आचार्य आवाज
के यिनी त्यही गायक हुन्, जसको गीत सुसेल्दै–सुन्दै म हुर्किएँ ? जसको आवाजले मेरो कानलाई पवित्र पार्यो ।
हजार सपनाहरुको माया लागेर आउँछ । घरीघरी भक्तराज आचार्यको आवाजको माया लागेर आउँछ । अतीतको चञ्चल–मञ्चल छायाले त्यागिसकेको उनको जीर्ण–शीर्ण कायाको पनि माया लागेर आउँछ ।.
यो आचार्य–आश्रम हो । बुइँगलमा छु चुपचाप यता । आचार्य छन्, चुपचाप उता भुइँखाटमा निदाइरहेका । ग्रामोफोन रेकर्डमा फनफनी घुमिरहेको चाक्लो डिस्कबाट एनालग–युगको गीत गुञ्जिरहेछ :
जति चोट दिन्छौ देऊ मायालु, मुटुभित्र साँचेर राख्नेछु ।
सोच्छु, उनको मुटुभित्र कति चोट साँचिएका होलान् ! संगालिएका, थिग्रिएका होलान् ! गीतले भन्छ– जति आँसु दिन्छौ देऊ मायालु, दुई आँखाबाट झार्नेछु । गम्छु, ती बैगुनी मायालुहरु कहाँ पुगे हुनन्, जसले आचार्यको आँखामा आँसुको कुवा छाडी गए ।
लाग्छ, हजार सपनाहरु पग्लिएर, रसाएर आँसु बन्दा हुन् र उनका आँखाबाट झर्दा हुन् ।
के यिनी त्यही गायक हुन्, जसको गीत सुसेल्दै–सुन्दै म हुर्किएँ ? जसको आवाजले मेरो कानलाई पवित्र पार्यो । जुन आवाजको उदासीनता एवं वैराग्य अझै पनि मेरो हृदयको एकलास जंगलमा सुसाइरहन्छ । त्यो आवाज, जसले मेरो जवानीको शोकमग्न एक्लोपनलाई गीतका अनेक मन्त्र एवं अन्तराहरुमार्फत सुम्सुम्याएको थियो ।
आज त्यही आवाज खोज्न म यहाँ आएको छु । बुइँगलको भर्याङ चढ्नै लाग्दा आचार्य–पुत्र सत्यराजले भनेका थिए, “बुबा लामो निद्रामा हुनुहुन्छ । उहाँलाई नजगाइदिनु होला । अनि भन्नुस्, मिस्टर फकिर, आज बाटो भुलेर कताबाट यता आउनुभयो नि ! किन आउनुभयो ? बुबालाई त सबैले बिर्सिसकेका छन् । तपार्इंले कसरी सम्झनुभयो ?”
सत्यराजको प्रश्निल जिज्ञासालाई फ्रेमिल गर्नु आवश्यक थियो । फ्रेमभित्र राख्नु नितान्त जरुरी थियो, जुन यसप्रकार छ–
विगत केही समययता श्रवणशक्ति ह्रास हुँदै जाने अनौठो रोगद्वारा म ग्रस्त छु । चिकित्सकको के आशंका छ भने चाँडै नै लिटरल्ली बहिरो हुनेछु । आवाजहरु मेरो कानले सुन्न छाड्नेछ । मलाई लाग्यो, मसित बाँकी रहेको समय केही सुन्दर आवाजहरु सुनेर बिताऊँ । त्यसपछि मनप्रिय आवाजहरु खोज्न म घरबाट निस्केको हुँ ।
हिजोआज म सानो जेबी साउन्ड रिकर्डर बोकी हिँड्ने गर्छु । त्यसमा आवाजहरु रिकर्ड गर्छु । कहिले झरीको आवाज रिकर्ड गर्छु र कहिले बच्चाहरुको खित्का र हाँसोहरु । रिकर्डरमै मैले संग्रह गरेको छु, बतासको सर्सराहट र खोलाको कलकल आवाज, चराचुरुंगीका चिरबिर चिरबिर, मन्दिरका टिङटिङ, घडी र टाइपराइटरका टिकटिक टिकटिक र देवालयका प्रार्थनाहरु ।
मैले बिर्सिसकेका आवाजहरु यसैगरी संग्रह गर्दै वन–उपवन, गाउँ–नगर डुली हिँड्छु । बहिरो हुनुअघि म ती आवाजलाई अन्तिम पटक सुन्न चाहन्छु । ती आवाज, जसले मेरो अस्तित्वलाई कर्णप्रिय एवं करुणामयी बनाएका थिए । ती मनप्रिय आवाजलाई म आभार प्रकट गर्न चाहन्थेँ । र, आज आइपुगेको थिएँ आचार्य आश्रममा ।
सत्यराज भन्छन्– “तर, फकिर, बुबासित त आवाज छैन । क्यान्सरले उहाँको जिब्रो काट्नुपरेको तपाईँलाई थाहा छैन र ?”
“थाहा छ,” म भन्छु, “मलाई आचार्यको पुरानो ग्रामोफोन रेकर्ड भए पनि दिनुस् । म बुइँगलमा बस्दै गर्छु ।”
र, बुइँगलमा आचार्य निदाइरहेका छन् । सारा संसारका निम्ति उनी निदाएकै छन् । उनी जिउँदै छन् भन्ने कुरा पनि अब त जगतले बिर्सिसकेको छ । मलाई यसबेला ओह्रान पामुकको याद आइरहन्छ । उनी भन्छन्, “आई राइट बिकज आई एम अफ्रेड अफ बिइङ फर्गटन ।”
आफू बिर्सिइजाने डर कति भयावह हुँदो हो ? आचार्यलाई सोध्नू ।
तपाईं तबसम्म जिउँदो जीवित हुनुहुन्छ, जबसम्म तपाईं आफ्ना तमाम हितैषी, मित्र, प्रियजन तथा शुभचिन्तकहरुको स्मृतिमा रहनुहुन्छ । जब तपाईं स्मृतिहरुबाट पखालिनुहुन्छ, तब तपाईँ मर्नुहुन्छ । यादहरुबाट जब तपाईं मेटिइँदै जानुहुन्छ, तब तपाईंको मृत्यु हुन्छ ।
के तपाईंको स्मृतिमा भक्तराज आचार्य जिउँदै छन् ? उनको स्मृतिलाई जोगाएर राख्नुस् । यादहरु नष्ट भएपछि मनुष्य भ्रष्ट हुन्छ ।
अब त मलाई हिँड्नु छ । आचार्य–पुत्र सत्यराजले उपहार दिने ग्रामोफोन–डिक्स लिनु छ । घर जानु छ । पूर्ण रुपले बहिरो हुनुअघि चराको चिरबिर चिरबिर, बच्चाहरुको खित्का हाँसो, नदीको कलकल, बतासको सर्सराहट र झरीको रिमझिमसितै भक्तराज आचार्यको आवाज सुन्दै मलाई केही काल बिताउनु छ ।
प्रिय आचार्य ! आवाज खोज्दै म तिमीसम्म आइपुगेको थिएँ । तिमी भने निदाइरहेका छौ । नउठ निदाइरह । किनभने, यो जाग्राम–जगत् त ज्यादै बैगुनी छ । जान्छु ल !
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...