मौलिक कथा, छिपछिपे प्रस्तुति [फिल्म समीक्षा : डमरुको डन्डीबियो]
रसिलो र कसिलो फिल्मको प्यास डमरुको डन्डीबियोले छिपछिपे मात्र बनाउँछ, आँत भरिँदैन ।
लोकल कथालाई मन छुने ढंगबाट पस्कने ‘ब्रान्ड’ बनेको छ, खगेन्द्र लामिछानेको । त्यसको सबभन्दा बलियो उदाहरण हो, पशुपतिप्रसाद । त्यसअगाडि टलकजंग भर्सेज टुल्केको लेखन र अभिनयबाट प्रशंसा कमाए । धनपतिमा जेनतेन साख जोगियो । नयाँ फिल्म डमरुको डन्डीबियोमा पनि खगेन्द्र कथा छनोटमा आफ्नो ‘ट्रयाक’भन्दा बाहिर गएका छैनन् । नामबाटै प्रस्ट हुन्छ, फिल्म डन्डीबियोमा केन्द्रित छ । ग्रामीण भेगमा कुनै समय औधी लोकप्रिय यो खेल अहिले करिब लोप भएको छ । नयाँ पुस्तालाई त डन्डीबियो किस्सा नै लाग्ला । तर, बिर्सिएको खेलप्रति लेखक/अभिनेता खगेन्द्र र निर्देशक छेतन गुरुङले प्रेम जो दर्शाए ।
भन्नै परेन, फिल्ममा स्थानीयपनको सुगन्ध छ । त्यसमाथि हामीकहाँ ‘स्पोर्ट्स ड्रामा’ असाध्यै कम बन्छन् । तर, यत्ति गुणले मात्र फिल्मलाई जीवन्त नबनाउँदो रहेछ । डमरुको डन्डीबियो त्यसको प्रमाण हो । पात्रबीचको द्वन्द्व र संघर्षको चरम अभाव छ । डन्डीबियोप्रति मूल पात्रकै आशक्ति स्थापित छैन । पर्दामा देखाउन खोजिएको ‘इमोसन’ दर्शकसम्म प्रवाह हुन्न । भलै, विषयको उठानले फिल्मप्रति नम्रभाव पैदा हुन्छ ।
हेडमास्टर योगेन्द्र (अनुप बराल)को छोरो डम्बर (खगेन्द्र) स्नातकोत्तर सकेर गाउँ फर्कन्छ, डन्डीबियोलाई ‘रिभाइभ’ गर्ने उद्देश्य बोकेर । तर, योगेन्द्रलाई फिटिक्कै मन पर्दैन । न त उसकी प्रेमिका माला (मेनुका प्रधान) र अन्य गाउँलेलाई नै । तैपनि, डन्डीबियो खेल्न र अरूलाई खेलाउन मरिमेटेर लाग्छ । कुनै ‘ग्ल्यामर’ नभएको यस खेललाई पुन:स्थापित गर्ने डम्बरको अभिलाषा पूरा होला ? कति ठक्कर खानु पर्ला ? यस्तै सवालका जवाफसँगै फिल्म तमाम हुन्छ ।
फिल्ममा डन्डीबियो राष्ट्रिय खेल थियो भनेर चित्रित गरिएको छ । तर, औपचारिक रूपमा कहिल्यै घोषणा गरिएको थिएन । जनमानसमा चाहिँ राष्ट्रिय खेल नै हो भन्ने छाप जरुर थियो । त्यसैले लेखकले यति ‘लिबर्टी’ लिन सक्छन् । गाउँ फर्किएपछि टिम बनाउन डम्बरले गर्ने कसरत, बाबु–छोराको सुरुआती रस्साकसी र योगेन्द्रको डन्डीबियोप्रतिको वितृष्णा विश्वसनीय लाग्छ । तर, बिस्तारै अविश्सनीय घटनाहरूको दबदबा बढ्दै जान्छ, खासगरी बाबु र छोराको ‘म्याच’पछि ।
यद्यपि, कथामा नयाँपन छ, पात्र पनि हाम्रै वरपरका छन् तर फिल्मको समग्र संरचना भने परम्परागत हो । मुख्य पात्रको समीकरण, खेलप्रतिको प्रेम र घृणाको कारण, खेलाडीको मनोविज्ञानजस्ता पक्ष ‘स्पोर्ट्स ड्रामा’का पारखीलाई रत्तिभर नवीन लाग्दैन । डन्डीबियो खेल बुझ्न चाहनेका लागि गतिलो दस्तावेज हुन सक्ने सुखद सम्भावनाबाट फिल्म विमुख छ ।
मध्यान्तरपछि फिल्म अझ खुकुलो हुँदै जान्छ । भनिन्छ, पात्रहरूबीच जति टकराव र समस्या हुन सक्यो, फिल्मप्रति त्यति उत्साह पैदा हुन्छ तर यस फिल्ममा पात्रलाई विशिष्ट अर्थ राख्ने घटनाहरू पनि सजिलै घट्छन् । युट्युबको प्रसंग त्यस्तैमध्ये एक हो । डम्बरको टिमलाई माया गर्नुपर्ने अनि अन्य टिमको विपक्षमा हुनुपर्ने माहौल बन्दैन । मध्यान्तरपछि लगातार आधा घन्टा डन्डीबियोको प्रतिस्पर्धा देखाइन्छ तर त्यस अवधिमा ‘ड्रामा’ थोरै मात्र छ । नघुमाई भन्दा, अघिल्ला दुई फिल्ममा खगेन्द्रको पटकथाभन्दा निर्देशन कमजोर लाग्थ्यो, यसपटक उल्टो । कथावाचनमा सिर्जनशीलताको ह्रास र पुनरुक्ति देखिएको छ । बरू, प्राप्त पटकथालाई दृश्यांकन गर्न निर्देशक छेतनले सक्दो जोडबल गरेका छन् । खेलको विशेषता अनुसार जुरुक्क उठाउने कोरियोग्राफी चाहिँ खट्कन्छ ।
पछिल्लो समय सस्ता जोक्स र ट्रोलमा निर्भर रहेर फिल्म बनाउने प्रवृत्ति मौलाइरहेको छ । डमरुको डन्डीबियो यो हुलमा पर्दैन । कमेडी छ तर कथा, पात्र र सन्दर्भ सुहाउँदो । कतिपय संवाद चोटिला र झर्रा छन् । कथा भन्नुको पछाडिको नियत बिकाउ छैन । पात्रको हुलिया, बोल्ने शैली, गाउँको परिवेशमा सजकता अपनाइएको छ । अर्को प्रशंसनीय पक्ष, सिनेमाटोग्राफी हो । हरि हुमागार्इंको खिचाइले दृश्यको भावलाई बलियो बनाएको छ । गाउँको सुन्दरता मनोरम ढंगले कैद गरिएको छ । पाश्र्व संगीतले पनि ध्यान तान्छ ।
खगेन्द्रको चरित्रको सार अघिल्ला फिल्मभन्दा अलग र विशेष नभए पनि पट्यार लागिहाल्दैन । तर, उनले आफ्नो चरित्रको प्रकृति, अभिनय र लेखनशैलीमा आत्मविश्लेषण गर्नुपर्ने बेला आइसकेको छ । अनुप बराल स्वाभाविक नै लाग्छन् । आशान्त शर्मा फरक छन्, सँगै ‘लाउड’ पनि । मेनुका प्रधान, लक्ष्मी बर्देवा, अंकित खड्कालगायतका कलाकार पनि आफ्नो भूमिकामा फिट छन् । खगेन्द्र र छेतनले डन्डीबियो खेल्न त खेले तर आलोकाँचो हिसाबले, अभ्यास पुगेन । परिणाम, यो फिल्मले हराइसकेको खेल डन्डीबियोलाई सम्झाउँछ तर उतिविघ्न प्रेम जगाउँदैन ।
रसिलो र कसिलो फिल्मको प्यास डमरुको डन्डीबियोले छिपछिपे मात्र बनाउँछ, आँत भरिँदैन । उही क्या, हेर्दा नबिग्रने, नहेर्दा नछुट्ने ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...