स्टार्टअपले बदलेको व्यापार
प्रविधिमैत्री व्यापारशैली अवलम्बन गर्ने स्टार्टअपका कथा
सुविधासम्पन्न गाडी । ६ अंकमा आम्दानी । चार वर्षमा तीनपटक पदोन्नति । नेपाल इन्भेस्टमेन्ट बैंकमा काम गरिरहेका शिक्षित भट्ट, ३८, आर्थिक रूपमा सन्तुष्ट थिए । तर, आफैँले नेतृत्व लिएर व्यवसाय गर्ने लालसाले उनले जागिर छाडे । अनि, जन्माए एक महत्त्वाकांक्षी परियोजना ।
काठमाडौँको ट्राफिक जामलाई केही नयाँ गर्ने अवसरका रूपमा लिए उनले । त्यसैले यात्रु र मोटरसाइकल चालकबीच मोबाइल एप्लिकेसनका माध्यमबाट समन्वय गराई कुनै पनि ठाउँमा शीघ्र र सुरक्षित रूपमा पुग्न सकियोस् भन्ने उद्देश्यले आइडिया निकाले, ‘टुटल’ । त्यसबाहेक बाइकवालाका लागि यो सेवा आम्दानीको स्रोत पनि बनिदियो । भट्ट भन्छन्, “हामीमाझ उपलब्ध स्रोतसाधनको उपयोग गर्दै देश विकासमा टेवा दिन सकिन्छ भन्ने लाग्यो ।”
गुगल प्लेस्टोरबाट टुटल एप्लिकेसन ५० हजारभन्दा बढी डाउनलोड गरिएको छ । लिफ्ट दिएबापत मोटरसाइकल चालकले क्यास अथवा टुटल अकाउन्टमा यात्रुबाट केही रकम प्राप्त गर्छन् । धेरैले यसैलाई आयआर्जनको स्रोत बनाएका छन् । “टुटलबाट मासिक ४५ हजारसम्म कमाउने चालक पनि छन्,” भट्टले सन्तुष्टि साटे ।
०७२ को नाकाबन्दीका बेला सुमना श्रेष्ठले फेसबुकमा कारपुल काठमाडौँ नामक ग्रुप सञ्चालन गरिन् । लिफ्ट लिन र दिन चाहनेले आफ्नो गन्तव्य र रुट पोस्ट गर्थे । विवरण मिलेको खण्डमा गाडी भएकाले नभएकालाई लिफ्ट दिन्थे । पछि यसको मोबाइल एप्लिकेसन पनि आयो । तर, धेरै चल्न सकेन ।
कारपुल काठमाडौँको मुख्य समस्या थियो, यात्रु सुरक्षा । चालकको रुट ट्रयाक गर्न मिल्दैनथ्यो । यसैलाई शिक्षितले चुनौतीका रूपमा लिए । त्यसैले टुटलमा चालकको लोकेसन ट्रयाक गर्न मिल्ने अवधारणा ल्याए । भट्टलाई यो प्रणाली अन्य यातायात सेवाले पनि अवलम्बन गरून् भन्ने थियो । भन्छन्, “बस यात्रुलाई पनि सहज होस् भनी यस्तै ट्रयाकिङ प्रणाली केही बस सेवालाई बेच्न खोजेँ । तर, कसैले रुचि देखाएनन् ।”
चालकको रुट ट्रयाक गरी यात्रु सुरक्षालाई प्राथमिकतामा राख्न ‘सारथि’ पनि तत्पर देखिएको छ । पहिले फोनबाटै दिनको पाँच हजारसम्म ट्याक्सी बुकिङ रिक्वेस्ट लिने सारथि अब मोबाइल एप्लिकेसन ल्याउने क्रममा छ । भनेको ठाउँमा ट्याक्सी नपाइने र जान नमान्ने, अझ कतिपय अवस्थामा मिटरमा जान नमानेर बार्गेन गर्नुपर्ने । यस्ता समस्या भोग्ने धेरै थिए, समाधान खोज्ने निकै कम । यस्तै समाधान खोज्नेमा एक हुन्, प्रकाश न्यौपाने, २९ । विदेशतिर उबर, ओलाजस्ता क्याब सेवाले प्रचुर ख्याति कमाइरहँदा नेपालमा एड्डी क्याबजस्ता सेवा फस्टाउने क्रममा थिए । “प्रतिस्पर्धी मानिनँ एड्डी क्याबलाई, समकक्षीका रूपमा लिएँ । हामी दुवैको उद्देश्य क्याब सेवा सहज बनाउनु थियो,” न्यौपानेले अनुभव सुनाए ।
ट्याक्सी चाहिएको खण्डमा अनलाइन सेवाबाट मगाउनुभन्दा बाटोमा गएर पर्खन रुचाउने धेरै छन् । पुरानो पुस्ता मोबाइलमैत्री पनि छैन । सम्भाव्यता अध्ययन गर्दा यस्ता चुनौती अनुमान गरेका न्यौपानेलाई निरुत्साहित गर्ने पनि धेरै भेटिए । सुनाउँछन्, “सबैको कुरा सुनेँ तर मन लागेको गरेँ ।” यसअघि उनैद्वारा सञ्चालित नेपफ्लाइट्स नामक स्टार्टअपको अनुभवले पनि उनलाई सघायो । ट्वीटरमा लाखौँ फलोअर्स भएका लेखक बुद्धिसागरले सारथिबारे ट्वीट गरिदिएकाले पनि धेरैलाई यसको जानकारी हुन गएको प्रकाश बताउँछन् ।
यस्ता मोबाइल एप्लिकेसनमा हुने साझा फिचर हो, लोकल भुक्तानी माध्यम । सिंगो विश्व नै क्यासलेस भइरहँदा नेपालमा भने नगदरहित भुक्तानी माध्यमको प्रयोग सहज छैन । टुटल वा सारथि नै प्रयोग गर्नुपर्यो भने पनि हामी नगदमै कारोबार गर्न रुचाउँछौँ । यही समस्याको समाधानका रूपमा ईसेवा, खल्तीजस्ता स्टार्टअप आए । नेपालमा हुँदै नभएको उद्योग सिर्जना गर्न ईसेवालाई गाह्रो थियो भने त्यही लयमा आफ्नो छुट्टै पहिचान बनाउन खल्तीलाई । चार सहपाठी मिली एक कोठाबाट सुरु गरेको खल्ती सेवाप्रदायक जानकी टेक्नोलोजी अहिले नेपालका सफल कम्पनीको सूचीमा अग्रपंक्तिमा आउँछ ।
“मोबाइल र डिसहोम रिचार्ज सेवा त सबै भुक्तानी माध्यमले दिन्छन् । बजारमा राम्रो छवि बनिसकेकाले हामीलाई त्योभन्दा ठूलो केही गर्ने चुनौती थियो,” कम्पनीका संस्थापकमध्येका एक मनीष मोदी भन्छन् । मनीषलगायत उनका सहपाठीका पहिलेका स्टार्टअप स्प्यारो एसएमएस र पिकोभिको पनि सफल भए । एउटा स्टार्टअप सफल भएपछि त्यहाँबाट आर्जेको मुनाफा अर्को कम्पनीमा लगाउने क्रममा खल्ती आएको हो । भारत र दक्षिण अमेरिकी राष्ट्र चिलीमा समेत ती कम्पनीले ख्याति कमाए ।
नगदरहित भुक्तानी सहज बनाए पनि अधिकांश मानिस अझै खल्तीजस्ता सेवा स्वीकार्न सकिरहेका छैनन् । यसका अर्का संस्थापक अरबिन्द शाह भन्छन्, “तिनलाई यो सेवा सुरक्षित र भरपर्दो छ भनी बुझाउन सकेको दिन नै हामी आफूलाई सफल मान्नेछौँ ।”
कहिलेकाहीँ नचाहँदा नचाहँदै आइपर्ने प्राविधिक त्रुटिका कारण भुक्तानी नहुँदा पैसा खर्च भयो भनी आत्तिने मानसिकता हामीमाझ व्याप्त छ । यसका लागि डिजिटल साक्षरता कार्यक्रमको आवश्यकताबोध खल्तीमा सबैले गरेका छन् । त्यसैले समाजमा डिजिटल वालेट सम्बन्धी सचेतना फैलाउन प्लस टु र स्नातक गर्दै गरेका छात्रा नियुक्त गरेको अर्का संस्थापक ध्रुव अधिकारी बताउँछन् ।
नेपालमा अहिले फस्टाइरहेको ईकमर्स उद्योग हेर्ने हो भने ‘किराना’ ले आफ्नो छुट्टै पहिचान बनाइरहेको छ । “अनलाइन प्लेटफर्ममा जो पनि लुगा र इलेक्ट्रोनिक्स मात्र बेच्दै छ । त्यसबाहेक पनि मानिसका आधारभूत आवश्यकता छन्, जुन पूरा गर्ने सपना हामीले देख्यौँ,” किरानाका संस्थापक सागर भट्ट, ३० भन्छन् । काठमाडौँका असनटोल र सुपरमार्केटका भीड छिचोल्दै भान्सामा आवश्यक सामान किन्ने चलन उनीहरू बदल्न चाहन्छन् । त्यसैले वेबसाइटमा अर्डर आएका सामान ग्राहकको ढोकासम्मै पुर्याउने अभिभारा यिनले लिएका छन् । “ग्राहकलाई गुणस्तर चित्त नबुझे सामान फिर्ता पनि लिन्छौँ । यस्तैबाट त हो हामीले सिक्दै जाने,” अर्का संस्थापक कल्याण अधिकारी भन्छन् ।
यीमध्ये अधिकांश स्टार्टअपले सुरुमा आफ्नै परिवारको समेत विश्वास जित्न सकेनन् । “मैले यस्तै कुनै स्टार्टअपमा जागिर खाइरहेको भए अभिभावक सायद खुसी हुन्थे । तर, आफैँले स्टार्टअप सञ्चालन गर्न खोज्दा सुरुमा सोचेजस्तो सहयोग पाइनँ,” किरानाका कल्याण अधिकारी भन्छन् ।
नेपालमा प्रविधिमैत्री स्टार्टअपले पछिल्लो समय फड्को मारिरहेको देख्न सकिन्छ । आयुषी केसी, २९, द्वारा सञ्चालित खालीसिसीडटकम अन्तर्राष्ट्रिय बजारमा धेरै रुचाइयो । फोब्र्सले निकालेको सफल उद्यमीको सूचीमा पर्न केसी सफल भइन् । सबैका मोबाइल एप्लिकेसन छैनन् । कतिका त वेबसाइट पनि छैनन् । तर, फेसबुक, ट्वीटर र इन्स्टाग्राममा पेज खोली व्यवसाय गर्ने स्टार्टअप पनि थुप्रै छन् ।
कलासामग्री तथा ग्रिटिङ कार्ड बिक्री वितरण गर्ने लिटल थिंग्स नामक स्टार्टअपको वेबसाइट र मोबाइल एप्लिकेसन छैन । यसका सञ्चालक सविन भण्डारी सबै अर्डर फेसबुक र इन्स्टाग्रामबाट लिन्छन् । भन्छन्, “सामाजिक सञ्जाल संसारभर व्यवसाय सञ्चालन गर्ने ठूलो प्लेटफर्मका रूपमा विकसित हुँदैछ । हामीले पनि त्यही ट्रेन्ड पछ्याएका हौँ ।” शून्य अथवा सानो लगानीमै व्यवसायको प्रचारप्रसार गर्न सकिने हुँदा सोसल मिडिया मार्केटिङ अहिले धेरैको रुचिमा पर्न थालेको छ ।
प्रविधिमा आधारित स्टार्टअप फस्टाउँदै जाँदा पैसा पनि थुप्रै कमाइन्छ भन्ने गलत धारणा रहेको बताउँछन्, सारथिका प्रकाश न्यौपाने । भन्छन्, “आइडिया मात्र भए यस्ता स्टार्टअप सुरु गर्न निकै सहज छ । तर, निरन्तरता दिन कठिन ।” प्रचार गर्दा, वेबसाइट तथा एप्लिकेसन अद्यावधिक गर्दा कहिलेकाहीँ व्यक्तिगत खर्च कटौती गरेरै भए पनि व्यवसायलाई निरन्तरता दिएका छन् यस्ता स्टार्टअपले । धैर्य नभए यस क्षेत्रमा टिक्न मुस्किल पर्ने उनीहरूको अनुभव छ ।
यो पनि पढ्नुहोस् :
→ स्टार्टअप : माथिकाले कुरै बुझेनन्
सम्बन्धित
राष्ट्रको आर्थिक योजनाको मेरुदण्ड मानिने बजेटमा निश्चित व्यक्ति एवं घरानाको स्वार्थ हावी ह...
बजेटमा चलखेल, पहिलो घटना भने होइन
निश्चित व्यापारी पोस्ने ध्येयले भन्सार दर परिवर्तन गर्ने अर्थमन्त्री खतिवडाको व्यापारीसँग ...
गुलियो चकलेटभित्रको नमीठो खेल
लकडाउनको उकुसमुकुसमा अनौपचारिक क्षेत्रका श्रमिकहरू...
भाइरसबाट बच्न खोज्दा भोकै परिने डर
गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाएर गाउँ फर्किएका युवालाई कृषि पेसामा प्रोत्साहन गर...
खाद्यान्न बढी फलाउनेलाई नगदै पुरस्कार
सरकारले कोरोनापछिको अर्थतन्त्र चलायमान बनाउन स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारी सिर्जनाल...
आउँदो बजेटमा प्राथमिकताका तीन क्षेत्र
सय दिन नेपाली आकाशमा रहने मनसुनले अनुकूल वर्षा गराउने आकलन...