[स्मरण] प्रवासमा कृष्णप्रसादका दु:ख
कुनै बेलाका जमिनदार कोइराला परिवारलाई निर्वासनमा जान बाध्य पारिएपछि लालाबाला र वयस्क सबै सदस्यको पेट भर्न गरेको संघर्ष वर्णन गरिसाध्य छैन ।
पिताजी कृष्णप्रसाद कोइरालाले राणाशाहीको विरोधस्वरुप प्रजाको अवस्थाबारे फाटेको लुगा, भोटो र लंगौटी श्री ३ चन्द्रशमशेरकहाँ पठाइदिएपछि राणा शासकको क्रूरताले सीमा नाघ्यो । चन्द्रशमशेरले कोइराला परिवारको सारा सम्पत्ति जफत गरिदिए । सिंगो परिवार प्रवास जानुपर्यो सन् १९१९ मा ।
नेपालमा जायजेथा कब्जामा परेपछि भारतमा एक दशक बिताउनुपर्दा कम्ती हन्डर खानुपरेको थिएन, कोइराला परिवारले । ४५ जनाको निर्वासित परिवारलाई बिहानबेलुकाको खर्च जुटाउन कृष्णप्रसादलाई हम्मे परेको थियो । कुनै बेलाका जमिनदार कोइराला परिवारलाई निर्वासनमा जान बाध्य पारिएपछि लालाबाला र वयस्क सबै सदस्यको पेट भर्न गरेको संघर्ष वर्णन गरिसाध्य छैन । स्वयं कृष्णप्रसाद, पत्नीहरु र वयस्क सन्तानहरुले कुनै कुनै बेला त साताको आधाभन्दा बढी समय भोकभोकै बस्नुपर्यो ।
ठूलो संख्यामा परदेशिएका परिवारको दैनन्दिन गुजाराका लागि पिताजी कृष्णप्रसादले एउटा जुक्ति निकाल्नुभयो । उहाँले टाइपिङ सिक्नुभयो । तर, त्यस समय उहाँले सिकेको सीप लाभकारी हुन सकेन । टाइपिङले पनि आम्दानी दिन सकेन । कृष्णप्रसादले निर्वासनको दुई वर्ष काशीमा गोर्खाली र जन्मभूमि पत्रिका छाप्न सघाउनुभएथ्यो सन् १९२०–१९२१ मा । परिवारको खर्च जुटाउन गरेको त्यो प्रयासले पनि सार्थकता पाएन । उहाँले बिनापारिश्रमिक प्रकाशनमा सघाउनुभयो ।
भोकभोकै प्रवासी जीवन बिताउनुपरे पनि देवीप्रसाद सापकोटा र कृष्णप्रसादले नेपालमा राणाशाही अन्त्य गर्न उतैबाट सामाजिक सुधार र प्रजातान्त्रिक चेतना फैलाउने काम गरिरहे । देवीप्रसादचाहिँ आसामबाट बसाइँ सरेर विराटनगरमा कोइराला परिवारका छिमेक हुन आएका थिए । कोइराला परिवार आर्थिक रुपमा शिथिल भएपछि कृष्णप्रसाद यथेष्ट पैसा कमाएर बनारस फर्कने वाचासहित कोलकाता हानिनुभयो, सन् १९२२ को अन्त्यतिर ।
कोलकाताका पुराना व्यापारी मित्रसँग सहयोगको अपेक्षा लिएर गएका कृष्णप्रसादलाई उनीहरुले उल्टै राणाहरुसँग झगडा नगर्न, मिल्न सुझाए । विशाल कोलकातामा साना मन भएका व्यापारीले निराश पारेपछि कृष्णप्रसाद फुटपाथमा टोपी बेचेर गुजारा गर्ने प्रभुदयाल दाबडीवालसँगै हिँड्नुभयो । सडकमा टोपी बेच्दै हिँड्ने उनै प्रभुदयाल पछि कोलकाताका ठूला व्यापारी बने । पछि पश्चिम बंगाल कांग्रेसका कोषाध्यक्षसम्म हुन पुगे ।
पैसा कमाएर परिवारको गुजारा चलाउने मनसाय सफल नहुँदा पिताजी चार वर्षको कोलकाता बसाइ टुंग्याएर बनारस फिर्नुभयो । त्यसलगत्तै सम्पूर्ण परिवारसहित सप्तरी नजिकै बिहार सहर्षाको टेढीद्वीपनगरमा कोइराला परिवार फर्कियो । त्यहाँ पहिलेदेखि नै प्रशस्त जग्गाजमिनसहित बस्दै आएका जंगबहादुरका छोरीपट्टिका सन्तान बाबुसाहेबले कृष्णप्रसादलाई जग्गा किन्न केही रुपैयाँ दिए । गिरिजाप्रसादको जन्म त्यही टेढीद्वीपनगरमा १८ असार १९८२ मा भएको हो ।
कृष्णप्रसादका मित्र गंगानाथ कटुवाल काजीले जग्गाजमिन जोड्न सहयोग गरेका थिए । यसपछिका दिन भने कोइराला परिवारका लागि सुखद हुँदै थिए । परिवारको दैनिक गुजारा चल्न थालेको केही वर्षपछि नै दैवी विपत्ति आइलाग्यो । टेढीद्वीपनगरमा जोडेको जग्गाजमिन कोसी नदी कटानले केही बाँकी रहेन । खेतीको जग्गा नाश गरिदिएपछि अन्य गाउँलेजस्तै कोइरालाको परिवार गाउँ छाडेर अन्यत्र लागेको हो ।
कृष्णप्रसादको स्वभाव र रुचि बडो गजबको थियो । सुरुमा रंगेली बस्ने कोइराला परिवार पछि त्यहाँबाट विराटनगर सरेको हो । विराटनगर निवासमा कृष्णप्रसादले अरबी, भोटे घोडा, ग्वालीघरमा गुजराती र पञ्जाबी गाईभैँसी पाल्नुभएको थियो । चन्द्रशमशेरले सारा सम्पत्ति जफत नगरुन्जेल विराटनगरबाट व्यापार फैलाउन बेलाबेला कोलकाता गइरहने । एक किसिमले पश्चिमी सभ्यतासँग पूरै अभ्यस्त हुनुहुन्थ्यो भन्दा पनि फरक पर्दैन । खानपान र रहनसहनमा अत्यधिक सोखिन कृष्णप्रसादले कोलकातामै नामी रेन्किन कोट र जुत्ता अंग्रेजी कम्पनीमा सिलाउनुहुन्थ्यो । उहाँ कोलकाताकै प्रसिद्ध पसल ह्वाइटवे एन्ड लेन्डलेज र हल एन्ड रसनबाट आफूलाई चाहिने सबै सामान खरिद गरेर विराटनगर फर्किनुहुन्थ्यो । घडी र चस्मा पनि छानीछानी लगाउने ।
८० मौजाका धनी यस्ता सोखिन कृष्णप्रसाद राणाशाही हटाउने आन्दोलनमा लागेसँगै पहिलो विश्वयुद्ध चलिरहेको सन् १९१९ मा नौरथा लागेपछि दसैँ पनि मनाउन नपाई ठूलो संख्याको परिवारसहित प्रवासमा जानुपर्ने बाध्यता आइलाग्यो । चन्द्रशमशेरपछि श्री ३ महाराज भएका भीमशमशेरले कोइराला परिवारको चलअचल सम्पत्ति फुकुवा गरिदिई नेपाल आउन लागेको बन्देज हटाइदिए । प्रवासमा कष्टसाध्य समय बिताए पनि कालान्तरमा राणाशाही शासन समाप्त गरी नेपालमा प्रजाको शासन ल्याउन कृष्णप्रसादले गरेको योगदान अन्तत: सफलतामा पुगिछाड्यो ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...