छोरो मारियो, घर ठडियो
सन्नीलाई सहिद घोषणा गरियो । पीडित परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेशले ५ लाख र नगरपालिकाले ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए ।
मिस्त्री काम गर्ने भीमदत्त नगरपालिका, भगतपुरका सन्नी खुना, १४, ठेकेदारसँग पैसा लिन बजार गएका थिए, ८ भदौमा । निर्मला पन्तको हत्यारा खोजीको माग गर्दै आन्दोलन चर्किरहेको थियो । सन्नीले खासै ख्याल गरेनन् । नाराजुलुसबाट यताउता भाग्न खोज्दै थिए, प्रहरीले चलाएको गोली लागेर ढले । अस्पताल पुर्याउँदा–नपुर्याउँदै मृत्यु भयो । अर्थात्, एउटी बालिकाको हत्यारा पत्ता नलाग्दै राज्यबाट अर्को ‘हत्या’ भयो । तर त्यसयता सन्नीबारे कहीँ–कतै केही सुनिएको छैन ।
२ मंसिरमा सन्नीको घर पुग्यौँ । उनका बुबा वीरबहादुर खुना असिनपसिन थिए । नयाँ मान्छे देख्नासाथ वीरबहादुरले चाल पाइसक्छन्, छोराकै कुरा गर्न आएको हो । कुराकानीको सुरुआत उनले नै गरे, “छोरो गोली लागेर मरेछ । तर प्रहरीले जानै दिएन । शव भोलिपल्ट मात्र देखेँ ।” के गर्नु, कसलाई भन्नु !
लगत्तै सन्नीलाई सहिद घोषणा गरियो । पीडित परिवारलाई केन्द्र सरकारले १० लाख, प्रदेशले ५ लाख र नगरपालिकाले ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए । नगरपालिकामा हेल्परका रुपमा कार्यरत वीरबहादुरले करुण स्वरमा भने, “हामीले मागेका होइनौँ, उनीहरुले नै दिने घोषणा गरे । केही भनेनौँ । के भन्नु, छोरो त मरिसकेको थियो ।”
मुक्त कमैया वीरबहादुरको परिवारले नगर विकासबाट साढे चार धुर घडेरी पाएको थियो । पहिले त्यहाँ झुप्रो थियो । क्षतिपूर्ति रकमले अहिले पक्की घर बनाउँदै छन् । जग हालिसके । तर प्रदेश सरकारले दिने भनेको ५ लाख हात परेको रहेनछ । वीरबहादुर भन्दै थिए, “आउँछ–आउँछ भन्छन् तर कहिले आउँछ, थाहा छैन ।”
हेडमास्टरको हैरानी
निर्मला पन्तको घर सामुन्ने छ, सरस्वती माध्यमिक विद्यालय । त्यहीँ पढ्ने निर्मला मेधावी थिइन् । १० साउनमा उनको शव भेटियो, निम्बुखेडाको उखुबारीमा । स्कुलबाट मुस्किलले डेढ किलोमिटर पर । चार महिना बित्यो, हत्यारा समातिएका छैनन्, जसको छटपटी र बेचैनी विद्यालयमा समेत परेको छ ।
स्थानीय सहकर्मी भवानी भट्टसहित मंसिर पहिलो साता विद्यालय पुगियो । प्रधानाध्यापक जगन्नाथ पाण्डे गुनासो गर्दै थिए, “जति सम्झाए पनि विद्यार्थीबाट त्रास भगाउन सकिएन ।” ९ कक्षामा निर्मलालाई विज्ञान विषय पढाउँथे पाण्डे ।
विद्यालयमा भगतपुरबाट समेत विद्यार्थी आउँछन्, त्यही उखुबारी छिचोलेर । अर्को बाटै छैन । तर उखुबारी भयको प्रतीक बनेको छ । विद्यार्थीहरु एक्लै आउन डराउँछन् । उक्त घटनापछि ११ कक्षाको नयाँ भर्ना खुले पनि विद्यार्थी संख्या घट्यो । अन्य कक्षाका लागि बिहान वा साँझमा कोचिङ कक्षा सञ्चालन गर्न पनि कठिनाइ पर्यो । कसरी विद्यालय आउने ? पाण्डे भन्दै थिए, “अपराधी पत्ता नलाग्दा यही कतै छ, हामीलाई पनि त्यस्तै गर्छ भन्ने डर देखिन्छ, छात्राहरुमा । अभिभावकमा पनि आफ्ना सन्तान सुरक्षित छन् भन्ने आत्मविश्वास छैन ।” यही अवस्था जारी रहे आउँदो शैक्षिक सत्रमा अन्य कक्षामा पनि विद्यार्थी घट्ने र नतिजा पनि खस्किने पिरलोमा छन्, हेडमास्टर ।
स्कुल र निर्मलाका साथीलाई परेको यो संकट सरकारलाई बोध होला ?
सिजनमै सुक्खा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमै छ, शुक्लाफाँटा जंगल कटेज । ३ मंसिरमा यहीँ पुगियो तर सुनसान । विदेशी पाहुना मात्र थिए । सफारीका लागि गाडी ‘रिजर्भ’ गर्न आठ जना चाहिने । तर दुई जना मात्र भयौँ । साढे चार घन्टा घुमियो । ड्युटीमा खटिएका नेपाली सेनाका जवानबाहेक अन्य घुमन्ते भेटिएनन् । पर्यटक त शून्यजस्तै । मैले जिज्ञासा राखेँ, बेमौसमी सफारी परेछ ! कटेज सञ्चालक परमानन्द भण्डारीले जवाफ फर्काए, “होइन, यो त सिजनै हो ।”
एसियाकै सबैभन्दा ठूलो घाँसेमैदान छ, शुक्लाफाँटामा । मृग प्रजातिको १२ सिंगे जरायोको बथान देख्न पाइन्छ । पाटेबाघ, चितुवा, चित्तल, पानीबिरालो पनि छन् । हात्ती सफारी व्यवस्था छ । ‘बर्ड वाचिङ’ का लागि उर्वर मानिने रानीताल पनि छ । ३ सय ४० प्रजातिका चरा छन् यहाँ । दुर्गम पनि होइन, महेन्द्रनगर बजारबाट ६ किलोमिटर दूरीमा ।
व्यक्तिगत सवारी साधन नभए पनि १ सय रुपैयाँमा अटोरिक्साले पुर्याइदिन्छ । सफारी मार्गमा खासै खाल्डाखुल्डी छैनन् तैपनि आन्तरिक र बाह्य पर्यटकको खडेरी । पाँच वर्षदेखि यहाँ होटल चलाइरहेका भण्डारीले भने, “महेन्द्रनगर र धनगढीकै १० प्रतिशत मान्छे घाँसेमैदान पुगेका छैनन् । अरुको के गर्नु ?” सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ घोषणा गरेको छ । नेपाललाई वन्यजन्तु पर्यटनको ‘हब’ बनाउने ठूल्ठूला गफ सुनिन्छ । पारा छ यस्तो !
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...