विपिनको ‘ब्रेकथ्रु’ [फिल्म समीक्षा : हरि]
हरि धेरै हदसम्म शानदार बनेको छ । दृश्य भाषाको समृद्धिका खातिर पनि अरू हरिहरू बनिरहनुपर्छ ।
फिल्म मूलत: कला हो, त्यसपछि मात्र व्यापार । तर, हामीकहाँ बजार निर्देशित फिल्मको बिगबिगी छ । सस्ता कमेडी, बासी सूत्र र रोनाधोना जर्बजस्ती थोपरिन्छ । सिर्जनात्मक पाटोलाई बेवास्ता गरिन्छ । काव्यिक चेत सुख्खा छ । त्यसैले साँचो अर्थमा सिनेमा साहित्य बन्न सकेको छैन । फिल्ममेकर नवीन र मौलिक प्रयोगको जोखिम मोल्दैनन् । एकाधले प्रयास नगरेका होइनन् । तर, प्राय: कहीँ न कहीँ बजारु मनोदशाबाटै ग्रसित छन् ।
यहाँ यत्रो भूमिका बाँध्नुको कारण छ । तमाम भ्रान्तिबाट मुक्त एउटा फिल्म प्रदर्शन भएको छ, हरि । यसका लेखक–निर्देशक हुन्, सफल केसी र प्रतीक गुरुङ । अनि, फिल्मको मेरुदण्डचाहिँ अभिनेता विपिन कार्की । आफ्नो पहिचानको संकटमा रहेको दमित पात्रको मनोवैज्ञानिक छटपटीमा केन्द्रित हरि कथावाचनको मामलामा नेपाली फिल्मवृत्तले पाएको सुन्दर उपहार हो । तर, फिल्म भनेको कोरा मनोरञ्जन र ‘टाइम पास’ मात्र मान्नेलाई हरि होइन, हरिबिजोग लाग्न सक्छ ।
रामहरिका पनाति, कृष्णहरिका नाति तथा शिवहरिका छोरा हुन्, विष्णुहरि (विपिन) । घरमा आमा (सुनिता श्रेष्ठ ठाकुर) छिन् । उनी फाइनान्स कम्पनीको शाखा म्यानेजर हुन्, आफ्नै बाइक छ । चिरिच्याट्ट परेर अफिस जान्छन् । आमाले टिफिन पठाइदिन्छिन् । अर्थात्, बाहिरबाट हेर्दा सब ठीकठाक छ । तर, भित्रभित्रै गुम्सिएका छन् उनी । घरमा आमाले रक्सी–मासु त के, लसुन–प्याजसमेत खान दिन्नन् । हरियो कपडा लगाउनै हुन्न । देखेजति भगवान्लाई ढोग्नैपर्ने । बन्धनै–बन्धन । अफिसमा आफूभन्दा कनिष्ठ कर्मचारी आकाश (कमलमणि नेपाल)ले हेप्छन् । अफिस–घरबाहेक बाँकी संसार छैन । तैपनि, जिन्दगी चल्दैछ ।
एक दिन अफिस जाँदा चरिले हरिको टाउकोमा बिस्ट्याइदिन्छ । त्यो कागले होला कि परेवाले ? तनाव यहीँबाट सुरु हुन्छ । र, शान्त स्वभावका हरि चोरी, हत्यादेखि अनेक लफडामा फस्दै जान्छन् । कसरी ?
आवरणमा फिल्मको कथा यस्तै सामान्य छ । तर, यसको ‘ट्रिटमेन्ट’ भने बडो गज्जब । यस फिल्मको मुख्य विशेषता नै मूलपात्रको आन्तरिक द्वन्द्व र बेचैनीको अलग र अर्थपूर्ण चित्रण हो । यावत् भूमरीमा फसेको तर अभिव्यक्त गर्न नसक्ने पात्र समाजमा प्रशस्तै भेटिन्छन्, जो कथित सामाजिक र पारिवारिक बन्देजबाट प्रताडित हुन्छन् । हरि पनि त्यस्तै लाग्छ । तर, खासमा उनले आफ्नो दमित इच्छा र आवेग पोखिरहेका हुन्छन् । जुन दर्शकले मात्र देख्न पाउँछन्, उनी वरपरका मान्छेलाई पत्तै हुन्न । त्यसका लागि निर्देशकद्वयले अतियथार्थ र विसंगत कथावाचन रोजेका छन् ।
झट्ट हेर्दा हरिका हर्कत अपत्यारिलो लाग्छ । तर, त्यसभित्र अनेक गहकिला तहहरू लुकेका छन् । आकाशप्रतिको रिस, ट्याम्पुवालीप्रतिको प्रेम, बाबाप्रतिको विश्वास, आमासँगको सम्बन्ध र तिनका प्रस्तुतिले फिल्मलाई विशेष बनाएको छ । हरिले दर्शकसँग गर्ने प्रत्यक्ष–वार्ताले आत्मीयता बढाउँछ ।
मध्यान्तरसम्म हास्य पैदा हुने दृश्य र संवाद टन्नै छन् । तर, ती हँसाउनकै खातिर राखिएका होइनन् । पात्र र प्रसंग अनुरुप छन् । हाँस्दा–हाँस्दै जीवन र जगत्प्रति गहन सवाल खडा भइरहेको हुन्छ । भाव अनुसारको सेट डिजाइन, फ्रेमिङ, कलर, प्रकाश, पृष्ठभूमि संगीतबाट निर्देशकको मिहिनेत र चेत अनुमान लगाउन सकिन्छ । नयाँ बनाउने बहानामा निरर्थक दृश्यलाई किञ्चित महत्त्व दिइएको छैन । कथा उसैगरी अगाडि बढ्दै जान्छ, जति पात्र र अवस्थाले माग गर्छ । कतिपय सन्दर्भमा फिक्का पनि लाग्छ । तर, त्यसमा निर्देशकको अनावश्यक चतुर्याइँ देखिन्न । त्यसैले न्यारेटिभमा नवीनता खोज्ने सन्दर्भमा हरि साहसिक र इमानदार प्रयास हो भन्न हिच्किचाउनु पर्दैन । फ्रान्समा सांस्कृतिक आन्दोलनका रूपमा सुरु भएको अतियथार्थवाद हामीकहाँ सय वर्षपछि सिनेमामा आएको छ ।
त्यसो त फिल्म कमजोरीबाट मुक्त छैन । कतिपय ठाउँमा हरिको ‘भ्वाइस ओभर’ले दिक्दारी पैदा गर्छ । पैसा लुट्ने दृश्यतिर पुगिरहँदा फिल्म आफ्नो विधागत ‘ट्रयाक’भन्दा बाहिर अर्थात् क्राइम थ्रिलरजस्तो भइदिन्छ । मूल द्वन्द्वलाई विकेन्द्रित गर्ने यस घटनाले निर्देशकमा रहेको अलमल र द्विविधा देखाउँछ । यस्तै आभास हुन्छ, क्लाइमेक्समा पनि । परम्परागत कथ्य संरचनालाई भत्काइएको भए पनि मूल कथा अपेक्षाकृत अब्बल छैन । एउटै पात्रलाई झेल्न नसक्ने दर्शकलाई उकुसमुकुस हुनसक्छ । यद्यपि, आकाशको जुत्ताप्रतिको आशक्ति, हरिको बुबाको गाइने साथी, रहस्यमयी बाबा, बुबाको ज्याकेट लगाएपछि हरिमा आउने मानसिक परिवर्तन, हरिले खाएको लसुन आदिलाई हल बाहिर निस्कँदा पनि भुलिन्न । केही दृश्यमा छायाको प्रयोग प्रतीकात्मक र सुन्दर लाग्छ । पात्रलाई हरेक दर्शकले भिन्ना–भिन्नै कोणबाट विश्लेषण गर्ने सुविधा पनि छ ।
हरिको करिब ९० प्रतिशत दृश्यमा विपिन देखिन्छन् । एउटा कलाकारले एउटै फिल्ममा यति विविधता भएको र गतिलो चरित्र पाउन ज्यादै मुस्किल हुन्छ । उनले सबै चरित्रमा जीवन दिएर अभिनेताका रूपमा आफूलाई चिरायु बनाएका छन् । तर, विष्णुहरिमा कतै–कतै जात्राका पात्र फणीन्द्रको छनक आएको छ । बाबाचाहिँ ‘ अल्टर इगो’ चरित्र हो । शेक्सपियरका नाटकमा यस्ता चरित्र पाइन्छन् । आमा बनेकी सुनीता श्रेष्ठ ठाकुरको करिअरकै सशक्त अभिनय र फिल्म हो यो । पत्नीपीडित चरित्रमा देखापरेका कमलमणिले सम्झनालायक काम गरेका छन् । उनकी पत्नी (लक्ष्मी बर्देवा) लाउड लाग्छिन् । पहिलो फिल्म हरिमार्फत नेपाली फिल्मको मौलिक कथ्य र शैली निर्माणमा निर्देशकद्वय सफल छन् । उनीहरूसँग अझ सशक्त सिनेमाको अपेक्षा राख्न सकिन्छ ।
सबै नवीन प्रयोग फलदायी हुँदैनन् । तर, हरि धेरै हदसम्म शानदार बनेको छ । दृश्य भाषाको समृद्धिका खातिर पनि अरू हरिहरू बनिरहनुपर्छ । कलात्मक फिल्मका पारखी र विपिनका फ्यानले छुटाउने कुरै भएन । तर, मूलधारका मसलेदार फिल्मप्रेमीका अपेक्षा भने पूरा हुँदैन ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...