युद्धमा हराएका मानिसहरु [नाटक : खबर हराएको चिठ्ठी]
अनामनगरस्थित मण्डला थिएटरमा १५ भदौबाट मञ्चन भइरहेको नाटक खबर हराएको चिठ्ठीमा बेपत्ता नागरिकका चार फरक कथा छन्
जुम्लामा कटवाल प्रथा धानेर बसेका मनराजका छोरा द्वन्द्वकालमा बेपत्ता छन् । उनले गाउँलेलाई अनेक खबर सुनाउँदै हिँड्नुपर्छ । तर, उनकै छोराको खबर कसैले भन्दैनन् । गाउँका अरु पनि बेपत्ता छन् । कतिपय गाउँले बिस्तारै गाउँ छाड्दैछन् । मनराजको मन गाउँमै छ । उनलाई अझ आशा छ, छोरो फर्कने ।
अनामनगरस्थित मण्डला थिएटरमा १५ भदौबाट मञ्चन भइरहेको नाटक खबर हराएको चिठ्ठीभित्रको व्यथा हो यो । नाटकमा बेपत्ता नागरिकका चार फरक कथा छन्, योचाहिँ ‘सुख्खा आँखा’ को हो । सोही नाटकभित्र अर्को कथा छ, कुर्रै लौ । साकेला नाच्न गएका सिलीमाङ्पा हर्कलाल बेपत्ता भएपछि उनकी श्रीमती सञ्चमाया एक्ली भएकी छन् । श्रीमान्को फेटा र ढोलबाजा उनका साथी छन् । सिलीमाङ्पा हराएर साकेला नाच रोकिएकामा गाउँले चिन्तित छन् । तर, सञ्चमायालाई फेटा र ढोल अरुलाई दिन मन छैन । उनलाई लाग्छ, सिलीमाङ्पा फर्की आउनेछन् ।
सशस्त्र द्वन्द्वका दौरान ११ सय नागरिक बेपत्ता भएको सरकारी आँकडा छ । युद्ध सकिएको १३ वर्ष भइसक्यो । तर, न सास आएको छ, न त लाश । हराउने त हराइहाले, परिवारको घाउ अझै आलै छ । खबर हराएको चिठ्ठी त्यही वेदनाको अभिव्यक्ति हो । गहन र संवेदनशील विषयवस्तुले मात्र होइन, निर्माणको भिन्न शैलीले नाटकलाई विशेष बनाएको छ । नेपाली नाटक समाज र राजनीतिबाट टाढा गएको, कलात्मक पक्ष कमजोर भएको गुनासो बढ्दै गएपछि मण्डलाले नयाँ र प्रतिभाशाली निर्देशकका लागि गत वर्ष एउटा कार्यशाला चलायो । १४ निर्देशक सहभागी उक्त कार्यशालाको सहजकर्तामा भारतको नेसनल स्कुल अफ ड्रामामा पढेर फर्किएका विमल सुवेदी छानिए । गत वर्ष सुवेदीले राजधानीमै निर्देशकहरुलाई सैद्धान्तिक प्रशिक्षण दिए ।
यो वर्षचाहिँ टोली कास्की गयो, १६ साउनमा । कालावाङको सामुदायिक होस्टेलमा एक साता बिताएपछि सबै सहभागीले बेपत्ता नागरिकका छुट्टाछुट्टै कथा लेखे । यीमध्ये पोखरा थिएटरमा ४ कथा छानिए । तिनलाई एक हुलाकी पात्रमार्फत जोडियो । कथानक अझ जीवन्त बनाउन र विषयवस्तुलाई नजिकबाट नियाल्न सहभागीलाई पोखरा आसपासका बेपत्ता नागरिकका १३ परिवारसँग भेट गराइयो । सहभागी केदार श्रेष्ठका अनुसार कसरी बेपत्ता भए भन्ने भन्दा बेपत्ता परिवारमा परेको प्रभाव, नयाँ जीवनको सुरुआत र संघर्षमा जोड दिइयो, कथा बुन्ने क्रममा ।
पोखरा थिएटरमा नाटक रिहर्सलसमेत पीडित परिवारका सदस्यले अवलोकन गरेका थिए । पोखराको पहिलो प्रदर्शन उनीहरुलाई नै देखाइयो । त्यसपछि ८ भदौदेखि तीन दिनसम्म पोखरामै मञ्चन गरियो । मण्डलामा २४ भदौसम्म मञ्चन नाटकका सहजकर्ता सुवेदी भन्छन्, “समय कम थियो । पीडित परिवारकै प्रत्यक्ष अवलोकनमा चाहे जति गर्न सकेनौँ । तैपनि, बेपत्ता नागरिकका कथालाई कलात्मक शैलीमा देखाउने प्रयास गरिएको छ ।” उनी यस्ता नाटकले बेपत्ता नागरिकको सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई रचनात्मक दबाब पुग्ने विश्वास गर्छन् ।
पीडित परिवारसँग कथा खोतल्दा सहभागीले व्यक्तिगत सम्बन्ध आत्मीय बनाएका थिए । ताकि, उनीहरुको पीडाको गहिराइसम्म पुग्न सकियोस् । ती कथा र पात्रलाई मञ्चमा प्रस्तुत गर्दा त्यत्तिकै संवेदनशील भएको सहभागी श्रेष्ठ बताउँछन् । भन्छन्, “कार्यशाला र नाटक निर्माण प्रक्रियाले समाज बुझ्न र त्यसलाई रंगमञ्चमा उतार्नेे शिल्पको नयाँ क्षितिज पहिल्याउन सघाएको आभास भएको छ ।” लेखन र निर्देशन मात्र होइन, अभिनय र अन्य प्राविधिक पक्षमा १२ जना सहभागी छन्, जसमा आकांक्षा कार्की, चे शंकर, सुदाम सीके, सिजन दाहाललगायत छन् । सहजकर्ता सुवेदी भन्छन्, “यो पुस्तामा सिक्ने र काम गर्ने उत्साह अधिक छ । उनीहरु नयाँ प्रयोगद्वारा नेपाली थिएटरलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन सक्षम छन् । अभाव उचित प्लेटफर्मको मात्रै हो ।”
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...