गौरी लंकेश हत्याको कथा
पुस्तकमा दक्षिणी भारतको राजनीति र त्यहाँ मौलाइरहेको अवसरवादको पनि चर्चा गरिएको छ ।
कर्णाटकमा पिता पी लंकेशले सुरु गरेको कन्नाड भाषी पत्रिकाको बिँडो थामेकी गौरी लंकेश साधारण पत्रकार थिइन् । उनको कलम पत्रिकामा मात्रै सीमित भने थिएन । उनी स्वयं एक सामाजिक अभियन्ता थिइन् । पछिल्लो कालखण्डमा भारतीय राजनीतिमा चढ्दो हिन्दु कट्टरपन्थ र असहिष्णु राजनीतिको विरोधमा उनी खरो उत्रेकी थिइन् । उनको यही हक्की अभियान धार्मिक र साम्प्रदायिक संकीर्णता बोकेका शक्तिलाई सह्य भएन । ५ सेप्टेम्बर सन् २०१७ मा गौरीको आफ्नै निवासमा हत्या भयो । विचार र आस्थामा मतभेद भएकै कारण पछिल्लो समय भारतमा मारिएका पत्रकार, प्राध्यापक, अधिकारकर्मीको नामावली लामै छ । यही क्रमावलीमा थपिइन्– गौरी लंकेश । उनीजस्तै मारिएका थिए– एमएम कलबुर्गी, गोविन्द पानसारे र नरेन्द्र दबोल्कर । उनीहरु धर्मान्धता र कट्टरताको विरोधमा वैज्ञानिक र तर्कपूर्ण विचारको पक्षमा उभिएकै ‘दोष’ मा मारिए । अनि सुधा भारध्वज, गौतम नौलखा, बरबरा राव, बर्मोन गोञ्जालेसहरु राज्यकै कोपभाजनको सिकार बने ।
लामो समयदेखि अमेरिकाको मेरिल्यान्डबाट द टाइम्स अफ इन्डियाका लागि विदेश सम्पादकको भूमिकामा रहँदै आएका चिदानन्द राजघाटको पुस्तक इल्लिबरल इन्डिया, गौरी लंकेश एन्ड द एज अफ अनरिजन गौरीको हत्यालाई केन्द्रबिन्दुमा राखी भारतमा विकसित अनुदार राजनीतिबारे चर्चा गरिएको कृति हो । राजघाटले आफूलाई गौरीका ‘पूर्वपति र आजीवन साथी’ का रुपमा चिनाएका छन् । राजघाटका अनुसार जीवनमा हिँड्ने बाटा अलगअलग भएपछि उनी र गौरीले सम्बन्धविच्छेद गरेका थिए । दुवै पत्रकार हुन् । भारतका विभिन्न मिडियामा सँगसँगै र अलग–अलग पनि काम गरे । पछि गौरी आफ्नै बुबाको पत्रिकालाई निरन्तरता दिन लागिन् भने राजघाटले अमेरिकामा गएर मेरी ब्रिडिङसँग विवाह गरे । त्यहीँबाट पत्रकारितालाई निरन्तरता दिए ।
पुस्तकमा राजघाटले आफ्नी पूर्वपत्नीसँग सम्बन्धका आरोहअवरोहको पनि चर्चा गरेका छन् । तर पुस्तकमा मूलत: गौरीले बाँचेको समयको व्याख्या छ । उत्तरी भारतमा सुरु भएको ‘गेरुवस्त्र’ राजनीतिले क्रमश: दक्षिण भारतका कर्णाटक, केरला, तामिलनाडु, आन्ध्र प्रदेश र तेलंगानामा प्रभाव विस्तार गरिरहेको छ । धार्मिक अतिवादी राजनीतिका कारण आज भारतका अन्य क्षेत्रमा जस्तै ती प्रान्तका धार्मिक अल्पसंख्यक, दलित, महिला, जनजाति, राज्य स्वयं र गैरराज्य अतिवादी शक्तिबाट पिरोलिएका छन् । गौरी आफ्नो अखबारमार्फत यस्तै साम्प्रदायिक र अतिवादी विचारको आलोचना गर्थिन् । उनी मौलाउँदो असहिष्णुताको विपक्षमा थिइन् । त्यस्ता गतिविधि भारतीय संविधानको भावनाविपरीत भएको उनको विचार थियो ।
कर्णाटकमा लिंगायत सम्प्रदायको जनसंख्या अधिक छ । गौरी लंकेश लिंगायत सम्प्रदाय हिन्दुवादी वीरशैव मतभन्दा फरक भएको चिन्तक कलबुर्गीको विचारमा सहमत थिइन् । वीरशैव मतअन्तर्गत परम्परागत र अतार्किक अभ्यासमा सुधार गरी बासाभेश्वाराले लिंगायत सम्प्रदायको विकास गरेका थिए । लिंगायतलाई धार्मिक कट्टरताबाट अलग राख्नुपर्ने गौरीको विचार थियो, जो कर्णाटकका कट्टरपन्थीलाई मन परेको थिएन । उनको हत्यापछाडिको कारण यो मतभेदलाई पनि मानिएको छ ।
रामायणलाई दक्षिण भारतमा हेर्ने दृष्टिकोण उत्तर भारतभन्दा भिन्न छ । अझ हिन्द महाद्वीपमा धेरै थरी रामायण छन् । तर सबैतिर उत्तर भारतमा जस्तो रामलाई सकारात्मक पात्र र रावणलाई खलपात्रको रुपमा हेरिँदैन । पुस्तकको एक सन्दर्भमा भनिएको छ, ‘जति वटा रामायण, उति जना राम ।’ दक्षिण भारतको पृष्ठभूमिमा लेखिएको पुस्तकमा वर्णित सांस्कृतिक प्रसंगमार्फत लेखकले गौरी हुर्केको सांस्कृतिक जगको व्याख्या गर्न खोजेका छन् ।
दक्षिण भारतमा लामो समयदेखि मिजोरमका राजा टिपु सुल्तानलाई पुज्ने वा नपुज्ने भन्ने विवाद रहँदै आएको छ । हिन्दु अतिवादी मतले टिपु मुसलमान भएको र आफ्नो शासनकालमा हिन्दुमाथि अत्याचार गरेकाले उनीप्रतिको सम्मान अमान्य हुने बताउँदै आएको छ । उदारपन्थीहरुले भने बेलायती उपनिवेशवादविरुद्ध उनले साहसिक लडाइँ लडेका कारण सम्मान गर्नुपर्ने मत राख्दै आएका छन् । गौरी लंकेश आफ्ना केही अग्रजको विचारमा सहमत भई टिपुप्रति सम्मान गरिनुपर्ने मतका पक्षधर थिइन् । इतिहासलाई धार्मिक संकीर्णताको तुलोमा तौलिने विचारप्रति उनको विरोध थियो ।
कवि, आलोचनात्मक चिन्तक तथा पत्रकार पिता पी लंकेशको बलियो प्रभाव र उनको अन्य सरसंगतको प्रेरणाले गौरीलाई विभेदकारी सामाजिक बन्दोबस्त र असहिष्णु राजनीतिको विरोधमा उभिन सक्ने बनाए । पुस्तकमा दक्षिणी भारतको राजनीति र त्यहाँ मौलाइरहेको अवसरवादको पनि चर्चा गरिएको छ ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...