नयाँ संहिताको त्रास
सरकारले केही महिनाअघि लागू गरेको नयाँ संहितामा पत्रकार, फोटो पत्रकार, व्यंग्यकार तथा कार्टुनिस्टलाई विशेष किसिमको अंकुश लगाइएको छ ।
सरकारले केही महिनाअघि लागू गरेको नयाँ संहितामा पत्रकार, फोटो पत्रकार, व्यंग्यकार तथा कार्टुनिस्टलाई विशेष किसिमको अंकुश लगाइएको छ । विभिन्न दफामा लेखिएका छन्, बिनाअनुमति कसैको फोटो खिच्न पाइँदैन, कसैमाथि सीधा वा घुमाउरो पाराले व्यंग्य गर्न पाइँदैन, अनुहारलाई बिगार्न पाइँदैन, कसैको क्यारिकेचर गर्न/बनाउन पाइँदैन । होस पुर्याउनु है । परिवार तथा शुभचिन्तकले पटकपटक भने तर वास्ता गरिएन । मलाई लाग्यो, आफ्ना गल्ती र कमजोरी उदांगो गर्नेलाई निरुत्साहित पार्न यस्ता बुख्याचा दफा कोरिएका हुन् । त्यसैले मनमा फिटिक्कै डर थिएन ।
केही समयअघि सरकारले ढाड सेक्ने गरी दोहरो कर लगाएकामा व्यंग्य गर्दै कार्टुन बनाएर सामाजिक सन्जालमा पोस्ट गरेँ । नवविवाहित वरको बाटो छेकेर कर मागिरहेका प्रधानमन्त्रीको कार्टुन थियो त्यो । कार्टुन सेयर गरेको एकैछिनमा लाइकका साथै उत्तिकै तथानाम गाली आउन थाले । जनताले राज्यबाट पाउने सुविधाअनुरुपको कर एउटै हुनुपर्छ भन्नेहरुले कार्टुन रुचाए । केहीले त नानाभाँतीका क्याप्सन राखेर रिपोस्ट पनि गरे । तर एउटा समूहले भने कार्टुनको विरोध गर्दै नयाँ ऐनको हाउगुजी देखाएर सामाजिक सन्जालमा अश्लील शब्दसम्म लेख्न भ्यायो । तिनका प्रति मेरो कुनै जवाफ थिएन । चुपचाप बसेँ । कतिले छिट्टै पक्राउ पुर्जी आउन सक्नेसम्मको त्रास देखाए । तर यस्तो केही भएन । तर्साउन खोज्नेहरु केही दिनमा आफैँ सुस्ताए ।
प्रधानमन्त्रीको पछुतो
स्कुलमा एक पटक क्यारिम बोर्ड प्रतियोगितामा पहिलो भएको थिएँ । अभिभावक दिवस पारेर आयोजना गरिएको कार्यक्रममा उद्घोषकले पुरस्कार लिन मेरो नाम बोलाए । म भीडमा अलि पछाडि थिएँ । मेरै नाम गरेका मित्र अगाडिको कुर्सीमा आसन जमाएर बसेका रहेछन् । उनले मभन्दा अघि मञ्चमा पुगेर नि:संकोच पुरस्कार थापे । म जिल्ल परेँ । घाँटीमा मेडल थियो तर त्योभन्दा ठूलो लाजको भारी साथीको अनुहारमा झुन्डिएको थियो । केही दिनअघि अखबारमा छापिएको प्रधानमन्त्रीले मेडल लगाएको फोटो देख्दा मलाई त्यही साथीको भारी अनुहार याद आयो ।
प्रसंग हो, भर्खरै राजधानीको सोल्टी होटलमा सम्पन्न एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री ओलीले थापेको सुशासन पदकको । पदक थापेपछि उनले पनि फोटो खिचाएछन्, जुन पत्रपत्रिकामा छापियो । छापिएको तस्बिरमा उनको मुहारमा पनि गलत पुरस्कार थापेकामा मेरो साथी पछुताएजस्तै भाव देखेँ । हुन पनि, ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल १ सय ३१ औँ स्थानबाट १ सय २२ औँ स्थानमा उक्लिएको छ । यसैले प्रधानमन्त्रीको मुहारमा पछुतो देखिएको हो कि ? कि निर्मलाका हत्यारा अहिलेसम्म बेपत्ता छन् भनेर मेडलले जिस्क्याएजस्तो लाग्यो फोटो खिच्ने बेला । लौ न ! बताइदिनु पर्यो, प्रमज्यू । जनता जान्न चाहन्छन् ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...