सन्दीप लामिछानेसँग विशेष वार्ता : ‘तपाईं जति ठूलो लिग खेल्नुस्, देशभन्दा ठूलो त्यो हुन्न ।’
मलाई लाग्छ, तपाईं जति ठूलो लिग खेल्नुस्, देशभन्दा ठूलो त्यो हुन्न । तर, देशका लागि खेलिसकेको खेलाडी कोही पनि सामान्य होइन ।
अघिल्ला वर्षमा आइपीएल टिभीमा हेर्नुहुन्थ्यो । यस पटक दिल्ली डेयरडेभिल्समा छानिनु त भयो तर सुरुका ११ म्याच खेल्न पाउनु भएन । कस्तो लागेको थियो ?
–हामीमा एउटा समस्या छ, अवसर कुर्नुभन्दा छिटो उत्साही हुन्छौं । ११ म्याच पनि मेरा लागि सिकाइ प्रक्रिया नै थियो । टिममा दुई जना लेग स्पिनर थिए, त्यसमाथि म विदेशी खेलाडी परें । त्यसैले छिटो खेल्न पाइन्छ भन्ने आशा गर्न सकिन्नथ्यो । म्याच दौरान केही हुनैपथ्र्यो । अर्थात् मैले मौका पाउन टिमले कि जितेको हुनुपथ्र्यो, कि हारेकै हुनुपथ्र्यो । दुखद कुरा, हामीले हार्यौं । तैपनी मैले अवसर पाएँ । टिभीमा हेरिरहेको चर्चित प्रतियोगिता खेल्न पाउनु आफैंमा निकै सुखद उपलब्धि हो ।
स्टेडियम र टिभीमा हेर्दा के अन्तर हुँदोरहेछ ?
–टिभीमा दश सेकेन्ड ढिला हुन्छ (हाँस्दै) । अरु त उस्तै हो । हरेक खेलाडीको त्यहाँ खेल्ने चाह हुन्छ । सिनियर नेपाली खेलाडीले पनि खेल्न पाएको भए, म जति खुशी सायदै अरु कोही हुन्थ्यो ।
२–३ वटा म्याचमा त ‘डगआउट’ भन्दा बाहिरै हुनुहुन्थ्यो, हैन ?
–घरेलु मैदानमा हुँदाचाहिँ २५ जनालाई लैजान पाउँछ टिमले । ‘अवे’ म्याचमा स्टेडियममा १६ खेलाडी मात्र जान पाउँछन् । सोही कारण त्यस्तो बेलामा टिमसँगैं गए पनि कहिले होटलमा बसेर टिभीमा हेरिन्थ्यो, कहिले स्टेडियमभित्रै टिमसँग ।
पहिलो पटक खेल्ने निधो भएपछि तपाईंमा ‘नभर्सनेस’ ज्यादा थियो की, ‘एक्साईटमेन्ट’?
–इमानदारिताका साथ भन्छु, दुवै थिएन । किनभने, मैले नेपालका लागि क्रिकेट खेलिसकेको थिएँ । देशका लागि खेल्दाको दबाब वा गर्व जे भन्नुस्, त्यो अन्य अरु कुनै खालको खेल खेल्दा हुँदैन । पहिलो खेलका लागि मैदानमा छिर्दा सकारात्मक ऊर्जा र सोच आइरहेको थियो । ढिला भए पनि मौका मिल्यो । अति आत्मविश्वास पनि थिएन । रन कम दिने की विकेट लिने, त्यो सोचमा गएको थिएँ । टिमको योजना अनुसार बलिङ गरें । सबैको समीकरण मिलेकाले मलाई सहज भयो ।
पहिलो खेलमा प्रशिक्षक र कप्तानले तपाईका लागि कस्तो योजना बनाएका थिए ?
–हाम्रो टिम एक दिन अगाडि नै तय भइसकेको हुन्छ, तर आइसिसिको आचारसंहिता अनुसार कसैले पनि सार्वजनिक गर्न मिल्दैन । परिवारलाई समेत भोलीको म्याचमा परेको भन्न पाइन्न । एक दिन अगाडि नै मलाई नयाँ बल लिएर फाल्न भनिएको थियो । त्यस अगाडि कहिल्यै पावरप्लेमा बलिङ गरेको थिइनँ । पहिलो ओभर गरें, राम्रो भयो । आत्मविश्वास बढ्यो । पावरप्लेमा रन रोक्यो भने अन्तिममा विकेट आउँछ, सुरुमा विकेट आयो भने अन्तिममा रन रोकिन्छ । दुवैमा एउटै हुन्छ तर मैले पहिलो ओभरमा राम्रो गरेपछि अर्को ओभरमा विकेट लिनु भनिएको थियो । आयो पनि । सबै हिसाबले सन्तुष्टि मिल्यो ।
पहिले खेल्न पाउनु भएन । खेलेपछि उत्कृष्ट प्रदर्शन गर्नुभयो । त्यसपछि टिमभित्र व्यवहारमा परिवर्तन हुनेरहेछ ?
–त्यस्तो महसुस भएन । टिमभित्र जुन खेलाडी जस्तो छ, त्यस्तै भइराखोस् भन्ने चाहना हुँदोरहेछ । सबैले मेरो प्रशंसा गरे, किनभने मैले राम्रो गरेको थिएँ । व्यवहारमा खास फरक आएन ।
प्रशिक्षक र कप्तानको प्रतिक्रिया चाहिँ ?
–पहिलो खेलमै मबाट त्यो तहको प्रदर्शन हुन्छ भन्ने आश गर्नुभएको थिएन, होला । त्यसैले खुशी हुनुहुन्थ्यो ।
नेपाली क्रिकेटप्रतिको अन्तर्राष्ट्रिय खेलाडीको बुझाइ कस्तो पाउनुभयो ?
–इमानदारीका साथ भन्दा, रसिद खान आउनुभन्दा पहिले कसैले पनि अनुमान गरेको थिएन, अफगानिस्तानमा पनि त्यस्तो होला भनेर । मुजीब रहमान, मोहम्मद नाबी जस्ता खेलाडी आएपछि धेरैले अफगानिस्तानको क्रिकेटबारे बुझे । तर रहमान घाइते भएर भएर पुरै खेल्न पाएनन् । देशका बारेमा खेलाडीकै माध्यमबाट त्यसैगरी थाहा हुने हो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको सबैलाई थाहै छ । उनीहरुले मलाई भेट्नासाथ बधाई दिएका थिए । अब चाहीं हामीले कस्तो खेलिरहेका छौं भन्ने बाहिरी देशका खेलाडीले नियालिरहेका हुन्छन् ।
आईपीएल यात्राबाट तपाईले खास के सिक्नुभयो ?
–नेपाली टिमबाट म कहिल्यै बाहिर भएको थिइनँ, त्यसैले नौलो ठाउँमा आफूलाई सम्हालें । त्यहाँबाट जुन नयाँ कुरा सिक्न पाइन्छ, त्यसलाई आफूभित्र राखेको छु । मैदानमा देखाउँदै जान्छु । मुख्य, परिपक्व हुन सिकियो ।
कतिपय सामान्य व्यक्तिले क्षमता भएर पनि अवसर पाउँदैनन् । तपाईंसँग क्षमता थियो, छोटै समयमा महत्वपूर्ण अवसर पनि पाउनुभयो । यसको ‘रिदम’ कसरी मिल्यो भन्ने लाग्छ ?
–मलाई लाग्छ, तपाईं जति ठूलो लिग खेल्नुस्, देशभन्दा ठूलो त्यो हुन्न । तर, देशका लागि खेलिसकेको खेलाडी कोही पनि सामान्य होइन । नेपालका लागि दुई वर्ष खेल्दा राम्रो गरेकाले नै मलाई आइपीएलमा पुर्याएको हो । अरुले त्यहाँ गएर सिक्न पाइन्छ भन्ने सोच्छन् । तर, म केही सिकेरै मात्र त्यहाँ पुगेको हो । त्यत्तिकै होइन ।
यसको मलतब सबैभन्दा गाह्रो चाहिँ राष्ट्रिय टिममा पर्नु हो ?
–नेपालको राष्ट्रिय टिमभन्दा पनि नेपाललाई प्रतिनिधित्व गरेर त्यो दबाब नियन्त्रण गर्न मुस्किल हुन्छ । जित्ने, हार्ने भन्दा गर्वको कुरा हो । आईपीएलमा खेल्दा पनि मलाई सधैं नेपालको प्रतिनिधित्व गरिरहेको महसुस हुन्थ्यो ।
तपाईंको आईपीएल प्रवेशले नेपाली क्रिकेटलाई के फाइदा पुग्यो ?
–म फर्कंदा एयरपोर्टमा थुप्रै शुभेच्छुकलाई देखेँ । त्यो अवसर र यो अपार माया पाएँ । एउटा मान्छेका लागि यति सब हुन सक्छ भने टिमले कति गर्न सक्ला ? अरुले पनि खेल्न पाए भने हाम्रो क्रिकेट बोर्डका पदाधिकारीलाई दबाब जान्छ, खेल र खेलाडीका लागि केही गर्न । क्रिकेटलाई खेलमा मात्र सिमित नराखी करिअर नै बनाउनु पर्छ । घरेलु क्रिकेटलाई अझ ‘भाइब्रेन्ट’ बनाउनुपर्छ । क्रिकेटको भविष्य उज्ज्वल हुनु भनेको हाम्रो भविष्य पनि उज्ज्वल हुनु हो । म सँगसँगै अरु दुई–तीन नेपाली खेलाडी भइदिएको भए पछिसम्मका लागि सजिलो हुन्थ्यो । तैपनि यसपटक तीनवटा खेल खेल्न पाएँ, राम्रो गरें, यसले हौसला दिएको छ । अर्को वर्ष अरु नेपाली खेलाडीले पनि आईपीएल खेल्ने छन् । सबैको एउटै लक्ष्य हो, क्रिकेटलाई अगाडि बढाउने ।
एयरपोर्टमा तपाईंको जुन स्तरको स्वागत भयो, त्यो अपेक्षा थियो ?
–राम्रै होला भन्ने आशा चाहिँ थियो तर त्यति भव्य होला भन्ने सोचेको थिइनँ । कहिलेकाहीं व्यस्तताले भनेजति समय दिन पाइन्न । यसको मतलब ‘एटिट्युड’ होइन । त्यस्तो माया मैले मात्र होइन, अरु क्रिकेटर पनि पाउनुपर्छ ।
हामीकहाँ के भइदियो भने क्रिकेटले रफ्तार लिन्थ्यो भन्ने लाग्छ ?
–चारपाँच वर्षदेखि क्रिकेटको राष्ट्रिय प्रतियोगिता भएको छैन । म आफैंले राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । पहिले क्षेत्रीय खेल हुन्थ्यो, अहिले त्यो पनि छैन । मलाई लाग्छ, खेलाडीलाई घर जाने भन्दा क्रिकेटमै कसरी व्यस्त राखेर पोख्त बनाउने भन्ने बन्दोबस्त गर्नुपर्छ । अर्कोतिर, हामीले ट्वान्टी–२० अन्तर्राष्ट्रिय मान्यता पनि पायौं । तर धेरै अगाडि बढ्न एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको ट्यागलाई उपयोग गर्नतिर सोच्नुपर्छ । ट्वान्टी–२० मात्र खेल्न थाल्यौं भने खेल कहिले सुर्धन्न । एकदिवसीयमा धैर्य हुन्छ । त्यसैले घरेलु खेल एकदमै धेरै हुनुपर्छ ।
दिल्ली डेयरडेभिल्ससँग तीन वर्षको सम्झौता छ तपाईको । बाँकी दुई वर्षलाई कसरी लिनुभएको छ ?
–यो त ठूलो अवसर हो । हरेक खेल राम्रो गरें भने के होला, नराम्रो गर्दा के होला भन्ने भोक त भइहाल्छ । आइपीएलमा सधैं नेपालको गौरव कायम राख्नु छ । फेरि तीनै वर्ष दिल्लीमै हुनुपर्छ/भइराखिन्छ भन्ने पनि होइन । यदि कुनै खेलाडीले राम्रो प्रदर्शन गर्न सकेन भने टिमले हटाउन सक्छ । त्यसपछि ती खेलाडीको ‘अक्सन’ हुन्छ । तीन वर्ष दिल्लीका लागि खेलेपछि अर्को टिममा जान पाइन्छ । त्यसका लागि आफू वा अरु टिमले प्रस्ताव राख्न पाउँछ ।
सबैले तपार्इंको प्रदर्शनलाई उत्कृष्ट भनिरहेका छन् तर तपाईं आफैं आफ्नो खेल कसरी मुल्यांकन गर्नुहुन्छ ?
–पहिलो चरणमा त्यति गर्नु राम्रो नै हो । पावरप्लेमा मैले कहिल्यै बलिङ गरेको थिइनँ । त्यहाँ पावरप्लेमा गर्दा पनि राम्रो भयो । अरु पनि मिलिरहयो । सबैको साथ र विश्वास पाए । परिणाम ठिक आयो ।
तपाईंको नजरमा असाधारण हो कि राम्रो मात्र ?
–राम्रो मात्र । असाधारण हुन त हरेक म्याचमा ४–५ विकेट लिनुपथ्र्यो (हाँस्दै) ।
(सन्दीपसँग अन्तर्वार्ताको पूर्ण भाग आगामी १३ जेठ आइतबार प्रकाशित हुने नेपाल म्यागजिनमा हेर्नुहोला ।)
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...