[नोटबुक] खुसीमा फर्सी !
जखमले खसी खाने महागो–शुभकामना दिने चलन छ दसैँमा । बुझेर हो कि नबुझेर, फर्सी खाने शुभकामनाचाहिँ कसैले दिँदैन । सबैभन्दा खेद यसमै रहेछ । किनभने, खसीभन्दा फर्सीको चोक्टामै ज्यादा ताकत छ ।
जखमले खसी खाने महँगो–शुभकामना दिने चलन छ दसैँमा । बुझेर हो कि नबुझेर, फर्सी खाने शुभकामनाचाहिँ कसैले दिँदैन । सबैभन्दा खेद यसमै रहेछ । किनभने, खसीभन्दा फर्सीको चोक्टामै ज्यादा ताकत छ । खसीभन्दा फर्सीको झोल नै पोसिलो छ । थोत्रो धारणा मात्रै रहेछ, ‘छोरा पाए खसी, छोरी पाए फर्सी ।’
खाद्य वैज्ञानिक नारायण घिमिरेका शब्दमा, प्रकृतिको वरदान हो, फर्सी । छोराछोरीको विभेदबीच पनि त्यतिखेरका चेलीबेटी भाग्यमानी रहेछन् । तिनले हेलादृष्टिले हेरिएको तर उत्कृष्ट खुराक पाएकाले आजका सन्तति तन्दुरुस्त हुन पाएका छन् । अब त त्यही तागतिलो झोल खान पनि विशेष अवसर कुर्नुपर्ने अवस्था आइसक्यो ।
लहरोमा फल्ने गजबको तरकारी हो फर्सी । यसका मुन्टा, पात, फूल, फल र बियाँ सबै उपयोगी छन् । तिनले मानव शरीरलाई स्वस्थ राख्न सघाउँछन् । खनिज र भिटामिन (ए, सी, ई, बी कम्लेक्स) टनाटन हुन्छन् । एक सय ग्राम फर्सीमा २६ क्यालोरी हुन्छ । क्यालोरी थोरै भए पनि डाइटेरी फाइबर अत्यधिक हुनु यसको विशेषता हो । क्यान्सर, मोटोपना, मुटु रोग, मधुमेह आदि दीर्घरोग लाग्न नदिन साधारणतया दैनिक २५–३० ग्राम फाइबर चाहिन्छ । फर्सी खाएको लामो समयसम्म भोक लाग्दैन र तौल नियन्त्रण हुन्छ ।
आइन्दा फाइदाकारी फर्सीलाई नहेपौँ । ‘देखाउने खसी, खुवाउने फर्सी,’ ‘भ्याए खसी, नभ्याए फर्सी’, ‘खसी दिएर फर्सी साट्ने,’ ‘खसी देखाए, फर्सी खुवाए’ जस्ता अफवाह नफैलाऔँ । खुसीमा खसी छाडेर फर्सी खाए पनि केही फरक पर्दैन ।
शुभकामना संग्रह
सिजन शुभकामनाको छ । दसैँ, तिहार, छठको एकमुष्ट र अग्रिम शुभकामना आएका आयै छन्, सामाजिक सञ्जालमा । यही मेसोमा निर्मला पन्तको थातथलो कञ्चनपुरको भीमदत्त नगरपालिकाका लेखक ऐनबहादुर सिंहको पनि शुभकामना आइपुग्यो, हुलाकको बाटो भएर । शुभकामनास्वरुप किताबै पठाएछन् उनले । त्यो शुभकामना सँगालोको विशेषता के भने चाडपर्वका शुभकामना कविता मात्रै छन् । हरेक वर्ष क्यालेन्डर पछ्याएर दसैँ, तिहार, नयाँ वर्ष आदि/इत्यादिमा चाडैपिच्छे कविता लेख्ने कस्तो जाँगर चलेको ? त्यसलाई शुभकामना–प्रेम भन्ने कि शुभकामना–भ्रम !
किताबी शुभकामनाले मख्ख परेको त उनले चार पृष्ठ लामो खेद प्रस्ताव पनि पठाएका रहेछन् । आफ्ना साथी उत्तमबहादुर सिंहको पुस्तक जयपृथ्वी मानवतावाद दर्शन पठाउँदा पनि चार हरफ पनि स्थान नदिएकामा । “नेपाल म्यागेजिनमा सामान्य स्तरका पुस्तक समीक्षा भेटिए । आखिर तपाईंजस्तो सिद्धहस्त पत्रकारले समेत जयपृथ्वीलाई चिन्न नसक्दा भारी दु:ख लाग्यो । त्यस्तो पुस्तकले त ठाउँ नपाउँदा मैले त के आश गर्नु ?’
सिंहसाहेबको गुनासो मनासिव छ । म कुनै चल्तापुर्जा समीक्षक होइन । कहिलेकाहीँ फर्माइस टार्न नसकेर लेखी टोपल्छु, त्यत्ति हो । सम्पर्क–पहुँच नहुने, फोनफान गर्न संकोच मान्ने, भोजभतेर या भट्टीमा नबोलाउने लो–प्रोफाइल, इतर सेलिब्रिटीको किताबले उस्तो भाउ पाउँदैनन् भन्ने गुनासा अरुका पनि सुनिन्छन् । यसमा म आत्मालोचना पनि गर्छु । यति हुँदाहुँदै पनि शुभकामना संग्रह नै पठाउने कविलाई शुभकामना कसो नदिऊँ ?
दसैँ–लेखकसित
भदौ लाग्दा नलाग्दै भूतपूर्व लेखकको फोन आयो, “मित्र, एउटा कथा पठाएको छु ।” जवाफ फर्काउन नभ्याउँदै उनले थपिहाले, “दसैँ अंकका लागि हो है ।”
नेपाल म्यागेजिनमा साहित्यलाई नियमित स्थान छ । हरेक अंकमा केही न केही साहित्यिक सामग्री छापिएकै हुन्छन् । छोटा अंकमा वास्तै नगर्ने, बडा अंक मात्र ताक्ने कवि–लेखकहरुको धारणा के छ भने दसैँका बेला छापेपछि अरु बेला लेख्ने–छाप्ने गरिरहनु पर्दैन । दसैँ अंकमा छापिएपछि नै हो लेखकमा दरिने । त्यसैले उनीहरु एक खालको लोलोपोतो घसिरहन्छन्, अनौपचारिक दबाब दिइरहन्छन्, फोनमा, म्यासेजमा, म्यासेन्जरमा दिनहुँजसो । मन चोर्न यसो ‘अरु अंकमा छापे हुन्न’ भने उनीहरु स्पष्टीकरण तेस्र्याइहाल्छन्, “होइन, दसैँका लागि लेखेको । वर्षको एउटा लेख्ने हो, दसैँ–अंकमा नछापे त बिर्सिहाल्छन् नि ।”
वसन्त थापा यस्तालाई व्यंग्यस्वरुप ‘दसैँ–लेखक’ भन्छन् । दसैँ–लेखकको अर्थ हो, दसैँमा मात्र लेख्ने । यस्ता दर्जनौँ दसैँ–लेखक छन् नेपालमा । अरु बेला साहित्य लेख्ने झिँजो पनि नगर्ने, पठाउने लेठो पनि नगर्ने । दसैँ नजिकिनासाथ शीतनिद्राबाट एकाएक सलबलाउँछन् । सरोकारवालाको फोन नम्बर खोजेर, फेसबुकमा जोडिन थाल्छन् । दसैँ अंकको चासो राख्न थाल्छन् । यस्तो दबाब दसैँ साहित्यिक विशेषांक छाप्ने हरेक पत्रिकामा दिन्छन् भन्ने तिनको अनुहारले नै प्रस्ट पार्छ । दसैँ–लेखकहरुलाई पनि शुभकामना !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...