भोलि नभए कहिले ?
बर्माको सशस्त्र द्वन्द्वले उब्जाएको प्रश्न, के बन्दुकले साँच्चै परिवर्तन ल्याउँछ ?
कचिन प्रान्तको वाइमोनगरमा बस्ने होमनाथ घिमिरे जनवरी २०१७ मा मलाई भेटेर निकै खुसी भए । सँगसँगै दु:खी पनि । काठमाडौँबाट बर्मा, त्यो पनि रंगुनबाट करिब १२ सय किमि यात्रा गरेर पुगेको मलाई उनले पाहुनाका रुपमा घरमा राख्न पाएनन् । नाताले मेरा बडाबासँग जीवनमै पहिलो पटक भेट भएको थियो । भूमिगत सशस्त्र समूहको भयले यस भेगका मानिस बाहिरबाट आएका पाहुनालाई घरमा राख्न पाउँदैनन् । खासमा यी भेगमा यात्रा गर्न बाहिरका मानिसलाई प्रान्तीय भिसा आवश्यक पर्छ । बर्माको भिसा लागेका पर्यटकलाई समेत त्यहाँका केही प्रान्तमा जान अझै असहज छ ।
बन्दुकको राजनीति विचित्र छ । सन् १९५० मा बर्माबाट ल्याएको बन्दुकले नेपालमा कांग्रेसले राणाविरुद्ध विद्रोह गर्यो । त्यही बन्दुक कांग्रेसले बंगलादेशीलाई बेच्यो । सन् १९७१ मा भारतबाट छुट्टिएर स्वतन्त्र बंगलादेश बन्न तिनै बन्दुकसमेत प्रयोग भए । तर जुन देशका बन्दुक अरु देशको स्वतन्त्रताका निम्ति प्रयोग भए, त्यही देश बन्दुकको आतंकमा पुस्तौँदेखि फसेको छ । यस्ता राजनीतिक, सामाजिक र सांस्कृतिक दुर्घटनाबाट अर्को राज्यले पाठ सिक्न सक्ने अवस्था सधैँ रहन्छ । तर बन्दुकले साँच्चै परिवर्तन ल्याउँछ त भन्ने प्रश्न बर्माका लागि झन् सान्दर्भिक बनेको छ ।
बर्मामा आन्तरिक द्वन्द्वका कारण हजारौँ मानिस मारिए, विस्थापित भए । कचिन प्रान्तमा भइरहेको यही सशस्त्र विद्रोहमाथि बनेको वृत्तचित्र हो– टुमरो अर ह्वेन ? यो वृत्तचित्रले काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव (किम्फ) मा बर्माको प्रतिनिधित्व गरेको थियो । आदिवासी र सत्ताधारीबीच लामो सशस्त्र लडाइँको बलियो दस्तावेज हो यो वृत्तचित्र ।
बर्मामा बन्दुकको लडाइँ ब्रिटिस साम्राज्यका बेला लामो समय चल्यो । प्रथम, दोस्रो र तेस्रो ‘ब्रिटिस आङ्लो वार’ मा बर्मालाई ब्रिटिसले खर्लप्पै खायो । बन्दुककै बलले बर्माभित्रका सानाठूला राज्य ब्रिटिस साम्राज्यको अधीनमा आए । त्यसपछि दोस्रो विश्वयुद्धले बर्मालाई निकै क्षति पुर्यायो । दोस्रो विश्वयुद्ध नसकिँदै ब्रिटिस साम्राज्यविरुद्ध अर्को ठूलो सशस्त्र आन्दोलन भयो । खासमा ब्रिटिस साम्राज्यकै बेलादेखि कचिन समुदायले भाषा, संस्कृति र प्राकृतिक स्रोतमाथिको अधिकारमा आफ्नो बेग्लै अस्तित्व खोजिरहेको थियो । सान, चिन, करिन, मुनजस्ता अरु आदिवासी पनि सशस्त्र विद्रोहमा थिए । सन् १९४७ मा ‘जनरल आङ सान’ (आङ सान सुकीका बुबा) ले सबै सशस्त्र आदिवासीलाई ठूलो सम्मेलनमार्फत एकजुट गराए । ब्रिटिस शासनविरुद्ध लड्ने संगठित शक्ति तयार गर्नु उनको योजना थियो । यो सांगठनिक सम्मेलन ‘पिङलुङ एग्रिमेन्ट’ का नामले प्रसिद्ध छ । यही संगठित शक्तिले ब्रिटिस शासन हटायो ।
ब्रिटिस शासनबाट विधिवत रुपमा बर्मा ४ जनवरी १९४८ मा स्वतन्त्र भएपछि त्यही वर्ष १० जनवरीमा वैधानिक रुपमा कचिन जातिको नाममा कचिन राज्य बन्यो । कचिन पहाडवरिपरि बस्ने हुनाले यिनलाई कचिन जाति भनियो । यसभित्र ६ फरक–फरक आदिवासी छन् । राज्यको नाम कचिन राखिए पनि पहिचान र अधिकारको हिसाबले यो समुदाय अझै शोषित नै रहेको कचिन इन्डिपेन्डेन्ट आर्मी (केआईए) को भनाइ छ । त्यसैले पहिचानको लडाइँका निम्ति ब्रिटिस शासनविरुद्ध लडेका कचिन आदिवासीको सैनिक फौज ब्रिटिस शासनलाई विस्थापित गरेर बनेको बर्मा सरकारकै विरुद्ध सन् १९६१ देखि सशस्त्र विद्रोह गर्न थाल्यो ।
सन् १९६२ मा बर्मामा सैनिक शासन लागू भएपछि सशस्त्र द्वन्द्व झन् चर्कियो । आदिवासीहरुको स्वायत्तता, सहअस्तित्व, स्थानीय निकायमा केन्द्रीय सरकारको दख्खल हुन नहुनेजस्ता माग राखेर लडेको ‘कचिन इन्डिपेन्डेन्ट आर्मी’ बर्मा सरकारका लागि आतंककारी समूह र यहाँका नेपालीभाषीमाझ बागी समूहका नामले चिनिन्छ । यो विद्रोही समूहलाई दबाउन केन्द्रीय सरकारले ठूलो लगानी गर्यो । गाउँगाउँमा समानान्तर सैनिक बनायो । प्रतिरक्षाको नाममा नेपालीभाषी (गोर्खाली समुदाय) का युवालाई राज्यले हतियार दियो र उनीहरुले बागी समूविरुद्ध लडाइँ गरे । यसैकारण पनि केन्द्रीय सरकार नेपालीभाषीप्रति सकारात्मक छ । राज्यको ठूलो दमनपछि विद्रोहीले सन् १९९४ देखि सन् २०११ सम्म युद्धविराम गरे । फेरि सन् २०११ देखि ‘केआईए’ को सशस्त्र आन्दोलन सक्रिय भयो ।
बर्माको आन्तरिक द्वन्द्वबारे त्यति धेरै चलचित्र बनेका छैनन् । यहाँ अभिव्यक्तिको स्वतन्त्रता निकै कुण्ठित छ । र, राज्यलाई चुनौती दिएर काम गर्न सजिलो छैन । आजसम्म पनि मिडियामाथि ठूलो बन्देज छ । सामाजिक सन्जालमाथि राज्यको पूर्ण नियन्त्रण छ । बर्मामा मेरो करिब १ वर्षको बसाइ अनुभवले भन्छ, त्यहाँको अहिलेको स्थितिलाई नेपालसँग तुलना गर्दा ०१७ पछिको पञ्चायती व्यवस्थाजस्तो छ ।
क्षेत्रफलमा नेपालभन्दा साढे चार गुणा ठूलो र प्राकृतिक स्रोतका हिसाबले कैयौँ गुणा सम्पन्न देश हो, बर्मा । तर एकात्मक राज्य प्रणाली, शिक्षामा एकल भाषाको वर्चस्व, कमजोर शिक्षा पद्धति बर्माको ठूलो समस्या हो । यहाँको राज्यसत्ता र सम्पूर्ण पहुँच ओगटेर बसेको मुख्य जाति बर्मन र धर्म बौद्ध हो । त्यसैले आदिवासीको शैक्षिक विकास दयनीय छ । बर्मामा आधुनिक कलाको प्रवेश नै भएको छैन भन्दा हुन्छ । आधुनिक फिल्म, चित्रकला, रंगमञ्च, संगीतलाई फस्टाउन नदिन शासकहरुको ठूलो भूमिका छ । यस्तो अवस्थामा सुसु लाइनले निर्देशन गरेको फिल्म टुमरो अर ह्वेन ? निकै चुनौतीपूर्ण काम मान्न सकिन्छ ।
त्यसभन्दा अघि बर्माको तानाशाही सैनिक शासन, हिंसा र त्यसविरुद्धमा नागरिकको ठूला खाले विद्रोहलाई आङ साङ सुकीमाथि बनेको चलचित्र द लेडीले देखाउँछ । सन् २००७ मा बनेको बर्मा भिजे वृत्तचित्रले बर्मेली जनताको अर्को ठूलो आन्दोलनलाई देखाएको छ, जहाँ भिक्षुहरु तानाशाही सैनिक शासकविरुद्ध सडकमा ओर्लिएका छन् । आन्दोलन दबाउन सैनिक शासनले नागरिकमाथि चरम यातना दिन्छ । ७ वटा गोप्य क्यामेराले खिचिएको वृत्तचित्र बर्माको प्रजातान्त्रिक आन्दोलनको संघर्ष बुझ्ने राम्रो दस्तावेज हो । नर्वेली निर्देशक लुक बेसोन निर्देशित यो फिल्म खिच्ने युवाहरु धेरै वर्षसम्म बर्माबाहिर लुकेर बस्नुपर्यो ।
टुमारो अर ह्वेन ? केही फरक र निकै संवेदनशील विषयमा बनेको वृत्तचित्र हो । यो वृत्तचित्रले कचिन प्रान्तका आदिवासी र बर्मा सरकारबीचको सशस्त्र द्वन्द्वका कारणले जनताले भोगेको चरम सास्ती र उनीहरुको विस्थापनलाई देखाएको छ । कथा मर्मस्पर्शी छ । दुई पक्षका बन्दुकधारीले दिएको दु:खका कारण धेरै परिवार कचिन प्रान्तका गाउँबाट विस्थापित छन् । तिनै गाउँलेहरुमध्येका किसान हुन्, यु वान तुङ । खेतीपाती, गाईवस्तु छाडेर उनी नजिकैको सहरमा बस्न थाल्छन् । तर छोराहरुको पढाइ खर्चका कारण गाईगोरु बेच्न भए पनि यु वान गाउँ फर्किनुपर्ने हुन्छ । सहरबाट गाउँ पुग्न सरकारी सैनिक र विद्रोही सैनिकका क्याम्पहरु पार गर्दै पुग्नुपर्छ । नेपालमा माओवादी युद्धकालमा आम मानिसले भोग्नुपरेको पीडा र बर्मेली नागरिक यु वानको पीडा धेरै समान छन् । कचिन प्रान्तमा यात्रा गर्दा हरेक सैनिक पोस्टमा यात्रुहरु गाडीबाट ओर्लनुपर्ने, हरेक व्यक्तिलाई सैनिकले कडा निगरानी गर्नेजस्ता झमेला र दु:ख हामी नेपालीले पनि करिब १० वर्ष भोग्यौँ । कचिन प्रान्तमा यात्राक्रममा सडकमा सैनिक क्याम्पले लगाएका काँडेतार देख्दा नेपालको सशस्त्र द्वन्द्वकालीन सास्तीको स्मरण भइरहेको थियो मलाई । टुमरो अर ह्वेन ? ले ती दिनलाई ताजा बनायो ।
कचिन प्रान्त बर्माको उत्तरी भूभागमा अवस्थित छ । यसको सिमाना चीनको युनान र भारतको अरुणाचल प्रदेशसँग जोडिएको छ । मिल्दोजुल्दो अनुहार र रुपरंगका कारण कचिन विद्रोही सेनालाई चीनमा लुक्न सजिलो छ । बर्माका अरु ठाउँको तुलनामा कचिन प्रान्तमा धेरै नेपालीभाषीको बसोबास छ । चीनको हिमालबाट बगेर आउने ऐरावती नदीले यो प्रान्तलाई सिञ्चित गरेको छ । यो अत्यन्तै उर्बर ठाउँ मानिन्छ । नेपालका पहाडी जिल्लामा उब्जनी अत्यन्त कम हुन्थ्यो र जीवन चलाउन धौधौ थियो । ती नेपालीहरु लामो पैदल यात्रा गरेर त्यहाँ पुगेको इतिहास छ । ब्रिटिस इन्डिया सरकारका लागि लडेका गोर्खाली सेनाहरु यो सम्बन्ध जोड्ने माध्यम थिए । बर्माका रुखमा पैसा टिप्न पाइन्छ भनेर गएका पुर्खाहरुको कथा नेपालीभाषीका तेस्रो–चौथो पुस्ताले अचेल बताउँछन् । उतिखेर प्रशस्त खेती र सैयौँको संख्यामा पशुपालन गरेर बसेका नेपालीभाषीका नयाँ पुस्ता अब गरिबी झेलिरहेका छन् । सन् १९६२ पछि सबै सम्पत्ति सरकारीकरण भयो । जंगलमा पहिलाजस्तो पहुँच रहेन । कृषि व्यवसाय सहज भएन । नेपालीभाषी युवाहरु कचिन प्रान्तका गाउँबाट विस्थापित हुँदैछन् ।
वृत्तचित्रले देखाएजस्तै सशस्त्र विद्रोहका कारण कचिनमा मात्रै होइन, अन्य प्रान्तका आम जनता पनि आक्रान्त छन् । वृत्तचित्रले यो कुरा बलियोसँग देखाएको छ– ‘दुवै समूह जनताका लागि लडेका हौँ भन्छन् तर तिनीहरुकै कारणले जनता मरिरहेका छन् । आफ्नो गाउँ छाडेर आफ्नै मुलुकमा शरणार्थी भएर बस्नुपरेको छ ।’ सशस्त्र द्वन्द्वबाट उत्पन्न हिंसा, डर र गरिबीका कारणले कचिन प्रान्तका युवा चीन, मलेसिया, थाइल्यान्ड पलायन छन् । कामदार वा यौन व्यवसायीका रुपमा कचिन प्रान्तका युवतीहरुको चीनमा भइरहेको बिक्री अर्को डरलाग्दो स्थिति हो । वृत्तचित्रका प्रमुख पात्र यु वान तुङ भन्छन्, “मानिसहरु भन्छन्, शान्ति चाहिएको छ । तर हामीलाई जत्ति नै चाहिएको त छैन होला ।” एक दिन शान्ति आउँछ र घर फर्कौंला भन्ने आशमा हजारौँ मानिस शरणार्थी क्याम्पमा अनिदो बसेर सपना देखिरहेका छन् ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...