गोप्रो हिरो–७ आउँदै

- विभु लुइटेल

डेढ दशकदेखि साना क्यामेरा उत्पादन गर्दै आएको अमेरिकी कम्पनी गोप्रोले गोप्रो हिरो–७ छिट्टै बजारमा ल्याउने भएको छ । गोप्रो हिरो–६ ब्ल्याकमा जस्तै यसमा पनि १२ एमपी सेन्सर तथा प्रतिसेकेन्ड दुई सय ४० फ्रेम प्रोसेस क्षमता हुनेछ । सीधै सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गर्न सकिने सुविधा र हाइपरस्मुथ तथा टाइमवार्प नाम दिइएका प्रविधि यसमा अतिरिक्त हुनेछन् ।

हाइपरस्मुथ हार्डवेयरद्वारा सहयोग प्राप्त डिजिटल स्टेबिलाइजेसन प्रणाली हो । यसकारण गोप्रो हिरो–७ मा भिडियो फुटेज हल्लिएका आउने छैनन् । टाइमवार्पले भने भिडियोबाट आवश्यक फ्रेम मात्र समावेश गरी कम्प्रेसनमा सहयोग पुर्‍याउनेछ । नेपालमा केही वर्षयता गोप्रोले बजार लिन थालेको छ । भ्लगिङ गर्न र सानो आकारका कारण बोकेर हिँड्न सहज हुने हुँदा यो अहिलेका युवाको रोजाइमा परेको हो ।

 

प्रकाशित: आश्विन १६, २०७५

×