अभिनय गरेका छन्, केकीजस्तै बुझक्कड भनिएका अन्य दुई अभिनेत्री ऋचा शर्मा र प्रियंका कार्कीले । तर, चोरीको अपजसको मुख्य भागिदारचाहिँ पटकथाकार शान बस्न्यात र निर्देशक विशाल भण्डारी हुन् । मौलिक चलचित्र निर्माणमा अग्रसर भइरहेका बेला यसरी चोर्नु सम्बन्धित फिल्ममेकर मात्र होइन, समग्र नेपाली फिल्मवृत्तकै छवि धुमिलिने दुर्दशा हो, लाजमर्दो पनि ।
गर्भवती चम्पा (प्रियंका), उनीसँग निकै डराउने उनका पति (बुद्धि तामाङ), अड्किएर बोल्ने (विनोद न्यौपाने) र चम्पाका भाइ मिलेर कसैको छोरा अपहरण गर्ने योजना बुन्छन्, पैसाका लागि । परिस्थितिवश उनीहरूको समूहमा स्कुटरमा सामान ओसार्ने युवती कोहलपुर एक्सप्रेस (केकी) भित्रिन्छिन् । तर, सबै अपरिपक्व । कसैलाई पनि अपहरणको असली तौरतरिका थाहा छैन । त्यसो भए उनीहरू बच्चा अपहरण गरेर पैसा असुल्न सफल होलान् ? फिल्म यही प्रश्नवरिपरि घुमेको छ ।
भनिहालौँ, कोहलपुर एक्सप्रेसलाई मुम्बई एक्स्प्रेसबाट टाढा राखेर हेर्नै सकिन्न । किनभने, कथा, पात्र र कथा भन्ने शैली जस्ताको तस्तै हो । सिर्फ केही पात्र र सम्बन्ध यताउता पारिएको छ । जस्तो, केकी र कमल हसनको चरित्र शतप्रतिशत उही हो । हसनले पनि कान सुन्दैनन्, मेसिन घुसार्नुपर्छ । सोझा छन्, बाध्यताले अपहरण गर्नुपरेको हुन्छ । केकी ठ्याक्कै यस्तै छिन् । मनीषा कोइरालाको भूमिकाचाहिँ ऋचालाई दिइएको रहेछ, डान्स बारमा काम गर्ने, बिहे नगरी आमा हुने, पैसाका लागि आफ्नै छोराको बाबुलाई ‘ब्ल्याकमेल’ गर्ने । फरक भन्नु मनीषाभन्दा ऋचाको चरित्र ‘लाउड’ छ । रवीन्द्र झाको चरित्रमा हिन्दी मुम्बई एक्सप्रेसका सौरभ शुक्ला, ओम पुरी र विजय राजको मिश्रण छ । छुच्ची आइमाई बनेकी प्रियंकामा चाहिँ कमल हसनको दिदी–चरित्रको दरिलो प्रभाव छ । त्यसमा घोडा छ, यसमा भैँसी । त्यसो त, पात्र मात्र होइन, घटनाक्रम पनि मिल्छ । बच्चा अपहरण गर्ने तरिका, एकपछि अर्को अपहरणकारी घाइते हुँदै अस्पताल पुग्ने, फिरौती रकम माग्ने शैली सबै उस्तै । क्लाइमेक्स केही भिन्न लाग्छ । पटकथाकार बस्न्यात, निर्देशक भण्डारी र निर्मात्री केकीको क्षमता र नियतमाथि शंका गर्ने अनेकौँ कारण छन् फिल्ममा ।
एकछिनलाई मुम्बई एक्सप्रेस चटक्क बिर्सने हो भने पनि कोहलपुर एक्सप्रेस अब्बल लाग्दैन । कलाकारको अभिनयबाहेक दिल खोलेर प्रशंसा गर्न सकिने अर्को कुनै पक्ष छैन । सुरुआती दृश्यमै प्राविधिक कमजोरी छ । कतै कतै डबिङ छुटेको छ । मध्यान्तरअगाडि जसोतसो दर्शक ‘होल्ड’ हुन्छन् । पात्र अनुरूपका केही ‘पञ्चलाइन’ छन् । तर, मध्यान्तरपछि मोहभंग हुँदै जान्छ । सामान्यतया कमेडी फिल्म चुस्त हुनुपर्छ । तर, यसको ‘पेसिङ’ खुकुलो छ । चोर्दा पनि ढंग पुर्याएको भए या नेपाली परिवेश सुहाउँदो बनाएको भए तैबिसेक मान्न सकिन्थ्यो । तर, त्यो मौका पनि दिएका छैनन्, पटकथाकार र निर्देशकले । त्यसमाथि मुम्बई एक्सप्रेस आफैँमा उच्च कोटीको फिल्म होइन । त्यसैलाई चोर्नेको हालत के होला ?
चोथाले चरित्रमा प्रियंकाले दर्शकको मन जित्छिन् । केकी आफ्नो चरित्रको लयभन्दा बाहिर गएकी छैनन् । विनोदले आफूसँग थप आशा राख्ने ठाउँ छाडेका छन् । रवीन्द्र झाको ‘कमिक टाइमिङ’ अनि बालकलाकार कुशाग्र भट्टराईको विन्दासपन गज्जब छ । पत्नीपीडित बुद्धि तामाङ हसाइरहन्छन् । ऋचाको प्रस्तुति अलि अतिरञ्जित आभास हुन्छ । कालीप्रसाद बाँस्कोटाको शीर्ष–गीत रमाइलो त छ नै, त्यसले कथाको बहावलाई मजबुत बनाउँछ पनि । बाँकी दुई गीतको खास अर्थ छैन । खिचाइ, सम्पादन, पृष्ठभूमि–संगीत पनि औसत मात्र । दर्जनाँै म्युजिक भिडियो बनाएर फिल्ममा पाइला राखेका निर्देशक भण्डारीले एउटै कुरा दिएका छन्, निराशा ।
फिल्म बौद्धिक सम्पत्ति हो । बौद्धिक सम्पत्ति चोर्नु अनैतिक मात्र होइन, अपराध नै मानिन्छ । हल्काफुल्का प्रभावित हुनु अलग कुरा । तर, बिनाअनुमति हुबहु उतार्नु यस्तै अपराध हो । नेपाली फिल्मको समृद्धि र साखका लागि कोहलपुर एक्सप्रेस मार्काका चोरिएका फिल्म र फिल्मकर्मीलाई धाप मार्न सक्दै सकिन्न ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...