छैनन् ११० कानुन
केन्द्र, प्रदेश र स्थानीय तहले सबै कानुन बनाएपछि मात्र संघीयताको वास्तविक कार्यान्वयन हुने
अर्थमन्त्री युवराज खतिवडाले २४ वैशाखमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरूको बैठक बोलाएर आगामी बजेटबारे परामर्श गरे । अधिकांश मन्त्रीहरूको एकैखाले गुनासो थियो, प्रदेश सरकारलाई निरीह बनाइयो ।
प्रदेश सरकारले कानुनविहीनताका कारण कर्मचारीतन्त्र र प्रहरी परिचालन गर्न पाएको छैन । अधिकार क्षेत्र र राजस्व संकलनमा समेत प्रस्टता छैन । आर्थिक वर्ष ०७५/०७६ को वार्षिक बजेटको सँघारमा आइपुग्दासम्म राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन भएको छैन । कर्णालीका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला आयोग नबन्दा बजेट बाँडफाँटमै समस्या देखिएको बताउँछन् । भन्छन्, “केन्द्र सरकारले प्रदेशलाई दिने अनुदानमै अन्योल छ । त्यसैले गाडा अगाडि, घोडा पछाडि भनेझैँ भएको छ ।”
संविधानको धारा ६० उपधारा (३) मा प्रदेश र स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको परिमाण राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस बमोजिम हुने व्यवस्था छ । संविधान र कानुन बमोजिम संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय सरकारबीच राजस्वको बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा निर्धारण गर्ने जिम्मेवारी पनि आयोगलाई दिइएको छ । आयोग नहुँदा चालू आर्थिक वर्षमा स्थानीय तहलाई राष्ट्रिय योजना आयोगको सिफारिसमा बजेट प्रदान गरियो । त्यस्तै, प्रदेशलाई एकमुष्ट ७ अर्ब १४ करोड रुपियाँ अनुदान स्वरूप बाँडियो । यो वर्ष कसरी अनुदान बाँडफाँट गर्ने भन्नेमा स्वयं अर्थ मन्त्रालय अन्योलमा छ ।
प्रदेशको अधिकार क्षेत्रमा अझै पनि पुरानै क्षेत्रीय निकायहरू सक्रिय छन् । २८ चैतसम्ममा खारेज भई प्रदेश सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने क्षेत्रीय कार्यालय र तिनका अधिकार क्षेत्र अहिलेसम्म पुरानै ढंगले चलिरहेका छन् । सबैजसो निकाय केन्द्रीय सरकारको मातहतमा हुँदा प्रदेश सरकार निरीहजस्तै बनेका छन् ।
पहिलो संविधानसभाको असफलतापछि निर्वाचित सभाले विसं ०७१ र ०७२ लाई संविधान निर्माण वर्ष भनेको थियो । तर, कस्तो संविधान बनाउने भन्नेमै मुख्य दलहरू विभाजित थिए । १२ वैशाख ०७२ को विनाशकारी भूकम्पले उनीहरूलाई एक ठाउँ ल्याइदियो । तराई–मधेसकेन्द्रित दलहरूको असहमतिबीच ३ असोजमा नयाँ संविधान घोषणा गरियो । स्थानीय, प्रदेश र संघीय संसद्को चुनावमार्फत ०७४ संविधान कार्यान्वयनको वर्ष बन्यो । अहिले तीनै तहका सरकार बनिसकेका छन् । तर, ती सरकार चलाउन आवश्यक १ सय १० कानुन नबन्दा चौतर्फी अन्योल छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ भन्छन्, “संविधान कार्यान्वयनका लागि नयाँ कानुन निर्माण र पुराना कानुन संशोधन गर्नु आवश्यक छ । त्यसैले ०७५ कानुन निर्माणको वर्ष हुनेछ ।”
संविधान कार्यान्वयनका लागि सरकार ४१ किसिमका १ सय १० नयाँ कानुन निर्माणमा जुटेको छ । त्यस्तै, तीन सयभन्दा धेरै पुराना कानुन पुनरावलोकन गरिँदैछ । प्रदेश संसद्ले बनाउने २२ र स्थानीय सरकारले बनाउने ६ कानुनमा एकरूपताका लागि नमुना कानुन पठाइएको छ । २ असोजभित्र मौलिक हकबारेका सबै कानुन बनाइसक्ने गरी तयारी गरिरहेको कानुन मन्त्री तामाङ बताउँछन् । “कानुन मन्त्रालय मस्यौदा कानुन बनाउन सहजीकरण गरिरहेको छ,” उनी भन्छन्, “प्रदेश र स्थानीय तहलाई पठाइएका नमुना कानुन ठ्याक्कै नमिल्न पनि सक्छन् । केन्द्रले लाद्न खोज्यो भनेर दोष दिने होइन, समयक्रममा सच्याउँदै जाने हो । सिक्दै र त्रुटि भए सच्याउँदै जाने हो ।”
संघीय शासन व्यवस्था लागू गर्ने नेपाल विश्वको २७औँ मुलुक हो । तर, कानुन बनाउने नाममा केन्द्रले पठाएका नमुना कानुनलाई हतार–हतार ‘लाहाछाप’ लगाउने स्थिति देखिँदैछ । संवैधानिक कानुनविद् चन्द्रकान्त ज्ञवाली संविधानले जनतामा निहित सार्वभौमसत्ता र अधिकार तीन तहका सरकारमा बाँडफाँट गरेको बताउँछन् । केन्द्र सरकारले ३५, प्रदेशले २२ र स्थानीय तहले २१ वटा त्यस्ता अधिकार प्रयोग गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै उनी भन्छन्, “एउटाको अधिकारमा अर्कोले हस्तक्षेप गर्न पाउँदैन । संविधानसँग नबाझिने गरी आफ्नो कानुन आफैँ बनाउने पूर्ण अधिकार छ ।”
साझा अधिकारबारे पनि न प्रस्ट नीति र मापदण्ड बनेको छ, न त कुनै छलफल भएका छन् । त्यसले गर्दा विवाद र द्वन्द्वको जोखिम उत्तिकै छ । बेलैमा ध्यान नदिए अन्तर–प्रादेशिक एवं तहका तानातानले तनावको स्थिति आउन सक्छ । अमेरिका र युरोपमा साझा अधिकारको अस्पष्टताले निम्त्याएका द्वन्द्वको पुनरावृत्ति नेपालमा पनि हुन सक्नेमा ध्यान दिन विज्ञहरूले सचेत गराएका छन् । संविधानले स्थानीय, प्रदेश र संघीय सरकारका आ–आफ्ना क्षेत्राधिकार तोकेकाले त्यो सीमाभित्र बसेर कानुन बनाउन सकिने उल्लेख गर्दै ज्ञवाली थप्छन्, “अझै पनि केन्द्रमा निर्भरता देखाए स्थानीय तह वा प्रदेश सरकार होइन, निकाय हुने खतरा छ ।”
प्रदेशसभाले बनाउनुपर्ने १२ कानुनका नमुना मस्यौदाहरू प्रदेशमा पठाइएको छ । प्रदेश सरकारको कार्यविभाजन र कार्यसम्पादन नियमावलीबाहेक अधिकांश प्रदेश संसद्ले अरू कानुन पारित गरिसकेका छैनन् । संघीय संसद्ले बनाउने कानुनका मस्यौदा केही मन्त्रालय त केही समितिमा छन् । प्रहरी र लोकसेवा आयोग ऐनमा प्रदेशहरू अन्योलमा छन् । कर्मचारी समायोजन ऐन नबन्दाको सबैभन्दा ठूलो मार प्रदेश सरकारहरूले खेपिरहेका छन् ।
जहाँतहीँ अन्योल
- कर्णाली प्रदेशले १ वैशाखमा थालेको ‘रारा भ्रमण वर्ष ०७५’ को मुख्य अतिथि थिए, प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्रीको सचिवालयले भ्रमणको समन्वय भने प्रशासन, प्रहरी र सेनासँग गर्यो । आयोजक प्रदेश सरकार प्रभावहीन देखियो ।
- कर्णाली प्रदेश सभामुख राजबहादुर शाही काठमाडौँ आउँदै थिए । २४ वैशाखमा बाँकेको अघैयामा उनको गाडीमा एक्कासि आगो लाग्यो । प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले उद्धार गरी गन्तव्यतर्फ पठाउन प्रहरी र प्रशासनका अधिकारीलाई निर्देशन दिए । तर, ती अधिकारीहरूले प्रदेश सभामुखका रूपमा उनलाई कहीँ–कतै व्यवहार गरेनन् ।
- बोक्सीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलीकी राधा चौधरी २५ फागुन ०७४ मा निर्घात कुटिइन् । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले अस्पताल पुगेरै उनीप्रति सहानुभूति दर्शाए । तर, राधाको नि:शुल्क उपचार, प्रहरी अनुसन्धान र दोषीलाई तत्काल कारबाही अघि बढाउन निर्देशन दिने निकाय भेटाउन मुस्किल पर्यो ।
यी घटनाबाट कानुनविहीनताले केन्द्र र प्रदेश सरकारबीच समन्वयमा समेत कठिनाइ भइरहेको प्रस्ट हुन्छ । प्रमुख जिल्ला अधिकारीले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसित कसरी समन्वय गर्ने भन्नेमा पनि अन्योल छ। प्रदेश मन्त्रालयमा सहसचिव तहका कर्मचारीले अहिले सचिवको भूमिका निर्वाह गरिरहेका छन् । आफूसरह वा जुनियरलाई ‘ब्रिफिङ’ गर्न नमिल्ने भन्दै अधिकांश प्रजिअले प्रशासनलाई मातहत राख्न र केन्द्रप्रति नै जवाफदेही हुने प्रणालीका लागि लबिङ गरिरहेका छन् । प्रदेश प्रहरी ऐन बनिनसकेकाले प्रदेशलाई ब्रिफिङ गर्ने वा नगर्नेमा प्रहरीमा पनि उस्तै अन्योल छ । गृह मन्त्रालयले ऐन–कानुन बन्ने क्रममै रहेकाले ‘संक्रमणकालीन अवस्था’का लागि भन्दै केन्द्र र प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई ‘ब्रिफिङ’ गर्न आन्तरिक परिपत्र गरिसकेको छ । परिपत्रमा प्रदेश सचिवलाई नभई मन्त्रीलाई ‘ब्रिफिङ’ गर्नुपर्ने उल्लेख छ ।
केन्द्रले प्रदेश सरकारलाई सहज वातावरण नबनाइदिएको गुनासो गर्छन्, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत । प्रदेशलाई दिइने भनिएको अन्तरिम बजेटसमेत नआइसकेको उल्लेख गर्दै उनी भन्छन्, “केन्द्रीकृत मानसिकताले संघीयता कार्यान्वयनमा कठिनाइ भइरहेको छ । तैपनि, कानुन बनेर प्रदेश सरकार कार्यान्वयनमा आउनेमा उनी आशावादी छन् ।” प्रदेश २ को संसद्मा अहिले ११ वटा कानुन पेस भएका छन् ।
प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट कर्मचारीतन्त्र र प्रहरीलगायत राज्यका निकायहरू प्रदेश सरकारको मातहतमा नआउँदासम्म संघीयता कार्यान्वयनको अनुभूति नहुने बताउँछन् । “जनताको अपेक्षा असाध्यै धेरै छन् । कानुन नबनेकाले प्रदेशले कर्मचारी र प्रहरी परिचालन गर्न पाएको छैन,” उनी भन्छन्, “यस्तो अवस्था लामो समयसम्म रहिरहे जनतामा प्रणालीप्रति निराशा छाउनेछ ।”
प्रहरी र कर्मचारी परिचालनका लागि साझा अधिकारका कानुन छिटो बन्नुपर्ने उनी बताउँछन् । लामो अस्थिरता र संक्रमणकालपछि मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेको हो । त्यसैले नयाँ व्यवस्था अनुरूप स्थिर शासन र प्रशासनका लागि पनि संघीय, प्रादेशिक र स्थानीय कानुन जतिसक्दो चाँडो बनाउनुपर्ने बाध्यता छ ।
उहिल्यै मस्यौदा हुनुपर्ने कानुन बनाउन ढिलाइ गरिँदा कानुनी अड्चन आएको संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङको धारणा छ । “जति छिटो कानुन बन्छन्, त्यति छिटो संविधान कार्यान्वयनमा आउने हो । तर, बनिसक्नुपर्ने मौलिक हकसम्बन्धी कानुनका मस्यौदासमेत अझै संसद्मा आइपुगेका छैनन्,” उनी भन्छन्, “हामी कानुनका मस्यौदा पर्खेर बसेका छौँ ।” प्रदेश र स्थानीय तहले केन्द्रलाई पर्खिएर बस्नुको सट्टा छिटोभन्दा छिटो आफूले बनाउनुपर्ने कानुन बनाउन लाग्नुपर्ने उनको सुझाव छ । कानुन नबन्दासम्म अहिलेको अन्योल हटाउन केन्द्र र प्रदेशबीच समन्वयको खाँचो देखिएको ने म्वाङले औँल्याए ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...