प्रहरीको खण्डन, नेपालको जवाफ

प्रहरीको खण्डन

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले धेरै संख्यामा सवारी साधन प्रयोग गरिरहेको भन्ने समाचार सत्य होइन (सर्वेसर्वा सर्वेन्द्र, २३ मंसिर) । निजी सचिवालयका रातो तथा सरकारी नम्बरका सबै गाडी प्रहरी महानिरीक्षक खनालको निजी प्रयोजनमा प्रयोग भएका छैनन् ।

प्रहरी महानिरीक्षकको सचिवालय मातहत निवास, सवारी महाशाखा, विभिन्न कभर्ट युनिट तथा छद्म कार्य प्रकृतिका अनुगमन इकाइसमेत रहेका छन् । त्यसका लागि सरकारी तथा निजी सवारी प्रयोग हुने गर्छन् । सरकारी मापदण्डअनुसारै प्रहरीका उच्च अधिकृतहरुले सवारी साधन प्रयोग गरिरहेका छन् ।

समाचारमा भनिएजस्तो बा१झ ६४३३, बा१झ ९२९३, बा१झ २७०३, बा२झ १०१ र बा१झ ८५१८ समेतका सवारी कतिपय प्रयोग गर्न नसक्ने अवस्थामा रहेका र कतिपय जगेडा पुलमा रहेका छन् । समाचारमा उल्लिखित धेरै सवारी साधन नभई प्रहरी महानिरीक्षकका लागि दुई वटा मात्र छन् ।

–उत्तमराज सुवेदी

वरिष्ठ प्रहरी उपरीक्षक

केन्द्रीय प्रहरी प्रवक्ता/सूचना अधिकारी


नेपालको जवाफ

छद्म कारबाही (कोभर्ट अपरेसन) का लागि प्रहरीले निजी नम्बर प्लेट लगाउन सक्छ, जुन समाचारमा पनि उल्लेख छ । तर यस्तो अपरेसन महानिरीक्षक, उनको सचिवालय र निवासले गर्दैन । महानिरीक्षक प्रहरी संगठनको अभिभावक रहेकाले सबै इकाइ उनीअन्तर्गत रहने तर्क हो भने छद्म नम्बरका गाडी महानिरीक्षक निवासमा नभई सम्बन्धित इकाइमा हुनुपर्ने हो । नेपालसँग सुरक्षित सवारी महाशाखाको अभिलेखमा ती गाडी महानिरीक्षक सचिवालय र निवासमा भएको उल्लेख छ ।

पहिले दरबारले प्रयोग गर्ने बा१झ ९२९३ नम्बरको मर्सिडिज बेन्च बिग्रिए पनि अन्य गाडी सही हालतमा रहेको प्रमाण हामीसँग छ । प्रदेश ५ र २ का लागि किनिएका क्रमश: बा२झ ३५६३ नम्बरको मित्सुबिसी, बा२झ ३८८४ नम्बरको ल्यान्डक्रुजर गाडी सचिवालयमा किन तानियो  ? महानिरीक्षकका लागि थप २ वटा त औपचारिक कार्यक्रममा सरिक हुँदा चढ्ने गाडी छन् । अर्थ मन्त्रालयको मापदण्डअनुसार विशिष्ट श्रेणीका कर्मचारीले एउटा मात्रै सरकारी गाडी सुविधा पाउँछ ।

–मनबहादुर बस्नेत

संवाददाता 

प्रकाशित: मंसिर २४, २०७५

×