बंगबन्धु गोल्डकप : टोली पुरानै
बंगबन्धु गोल्डकपको उपाधि रक्षा कठिन
सन् २०१६ मा बंगलादेशको ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा बहराइनको यू–२३ टोलीलाई हराएर नेपालले बंगबन्धु गोल्डकपको उपाधि उचालेपछि नेपाली फुटबलको स्वर्णिम युग सुरु भएको थियो । किनभने, त्यसपछि नेपालले १२औँ दक्षिण एसियाली खेलकुद (यू–२३) मा स्वर्ण र एएफसी सोलिडारिटी कपको उपाधि उचाल्यो ।
एसियाली फुटबल महासंघले एसियन कपमा छनोट हुन असफल राष्ट्रहरूबीच सोलिडारिटी कप खेलाएको थियो । बंगबन्धुको चौथो संस्करणको उपाधि उचालेको ११ महिनामा थप २ वटा अन्तर्राष्ट्रिय उपाधि चुम्नु नेपाली फुटबलकै ऐतिहासिक उपलब्धि थियो । तर, त्यसयता नेपाली फुटबलले आफ्नो लय गुमाउँदै गएको छ । बंगबन्धु गोल्डकपको दोस्रो सहभागितामा १७ वर्षपछि फुटबलमा उपाधि उचालेको नेपाल साफ सुजुकी कपको सेमिफाइनलबाटै बाहिरियो । सन् १९९९ मा भएको प्रतियोगिताको दोस्रो संस्करणमा नेपाल समूहको दुवै खेलमा पराजित हुँदै घर फर्केको थियो ।
अघिल्लो संस्करणमा नेपालले खेलेका ५ मध्ये ३ वटा स्पर्धा मात्रै अन्तर्राष्ट्रिय थिए । मलेसियाली क्लब फेल्डा युनाइटेड र बहराइनको टोली २३ वर्षमुनिको भएकाले अन्तर्राष्ट्रिय मान्यता पाएनन् । समूह चरणमा नेपालले गत संस्करणमा श्रीलंकालाई १–० ले हराएको थियो । फेल्डा युनाइटेड र बंगलादेशको राष्ट्रिय टोलीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा मालदिभ्सलाई ४–१ ले पराजित गर्दा नवयुग श्रेष्ठले ह्याट्रिक गरे । थप गोल विशाल राईको नाममा रह्यो । फाइनलमा पनि नेपाली टोलीले बहराइनको २३ वर्षमुनिको टोलीलाई ३–० ले हरायो । विमल घर्तीमगर, नवयुग र विशालले गोल गरेपछि नेपाल च्याम्पियन बनेको थियो । साथै, फुटबलमा लामो समय कायम उपाधिको खडेरी पनि तोडेको थियो ।
कठिन समूहको सकस
१५ असोजदेखि बंगलादेशका विभिन्न सहर सिलेट, ढाका र कक्स बजारमा हुने बंगबन्धु गोल्डकपको यसपटक कठिन समूहमा छ, नेपाल । नेपाल रहेको समूह एमा प्यालेस्टाइन र ताजकिस्तान छन् । फिफा वरीयतामा दुवै नेपालभन्दा माथि छन् । प्यालेस्टाइन १००औँ र ताजकिस्तान १ सय २०औँ स्थानमा छ । पछिल्लो वरीयतामा १ स्थान सुधारेको नेपाल १ सय ६०औँ स्थानमा छ । नेपालले यसअघि एसियन कपको छनोटमा ताजकिस्तानसँग दुवै खेल हारेको छ । ताजकिस्तानको घरेलु मैदानमा ३–० ले नतिजा सुम्पेको नेपालले गृहमैदानमा २–१ को हार बेहारेको थियो । विमल घर्ती मगरले ताजकिस्तानविरुद्ध गोल गरेका थिए ।
नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन पनि यसपटकको चुनौती कठिन भएको स्वीकार्छन् । भन्छन्, “अघिल्लो पटकभन्दा यसपटक स्तरीय टोली छन् । सबैको राष्ट्रिय टोली आउने भएकाले दोस्रो चरण प्रवेशलाई हामीले लक्ष्य बनाएका छौँ ।”
डिफेन्डिङ च्याम्पियनको हैसियतले ढाका पुग्दा फुटबल समर्थकले नेपाली टोलीबाट सोही अनुसारको प्रदर्शन अपेक्षा गरेका छन् । तर, प्रशिक्षक महर्जन दर्शकको अपेक्षाले दबाब नबढाउने बताउँछन् । “डिफेन्डिङ च्याम्पियन भएकाले टिमबाट राम्रो प्रदर्शन आश गर्नु स्वाभाविक हो । साफ च्याम्पियनसिपमा नेपाली टोलीको प्रदर्शनबाट निराश भएका दर्शकलाई थप निराश नपार्ने योजनामा हामी छौँ,” महर्जन भन्छन् ।
अघिल्लो संस्करणको बंगबन्धु गोल्डकप जित्दाका नेपाली टोली सदस्य विक्रम लामा नेपाली टोलीमा पछिल्लो समय सामूहिक भावनाको कमी देख्छन् । आफूभन्दा बलिया प्रतिद्वन्द्वीसँग स्पर्धा गर्दा टिम गेम नभए हार्नुको विकल्प नभएको उनी बताउँछन् । “साफ च्याम्पियनसिपको नेपालको प्रदर्शनलाई आधार मान्ने हो भने हामी टिमका रूपमा खेलिरहेका छैनौँ,” उनी थप्छन्, “हाम्रा खेलाडीहरू प्रतिभाशाली छन् । प्राविधिक रूपमा पनि राम्रा छन् । तर, सामूहिक भावनाको कमी छ ।’
बंगबन्धुको उपाधि रक्षा गर्नुभन्दा पनि साफ च्याम्पियनसिपमा नेपाली टिमले गुमाएको शाखलाई फर्काउने योजना बुन्नुपर्नेमा उनको जोड छ । अघिल्लो पटकको सेमिफाइनलमा मालदिभ्सलाई ४–१ ले हराएको नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा ३–० ले पराजित भएको थियो । त्यसैले गिर्दो शाखलाई जोगाउने अवसरका रूपमा बंगबन्धुलाई लिन उनी सुझाउँछन् ।
नेपाली फुटबल टोलीमा अधिकांश खेलाडी बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप खेलेका छन् । गोलरक्षकमा किरण चेम्जोङ र एट्याकिङ मिडफिल्डर रोहित चन्द यसपटक टिममा अटाएका छैनन् । किरणको स्थानमा विशाल श्रेष्ठ र रोहितलाई तेज तामाङले विस्थापित गरेका छन् । किरण व्यावसायिक खेलका लागि मालदिभ्समा र रोहित इन्डोनेसियामा छन् । भरपर्दा दुई खेलाडीको अनुपस्थितिले नेपाली टिमको हौसलामा केही कमी आउने भए पनि त्यसले प्रदर्शनमा खासै फरक नपार्ने प्रशिक्षक महर्जनको दाबी छ । “उनीहरू दुवै सिनियर र भरपर्दा खेलाडी हुन् । त्यसैले अनुपस्थितिले केही फरक त पार्छ । तर, असर भने गर्दैन । टिममा रहेका अन्य खेलाडी पनि योग्य छन् ।” साफ च्याम्पियनसिपको अनुभव र कमीकमजोरीबारे सबै खेलाडी ज्ञात रहेकाले पनि केही खेलाडीको अनुपस्थितिले फरक नपार्ने उनको तर्क छ ।
साफ च्याम्पियनसिपमा नचलेको नेपालको मिडफिल्ड र रक्षापंक्तिलाई सुधार्नु प्रशिक्षक महर्जनको चुनौती छ । सोही प्रतियोगिताका बेला बढी आत्मविश्वासी भएकाले बेहोर्नुपरेको नतिजामा सुधारको खाँचो पनि उत्तिकै छ । नेपाली टोलीका भरपर्दा मिडफिल्डर विक्रम लामा भन्छन्, “हारजित आफ्नो ठाउँमा छ । अघिल्ला गल्ती र कमजोरीलाई मात्रै सुधार्न सकियो भने सेमिफाइनल प्रवेश कठिन हुने छैन ।” तर, त्यसका लागि नेपाली टोलीमा जितको भोक र टिम स्पिरिटको खाँचो उनी औँल्याउँछन् ।
द्विविधाबीच सहभागिता
नेपालले बंगबन्धु खेल्ने/नखेल्ने भन्नेमै द्विविधा थियो । अघिल्लो संस्करण जित्दा नेपालले पुरस्कारबापत ५० हजार अमेरिकी डलर प्राप्त गर्नुपर्ने थियो । तर, आयोजक बंगलादेश फुटबल महासंघले त्यतिबेला नेपाललाई पुरस्कारको आधा रकम २५ हजार अमेरिकी डलर मात्र उपलब्ध गराएको थियो । बंगलादेशी प्रधानमन्त्रीको हातबाट विजेता नेपाली टिमका कप्तान विराज महर्जनले त्यतिबेला २५ हजार डलर र ट्रफी मात्रै थापेका थिए । नेपालले पुरस्कारबापतको बाँकी रकम प्राप्त नभएसम्म बंगबन्धुमा सहभागिता जनाउन नसक्ने बेहोराको पत्र बंगलादेश फुटबल महासंघलाई पठाएको थियो । गत ७ असोजमा बंगलादेशबाट बाँकी रकम प्राप्त भएसँगै अन्तिम समयमा नेपालले पाँचौँ संस्करणको बंगबन्धु कप खेल्ने निश्चित भएको थियो ।
बंगबन्धुको सहभागिताबारे अन्योलका बीच नेपाली टोलीले अभ्यास भने जारी राखेको थियो । ९ असोजबाट राष्ट्रिय टोलीले बन्द प्रशिक्षण थाले पनि खेलाडीहरू क्लबबाट नियमित अभ्यासमा रहेको प्रशिक्षक महर्जनको भनाइ छ । “साफ च्याम्पियनसिप खेलेर आएदेखि नै खेलाडीहरू नियमित अभ्यासमा छन् । सँगै प्रशिक्षण गर्न नपाए पनि सहिद स्मारक ए डिभिजन लिगका लागि खेलाडीहरू क्लबको प्रशिक्षणमा रहेकाले तयारी कम भन्न मिल्दैन,” उनी भन्छन् ।
साफ च्याम्पियनसिपका लागि घाँसेमैदानमा प्रशिक्षण गर्न नपाएको भन्ने खेलाडीको गुनासो सम्बोधनका लागि एन्फाले यसपटक नेपाली टोलीको प्रशिक्षण हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा गराएको छ । त्यसभन्दा पहिले नेपाली टोलीको प्रशिक्षण सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा हुँदै आएको थियो ।
नेपाली राष्ट्रिय टोलीको पछिल्लो फर्मलाई आधार मान्ने हो भने टोली बंगबन्धुको उपाधि रक्षा गर्ने तागत राख्दैन । लामो समय घरेलु लिग नहुनुको पीडा अहिले राष्ट्रिय टोलीमा देख्न सकिन्छ । त्यसबाहेक पनि अघिल्लो संस्करणको बंगबन्धु गोल्डकप जितेयता प्राप्त उपलब्धि र म्याच एक्सपोजरको लेखाजोखा गर्ने हो भने पनि नेपाल चुक्दै आएको छ । नेपालमा बिस्तारै फुटबल ट्रयाकमा आउँदै छ भनेर देखाउन पनि टोलीले बंगबन्धु गोल्डकपमा राम्रो प्रदर्शन गर्न आवश्यक छ । किनभने, बंगलादेशको भूमिमा नेपालले यसअघि साफ च्याम्पियनसिपमा बेहोरेको हारमा मलह्म लगाउन पनि आफूभन्दा बलिया प्रतिद्वन्द्वीलाई कडा टक्कर दिनु श्रेयस्कर हुन्छ । नेपाली टोलीले अहिलेकै अवस्थामा उपाधि रक्षा गर्नु भनेको फलामको चिउरा चपाएसरह हो ।
सम्बन्धित
कोभिड १९ पछि नेपाली खेलकुदलाई पुरानै लयमा फर्काउने चुनौती ...
खेलकुदमा वर्ष ०७६ लाई फर्केर हेर्दा
१ सय २४ वर्षभन्दा लामो इतिहास बोकेको आधुनिक ओलम्पिकमा प्रतियोगिता स्थगित भएको यो दोस्रो घट...
कोरोना संक्रमणको असरले खेल गतिविधिमा कस्तो असर ?
दुई महान् पिताका पुत्रहरू पनि फुटबलप्रति उति नै रुचि राख्ने भएका छन् । रोनाल्डोका छोरा क्र...
रोनाल्डोका छोराका आदर्श मेसी, मेसीका छोरा रोनाल्डोका प्रशंसक
नेपालको थाइल्यान्ड यात्रा नमीठो सम्झना...
एसिया कप खेल्ने सपनामा यसरी लाग्यो तगारो
एक महिना महत्त्वपूर्ण प्रतियोगिता खेल्न नसक्ने स्थितिमा नेपाल ...
महिला भलिबलका तीन हस्ती नै चोटग्रस्त
आर्मीको खेल साँच्चै नै उम्दा थियो, यो सिजनको लिगमा । डिफेन्स र गोलरक्षणमा निकै बलियो । आर्...