कृष्णप्रसादका अन्तिम दिनहरू
राणातन्त्रीय शासन हटाउन काठमाडौँमा बन्दी जीवन व्यतीत गरिरहेका कृष्णप्रसादको आर्यघाटमा नभई ललितपुर शंखमूलमा दाहसंस्कार भयो ।
विसं २०३९ मा कृष्णप्रसाद कोइरालाका माइला छोरा, नेपालमा पहिलोपल्ट दुई तिहाइ बहुमत प्राप्त जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको मृत्यु भयो, काठमाडौँमा । पशुपतिको पश्चिम जयबागेश्वरीबाट निस्केको शवयात्रामा हजारौँ जनताले सहभागिता जनाए– ‘बीपीको सपना साकार पार्छौं–पार्छौं, बीपी कोइराला अमर रहून्’ भनी ।
जेठा छोरा मातृकाप्रसाद कोइरालाको विसं २०५४ मा काठमाडौँ महाराजगन्जस्थित शिक्षण अस्पतालमा मृत्यु भयो । मातृका नेपाली सेनाका महारथी हुादा सेनाका परमाधिपति राजा वीरेन्द्रले सैनिक सम्मानका साथ अन्त्येष्टि गर्न लगाए ।
कान्छा छोरा गिरिजाप्रसाद कोइरालाको अन्त्येष्टि र शवयात्राको शब्दचित्र काठमाडौँसहित नेपालभरका जनताको स्मरणमै छ । गिरिजाप्रसादको अन्तिम शवयात्राका लागि दशरथ रंगशाला भरिएको थियो भने आउजाउ गर्ने बाटासमेत बन्द थिए, मानिसको घुइँचोले गर्दा ।
जसका तीन छोराहरु नेपालका प्रधानमन्त्री भए, दुई नातिनी उप–प्रधानमन्त्री भए, ४ नातिहरु जननिर्वाचित प्रतिनिधिसभामा जनसमर्थनले सांसद चुनिए । विडम्बना ! यस्ता सन्तानका बाउबाजे कृष्णप्रसादको शवयात्रा र अन्त्येष्टि भने बडो विजोगपूर्ण र दयनीय भयो । राणातन्त्रीय शासन हटाउन काठमाडौँमा बन्दी जीवन व्यतीत गरिरहेका कृष्णप्रसादको आर्यघाटमा नभई ललितपुर शंखमूलमा दाहसंस्कार भयो, १४ माघ २००१ मा ।
साहित्यकार शंकर कोइरालाले पिताजीको मृत्युको पृष्ठभूमि वर्णन गर्दै लेख्नुभएको छ– ‘काठमाडौँ उपत्यकामा माघे जाडो अति प्रबल हुँदै थियो । पशुपतिनाथले कैलाश नै खिचेर काठमाडौँ उपत्यकामा ल्याउनुभएको हो कि भनेझैँ तीन दिनदेखि फुसफुस हिउँ परिरहेको थियो । जता हेर्यो हिउँले घर, रुख, सडक, चउर, खेत, डाँडाकाँडा सेताम्मे देखिन्थे । ...तुफान आउनुअघिको शान्तिझैँ रहेछ– प्रलयका लागि– बिहानै खबर आयो, खर्दारबा स्वर्गे हुनभो रे ।’
कृष्णप्रसाद पुत्र केशवसँग अढाई तीन महिनाअघि बिहे भएकी १६/१७ वर्षजति नोना कोइराला जुद्ध धर्मशालामा पिताजीको अन्तिम समयसम्म रहनुभएको थियो । नोनाका अनुसार बिहे गरेको भर्खर तीन महिना भएको थियो । पिताजी बिरामी हुनुहुन्थ्यो । एक दिन जुद्ध धर्मशालामा पुलिस निगरानीमा नजरबन्द ससुरा (पिताजी) कहाँ एउटा व्यक्ति सिपाही लिई जेल लैजाने आदेश लिएर आयो । छोरा केशवले ती व्यक्तिलाई भन्नुभयो– ‘पिताजी बिरामी हुनुहुन्छ, यस्तो अवस्थामा जान सक्नु हुन्न ।’
पुलिससहित पिताजीलाई लिन आएका ती व्यक्तिलाई केशवका कुरा पत्यार लागेनछ । उनीहरु केही बेरपछि उलिनकाठ लिएर आए । केशवले घरको तलामा सुतिरहेका पिताजीको अवस्था देखाएपछि मात्र फर्किए । त्यति नै बेला हजुरआमाद्वय (कृष्णप्रसादका जेठी पत्नी मोहनकुमारी र कान्छी दिव्याकुमारी) ले सोध्नुभयो, “केशव के यस्तो अवस्थामा पनि जेल लग्लान् पिताजीलाई ?”
सबैमा पिताजीलाई लग्दैनन् होला भन्ने विश्वास थियो । तर एक घन्टापछि उनै व्यक्ति थप सिपाहीसहित स्ट्रेचर लिएर आए । पिताजीले श्रीमतीहरु र छोरा केशवलाई भन्नुभयो, “मलाई उनीहरुले जसरी पनि जेल लैजाने अड्डी लिए । तिमीहरु मुख आध्यारो नपार्नू र एक थोपा आँसु पनि नखसाल्नू ।”
पिताजीलाई लगेपछि त्यहाँ भएका सबै सामान निकाल्न लगाएर ढोकामा भोटे ताल्चा लगाइदिए । पिताजीलाई भद्रगोल जेल पुर्याएर आएका छोरा केशवले परिवारको यस्तो विचल्ली आफ्नै आँखाअगाडि देख्नुपर्यो । यसअघि पहिल्यै जेल बस्दा परिचित प्रजातन्त्रप्रेमी वेदनाथ अर्यालको घरमा केशवसहितका सदस्य चार रात बसे । चौथो रात केशवको नाम लिई कसैले बोलायो । त्यो व्यक्तिको हातमा एउटा कागज थियो । त्यो कागजमा पिताजीलाई फेरि जेलबाट धर्मशाला ल्याउने आदेश थियो ।
कागजको बेलिविस्तार लगाउँदै नोनाले भन्नुभएको छ, “भोलिपल्ट बिहान ९ बजे आमा दिव्याकुमारी, केशव र बुनु जेलको ढोकामा पुग्नुभयो । मातृकाकी आमा, सुशीला दिदी (बीपी पत्नी) र म पिताजीलाई खाना लिई धर्मशालातिर जाने तयारी गर्दै थियौँ । अकस्मात हिउँ (असिना) को वर्षा हुन थाल्यो । हजुरआमाले हिँड जाऊँ, पिताजीको खाने बेला भयो भन्नुभयो ।”
१६/१७ वर्षकी नोना बनारसमा जन्मे–हुर्केकी, कहिल्यै हिउँ परेको नदेखेकी । उनी काठमाडौँमा परेको हिउँमा रमाउँदै, खुट्टा गाड्दै हिँड्न थालिन् । उनका लागि धर्मशाला टाढा भइगयो । हजुरआमा र सुशीला दिदीले ‘नोना तिमी दौड’ पनि भने । नोना दौडिन् । धर्मशाला पुग्नै लाग्दा पछारिइन् । ससुरा हेर्न उनलाई धर्मशाला बोकेर लैजानुपर्यो । यसरी राणाहरुले पिताजीलाई कहिले घरमै नजरबन्द, कहिले धर्मशाला त कहिले जेल सारिरहे अन्तिम अवस्थासम्म ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...