मातृकालाई नेहरुको पत्र
मातृकाले नेहरुको पत्रबारे मन्त्रिमण्डलमा छलफल चलाएलगत्तै तीनमध्ये एक मन्त्री त्यतिबेला कोलकाता गएका थिए ।
भारतका लागि तत्कालीन नेपाली राजदूत विजयशमशेरले नयाँदिल्लीबाट ३ जुलाई १९५३ मा गोप्य कूटनीतिक पत्र पठाए, प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई । त्यसमा लेखिएको थियो– ‘यसबाट चीन सरकारको पूर्ण समानताको आधारमा दौत्य सम्बन्ध खोली पहिले एकपटक नेपाल चीनको अधीनमा भएको कुरा सबै बिर्सने अभिप्राय प्रस्टै बुझिन्छ ।’
त्यसको एक दिनअघि मात्र २ जुलाईको पत्रमा ‘यी सबै कुरा अति गोप्य रहोस् भन्ने चाइनिजको जिकिर छ’ भनिएको थियो । त्यतिबेला त्रिभुवन नेपालका राजा थिए । विसं २००७ मा राजा त्रिभुवन, नेपाली कांग्रेस र राणाहरुबीच १ सय ४ वर्षे निरंकुश राणातन्त्र हटाउने त्रिपक्षीय सम्झौतापछि मोहनशमशेर प्रधानमन्त्री भए । नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गर्दै बीपी कोइराला गृहमन्त्री भए । तर, मन्त्रिमण्डलभित्रका सदस्यहरुबीचको अनेकताले मोहनशमशेरले अकस्मात् राजीनामा दिनुपर्यो ।
मोहनशमशेरको राजीनामासँगै भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुको सल्लाहमा त्रिभुवनले क्रान्तिको उभारबाट भर्खरै बाहिर आएको ठूलो दल कांग्रेसका तत्कालीन सभापति मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त गरे, ००८ मा । मातृका प्रधानमन्त्री भएपछि कांग्रेसमा घरझगडा सुरु भयो । पार्टीभित्र पार्टी सभापति ठूलो कि प्रधानमन्त्री ठूलो भन्ने बहसले व्यापकता पायो । कांग्रेसको घरझगडा अन्तत: पार्टी फुटमा परिणत भयो । त्यसपछि मातृकाप्रसादले नेपाली कांग्रेसबाट अलग भई राष्ट्रिय प्रजा पार्टी खोले, १६ चैत ०१० मा । मातृका कांग्रेसबाट अलग भएपछि बीपी कोइराला पार्टी सभापति चयन भए ।
कांग्रेस कलहले नेपालको राजनीति अस्थिर हुँदै गइरहेको थियो । यसै मेसोमा २०११ मा राजा त्रिभुवनले ठूलो पार्टी कांग्रेस सभापति बीपीलाई प्रधानमन्त्रीमा नियुक्त नगरी अलग्गै पार्टी खोलेका मातृकालाई नै दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त गरे । दोस्रो पटक प्रधानमन्त्री भएपछि मातृका एपेन्डिसाइटिसको अपरेसन गर्न कोलकाता गए ।
राजा त्रिभुवन पनि बरोबर बिरामी भई उपचारका लागि स्वीट्जरल्यान्ड जान थाले । राजनीतिक पार्टीभित्रको घरझगडा, राजा त्रिभुवन बिरामी र नवयुवराजले भर्खरै सत्ता सञ्चालनको पाठ सिक्दै गरेको अवस्था थियो त्यतिबेला ।
त्यसपछि नेहरुले प्रधानमन्त्री मातृकालाई २६ वैशाख विसं २०११ (८ मई १९५४) मा एउटा स्मरणपत्र पठाए । नेहरुको पत्रका साथै नेपालस्थित भारतीय दूतावासले पनि सँगै खामेर अर्को पत्र पठाएथ्यो । नेहरु र भारतीय दूतावास दुवैले पठाएका पत्रमाथि राजा त्रिभुवन र मातृका मन्त्रिमण्डलका तीन सदस्यबीच छलफल भयो । नेहरुको पत्रलाई राजा त्रिभुवनको मन्त्रिमण्डलले स्वीकार्यो त्यतिबेला ।
खासमा स्मरणपत्र पठाउनुको तात्पर्य मातृकाप्रसाद कतै चीनतिर लहसिने त होइनन् भन्ने आशंका नेहरुलाई रहेछ । किनभने, बीपी, राजा त्रिभुवन सबैले दिल्लीको खटनपटनमा साथ र सहयोग लिएर जहानियाँ राणातन्त्र हटाउन सहमत भएका थिए । तर, मातृका भर्खरै अलग्गै पार्टी खोलेर राजनीतिमा लागेका । राणा शासन हटाएर राजालाई शासनाधिकारमा स्थापित गर्ने कांग्रेस सभापति बीपीभन्दा मातृका दरबारको रोजाइमा परे । यस घटनाले गर्दा नेहरुलाई शंकाको सियोले घोच्न थाल्यो ।
मातृकालाई नेहरुले पठाएको पत्रमा लेखिएको छ– ‘मैले राजा र तपाईंका मन्त्रीहरुसँग कुरा गरेपछि यो सानो स्मरणपत्र मस्यौदा गरेर तपाईं र क्याबिनेटको स्वीकृतिका लागि पठाएको छु । आशा छ, यो कागज हेरेर स्वीकृत गरी चाँडै जवाफ पठाउनुहुनेछ ।’
नेहरुले पठाएको यो स्मरणपत्र धेरैपछि २०३५ मा वेदानन्द मिश्रले प्रकाशित गरेको मातृका बाबु नामक पुस्तकमा पनि साभार छ । अझ रोचक त के भने नेहरुले स्मरणपत्र पठाउँदा राजा त्रिभुवन पहिलोपल्ट औषधोपचारका लागि स्वीट्जरल्यान्ड गएका थिए भने फर्केर आएलगत्तै फेरि स्वीट्जरल्यान्ड गए ।
नेहरुले पठाएको स्मरणपत्रमा सबै नभए पनि केही बुँदा नेपालका लागि आपत्तिजनक र अस्वीकार्य भएकाले मातृकाले परराष्ट्रमन्त्री डिल्लीरमण रेग्मी, भद्रकाली मिश्र र अर्का मन्त्रिमण्डलका एक सदस्यसित सामूहिक छलफल गरेछन् । तर, मातृकाले नेहरुको पत्रबारे मन्त्रिमण्डलमा छलफल चलाएलगत्तै तीनमध्ये एक मन्त्री त्यतिबेला कोलकाता गएका थिए । राजा त्रिभुवन पनि तत्काल नेपालमा नहुँदा अहिलेको मन्त्रिमण्डल नेहरुले पठाएको पत्र सम्बन्धमा विचार गर्न असमर्थ छ भनी जवाफ फर्काए प्रधानमन्त्रीले । त्यतिबेला काठमाडौँमा चलाइने गरेको ‘दिल्लीमा नेहरुलाई रुघा लाग्दा काठमाडौँमा मातृकालाई हाछ्युँ आउँछ’ भन्ने व्यंग्यले पनि काम गरेन । मातृकाले नेहरुको स्मरणपत्रलाई थान्को लगाइदिए ।
नेहरु पत्रको खास उद्देश्यचाहिँ नेपालले चीनसँग कूटनीतिक सम्बन्ध स्थापित गर्दा भारतसँग विशेष परामर्श गर्नुपर्ने आशय थियो । पिता त्रिभुवनको उपचारका क्रममा फागुन ०११ मा स्वीट्जरल्यान्डको ज्युरिजमा मृत्यु भयो । त्यसपछि राजगद्दी सम्हालेका राजा महेन्द्रले मुख्य शाही सल्लाहकार गुन्जमान सिंहलाई चीन पठाएर । उनले सही गरेपछि नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ढोका खोलेको हो । यसरी नेहरुको स्मरणपत्र तुहिन पुग्यो भने चीनसँग पनि नेपालले कूटनीतिक सम्बन्ध स्थापित गर्यो ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...