कानुनका सौर्य
संसारकै सर्वोत्कृष्ट अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो नेपाली हुन्, सुवेदी ।
सूर्य सुवेदी, बेलायत
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरे, उपसचिव पदमा पुगे, सर्वोच्च अदालतका अधिवक्ता थिए, तैपनि सूर्य सुवेदी, ६१, मा कानुनी ज्ञानको प्यास मेटिएको थिएन । त्यही बेला ब्रिटिस काउन्सिलबाट कानुनमा स्नातकोत्तर गर्ने छात्रवृत्ति पाए । त्यो पनि अरु होइन, बेलायतको प्रख्यात युनिभर्सिटी अफ हुलमा । परदेशमा पढ्दा अनेक हन्डर आइलागे तर लगनशीलताको सामु कसको के लाग्छ, सन् १९८८ मा विशिष्ट श्रेणीमा विश्वविद्यालयकै प्रथम भए । लगत्तै जोसेफिन ओनो पुरस्कारबाट विभूषित भए । यहीँबाट सुरु भयो, अन्तर्राष्ट्रिय कानुनमा सुवेदीको छलाङ । उपलब्धिको चाङ यति अग्लो छ कि विश्वले उनीप्रति गौरव गर्छ ।
लमजुङको खुदीको सामान्य परिवारमा पाँचमध्ये कान्छो पुत्रका रूपमा जन्मिएका थिए, सूर्य । घरमा सबै संस्कृत पढ्थे, उनी पनि नजिककै महेन्द्र प्रधान संस्कृत पाठशालामा पढ्न थाले । तिनताका एबीसीडी भट्याउनु मात्र पनि पाप ठानिन्थ्यो । उनका हजुरबुबा अंग्रेजी पढेपछि मुख कुल्ला गर्नुपर्छ भन्थे । सुवेदीले एबीसीडी जानेकै आठ कक्षा पुगेपछि मात्र हो । जसोतसो लमजुङबाट एलएलसी गरे । र, काठमाडौँ हानिए । उद्देश्य थियो, साइन्स पढेर वैज्ञानिक बन्ने । तर, परिवन्दले कानुन पढ्नुपर्यो ।
संसारकै सर्वोत्कृष्ट अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने पहिलो नेपाली हुन्, सुवेदी । अक्सफोर्डमा उनको विद्यावारिधि शोधग्रन्थ उत्कृष्ट ठहरियो र दास्तुरजादा पाभ्री मेमोरियल पुरस्कारबाट सम्मानित भए । सन् १९९२ बाट प्राध्यापन सुरु गरे, आफैँले पढेको हुल विश्वविद्यालयबाट । ६ वर्षमै प्राध्यापक भए । लन्डन विश्वविद्यालय र युनिभर्सिटी अफ लिड्समा पनि पूर्णकालीन प्राध्यापकका रूपमा काम गरे । संसारका ७८ देशमा प्रवचन दिइसकेका छन् । १२ मुलुकमा अन्तर्राष्ट्रिय कानुनसम्बन्धी औपचारिक सल्लाहकार बने । आठ अन्तर्राष्ट्रिय स्तरका पुस्तक प्रकाशित छन् । मानव अधिकार सम्बन्धी पछिल्लो कृति बेलायतस्थित बहुराष्ट्रिय प्रकाशन गृह रूटलेजले छापेको थियो ।
सुवेदीले बेलायतका उत्कृष्ट विद्वान्हरूलाई महारानीबाट प्रदान गरिने बेलायती साम्राज्यको मानार्थ अधिकृत र स्वाध्ययन गरी बेलायतको ब्यारिस्टरको उपाधि हासिल गरिसकेका छन् । लन्डन विश्वविद्यालयको सर्वोच्च नीति निर्णायक निकायमा ५ वर्ष काम गरेपछि उनलाई बेलायतका परराष्ट्रमन्त्रीले ५ वर्षका लागि मानव अधिकार कानुनको सल्लाहकारका रूपमा नियुक्त गरेका थिए । यसबीच सन् २००९ देखि ६ वर्षसम्म संयुक्त राष्ट्र संघको मानवअधिकार सम्बन्धी विशेष दूतका रूपमा कम्बोडियामा काम गरे । ३० वर्षदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याएको यही उत्कृष्ट योगदानको मूल्यांकन गर्दै संसारको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय कानुनी प्रज्ञा प्रतिष्ठानले सुवेदीलाई गत वर्ष पूर्ण स्थायी प्राज्ञको रूपमा निर्वाचित गर्यो ।
सुवेदीको नेपाल र नेपालीप्रतिको प्रेम उत्तिकै अमिट छ । बेलायतमा ब्रिटेन नेपाल प्राज्ञिक परिषद् गठन गरी १० वर्ष संस्थापक अध्यक्ष बने । गत वर्षदेखि ग्लोबल पोलिसी फोरम फर नेपालका अध्यक्षको भूमिकामा छन् । बेलायतको सबैभन्दा पुरानो संस्था ब्रिटेन नेपाल मेडिकल ट्रस्टको सहअध्यक्षका रूपमा पनि सेवा गर्दै आएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन)को संस्थापन पत्र उनैले तयार पारेका थिए । एनआरएनको प्रमुख सल्लाहकार, केन्द्रीय संरक्षक परिषद्मा समेत बसिसकेका सुवेदीले एनआरएन बेलायतको प्रमुख संरक्षकको भूमिका पनि निर्वाह गरिसकेका छन् । सुवेदीका अनुसार उनले राजा वीरेन्द्र र ज्ञानेन्द्रका अतिरिक्त बहुदलीय व्यवस्था स्थापनापछिका प्राय: सबै प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय कानुनी र संवैधानिक विषयमा सल्लाह दिएका छन् ।
नेपालको दुर्गम भेगको सामान्य परिवारमा जन्मिएको नेपालीले कानुनी क्षेत्रमा संसारलाई चकित र लाभान्वित तुल्याउने सफलता हासिल गर्नु आफैँमा चमत्कार हो । यसलाई सुवेदी कडा मिहिनेत, इमानदारिता, लगनशीलता, निष्ठा अनि भगवान् र आफ्ना पितृको आशीर्वादको फल ठान्छन् । “अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, विश्वव्यापीवाद र सबै मानवलाई समान गर्नुपर्छ भन्ने सोच मेरा सफलताका भित्री कारण हुन्,” अनलाइन कुराकानीमा यी प्राध्यापकले भने, “मेरो कर्ममार्फत नेपालीका रूपमा नेपालको झन्डा सकेसम्म संसारको अग्लो ठाउँमा फहराउन चाहन्छु ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...