विश्वकपमा भीएआर प्रविधि
विश्वकपमा मानवीय पक्षभन्दा प्रविधि ज्यादा हावी हुने चिन्ता
फुटबल प्रतियोगितामा प्रविधिको प्रयोग जरुरी छ या छैन ? यस्तो विवाद चलेको लामै समय बितिसक्यो । प्रविधिको सहायताले व्यवस्थित पार्न खोज्दा फुटबलको प्रतिस्पर्धात्मक रोमाञ्चकता मर्ने र खेलमा मानवीय पक्ष कम र प्रविधि ज्यादा हावी हुने खतरा पनि उत्तिकै छ । तर, विवादास्पद निर्णयको अनुगमन गरेर तटस्थ निर्णयमा पुग्न प्रविधिको साथ लिन कन्जुस्याइँ गर्नुहुन्न भन्ने तर्क पनि कमजोर छैन ।
त्यसैले हरेक संस्करणका विश्वकप फुटबलमा नयाँ–नयाँ प्रविधिको प्रयोग हुँदै आएको छ । विश्व फुटबलको २१औँ संस्करणको महाकुम्भमा पनि त्यस्तै नौलो प्रविधि प्रयोग हुने भएको छ– भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) । फुटबलको सर्वोच्च प्रशासनिक निकाय फिफाको गत मार्चमा स्वीट्जरल्यान्डको जुरिच बैठकले भीएआर प्रविधि लागू गर्ने निर्णय गरेको थियो ।
उक्त बैठकमा अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्डका सदस्य राष्ट्रहरूलाई भीएआर प्रविधिको प्रभावकारिता र यसले फुटबलमा पुर्याउन सक्ने योगदानबारे विशेष प्रस्तुतिपछि विश्वकपमा यसको प्रयोग गर्ने निर्णय भएको थियो । निर्णयलगत्तै अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने हाभियर जानेट्टीले भनेका थिए, “भीएआर प्रविधिले फुटबल र टिमहरूप्रति उच्च तहको न्याय गर्नेछ । फुटबलमा अन्यायपूर्ण निर्णयको भागिदार अब कोही हुनुपर्दैन ।” त्यस्तै, पोर्चुगलका पूर्वराष्ट्रिय खेलाडी नुनो गोमेजले पनि जानेट्टीको समर्थन गर्दै भने, “यो प्रविधिले निर्णयमा हुने गल्ती कम गर्न र फुटबललाई न्याय दिन मद्दत गर्नेछ ।”
फुटबलको सर्वोच्च निकाय फिफा भए पनि नियम बनाउने काम अन्तर्राष्ट्रिय फुटबल एसोसिएसन बोर्डले गर्छ । यो बोर्डमा फिफाको चार भोट हुने गर्छ । अन्य चार भोट फुटबलको जन्म भएको मुलुक बेलायतका चार फुटबल एसोसिएसनसँग हुन्छ । इंग्लिस, स्कटिस, आइरिस र वेल्सको फुटबल संघ ती आधिकारिक निकाय हुन् । इंग्लिस फुटबल प्रतियोगितामा भीएआरको प्रयोग भइसकेकाले पनि उनीहरू विश्वकपमा यसलाई लागू गराउन सहमत भएका हुन् ।
विश्वकप फुटबलमा भएका केही विवादास्पद निर्णयसँग बेलायतको सोझो नाता छ । चाहे त्यो १९६६ मा बेलायतले पहिलोपटक विश्वकप उचाल्दा होस् या सन् २०१० को विश्वकपमा बेलायत जर्मनीसँग पराजित हुँदै क्वार्टरफाइनलबाटै घर फर्किंदा किन नहोस् । युरोपका अन्य मुलुकमा पनि भीएआर प्रविधिको प्रयोग भइरहेको छ । यो प्रविधिको प्रयोग गर्ने राष्ट्र हुन्, इटाली र जर्मनी ।
के हो भीएआर प्रविधि ?
खेलका क्रममा उत्पन्न हुने विवादास्पद घटना जस्तै, विवादपूर्ण गोल वा पेनाल्टीबारे खेलको भिडिओ हेरेर निर्णय लिन भीएआर प्रविधि सहयोगी हुनेछ । खेलका दृश्य हेरेर प्रमुख रेफ्रीलाई सहायक रेफ्रीले उनले लिएका निर्णयबारे समीक्षा गर्न सहयोग गर्नेछन् ।
भीएआरको टोली रुसको राजधानी मस्कोमा रहेको केन्द्रीय भिडियो अपरेसन कोठामा रहनेछन् । र, उनीहरूले सबै रंगशालामा हुने खेलको अनुगमन गर्नेछन् । उनीहरूलाई स्टेडियम टिभी प्रसारणका लागि प्रयोग गरिने सबै क्यामेराका साथै अफसाइड हेर्न जडित दुई विशेष क्यामेरासम्म पहुँच हुनेछ ।
भीएआर रेफ्रीले कुनै पनि निर्णय लिन पाउने छैनन् । उसले रंगशालामा रहेका रेफ्रीलाई सही निर्णय लिन सहयोग मात्रै गर्नेछ । रेफ्रीले भीएआरमार्फत निर्णय लिन चाहे दुवै हातले हावामा आयाताकार चिह्न प्रदर्शन गर्नुपर्नेछ । यो प्रविधिको प्रयोगबाट निर्णय नआइन्जेल रेफ्रीले सञ्चार सम्पर्क स्थापित गर्दा आफ्नो हात कानमा रहेको हेडसेटतर्फ इंगित गर्नुपर्छ । यसलाई भीएआरको आधिकारिक संकेत मानिने छैन ।
रेफ्रीलाई मद्दत
भीएआर टिममा रहेकाहरूले सबै खेलको सूक्ष्म निरीक्षण गरिरहेका हुन्छन् । तर, सो टोलीले आवश्यक परेको अवस्थामा बाहेक अन्य ससाना घटनाक्रममा मैदानमा रहेका रेफ्रीसँग सम्पर्क स्थापित गर्दैनन् । रंगशालामा रेफ्रीले खेल सञ्चालन भइरहँदा गरेका विभिन्न निर्णयमध्ये खेलको नतिजा प्रभावित हुने मुख्य चार अवस्थामा भीएआर प्रविधिले सहयोग पुर्याउँछ ।
१. गोल भए/नभएको अवस्थाको निक्र्योल गर्न : अफसाइड पोजिसनमा रहेका खेलाडीले गोल गरेको अवस्थाको निर्णय गर्न यो प्रविधि सहयोगी हुन्छ । बल आउट अफ प्ले भएको अवस्थामा गोल भए पनि यो प्रविधिको उपयोग गर्न सकिन्छ ।
२. पेनाल्टीको निर्णय लिन : पेनाल्टी एरियाको भित्र र बाहिर भएका फउलबारे भीएआर प्रविधिबाट निर्णय लिइनेछ । आउट अफ प्ले भएको बलमा रेफ्रीले पेनाल्टी दिएको अवस्थामा र अफसाइड पोजिसनमा पनि पेनाल्टी दिइएको समयमा यो प्रविधिको प्रयोग हुन्छ ।
३. रातो कार्ड दिइएको घटनामा : खेलाडीले सीधै रातो कार्ड खाएर मैदान छाड्नुपर्ने अवस्था आएमा भीएआर रिभ्यू गरिन्छ ।
४. म्याच रेफ्रीले अन्जानवश कुनै गलत निर्णय लिन पुगेमा पनि यो प्रविधि प्रयोग गरेर त्यसलाई सच्याइन्छ ।
विशेषगरी कुनै फ्रि–किक वा पहेँलो कार्ड दिइएको घटनामा गलत निर्णय भएको शंका लागेमा सच्याउन यो प्रविधिको प्रयोग हुन्छ । तर, यी अवस्थाबाहेकमा अन्य निर्णय लिनुपरेको खण्डमा म्याच रेफ्रीले मैदानको छेउमै रहेको प्राविधिक क्षेत्रमा अवस्थित मोबाइल स्क्रिनको सहायता लिन सक्छन् । त्यसलाई ‘रेफ्री रिभ्यू एरिया’ भनिन्छ ।
मैदानमा प्रत्यक्ष खेल हेरिरहेका र घरमा बसेर टेलिभिजन हेर्ने दर्शकका लागि पनि फिफाले भीएआर प्रविधिबारे जानकारी दिन प्रसारण अधिकार पाएका टेलिभिजन च्यानललाई छुट्टै प्रणालीको विकास गरेको छ । फिफाको आधिकारिक व्यक्तिले भीएआर प्रविधि र त्यसलाई उक्त खेलमा किन र कहिले प्रयोग गरियो भन्ने जानकारीसहितको ट्याबलेट बोकेको हुन्छ । उसले भिडियो अपरेटिङ कक्षबाट टेलिभिजन र मैदानमा रहेका भीमकाय स्वरूपका स्क्रिनमा ती दृश्यहरू र रिभ्यू प्रक्रियालाई जोडिदिन्छ । त्यो व्यक्तिसँग मस्कोमा रहेका भीएआर रेफ्रीको अडियोका साथै ग्राफिक्स प्रयोग भएको भिडियोको पनि पहुँच हुन्छ ।
भीएआर रेफ्रिइङ प्रोजेक्टका टिम लिडर रोबर्टो रोसेटीका अनुसार यो प्रविधि रेफ्रीका लागि सहायक हुन्छ । उनी भन्छन्, ‘यो प्रविधिले खेलमा न्यून हस्तक्षेप र अधिक लाभ पुर्याउने हो ।”
बढीभन्दा बढी क्यामेरा प्रयोग
भीएआर टिमका रेफ्रीसँग प्रसारणका लागि प्रयोग हुने सबै ३३ वटै क्यामेराको पहुँच हुन्छ । तीमध्ये आठवटा सुपर स्लो मोसन र चारवटा अल्ट्रा स्लो मोसन क्यामेरा हुनेछन् । त्यसका अतिरिक्त दुइटा अफसाइड क्यामेरामा समेत उनीहरूको पहुँच स्थापित गरिन्छ ।
यी दुई क्यामेरामा भीआरए टीमबाहेक अन्यको पहुँच हुँदैन । नकआउट चरणका लागि भने दुवै गोलपोस्टको पछिल्लो भागमा दुइटा अल्ट्रा स्लो मोसन क्यामेरा जडान गरिनेछ । खेलाडीबीच शारीरिक घम्साघम्सी भए/नभएको निक्र्योल गर्न ती क्यामेरा प्रयोग गरिन्छ ।
भच्र्युअल अफ साइड लाइनको प्रयोग
फुटबलमा सबैभन्दा बढी विवाद अफ साइड पोजिसनलाई लिएर हुने गरेको छ । एक सेकेन्डभन्दा कम समयमा असिस्टेन्ट रेफ्रीले अफ साइड भए/नभएको बारे निर्णय दिनुपर्ने हुन्छ । यस्तोमा मानवीय त्रुटि हुने नै भयो । यसलाई कम गर्न भच्र्युअल अफ साइड लाइनको प्रयोग गरिन्छ । खेल सुरु हुनुअघि नै मैदानको सबै भागको नक्सांकन हुने गरी मैदानको थ्री डी चित्र र भिडियो निर्माण गरिन्छ । पछि भीएआर प्रविधि प्रयोग गरेर खेलाडी अफ साइड पोजिसनमा रहे/नरहेको निक्र्योल गरिन्छ ।
प्रविधि र फुटबललाई जोडिएको रुस विश्वकप मात्रै पहिलो होइन । यसअघि गोल लाइन टेक्नोलोजी, कुलिङ ब्रेक, पर्फमेन्स इन्डेक्स र ह्वाइट स्प्रे प्रयोगमा आइसकेका छन् । फिफाले हरेक संस्करणको विश्वकपलाई प्रविधिमैत्री बनाउँदै लैजाने योजना अनुरूप पछिल्ला निर्णय लिएको हो ।
चौथो सब्सिट्युटको प्रयोग
फिफाले यो विश्वकपदेखि नकआउट चरणका खेल अतिरिक्त समयमा धकेलिएमा थप एक खेलाडी परिवर्तन गर्न पाउने नियम लागू गरेको छ । यसअघि निर्धारित ९० र थप गरिएको समयमा पनि बढीमा तीन खेलाडी मात्रै परिवर्तन गर्न पाउने नियम थियो । गत संस्करणको विश्वकप विजेता प्रशिक्षक जोची लोउको प्रस्तावमा यस्तो निर्णय लिइएको हो ।
अतिरिक्त समयमा खेल्दा खेलाडीमाथि दबाब सिर्जना हुने र यस्तो अवस्थामा उनीहरूले चोट बोक्ने सम्भावना अधिक रहँदा त्यसलाई न्यून गर्न यो नियम फलदायी हुने अपेक्षा फिफाको छ ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...