मान्छे पकाउने यात्रा
नयाँ ठाउँ घुम्न भनेपछि सदा एक खुट्टामा तयार हुने मेरो स्वभाव सानैदेखिको हो । त्यसैले घुम्ने प्रस्ताव साथीहरुमाझ राख्ने कामको पहल मबाटै भयो ।
‘चट मगनी, पट ब्याह’ भनेजस्तो भयो । धरानका स्कुल–कलेजमा गर्मीको दुई महिने बिदा सुरु भइसकेको थियो । हाम्रो कुनै लामो र अग्रिम योजना थिएन । तर, दार्जिलिङ घुम्न जाने निर्णय हामीले फटाफट लिइहाल्यौँ ।
नयाँ ठाउँ घुम्न भनेपछि सदा एक खुट्टामा तयार हुने मेरो स्वभाव सानैदेखिको हो । त्यसैले घुम्ने प्रस्ताव साथीहरुमाझ राख्ने कामको पहल मबाटै भयो । मलाई केही फुरफुर भइरहेको थियो । मैले भर्खर पाएको एक वर्षको एकमुष्ट तलबले गर्दा ।
आईए पास गरेपछि मैले जागिर पाएँ, पहिले आफैँ पढेको भगवती मिडिल स्कुलमा पढाउने । बिहान कलेज जान्थेँ पढ्नलाई र खाना खाएपछि घरछेउको स्कुल जान्थेँ पढाउनलाई । तलब थियो, मासिक १ सय ७५ रुपैयाँ, जो उसबखतका लागि निकै लोभलाग्दो रकम थियो । तर, हातमा पथ्र्यो महिनामा तीस–चालीस रुपैयाँ । किनभने, स्कुलको आर्थिक अवस्था दयनीय थियो । विद्यार्थी संख्या थोरै र मासिक फिसको रकम नगण्य थियो । सालको आखिरीतिर शिक्षा कार्यालयबाट स्कुलका लागि आर्थिक सहायता (जसलाई हामी आस भन्थ्यौँ) आउँथ्यो र त्यही रकमबाट शिक्षकहरुको बक्यौता फस्र्योट हुन्थ्यो ।
सालभरि लिएको टुक्रे पेस्की रकम कट्टा गरेर मेरो हातमा अठार–उन्नाइस सय रुपैयाँ पर्न गयो । मलाई दार्जिलिङ जान कुतकुत्याउने त्यही पैसा थियो । त्यसैको उत्तापमा मैले मेरा आँत मिल्ने साथीहरुलाई उचालेको थिएँ । आमाका पोल्टामा हजार–बाह्र सय रुपैयाँ हालिदिएँ र बाँकी रकम आफैँसित राखेँ दार्जिलिङ घुमघामका लागि ।
तेस्रो वर्षमा मसँगै पढ्ने विजय लामा, शिव जोशी र प्रथम वर्षको केशव बस्नेतसमेत चार जनाको हाम्रो टोली बन्यो ।
घुम्नलाई दार्जिलिङ नै छान्ने कारण धेरै थिए ।
गजबको जादूमय आकर्षण थियो, उसबखत हामीमा दार्जिलिङको । ‘पहाडकी रानी’ भनेर कहलिएको त्यस पर्वतीय स्थलबारे अनेक किस्सा सुनेका थियौँ– कति भएका र कति बुनिएका ।
दार्जिलिङसित धरानलाई नजिक्याउने र धरानमा ठूलो संख्यामा दार्जिलिङका मानिस भित्र्याउने काम ब्रिटिसहरुले गरिदिएका थिए । धरानको सिरानमा रहेको फुस्रे बजारमा अस्थायी क्याम्प खडा गरेपछि उनीहरुलाई अफिसमा काम गर्ने कर्मचारी र प्राविधिकहरुको आवश्यकता पर्यो, जसलाई पूर्ति गर्न सक्ने दक्ष श्रमशक्ति धरानसित थिएन । त्यसैले आपूर्तिको स्रोत बन्यो दार्जिलिङ । धेरै बाबुजीहरु आए त्यहाँ काम गर्न, पहिले एक्लो र फिट्टो, पछि ‘फेमिली’ सहित । फुस्रेबाट घोपामा स्थायी रुपमा क्याम्प सर्दा त्यहाँको ‘सिभिल लाइन’ दार्जिलिङे बाबुजीका परिवारले भरिभराउ थिए, फेमिली क्वार्टर मात्र होइन ‘मुकलिस’ क्वार्टरसमेत ।
ब्रिटिस सेनाको विशेषत: क्लर्क पदमा भर्ती हुनलाई दार्जिलिङे तन्नेरीहरु घोपा क्याम्प आउँथे । केही शिक्षा पाएका र अंग्रेजीमा थोरैतिनो दखल भएका कारण क्लर्क भर्तीमा लगभग उनीहरुकै एकाधिकार थियो भन्दा हुन्छ । भर्तीको सिजन प्राय: दसैँताका हुन्थ्यो । त्यसछेक ‘प्वाइन्टेड’ जुत्ता र टाइट पेन्ट लगाएका अनि फेसनबल केस विन्यास भएका त्यस्ता तन्नेरी धरानमा देखापर्थे ।
पहिरनको फेसनबाहेक उनीहरुले रेडियो खरसाङ या रेडियो नेपालमा नबजिसकेका उता भर्खर चलेका नयाँनयाँ गीत पनि लिएर आउँथे । यतै बस्न थालेका र दार्जिलिङ आउजाउ गरिरहने दार्जिलिङे समुदायबाट पनि त्यसमा थपथाप हुन्थ्यो । यसैले अम्बर गुरुङ त के अशोक राई, मानवीर सिंह र कपिलराज सुब्बाका संगीत रचनाबाटसमेत हामी परिचित थियौँ । अगमसिंह गिरी र पासाङ बाङबलको नाम पनि राम्रैसित सुनेका थियौँ ।
म्याकमिलन कम्पनीले छापेका पारसमणि प्रधानद्वारा सम्पादित नेपाली पुस्तकमाला स्कुलको कोर्समै पढ्नुपथ्र्यो । तिनमा दार्जिलिङतिरका विषयहरु प्रशस्त हुन्थे । पछि पुस्तक पढ्ने लत बढ्दै जाँदा रुपनारायण सिंह, लैनसिंह बाङ्देल, शिवकुमार राई, इन्द्रबहादुर राई, अच्छा राई ‘रसिक’ का कथा–उपन्यास पनि पढिभ्याएका थियौँ । प्रकाश ‘कोविद’ थिए, उसबेला नेपाली भाषाका गुलशन नन्दा भनेर चिनिएका नामुद उपन्यासकार । उनी एकपछि अर्को उपन्यास लेखेर छापिरहने, हामी तिनलाई खोजीखोजी पढिरहने । पुस्तकहरुकै कारण फासिदेवा, सिपाही धुरा, गोरुबथानजस्ता अचम्मका सुनिने स्थाननाम पनि सुनेका थियौँ । सुकियापोखरी, मिरिक, घुमको त कुरै छाडौँ ।
राजनीतिमा पनि देवप्रकाश राई र कम्युनिस्ट रतनलाल ब्राह्मण ‘ माइला बाजे’ परिचित नाम थिए । ‘हम जायेगा’ का कैयन् जोकहरु सुनेर तिनका मजा लिने मौका पनि पाइसकेका थियौँ । दार्जिलिङका नामी स्कुल र कलेजहरुको नाम पनि हामीलाई थाहा थियो ।
धरानमा बढेको दार्जिलिङका मानिसको उपस्थिति, उनीहरुका छोराछोरीसितको सरसंगत र उठबसले गर्दा हामी धेरै हिसाबले दार्जिलिङे कल्चरबाट थाहै नपाई प्रभावित हुँदै गएका थियौँ । हाम्रो बोलीचालीमा उनीहरुकै लबज र भाका छिर्न थालेको थियो । हामीले पनि ‘रेला’ गर्न सिकिसकेका थियौँ ।
त्यसमाथि बम्बईया फिल्महरुले दार्जिलिङको छविलाई झनै सुन्दरतम बनाउने काम गरेका थिए । देव आनन्दको ‘जब प्यार किसी से होता है’, शम्मी कपुरको ‘प्रोफेसर’, मनोज कुमार र माला सिन्हाको ‘हरियाली और रास्ता’ ती फिल्म थिए, जसले दार्जिलिङलाई हाम्रो नजरमा भूस्वर्गकै हाराहारीमा पुर्याइदिएका थिए । हामी दार्जिलिङको प्राकृतिक लावण्य र त्यहाँको पश्चिमामुखी आधुनिक संस्कृतिबाट खुबै आकर्षित भएका थियौँ ।
काठमाडौँका कथा–कहानी पनि नसुनेका होइन, सुनेका थियौँ । तर, दार्जिलिङका किस्सा बढी रोमान्टिक लाग्थे । अनि, काठमाडौँको तुलनामा दार्जिलिङ नजिक थियो । त्यसमाथि विजय लामा हामीसितै जान राजी भइदिनाले हामीलाई भरपर्दो गाइड मात्र होइन, खरसाङमा नि:शुल्क बास पाइने ग्यारेन्टी पनि मिलेको थियो । विजयका आफन्तजन टन्न थिए खरसाङमा । दार्जिलिङमा भने शिव जोशीका कुनै ‘पाजु’ थिए, जसको घरदलानमा घुस्रिने हाम्रो इरादा थियो ।
‘ल्हासा जानु कुतीको बाटो’ भनेझैँ उस बखत धरानबाट दार्जिलिङ जाने एक मात्र बाटो जोगबनी थियो, जहाँबाट रेल चढ्नुपथ्र्यो । इटहरी–काँकडभिट्टा सडक बनिसकेको थिएन, त्यो निर्माणको क्रममा थियो ।
सन् १९६८ को मे महिनाको एक बिहान हामीले धरान छाड्यौँ दार्जिलिङका लागि । सोभियत संघबाट बाले लिएर आएको ‘किभ’ क्यामेरा पनि बोकेँ मैले । जोगबनीबाट बिहानको दस–एघार बजेतिर छुटेको रेल कटिहार पुगेपछि हामीले फेर्नुपर्यो । कटिहार ठूलो जक्सन थियो, जहाँ जानेले पनि त्यहाँ रेल बदल्नु अनिवार्य थियो । हामीले पनि बदल्यौँ र किसनगन्ज, गलगलिया, नक्सलबारी स्टेसन हुँदै भोलिपल्ट सिलीगुडी पुग्यौँ ।
रौँ ठाडा पार्ने अनेक किस्सा–कहानी सुनेका थियौँ, पाकेटमार, चोर, गुन्डा, ठग, भिखारी आदिका । हामी चारै जनाका मनमा आफ्नो जीउधनको सुरक्षाबारे केही डर थियो । तर, सिलीगुडीसम्मको यात्रा निरापद सावित भयो । बरु सिलीगुडीको बस स्ट्यान्डमा जीप र ल्यान्डरोभर चालकहरुको हूलले “भाइहरु नेपालबाट आएको हो ? दार्जिलिङ, खरसाङ, कालिम्पोङ कता जाने ?” भनेर छोप्दा केही आत्तिएका थियौँ ।
सानो साइजको बस पनि चल्थ्यो क्यारे, तर खासखास समयमा मात्र । त्यसैले विलिस जीप र दोस्रो विश्वयुद्धको समयको ल्यान्डरोभर नै उपलब्ध सवारी साधन थिए । हामी खरसाङ जाने एउट जीपमा चढ्यौँ । टिक र सालका रुखहरुले भरिएको सुकुनाको लोभलाग्दो जंगल छिचोलेपछि जीपले उकालो बाटो समात्यो । ड्राइभर निकै गफी थियो । जीप हँकाइको गजबको शैली थियो उसको । मलगायत तीन जना पेसेन्जर हालेको थियो उसले आफूसँगैको सिटमा । खाँदाखाँद भएकाले ऊ ढोकाबाहिर आधा चाक निकालेर बसेको थियो, हेर्दा अप्ठेरो लाग्ने गरी । प्रत्येक घुम्तीमा ऊ टाउको बाहिर निकाल्थ्यो, तन्केर बायाँ हातले गेयर बदल्थ्यो । पछि थाहा भयो, सबै पेशेवर चालकहरुले जीप चलाउने स्टाइल नै त्यही रहेछ ।
नेपालबाट आएको भनेर ड्राइभरले हामीसित मिजासिलो पाराले बाटाभरि कुरा जोतिरह्यो । उसको एउटा गफ अझै बिर्सेको छैन । पेसेन्जरमध्ये कसैले बान्ता आउन लागेको सिकायत गर्यो । उसले गाडी रोकेन, बरु भन्यो, “यो उल्टी गर्ने पनि बानी हो क्या ! मेरो साथी मजस्तै गाडी चलाउँछ हो । ऊ टर्निङैपिच्छे वाक्क गर्छ । उल्टी गर्दै गाडी चलाउँछ । बानी हो क्या !” दार्जिलिङे गफको सानो नमुना थियो त्यो । उसले जीप कतै नरोकी यस्तै गफको भरमा खरसाङ पुर्यायो ।
उसले हामीलाई के कारणले हो, चल्तीको तीनधारियाको बाटो नभई पंखाबारीको बाटो लगेको रहेछ । सायद त्यो छोटो हुँदो हो । तर, ठाउँठाउँमा निकै ठाडो । त्यसको नतिजा के भयो भने शिव जोशीको एउटा जुत्ता जीपबाट चिप्लेर बाटैमा कतै खसेछ । जीपको पछिल्तिरको ढोका ह्वांग रहेको याद नगरी गोडालाई आराम दिन शिवले जुत्ता खोलेको रहेछ । खरसाङको जीप स्ट्यान्डमा पुगेपछि जुत्ता खोज्दा जुत्ता गायब ! गफी ड्राइभर सहयोगी निस्क्यो । उसले खरसाङ बजारको बीचमा रहेका चिनियाँहरुको जुत्ता दोकानमध्ये एउटामा गाडीमै लगेर जुत्ता किनाइदियो ।
खरसाङमा विजयको छ्यामाको सानो एकतले घरको बैठककोठा हाम्रो लज बन्यो । त्यसैलाई आधारशिविर बनाएर खरसाङ बजारको अन्वेषण गर्यौँ, मुख्यतया डाउनहिल एरियाको । पहिलोचोटि हामीले रेस्टुराँमा लाइभ ब्यान्डको प्रस्तुति प्रत्यक्ष हेर्न पाएको खरसाङमै हो । अझै सम्झन्छु, हवाइन गिटारमा एउटाले ‘तीसरी मन्जिल’ फिल्मको ‘ओ मेरे सोना रे सोना रे’ भन्ने गीतको धून बजाएको । विजयको मामाले गर्दा एउटा रैथाने म्युजिक ब्यान्डका सदस्यहरुसित पनि चिनजान भयो । ती हाम्रै दामलका ठिटाहरु थिए । एक साँझ उनीहरुसित जमघट भयो । खान्तेपिन्ते भयो, उनीहरुले गाए, बजाए । ‘ट्वीस्ट’ र ‘सेक’ नाच्न भर्खरभर्खर सिकेको केशवले बिटल्सको गीतमा नाचेर देखायो । मेरो पालोमा गीत गाएँ ।
खरसाङमा चार रातको बसाइपछि हामी लाग्यौँ, मुख्य मुकाम दार्जिलिङतर्फ । चोकबजारको ट्याक्सी स्ट्यान्डमा ओर्लेपछि सोध्दै–खोज्दै पुग्यौँ, शिव पाजु बस्ने घरमा । गोर्खा दु:ख निवारक संघको भवनदेखि केही तल एउटा अग्लो घरको पहिलो तलामा बस्दा रहेछन् प्रधान पाजु । स्त्रैण स्वभावका थिए पाजु, हिँड्दा जीउ मर्काउनुपर्ने र बोल्दा आँखा नचाउनुपर्ने । सधैँ स्वेटर बुनिरहने । बिहानबिहान हामीलाई पुरी, आलुदम र चिया आफ्नै हातले बनाएर खुवाउँथे । दिनभरि हामी पक्का टुरिस्ट बनेर ठाउँठाउँ चहार्दै हिँड्थ्यौँ र बेलुका बाहिरै कतै खाएर पाजुको बैठककोठाको भुइँमा पसारिन पुग्थ्यौँ ।
आतिथ्य राम्रै थियो, एउटै खराबी थियो त्यस ठाउँको । धेरै परिवार एउटै छानामुनि बस्ने हुनाले भनेको बेला ट्वाइलेट जान कठिनाइ हुन्थ्यो । त्यसैले हामी चोकबजारछेउको पब्लिक ट्वाइलेटमा जान्थ्यौँ बिहानबिहान । सार्वजनिक शौचालय जाँदाको त्यो अनुभव पनि हाम्रा लागि अनौठो थियो । त्यहाँ शौच गर्ने ठाउँमा दुईतिर छेका त थियो । तर, सामुन्ने ढोकासोका नभएको ह्वांगै । दुईतिर लस्करै मानिस टुक्रुक्क बसेका हुन्थे र त्यसको बीचबाट कुन ठाउँ खाली छ भनी हेर्दै अघि बढ्नुपथ्र्यो । त्यसरी जाँदा मानिसहरु ‘मोर्निङ’, ‘हेलो सोम’ भनेर एकअर्कालाई अभिवादन पनि गरिरहेका हुन्थे । पहिलो दिन त निकै अप्ठेरो लाग्यो । तर, रोममा रोमकै रिवाजअनुसार चल्नुपर्यो, हामीले त्यही गर्यौँ ।
पाँच–छ दिनको सीमित बसाइको योजना लिएर गएका थियौँ । त्यसमा एक दिन त पानीले पूरै सखाप पारिदियो । तैपनि, त्यस छोटो समयमा कुनै टुरिस्टले जति गर्न भ्याउँछ, त्यो सबै भ्यायौँ । बोटानिकल गार्डेनदेखि जलपहाड, बर्चहिलको जु र म्युजियम, ह्याप्पी भ्याली टी स्टेट, नर्थ पोइन्ट, धीरधाम तथा महाकाल मन्दिर केही बाँकी राखेनौँ । टाइगरहिल हो जान छुटेको । त्यो पनि मौसमको प्रतिकूलताले गर्दा । नत्र, घोडारेस हेर्न लेबोङधरि पुग्यौँ । लाङ्स्याको मोमो र थुक्पा पनि चाख्यौँ । देव आनन्द आएको हल्ला सुनेर उनको दर्शन पाइन्छ कि भनी पाँचतारे एभरेस्ट होटलको मुखमा कुरेर पनि बस्यौँ ।
नेपालबाट आएका र कलेज पढ्ने विद्यार्थी भन्ने थाहा पाएपछि मानिसहरु हामीप्रति निकै रुचि देखाउँथे । सोध्थे, “ए, भाइहरु नेपालबाट आएको ? अनि नेपालमा कलेज छ ?”
हामी युनिभर्सिटी नै छ भन्थ्यौँ ।
अविश्वासमिश्रित आश्चर्यभावले भन्थे, उनीहरु “अच्छा, हो र ?”
सोध्थे, “नेपालमा त राजा छ नि हो ?”
हामीले हो भन्दा ‘विचरा’ भन्थे ।
उनीहरुले बोल्ने भाषासित अभ्यस्त हुन पनि हामीलाई केही समय लाग्यो । उनीहरुको बोलीमा आज ‘आजु’, हिजो ‘ हिजु’ हुन्थ्यो । कसैलाई दाइ भनेर सम्बोधन गर्नु त पाखे ठहरिन्थ्यो, दाजु भन्थे उनीहरु । केटी साथीलाई वा सामान्यतया ठिटीहरुलाई ठिटाहरुले ‘ग्यास’ भन्ने गरेको त हामीले धरानमै सुनेका थियौँ । यद्यपि, त्यो शब्दको उत्पत्ति र अर्थबारे हामी अनभिज्ञ थियौँ । त्यसको प्रयोग पनि हामीले त्यहाँ सुन्यौँ । उनीहरु चामललाई ‘रासन’, मासुलाई ‘सिकार’, तौलियालाई ‘झाडन’, मारवाडीलाई ‘कैयाँ’, भान्सालाई ‘चौका’, तरकारीलाई ‘सब्जी’ भन्थे, सिमेन्टलाई ‘बेलाइती’ । हामी फ्ल्याट त ‘आइफल’ शब्दबाट भयौँ । स्याउलाई उनीहरु आइफल भन्थे ।
हामी हेरी उनीहरुले बोल्ने तरिका केही खरो र ठाडो लाग्ने । लेबोङमा घोडा दौडेको र मानिस उफ्रेको देख्दा छेउटुप्पो नबुझेर हामीले एक पाका व्यक्तिलाई रेस कसरी खेलिन्छ भनिसोध्दा तिनले भनेका थिए, “म सबै जान्दछु । तर, भाइहरुलाई सिकाउन सक्दिनँ । नजानेकै जाती । यो जुवा हो जुवा ।” खरो कुरा गरेका थिए तिनले ।
नेपालभित्र तराईमा जनकपुर अनि पहाडमा तेह्रथुमसम्म मात्रै पुगेको र ठूलो सहर भनेको भारतको बनारस मात्रै देखेको हुनाले होला दार्जिलिङ (खरसाङलगायत) धेरै हिसाबले सुन्दर लाग्यो मलाई । हरियो लहर उठेजस्तो चियाबगान, धुपी र देवदारका अग्ला रुखहरु । रंगरोगन गरिएका र रातो, नीलो रङका छाना भएका घर । झ्यालमा चिटिक्क पर्दा र आँगन वा बार्दलीमा फूलका गमलाहरु । पीच गरिएका सडक । बिजुलीबत्तीको उज्यालो । युनिफर्म लगाएका विद्यार्थीहरुको लर्को । गिर्जाघर र फादर–सिस्टरहरुको मण्डली ।
यी यावत् कुरा हाम्रा लागि नितान्त नौला थिए । धरानमा केही लाहुरे परिवारबाहेक घरको रङरोगन गर्ने जाँगर र हैसियत कसैको थिएन, छाना रंगाउने कुरा त परै जाओस् । धरान–विराटनगर रोडबाहेक दुई बित्ता पीच कतै थिएन । धनकुटा, तेह्रथुमका डाँडामा मोटर कुद्ने कुरा हाम्रा लागि कल्पनातीत थिए । जेनेरटरद्वारा उत्पादित बिजुली त आएको थियो । तर, धेरैको घरमा पुगिसकेको थिएन । युनिफर्म लगाउनु कता हो कता हामीकहाँ धेरैजसो विद्यार्थी खाली खुट्टा नै स्कुल जान्थे । घोपा क्याम्पको डिपोट स्कुल एउटा थियो अपवादमा, जहाँ विद्यार्थीहरु सदैव युनिफर्म लगाउँथे । चियाबगान र चर्च वा गिर्जाघर हामीले किताबमा पढेका र फिल्ममा देखेका वस्तु थिए, वास्तविक जीवनमा होइन ।
दार्जिलिङको सानो रेललाई हामीले फिर्ती यात्राका लागि साँचेका थियौँ । संसारभरि नै अद्भुत भनेर ख्याति कमाएको रेल नचढी फर्कनु कसरी ? तर, रेलबाट प्राकृतिक छटाको आनन्द लिने हाम्रो जुन आशा थियो, त्यसलाई सिमसिमे पानी र बाक्लो हुस्सुले ढुस बनाइदियो । कताको बतासे लुप, कताको घुम– सबै एकनास र हुस्सुले पुरिएका । संयोगवश, हाम्रो न्यास्रोपन धेरै बेर टिकेन । बंगाली तरुणहरुको एउटा समूह हाम्रै डिब्बामा बसेर यात्रा गरिरहेको थियो । उनीहरु आफैँ हामीसित परिचय गर्न आए । उनीहरु सीपीएमका समर्थक भन्ने थाहा पायौँ कुराकानीबाट । गफगाफका क्रममा उनीहरुले नेपालको राष्ट्रगान कस्तो छ, गाएर सुनाउनुस् भनी आग्रह गरे । हामी के खाएर गाउँथ्यौँ र ‘श्रीमान् गम्भीर !’ कलेजमा बहुधा समूहमा गाउने गीत गाइदियौँ, जसको एक टुक्रा यस्तो थियो :
यो युग हो विश्वको संघर्ष गीतको
नौलो जिन्दगीको जीतको
आज विश्व नै नयाँ छ जिन्दगी नयाँ
स्वतन्त्रताको युद्धमा छ जागृति नयाँ
यो भेललाई रोक्न सक्छ को ?
उनीहरुले अंग्रेजीमा उल्था गरिमागे । मैले अंग्रेजीमा सक्दो अथ्र्याइदिएँ । त्यो सुनेपछि उनीहरुले ‘यो कसरी हुन सक्छ ? नेपालमा त राजा छ, यो त कम्युनिस्ट गीतजस्तो छ’ भने । उनीहरुले केही पाको र बुजु्रग देखिने एक बंगालीसँग सोधे । उसले गम्भीर भएर भन्यो, “यस, किङ अफ नेपाल इज अल्सो कम्युनिस्ट ।” ठिटाहरुले पत्याए । हामी एकआपसमा मुसुमुसु हाँसेर बसिरह्यौँ । यस्तै रमाइलो गर्दै पुगियो सिलीगुडी ।
हाम्रो आनन्दमय टुरको मानौँ ‘एन्टी क्लाइमेक्स’ थियो फिर्ती यात्रा । सिलीगुडी ओर्लेदेखि नै उखरमाउलो गर्मीबाट खेदिएका हामी कटिहार जक्सनमा पूरै आकुलव्याकुल भयौँ । गन्जीसमेत फुकालेर अर्धनग्न अवस्थामा स्टेसनको भुइँमा सुतेर रात काट्यौँ । भोलिपल्ट घाम चढ्दै जाँदा गर्मी पनि चर्किंदै गयो । भात खाएका छैनौँ । तर, हामीमध्ये कसैले भन्यो ‘म आइसक्रिम खान्छु, बरु भात खान्नँ ।’ हाम्रो गोश्वारा रकम यस्तै दस–बाह्र रुपैयाँ बचेको हुँदो हो, जो भात खानलाई ठिक्क थियो । अर्कोले पनि भातको साटो आइसक्रिम रोज्यो । केही बेरको घोराइपछि तेस्रोले पनि भात छाड्ने भयो । बाँकी रहेँ म, बहुमतकै पक्षमा लागेँ म पनि । भात खाने पैसाले बडो मज्जासित सबैले आइसक्रिम खायौँ । तर, पछि जब भातको खोजीमा भुँडी बाउँडिन थाल्यो, त्यसबेला आँखाअगाडि तारा झर्न थाले ।
पानीको भरमा बेखर्ची हामी कटिहारदेखि जोगबनी–रानी र विराटनगरबाट धरान कसरी पुग्यौँ ? त्यो आफैँमा चमत्कार थियो । तर, पुग्यौँ, आधारातमा र पूरै अर्ना लिएर भए पनि । पुतलीलाइनमा शिव जोशीको घरको आँगनमा पाइला टेक्दा हाम्रो दूधेआन्द्रो पनि सुकेझैँ भएको थियो । थाकेका जरुर थियौँ । साथै, हामी केही पाकेका पनि थियौँ । आखिर यात्रा भन्नु नै मान्छेलाई पकाउने कुरा हो ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...