आवेगमा अपराध
मनोउपचार विधिको अभावमा निर्मम हत्या र बर्बर बलात्कारका सिलसिलेवार घटना
- दक्षिणीपूर्वी इलामस्थित रोङ गाउँपालिका–१, कटहरेकी ७७ वर्षीया वृद्धालाई बाथको समस्या थियो । १६ वैशाखमा साँझ खाना खाएर उनका पति र छोरा घरमा गएर सुते । वृद्धा भान्साघरमै सुतिन् । राती ११ बजे छोराले आमा चिच्याएको आवाज सुने । दौडिँदै भान्साघर पुग्दा अशक्त आमा बलात्कारीको पञ्जामा थिइन् । ओछ्यान रगतले लत्पतिएको थियो । छोराले ढोका खोल्नासाथ बलात्कारमा संलग्न मान्छे भाग्यो । उसले चिच्याउन थालेपछि वृद्धाको जिब्रोसमेत चुडेर फाल्ने प्रयास गरेछ । बलात्कृत वृद्धाको झापामा उपचार भइरहेको छ । दोषीको अत्तोपत्तो छैन ।
- चैत पहिलो साता नवलपरासी, बर्दघाट सुस्तापूर्व गैँडाकोट नगरपालिकामा आठमहिने छोरी घरमा छाडेर आमा ज्यामी काम गर्न गएकी थिइन् । घरमा फर्कंदा शिशुको शरीरभरि रगतै–रगत । बोली पनि नफुटेकी अबोध छोरीलाई बलात्कार गरेको आरोपमा ३० वर्षीय बाबु पक्राउ परेका छन् । त्यतिबेला उनी रक्सीले मातेका थिए ।
- रोल्पा त्रिवेणी–२, नुवागाउँका २१ वर्षीय खर्कबहादुर विश्वकर्माका दाइ नाता पर्ने गणेश विकसँग घरायसी विवाद थियो । गणेशका ५ वर्षीय छोरा प्रेम र ३ वर्षकी छोरी वसन्ती आँगनमा खेलिरहेका थिए । चैत तेस्रो साता एक्कासि खर्कबहादुरले प्रेम र वसन्तीमाथि बन्चरो प्रहार गरे, दुवैको ज्यान गयो ।
- रोल्पा नगरपालिका–७, गोरबोटका ४३ वर्षीय लीलबहादुर पुन बिरामी थिए । उनलाई भेट्न २५ वर्षीया छोरी पार्वती केसी माइत आइन् । पार्वतीसँगै मावल आएका थिए, दुई छोरी दीया र नीया । घरभित्र बसिरहेका बेला लीलबहादुरले एक्कासि बन्चरोले हाने । घरभित्रै छोरी र दुई नातिनीको ज्यान गयो । हत्या हुँदा दीया दुई वर्ष र नीया सात महिनाकी थिइन् । गत वर्ष कात्तिकको घटना हो यो ।
सुन्दा पनि आङ सिरिंग हुने यस्ता आततायी घटना हाम्रो समाजका कठोर यथार्थ बनिरहेका छन् । आमबुझाइ छ– तीव्र यौन चाहना पूरा गर्न बलात्कार हुन्छ भने ठूलो रिसइवी, प्रतिशोध र स्वार्थपूर्तिका लागि हत्या । हरेक अपराधका पछाडि खास उद्देश्य अर्थात् ‘मोटिभ फ्याक्टर’ हुन्छ । तर, आठ महिनाकी आफ्नै छोरी वा ७७ वर्षकी अशक्त वृद्धालाई बलात्कार गरेर यौन सन्तुष्टि मिल्छ ? अनि, सहोदर छोरी र कलिला नातिनी, दाजुका निर्दोष सन्तान मारेर के मिल्छ ? उनीहरूको ज्यानै लिनुपर्ने त्यत्रो भयंकर प्रतिशोध के थियो ?
परम्परागत दृष्टिबाट हेर्दा न बलात्कारीको चाह पूरा भयो, न त त्यस्तो जघन्य हत्या गर्नुपर्ने खास कारण नै थियो । अर्थात्, हामी सजिलैसँग भनिदिन्छौँ, तुफानी आवेग र आक्रोशले यस्ता घटना हुन्छन् । मनोविद् करुणा कुँवर भन्छिन्, “हाम्रो यो बुझाइमै समस्या छ । त्यहाँ बलात्कार गर्नेको पनि चाह पूरा भएको छ । हत्या पनि आवेगमा मात्र भएको होइन । हत्या गर्ने अवस्थासम्म आइपुग्न लामो पृष्ठभूमिले काम गरेको हुन्छ । हत्या त देखिएको परिणाम मात्र हो ।”
कम प्राथमिकता
जब योजनाबद्ध ढंगले कसैको हत्या हुन्छ, प्रहरी प्रशासनदेखि समाजका हरेक तहले गम्भीरतापूर्वक लिन्छन् । दोषीलाई पक्रन प्रहरी संयन्त्र नै परिचालित हुन्छ । छानबिन समिति गठन हुन्छ । कतिपय घटनालाई ‘ग्ल्यामराइज’ नै गरिन्छ । तर, उल्लिखित प्रकृतिका हत्यालाई प्रशासनले मात्र होइन, समाजले नै हल्का ढंगले लिन्छ । एक–दुई दिन चर्चामा आउँछ, त्यत्तिकै सेलाउँछ । घटनाले समुदायमा पारेको दीर्घकालीन असर, पीडकको मनोविज्ञान, सजायजस्ता पक्षले प्राथमिकता पाउँदैन । संगठित अपराधभन्दा सूक्ष्म तहमा रहेका यस्ता घटना र आपराधिक मनोवृत्ति अझ घातक हुन्छन् । नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, “संगठित अपराध रोक्न सकिन्छ । अनुसन्धानबाट अपराधी किटान गर्न सकिन्छ । तर, घर–घरमा हुने अपराध नियन्त्रण गर्न मुस्किल छ । कसले, कहाँ, कतिबेला के गर्छ भन्ने नै टुंगो हुन्न ।”
मल्ल सुरक्षा निकायले मात्र यस्ता घटना रोक्न नसक्ने बताउँछन् । कारण, व्यावसायिक अपराधी औँलामा गन्न सकिन्छ तर बिनाउद्देश्य आवेगात्मक अपराध गर्नेलाई निगरानीमा राख्ने कुनै संयन्त्र नभएको बताउँछन् उनी ।
अबोध बालिका कतै आफ्नै बाबु वा नातेदारबाट सामूहिक बलात्कारको सिकार हुन्छन्, ओछ्यानमा थलिएका वृद्धा, सुस्त मनस्थिति वा मानसिक सन्तुलन गुमाएकालाई बलात्कार गरिएका घटना सार्वजनिक भइरहेका छन् । यस्ता अति घृणित स्वरूप देखिन थालेकाले वयस्कले वयस्कलाई गर्ने बलात्कारले आममानिसलाई घोच्न छाडेको मनोविद् कुँवरको अनुभव छ । बलात्कारको सिकार भएका युवतीलाई परामर्श दिँदै आएकी कुँवर भन्छिन्, “यसले समाजमा नजानिँदो पाराले मौलाइरहेको क्रूर र हिंस्रक मनोवृत्तिलाई संकेत गर्छ ।”
अझ पछिल्ला घटनाले त बलात्कारका लागि बच्चा, सुस्त मनस्थिति, बिरामी र वृद्धालाई रोज्ने प्रवृत्तिले तीव्रता पाएको छ । नेपाल प्रहरीको महिला बालबालिका निर्देशनालयकी प्रहरी नायब उपरीक्षक (डीएसपी) तारा थापाका अनुसार यस्ता व्यक्तिले प्रत्याक्रमण र होहल्ला गर्न सक्दैनन् । अनि, अपराधीले प्रमाण मेटाउन पर्याप्त समय पाउँछन् । थापा भन्छिन्, “बुबा विदेश जाँदा आमालाई, माया गरेझैँ गरेर बच्चालाई, बोल्न नसक्ने र सडकमा बस्न बाध्य अबला महिलामाथि बलात्कार गरिएका देखिन्छन् ।”
हत्याका घटना त जति लुकाउन खोजे पनि बाहिर आउँछन्, दोषीले सजाय पाउँछन्, पीडितले न्याय । तर, बलात्कारका घटना भित्रभित्रै दबाइन्छन् । अझ परिवार वा आफन्तबाट हुने बलात्कार र यौन दुव्र्यवहार पीडित पक्षले नै बाहिर ल्याउन चाहँदैनन् । थापा भन्छिन्, “इज्जतको डरले बलात्कारीलाई ढाकछोप गरिन्छ । जसबाट उसलाई फेरि अपराध गर्न प्रश्रय मिल्छ ।”
मान्छेको सबैभन्दा ठूलो संरक्षक परिवार हो । त्यसपछि समाज र समुदाय । तर, परिवारभित्रै बलात्कार हुन्छ, हत्या गरिन्छ । समाजसम्म त्यो कुरा आइपुग्दैन, आए पनि ढाकछोप गरिन्छ वा समाजबाटै असुरक्षा हुन्छ । यस्ता घटनालाई सामान्यीकरण गरेर निष्कर्षमा पुग्न सकिन्न । मानवशास्त्री सुरेश ढकाल यसलाई असामान्य व्यक्तिको असामान्य व्यवहार मान्छन् । भन्छन्, “मानवशास्त्रको भाषामा डेभियन्ट केस हो । दिमागी रसायन नमिलेपछि वा दमित इच्छाहरू अभिव्यक्त गर्न नसकेपछि यस्ता विकृत व्यवहार देखा पर्छन् ।” ढकालकै शब्दमा, बरू आत्महत्याको कारण पत्ता लगाउन सकिन्छ । तर, यस्तो आपराधिक पागलपनसम्म मान्छे कसरी पुग्छ, ठम्याउन गाह्रो पर्छ ।
गत वर्षको फागुन तेस्रो साता मोरङबाट नमीठो खबर बाहिरियो । मिक्लाजुङ–७ मा सुस्त मनस्थितिकी ४५ वर्षीया शान्तिकुमारी तामाङको बलात्कारपछि हत्या भयो । शारीरिक सम्पर्क गर्न राजी नभएपछि ढुंगाले हानिएको, मादक पदार्थ खुवाइएको र पैनीमा लछारपछार गरेर फालिएको प्रहरी अनुसन्धानमा खुल्यो । तीन महिनाअगाडि मोरङ उर्लाबारी–४, बक्राहामा एक बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा चार युवक पक्राउ परे । १३ चैतमा खोटाङ, दिक्तेल ससुराली घरमा बस्दै आएका हलेसी, तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले पत्नी आइसरीको हत्या गरे, सामान्य घरायसी विवादमा । अपराधशास्त्री माधवप्रसाद आचार्य भन्छन्, “चारैतिर अनेक प्रकृतिका यस्ता आपराधिक प्रवृत्ति बढिरहेका छन् । तर, त्यस्तो कुकर्म गर्ने अवस्थामा व्यक्ति किन पुग्छ, कहिल्यै अध्ययन–अनुसन्धान हुँदैन । हामी घटनाबाट पाठ सिक्दैनौँ, बेवास्ता मात्र गर्छौं ।”
किन बढ्दै छ ?
संक्रमणकालीन समाजमा क्षणिक आवेगमा गम्भीर प्रकृतिका अपराध हुन्छन् । चाहे त्यो हत्या होस् वा बलात्कार । कारण, संक्रमणकालीन समाजमा स्रोत–साधन सीमित हुन्छ, प्रतिस्पर्धाचाहिँ अस्वस्थ । मान्छेका आवश्यकता पूर्ति हुँदैनन् । तनाव बढेसँगै त्यसको सीधा असर व्यवहारमा पर्छ । ठ्याक्कै यही नियति भोगिरहेको छ, नेपाली समाजले । मनोविज्ञका अनुसार माओवादी सशस्त्र द्वन्द्वअगाडि यस्ता घटना कम हुन्थे । द्वन्द्वले आपराधिक मनोवृत्ति बढायो । जस्तो : माथि उद्धृत रोल्पाका दुई हत्याकाण्डका अभियुक्तलाई नियालौँ । एक छोरी र दुई नातिनीको हत्या गर्ने लीलबहादुर ‘अयोग्य’ लडाकू हुन् । त्यसयता उनी ‘डिप्रेसन’मा थिए, स–सानो निहुँमा पनि आक्रोशित हुन्थे । त्यस्तै, नातेदार पर्ने दुई बच्चाको ज्यान लिने खर्कबहादुर केही समयअघि राजधानीमा चोरी काण्डमा पक्राउ परे । छुटेपछि मादक पदार्थको लतमा भासिए । उनमा पनि आवेग अत्यधिक थियो । पूर्वडीआईजी मल्ल भन्छन्, “अपराध सामान्य हो, अपराध गरे पनि उन्मुक्ति पाइन्छ भन्ने गलत सोच मौलायो । सहनशीलता घट्दाको परिणाम हाम्रै सामु छ ।”
उचित अभिभावकत्व र प्रेम नपाउनु नकारात्मक सोच र व्यवहार विकास हुनुको अर्को कारण हो । धेरै अभिभावक पैसा कमाउने लालसामा परदेसिएका छन् । परिवारको आत्मीयता खुकुलो भएको छ । सामाजिकीकरणमा अनेक उल्झन भोग्नुपरेको हुन्छ । त्यसको प्रत्यक्ष असर व्यक्तिको व्यवहारमा पर्छ । मनोविद् कुँवर भन्छिन्, “जो आफैँ दमित छ, सम्मान पाएको हुँदैन । उसमा अधिक आक्रोश मात्र होइन, बदला र प्रतिशोधको भाव जन्मिने हुँदा पत्तै नपाई अपराधमा धकेलिन्छ ।”
तीव्र सामाजिक, राजनीतिक, वातावरणीय र प्रविधिकै परिवर्तनले पनि मानिसलाई अलमलमा पारेको छ । जीवनमा ‘कन्फ्युजन’ बढेको छ, समाजमा अस्तव्यस्तता । जसको दीर्घकालीन असर व्यवहारमा देखिन थालेको छ । अर्थात्, अति झिनो कारणले डरलाग्दा अपराध हुन थालेका छन् । कतिपयले घटनापछि पश्चात्ताप त गर्छन् तर समय घर्किसकेको हुन्छ ।
परामर्श र सचेतनाको खाँचो
अपराध कसरी रोक्न सकिन्छ ? अधिकांशको जवाफ एउटै हुन्छ, सजाय । तर, सजायले मात्र सूक्ष्म तहका अवरोध र मनोवृत्ति रोक्न/निमिट्यान्न पार्न सम्भव छ ? यही प्रश्न विज्ञलाई सोध्दा एउटै जवाफ आउँछ, छैन । त्यसो भए, उत्तम विकल्प के त ? मानवशास्त्री, अपराधशास्त्री, मनोविज्ञ र प्रहरी अधिकारीसम्मको साझा उत्तर आउँछ, परामर्श । सजाय त छँदैछ । दुर्भाग्य † हामीकहाँ मनोवैज्ञानिक परामर्श र सचेतनामूलक कार्यक्रम शून्यजस्तै छन् ।
सजायले मात्र बलात्कार रोक्न र व्यक्तिलाई सुधार्न सम्भव नहुने कुँवरको जिकिर छ ।
यसका लागि एउटा घटना सुनाउँछिन् । झन्डै एक वर्षअगाडि काठमाडौँको सिनामंगलमा ‘मर्निङ वाक’ हिँड्नेले एउटी बच्चीलाई रगतपच्छे अवस्थामा भेटे । अस्पताल लगेपछि थाहा भयो, उनलाई बलात्कार गरेर फालिएको रहेछ ।
बच्चीकी आमा यौनकर्मी रहिछिन्, पक्राउ परेका पुरुषचाहिँ उनका नियमित ग्राहक । एक दिन महिलाको घर गए, आमा थिइनन्, बच्ची मात्र । त्यही मौकामा बच्चीलाई यौन शोषण गरे । मरेको ठानेर फालेर हिँडे । अनुसन्धानका क्रममा यति मात्र पत्ता लागेन, ती पुरुष बलात्कारकै मुद्दामा ६ वर्ष जेल बसेर छुटेको महिना दिन पनि बितेको रहेनछ । कुँवरको प्रश्न छ, “सजाय पर्याप्त हुँदो त त्यति लामो समय जेल बसेको मान्छे फर्किनासाथ उही कुकर्म किन दोहोर्याउँथ्यो ?” अर्थात्, सतहमा आवेग र आक्रोश देखिए पनि खासमा मानसिक समस्याकै परिणाम हुन्, बर्बर बलात्कार र निर्मम हत्या । त्यसैले निदानका लागि पनि मनोवैज्ञानिक उपचार विधि नै अपनाउनुपर्छ ।
हामीकहाँ नयाँ किसिमका डरलाग्दा र आवेशजन्य अपराधका बारेमा बृहत् अध्ययन गर्ने न जनशक्ति छ, न त स्रोत–साधन । यस प्रकृतिका अपराधलाई पनि सामान्य र परम्परागत ढंगले ‘ट्रिट’ गरिन्छ । दोषीलाई पक्रने, उसलाई गर्ने व्यवहार र सजायमा केही भिन्नता हुन्न । जबकि, उसको आपराधिक पृष्ठभूमि र कारण अलग हुन्छ । पूर्वडीआईजी मल्ल भन्छन्, “यस्ता व्यक्तिलाई जेलमा रहुन्जेल मात्र होइन, निस्केपछि पनि राज्यले निगरानीमा राख्नुपर्छ । परामर्शको व्यवस्था गर्नुपर्छ ।”
विकसित मुलुकमा अपराधीलाई सत्मार्गमा हिँडाउन सरकारले प्रभावकारी परामर्श दिए पनि हामीकहाँ यस्तो अभ्यास छैन । सोही कारण पटके अपराधीहरूको बाहुल्य छ । अपराधीमाथिको निगरानी नै फितलो छ भने अपराध गर्नुअघिका उसका व्यवहार कसले नियालोस् ?
अपराधशास्त्री आचार्य भन्छन्, “हरेक व्यक्तिले एकैपटक अपराध गर्ने होइन । त्यसका लागि विगतदेखि नै माहोल बनेको हुन्छ । पटक–पटक त्यस्ता व्यवहार गरिरहेको हुन्छ । तर, अरूले ख्यालै गर्दैनन् ।”
सार्वजनिक लज्जाबोध पनि अपराधतिर लम्कन नदिने अस्त्र बन्ने मानवशास्त्री ढकाल बताउँछन् । तर, हामीकहाँ असामान्य वा नकारात्मक व्यवहार देखेपछि नजिकका व्यक्तिले मनोपरामर्शदाताकहाँ पुर्याउने संस्कारको पनि अभाव छ ।
(साथमा, काशीराम डाँगी/रोल्पा)
‘सजाय हदै होइन, छिटै’
– माधवप्रसाद आचार्य, अपराधशास्त्री
हरेक व्यक्तिको आचरणमा शिक्षा, सामाजिकीकरण, धर्म–संस्कृति अनि राष्ट्रिय/अन्तर्राष्ट्रिय घटनाक्रमको प्रभाव हुन्छ । द्वन्द्वका कारण ०५२ देखि ०६२ सम्म सामाजिक विशृंखलता देखापर्यो । लहलहैमा हजारौँको ज्यान गुम्यो । छाडापन र महत्त्वाकांक्षा बढ्यो । नैतिकता र सदाचार हरायो । बलात्कार र हत्या यसैको परिणाम हो ।
द्वन्द्व बिसाइए पनि सपना पूरा भएनन् । हिंसा गर्नै नहुने काम होइन रहेछ, बरू हिंसा गर्दा संरक्षण मिल्छ भन्ने सोचको विकास भयो । अहिले हरेक बलात्कारी र हत्यारालाई कहीँ न कहीँबाट संरक्षण छ । घरघरमा हुने अपराध अझ डरलाग्दो हुन्छ । बाहिर ल्याउँदा समस्या हुने भएकाले भित्रै विकृति बढ्छ । तर, मिडियामा आउने खबर र वास्तविक अपराधमा धेरै अन्तर हुन्छ । प्रहरीसम्म नआएका अपराध त समुद्रमा तैरिएको हिमशिलाजस्तै हो, थोरै मात्र देखिने । हत्या त जसोतसो बाहिर आउला, यौन हिंसा र बलात्कार भित्रभित्रै दन्किरहेको हुन्छ ।
पहिले–पहिले पनि छाडापन नभएको होइन तर मास मिडिया थिएन । समाजमा दबाइन्थ्यो । कुना–कन्दरामा भएको घटना थाहा हुँदैनथ्यो । अहिले रिपोर्ट गर्नुपर्छ भन्ने सजगता आउनु सकारात्मक हो । अपराध फेरि हुन नदिन घर–घरमा सचेतना बढाउनुपर्छ । ग्रामीण समाजमा बालबालिकामाथि यौन सजायको सचेतना हुनुपर्छ । सजाय कम भयो, त्यसैले अपराध बढ्यो भन्छन् मान्छे । यो त ‘ले म्यान थिङकिङ’ हो । वास्तवमा सजाय थोरै भएर अपराध बढेको होइन । एक त, अपराध नहुने माहोल बनाउनुपर्छ । भइहाले पनि छिटो कारबाही गर्ने प्रणाली विकास गर्नुपर्छ । छिटो–छरितो अनुसन्धान र कारबाहीको प्रक्रिया अगाडि बढाउँदा थोरै सजाय भए पनि प्रभावकारी हुन्छ ।
बलात्कारको केसलाई ‘फास्ट ट्रयाक’बाट किनारा लगाउनुपर्छ । घुम्ती अदालतको व्यवस्था गर्नुपर्छ, जहाँ घटना भयो, त्यहीँ अस्थायी मुकाम बनाएर अनुसन्धान गर्ने अनि दोषीलाई सजाय दिने । कसुर गर्दा दण्ड हुन्छ भन्ने छाप बस्नुपर्छ । जे होस्, उन्मुक्ति दिनुभएन ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...