१५ वर्षमै ‘आतंकवादी’
कोतवाली पुगेपछि मात्र थाहा भएछ, आतंकवादी काम गरेको, डकैती र हत्यामा सामेल भएको, ब्रिटिस सम्राट जर्ज पाँचौँविरुद्ध विद्रोह गरेको जस्ता गम्भीर र मृत्युदण्डसम्म हुन सक्ने कानुनको अधीन रही पक्राउ गरिएको रहेछ ।
काशीवासी बज्यै राज्यलक्ष्मीको हातबाट दसैँको टीका थाप्न बनारस पुगेका रहेछन्, मातृका । टीका लगाएर दसैँको भोलिपल्ट हिँड्ने सोचमा थिए । बनारसमै बज्यैसँग बसेर पढाइलाई निरन्तरता दिइरहेका बीपी र मातृका राती एउटै कोठामा सुतेका रहेछन् । एकाबिहानै घरभित्र हूलका हूल पुलिस पसे । कोठामा पुलिस पसेपछि दाजुभाइले एकछिन हेराहेर गरे । कतै केही बिगार पनि नगरेका । पुलिसले सबै ठाउँ तलासी लिए तर केही पाएनन् । तैपनि, पुलिसले दाजुभाइलाई पक्राउ गरी हतकडी लगाएर कोतवाली (बनारस सहरको मुख्य प्रहरी कार्यालय) पुर्याए ।
पक्राउको कारण पटनामा सदाकत आश्रममा बसेर भारतीय कांग्रेसको काम गरेको सिलसिलाबारे केही सोधपुछ होला भन्ने सोचेछन् मातृकाले । तर, कोतवाली पुगेपछि मात्र थाहा भएछ, आतंकवादी काम गरेको, डकैती र हत्यामा सामेल भएको, ब्रिटिस सम्राट जर्ज पाँचौँविरुद्ध विद्रोह गरेको जस्ता गम्भीर र मृत्युदण्डसम्म हुन सक्ने कानुनको अधीन रही पक्राउ गरिएको रहेछ । त्यो कुरा बिहार पुलिसको गुप्तचर विभागको गोप्य सूचनाबमोजिम गरिएको थियो ।
सन् १९२९/०३० तिरको प्रसंग हो । त्यतिबेला मातृकाको उमेर १८ र बीपीको साढे १५ वर्ष मात्रै थियो । आलोकाँचो उमेरमै स्वतन्त्रताका लागि ब्रिटिस शासकविरुद्ध भारतीय नेतालाई साथ दिएको समय थियो । बीपीलाई भारतीय फौजदारी कानुनले नाबालक मान्थ्यो । त्यसैले नाबालक थुन्ने कोठामा थुन्नुपर्ने भयो ।
कोइराला दाजुभाइलाई बिहार पुलिसको गोप्य सूचनाअनुसार जेल लैजाँदा बनारसका सबै प्रसिद्ध नेताहरु जेलमै थिए । सम्पूर्णानन्द, जो पछि उत्तरप्रदेशको मुख्यमन्त्री भए । श्रीप्रकाश, जसले भारत स्वतन्त्र भएपछि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले काठमाडौँ पठाएर श्री ३ पद्मशमशेरको सुधारको मस्यौदा गर्न सघाएका थिए । उनीहरुलगायत धेरै नेताहरुसँगै मातृकालाई राखियो । तर, बीपीलाई भारतीय कानुनले नाबालक ठान्ने हुँदा नाबालकलाई थुन्ने कोठा (जुभेनाइल वार्ड) मा राखियो । नाबालकलाई थुन्ने कोठा पनि भारतीय राष्ट्रिय कांग्रेसको बाँदर सेना (त्यतिबेला भारतीय स्वतन्त्रताको पक्षमा नाराजुलुस गर्दा पक्राउ परेका नाबालकहरुलाई भनिन्थ्यो) पहिले नै भरिभराउ थियो ।
भारतीय स्वतन्त्रता संग्रामका लागि बालक, वृद्ध, तन्नेरी सबै एकजुट भएका थिए । उनीहरुको एउटै लक्ष्य भारतबाट अंग्रेज शासक लखेटेर आफ्नै शासन/प्रशासन चलाउने थियो । बीपीलाई खाली कोठामा एक्लै थुनियो । कोठा फोहोर र अत्यन्तै अव्यवस्थित । जेलमा रहेका बन्दीले खानाका लागि कोठाबाहिरको एउटा प्वालबाट आफन्त वा प्रहरीले छिराइदिए मात्र खान पाइने ।
केही समयपछि दाजुभाइलाई नै बिहारको मोतीहारी रेलबाट लगियो । रेलवे प्लेटफर्ममा स्वामी श्रद्धानन्द नामका प्रतिष्ठित किसान नेता थिए । उनले दाजुभाइलाई फलफूल खान दिए भने भारतीय स्वतन्त्र संग्राममा लागेकाले औधि सम्मान दर्शाए । स्वामी पनि सोही रेलमार्फत कतै जाँदै थिए । भारत स्वतन्त्र र ब्रिटिस शासनको रजगज अन्त्य गर्न जारी संघर्षमा साथ दिनेहरुलाई त्यस समय भारतीय जनताले ठूलो सम्मान दर्शाउँथे । स्वतन्त्रताका पक्षमा लडाइँ लड्ने त्यो पनि बालक, बीपीहरु नायक भइसकेका थिए । भारतीयले उनीहरुप्रति अत्यन्तै श्रद्धाभाव व्यक्त गर्थे ।
भारतको छपरा रेल स्टेसनमा उत्तर प्रदेश पुलिसले बिहार पुलिसलाई हस्तान्तरण गर्दै थियो । त्यहाँ ठूलो भीड जम्मा भयो दाजुभाइलाई हेर्न । उनीहरुको समर्थनका लागि जम्मा भएका केही महिलाले भन्न थाले– कलिला राम/लक्ष्मण (मातृका र बीपी) लाई पुलिसले पक्रिएर थुन्न लैजाँदै छ, देशको स्वतन्त्रताका लागि । यिनीहरुलाई जसरी पनि जेलबाहिर ल्याउनैपर्छ । ब्रिटिस साम्राज्यवाद अन्त्यका लागि भारत स्वतन्त्रताका पथमा लड्नेहरुलाई जनताले साथ दिएको समय थियो त्यतिबेला ।
बिहार पुलिसले भारतको मोतीहारी सहर ल्याइपुर्याएपछि कोइराला दाजुभाइमाथि मुद्दा चलाइयो । त्यतिबेलै भारतीय कांग्रेसका स्थानीय नेताहरुले २/३ सय केटाकेटीको संख्या जोरजाम गरे । संख्या भेला गर्नुको उद्देश्यचाहिँ त्यहाँ सनाखत–परेडमा सामेल भएकाहरुमध्ये कसैले बीपीहरुलाई चिनून् भन्ने थियो बिहार पुलिसबाट छुटकारा मिलाइदिन । उनीहरुलाई एउटा वरपीपलको रुखमुनि चौतारामा बसाएर सरकारी साक्षी भनिएकाहरुलाई चिनाउन लगायो पुलिसले । तर, त्यहाँ भेला भएका कसैले पनि दाजुभाइलाई चिन्न सकेनन् । जेल बस्नुपर्ने भयो । केही महिनाको जेल बसाइपछि बिहार पुलिसले छाडिदियो ।
मातृका र बीपीबाबु दुवैले मलाई सुनाएको प्रसंग हो यो । भारतीय स्वतन्त्रता संग्राममा कोइराला परिवारले त्यसरी भारतीय नेता र जनतालाई पनि साथ दिएको अवस्था थियो ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...