बृहत् मर्जर कार्ड : पुँजी वृद्धिको असर सच्याउने अस्त्र
विगतमा पुँजी वृद्धिको निर्णयअघि ठूलो बन्ने संस्थाको व्यवस्थापनमा बैंकरहरूको क्षमता विकास गरिनुपथ्र्यो भन्ने दृष्टान्त कर्जायोग्य पुँजी अभावबाट उत्पन्न जटिलताले देखाइसकेको छ ।
‘मैले सपनामा देखेर फ्याट्ट पुँजी वृद्धिको निर्णय गरेको होइन, गृहकार्य गरेरै यस्तो निर्णय लिएको हो ।’ ७ साउन ०७२ मा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार गुणाले बढाउन दिएको निर्देशन पुष्टि गर्न गभर्नर चिरञ्जीवी नेपाल अहिलेसम्म यही वाक्य दोहोर्याइरहेका छन् ।
अघिल्ला गभर्नर र हालका अर्थमन्त्री युवराज खतिवडाले गर्न नसकेको निर्णय नेपालले पहिलो मौद्रिक नीतिमै गरे । उनको यो निर्णयलाई ‘बोल्ड डिसिजन’ मान्ने बैंकर जमातको बाहुल्य नै छ । तर, राष्ट्र बैंकले उद्देश्यभन्दा विपरीत बाटो चुनेपछि भने अहिले यसको सफल अवतरण गर्न समस्या पर्न थालेको छ । यही कारण असार दोस्रो साता आउने सम्भावना रहेको मौद्रिक नीतिमा विगतको ‘भूल सुधार्दै’ ‘बृहत् मर्जर’ समावेश गर्न राष्ट्र बैंकलाई चौतर्फी सुझाव आएको छ ।
बेलगाम र काबुबाहिर पुगेका बैंकहरूको संख्या घटाउने भित्री उद्देश्यका साथ राष्ट्र बैंकले पुँजी वृद्धिको अस्त्र चलाएको थियो । राष्ट्र बैंकले पुँजी वृद्धिको निर्णय हुनुअघि मर्जरसम्बन्धी नीतिगत व्यवस्था गरेर संख्या घटाउन बैंकहरूलाई प्रेरित गरिरहेको थियो । खराब कर्जाका कारण समस्यामा परेका, प्रतिस्पर्धामा पछाडि रहेका संस्था मर्जरमा जान थाले पनि अन्यको हकमा नीतिले सोचे अनुरूप काम गरेन ।
यही कारण मौद्रिक नीतिले दुई वर्षको समयावधि दिएर वाणिज्य बैंकहरूलाई ८ अर्ब, विकास बैंकलाई स्तर अनुसार ५० करोडदेखि २ अर्ब ५० करोड, वित्त कम्पनीलाई ४० करोडदेखि ८० करोड रुपियाँ पुँजी तोकेको थियो । पुँजी वृद्धिअघि वाणिज्य बैंकको संख्या ३०, विकास बैंक ७६ र वित्त कम्पनी ४८ वटा थिए । हाल २८ वटा वाणिज्य बैंक, ३४ विकास बैंक र ३५ वित्त कम्पनी छन् । पुँजी वृद्धिको निर्णयले ५७ वित्तीय संस्था विलय भए । राष्ट्र बैंकले हात पारेको यो सफलताले भने जस पाउन सकेन । कारण हो, बैंकिङ क्षेत्रका ठूला खेलाडी वाणिज्य बैंकको संख्यामा अपेक्षित कटौती नहुनु । “कतिपय बैंक सञ्चालकमा आफ्नो पकड किन छाड्ने भन्ने थियो । कोही स–साना अरू संस्था मर्जर गरेर आफ्नो अस्तित्व र सामथ्र्य दुवै जोगाइराख्न अभिप्रेरित थिए,” बैंक अफ काठमाण्डुका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ भन्छन् ।
यही सोचले विकास बैंक र वित्त कम्पनीको संख्या उच्च दरमा घट्दा पनि वाणिज्य बैंकको संख्या अपेक्षाकृत कटौती हुन सकेन । धेरै सञ्चालक तथा लगानीकर्ता आपैँm थप पुँजी हाल्न तयार भए । धितोपत्र बोर्डको तथ्यांक अनुसार यो अवधिमा लगानीकर्ताले हकप्रद र थप नयाँ निष्कासन (एफपीओ) मा सहभागी भएर बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक) मा ६७ अर्ब रुपियाँ थप लगानी गरेका छन् । बैंकले पुँजी वृद्धिका लागि नाफाबाट ६० अर्ब रुपियाँ बोनस सेयर दिएका छन् । कुल १ खर्ब २८ अर्ब रुपियाँ नयाँ पुँजी बैंकमा थपिएको छ ।
प्रतिगामी कदम
राष्ट्र बैंकले पुँजी वृद्धिका लागि बैंक तथा वित्तीय संस्थालाई ०७४ असार मसान्तसम्मको समय दिएको थियो । मर्जरमा जोड दिइने भने पनि राष्ट्र बैंकले यो अडान बीचमै छाड्यो । स्रोतका अनुसार यसको मुख्य कारण थियो, सेयर बजार घट्ने डर । मर्जर र एक्विजिसन (प्राप्ति) ले दुई वा दुईभन्दा बढी बैंकलाई एउटामा सीमित पार्छ । यसरी पुँजी पुर्याउँदा बैंक तथा वित्तीय संस्थाबाट बोनस वा हकप्रद सेयर प्राप्त हुने अवस्था कम हुन्छ । बोनस र हकप्रद दरले नै नेपाली सेयर बजार सूचक नेप्सेको ग्राफ घटबढ हुने गर्छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याएको व्यवस्था कार्यान्वयनका लागि २१ साउन ०७२ मा परिपत्र जारी गर्दै मर्जरमै जानु नपर्ने संकेत दियो । परिपत्रले ०७४ असारमा बैंकहरूले नाफा कमाएपछि प्रस्ताव गर्न सकिने बोनस सेयरलाई समेत जोडेर पुँजी पुगेको देखाउन सकिने व्यवस्था गर्यो । यससँगै धेरैजसो बैंकले बोनस, हकप्रद, एफपीओबाटै पुँजी पुर्याउने प्रस्ताव राष्ट्र बैंकमा पेस गरे । बजार उकालो लाग्यो र १ हजारमा रहेको बजार सूचक १२ साउन ०७४ मा हालसम्मकै उच्च बिन्दु १८८१ सम्म पुग्यो ।
पुँजी वृद्धिपछि बैंकहरूले १० देखि २० प्रतिशतभन्दा बढी प्रतिफल दिन सक्ने अवस्था थिएन । तर, बोनस र हकप्रदको आडमा सेयर बजारबाट लगभग एक वर्षसम्म दोब्बर लाभ लिन सकिने अवस्था बन्यो । “सेयर बजारको आयाम नहेरी सञ्चालकले बैंकमा थप लगानी गरेका थिएनन्,” श्रेष्ठ भन्छन् ।
एउटा बैंकबाट कर्जा लिने र अर्को बैंकको बोनस र हकप्रदमा लगानी गर्ने परिपाटी मौलाउँदै गयो । एउटा खल्तीबाट अर्को खल्तीमा पैसा गयो भन्दै अर्थमन्त्री खतिवडालगायतले सुरुदेखि नै यसको विरोध गरे । राष्ट्र बैंकको भने आफ्नै धारणा छ । “हकप्रद र बोनस सेयर लगानीकर्ताको अधिकारको कुरा हो, बैंकहरू नियममै रहेको अवस्थामा यसमा रोक लागाउन सकिँदैन,” राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक नारायण पौडेलको विश्लेषण छ ।
पुँजी वृद्धिको अर्को दुष्प्रभावका रूपमा बैंकहरूमा कर्जायोग्य पुँजी अभावको समस्या देखिँदै आएको छ । पुँजी वृद्धिको अनुपातमा कर्जा बढाउन सकिएन भने नाफा बढाउन सकिँदैन भन्ने ध्याउन्नमा बैंकहरू लागे । निक्षेप र प्राथमिक पुँजीका आधारमा कर्जा लगानी गर्न पाइने सीमालाई बैंकहरूले खुलमखुला भत्काउन थाले ।
यो सीमामा बाँध्ने पटक–पटकको असफल प्रयासपछि बैंकहरूलाई सच्चिन राष्ट्र बैंकले दिएको समयले बैंकरको मनोबल थप बढ्न थाल्यो । औसतमा साढे ३ प्रतिशतमा चलिरहेको निक्षेपको ब्याजदर ७ प्रतिशत पुग्यो । मुद्दती निक्षेपको ब्याजदर १४ प्रतिशतसम्म पुग्यो । अपेक्षाकृत रूपमा निक्षेप बढेन तर एउटा बैंकको पैसा अर्को बैंकले तान्ने प्रवृत्ति बढ्यो । सन्तुलित रूपमा अगाडि बढेका बैंकहरूलाई आफ्नो खर्बौं निक्षेप खोसिनबाट जोगाउन हम्मेहम्मे पर्यो । कर्जा महँगियो । यी सबैको कारण एउटै थियो, वाणिज्य बैंकको संख्या यथावत रहनु ।
कर्जा लगानी र निक्षेप संकलनका आधारमा समग्र बैंकिङ क्षेत्रमा अहिले पनि वाणिज्य बैंकको एकल आधिपत्य कायम छ । समग्र क्षेत्रमा पुँजी आधारमा वाणिज्य बैंकको हिस्सा ८२ प्रतिशत, निक्षेप र कर्जा दुवैमा ८७ प्रतिशत छ । समस्या अवगत हुँदाहुँदै पनि राष्ट्र बैंकले त्यसलाई सच्याउने प्रयास गरेन । वाणिज्य बैंकहरूमै पनि सबैले समयावधिमा पुँजी पुर्याएनन् । नियममा बसेकालाई बोनस र हकप्रद जारी गर्न रोक्न नसकिने तर्क गरिरहेको राष्ट्र बैंकले परिस्कृत वित्तीय विवरण पेस गर्दा पुँजी पुगेको देखाउन सकिने गरी चोर–बाटोबाटै नीतिगत सहुलियत दिएर समयावधि बढायो । समयावधि ६ महिना थपेको बताउँदै आए पनि यो आर्थिक वर्ष अन्त्यसम्म वाणिज्य बैंकहरूको एफपीओ जारी भइरहनुले राष्ट्र बैंकको नियत स्पष्ट पारेको छ ।
फेरि भूल सुधार
विगतको भूल सुधारका नाममा चार गुणाले चुक्ता पुँजी वृद्धिको निर्णय आएको थियो । उदारीकरणसँगै निजी लगानी खुला गरिएपछि बिनायोजना बैंक तथा वित्तीय संस्थालाई अनुमति दिइकामा त्यसलाई सच्याउन यस्तो नीति आएको थियो । सानो अर्थतन्त्र भएको मुलुकमा एक दशकको अवधिमै वाणिज्य बैंकको संख्या १३ बाट बढेर ३२, विकास बैंकको ७ बाट बढेर ८८ र वित्त कम्पनीको ४५ बाट बढेर ७९ पुग्यो । तिनको नियमन गर्न सक्ने क्षमता राष्ट्र बैंकमै देखिएन ।
बैंकहरूमा समस्या बढ्दै गयो । सोही अवधिमा केही वित्तीय संस्था समस्याग्रस्त भए । यही कारण यसअघि पनि बैंकहरूको पुँजी वृद्धि गरिसकिएको थियो । तर, संख्या धेरै, लगानी क्षमताको समस्या हटेन । क्षमता बढाउन भन्दै पुन: पुँजी वृद्धिको निर्णय आएको हो । अहिले फेरि ‘बृहत् मर्जर’लाई भूल सुधारको कार्ड बनाइएको छ । राष्ट्र बैंकभित्रका केही पदाधिकारीको आड पाएर बाहिरबाट यो आवाज चर्को बनाइन थालिएको छ । बृहत् मर्जरका पक्षमा बाहिर जति चर्कोसँग आवाज उठेको छ, भित्र त्यसको घनत्व कम छ । “पटक–पटक वित्तीय क्षेत्रलाई अस्थिर बनाइराख्न सकिँदैन, यो हल्ला किन आएको छ, मैले बुझेको छैन,” राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा भन्छन् । बैंकहरूलाई पटक–पटक पुँजी वृद्धिकै दबाब दिइरहन नसकिने उनको बुझाइ छ ।
प्रणालीगत रूपमै महत्त्वपूर्ण वित्तीय संस्था छनोट गर्ने र त्यसको संरक्षण गर्ने राष्ट्र बैंकको दीर्घकालीन योजनालाई हेरेर धेरैले ‘बृहत् मर्जर’को सम्भावना देखाइरहेका छन् । यस्ता बैंक धराशयी हुँदा पूरै अर्थतन्त्रमा नोक्सान हुन सक्ने भएकाले यसको छनोट र संरक्षण गर्ने सोच राष्ट्र बैंकको छ । यद्यपि, अहिले सबैजसो बैंक पुँजी आधारमा समान भएका छन् ।
सबैजसो वाणिज्य बैंकको अर्थतन्त्रसँगको अन्तरसम्बन्ध गहिरो छ । यसैले कुनै एक वा दुईलाई नै तोकेर तत्काल संरक्षण गर्न सकिने अवस्था छैन । यस्तोमा राष्ट्र बैंकले सरकारी बैंकहरूको मर्जरमा भने छलफललाई खुला राख्दै आएको छ । वाणिज्य बैंकहरूलाई बृहत् मर्जरमा लैजानै नहुने भन्ने होइन । राष्ट्र बैंकले यसैलाई आफ्नो भूल सुधार्ने अवसर पनि बनाउन सक्छ । विगतमा पुँजी वृद्धिको निर्णयअघि ठूलो बन्ने संस्थाको व्यवस्थापनमा बैंकरहरूको क्षमता विकास गरिनुपथ्र्यो भन्ने दृष्टान्त कर्जायोग्य पुँजी अभावबाट उत्पन्न जटिलताले देखाइसकेको छ । यस्ता पक्षलाई बिर्सिएर बृहत् मर्जरमा जाँदा जटिलता थप बढ्ने विज्ञहरूको टिप्पणी छ ।
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...