[स्मरण] अगमसिंहको आक्रोश
धेरै अग्रज भएकाले म उनको छेउ परिहाल्न हच्कन्थेँ । उनको आफ्नै साहित्यिक जमात थियो । साँझ परेपछि नियमित सुरापान गर्थे भन्ने सुन्थेँ । तर, पिएर लरबराउँदै हिँडेको कहिल्यै भेटिनँ ।
दार्जिलिङको त्यो समय, कवि अगमसिंह गिरीको थियो । भानुभक्त प्राइमरी स्कुलका प्रधानाध्यापक थिए । उनको स्कुलमा पनि छुट्टीका बेला गोष्ठी र भेटघाट भइरहन्थ्यो । स्कुले विद्यार्थी छँदै पनि भाग लिएको थिएँ ।
धेरै अग्रज भएकाले म उनको छेउ परिहाल्न हच्कन्थेँ । उनको आफ्नै साहित्यिक जमात थियो । साँझ परेपछि नियमित सुरापान गर्थे भन्ने सुन्थेँ । तर, पिएर लरबराउँदै हिँडेको कहिल्यै भेटिनँ । पिएर कसैसँग झगडा गरेको पनि थाहा पाइनँ । पियक्कड त थिए तर भलाद्मी ।
सन् १९५४ मा दार्जिलिङ पढ्न पुगेपछि त्यहाँको वातावरणले मलाई साहित्यतिर घिसार्यो । स्कुलको वार्षिक मुखपत्र र होस्टेलमा बस्ने छात्रहरू मिलेर निकालेको हस्तलिखित पत्रिका आँसुले लेख्न प्रेरित गर्दै लग्यो । गिरीकै शैलीमा पनि कविताहरू लेखेँ । छन्दबद्ध कविता पनि लेखेँ ।
उसबेलाका नामचलेका अच्छा राई रसिक र अरू हास्यव्यंग्यकारको सिको गर्दै हास्यव्यंग्य निबन्ध र भारतीमा समस्यापूर्ति कविता लेखेँ । अरू पनि नामी कविहरू थिए तर गिरीका कविताले झैँ विह्वल र आल्हादित तुल्याउन सकेन । स्कुलमा राम्रा गुरुहरूले नेपाली र अन्य विषय पढाए । म पुग्दा सूर्यविक्रम ज्ञवाली प्रधानाध्यापक थिए । बाबुलाल प्रधान, परशुराम रोका, हर्कबहादुर कुमाई, रामचन्द्र गिरी आदि साहित्यकार शिक्षक थिए ।
सन् १९५५ मा गिरीको खण्डकाव्य याद छापियो र १०/१५ प्रति लिएर हामी बसेको कर्माइकल होस्टेलमा गिरीजी अर्का कवि निर्मल प्रधानसँग आएको सम्झन्छु । ‘बेचिदिनू है भाइहरूले’ भनेका थिए । हामीले पनि केही प्रति याद बेचेर सहयोग गरेका थियौँ । करुण रसको त्यो भन्दा मन छुने मीठो कविता त्यसअघि मैले फेरि पढेको थिइनँ–
जीवन क्षणको स्वप्न जगाउँदै
आयो निर्मम याद ।
सधैँ दौरा–सुरुवाल, कोट र टोपी लाउने अगमसिंह गिरीको व्यक्तित्व आकर्षक र प्रभावशाली लाग्थ्यो । उनका प्राय: गीत र कविता नेपाली जातीय भावनाले भरिएका हुन्थे । मुगलान भासिएका नेपालीको दु:ख, पीडा, गरिबी र तिनबाट मुक्तिको चाहले लेखिएका उनका कवितामा आफ्नो भूगोल, माटोप्रति अगाध प्रेम र निष्ठा नै प्राणतत्त्व हुन्थ्यो । नेपालीत्व उनको जीवन र काव्यको आदर्श थियो । सदा शोषित, उत्पीडित र सबै थोकको पहुँचबाट बाहिर सीमान्तमा बाँच्न बाध्य पारिएका पहाडका नेपालीको नागरिक र मानवअधिकार, तिनको जातिप्रेम र अस्तित्वको दाबीका लागि स्वर बुलन्द गर्ने कवि थिए, गिरी ।
माटोको माया बिर्सेर यहाँ जिउनु पो केको सार
पहाडकी रानी दार्जिलिङलाई माया छ बारम्बार ।।
पहिले कमानमा पैसा फल्छ भन्दै नेपालका कुनाकन्दराबाट दार्जिलिङ चियाबगानमा काम खोज्दै नेपालका मानिसहरू पुग्थे । तर, के साँच्चै चियाको बोटमा पैसा फल्थ्यो र ?
नियाली हेर हामीलाई भिजेका छैनन् परेली
आँसुले गह भिजाए . . . अरूले निर्धा सम्झेलान् ।
बुझ्छ र कल्ले रोएको मुटुमा काँडा लिएर
अरूका सारमा हाँसेको आँसुका घुट्का पिएर ।
उनका अरू पनि कृतिहरू छापिए । आत्मव्यथा (१९५९), जीवनगीत (१९६०) आँसु (१९६८), युद्ध र योद्धा (१९७०) उनकै जीवनकालमा प्रकाशित कृति हुन् । उनको निधनपछि छापिएको कृति हो, जलेको प्रतिविम्ब रोएको प्रतिध्वनि (१९७८) ।
नौलाख तारा उदाए ... गीतका अमर गीतकार अगमसिंह गिरी मात्रिक छन्दमा मात्र नभएर गद्य कविता पनि लेख्थे । उनको तेस्रो आयाम (१) मा ‘ चिहान यहाँ बोलिरहेछ’ गद्य कविता प्रकाशित भयो । त्यस पत्रिकाको पाठक प्रतिक्रियामा गिरीको कविताको टिप्पणी थिएन । त्यसैले उनी हामीसँग रिसाए । ... ‘रेलिङमा घस्रँदै मान्छे हिँड्छ, साँझको बेला, आकाशमा बादल लागेको छ ।’
‘अब त जसो गरेर लेखे पनि कविता हुने भइहाल्यो नि होइन त, बैरागीजी ?’ रिसाएजस्तो व्यंग्य गरे गिरीजीले एक साँझ ममाथि । मैले त नबोली जितेँ । मसँग उनको पेच पार्ने कुरा गरेको यही नै पहिलो र अन्तिम थियो होला । एउटा धारको नेतृत्व गरेर प्रतिष्ठित भएका, कहलिएका सर्जकको अहम्मा हाम्रा गतिविधिले चोट पुगेछ ।
गिरी साहित्यमा अलिकति मात्र रुचि हुनेका लागि पनि उत्प्रेरक थिए । विभिन्न गोष्ठी आयोजना गर्थे र बोलाउँथे । साहित्यिक गतिविधिका अभियन्ता थिए । त्यसैले दार्जिलिङे साहित्यिक वातावरणमा रमाएका सबै उनको नेतृत्वप्रति अनुगृहीत रहनेछन् ।
प्रस्तुति : रमण घिमिरे
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...