निर्णय
सबै ठीकठाक हुन्थ्यो । तर जहाँ पनि ‘तर’ ले कुरा बिगाथ्र्यो । त्यसैले ‘तर’ सँग मलाई खुब रिस उठ्यो ।
कुराउनी खाइसकेर हात चाट्दै मंगलले सोध्यो, “तँलाई सबैभन्दा मीठो लाग्ने कुरा के हो ?”
“दूधभात ।”
मैले यसरी भनेँ कि मानौँ– उसले सोध्नुभन्दा पहिले नै दूधभात भन्ने शब्द मनबाट झिकेर मुखमा राखिसकेको थिएँ ।
तर त्यतिखेर हाम्रो गोठमा दुहुनो भैँसी थिएन । तरुनी थोरे थिई । तीन महिनाअघि मात्र उसले राँगो साथीलाई भेटेकी थिई र गर्भधारण गरेकी थिई । दूधबिना हामीलाई सात महिना कुर्न गाह्रो भएको थियो । त्यसैले बा दुहुनो भैँसी किन्न खोज्दै हुनुहुन्थ्यो ।
घरमा दुहुनो नभएका बेला दूधभातको सम्झना झन् धेरै आउँथ्यो । सम्झना मात्र पनि दूधभातभन्दा मीठो लाग्थ्यो । तर त्यस्तो मीठो सम्झनाले झन् बेचैन बनाउँथ्यो । म बेचैन थिएँ ।
♦♦♦
दूध नभएकाले मेरो खान्की घटेको थियो । मैले थोरै खाएकामा आमा आफू भोकै भएझैँ गर्नुहुन्थ्यो र बालाई भन्नुहुन्थ्यो, “यतिका दिन भो भैँसी किन्न हिँड्नुभको । चाँडै ल्याइहाल्नुपर्यो । यता केटाकेटी, उता मकैबारीको घाँस सुक्तै छ ।”
कहिले एक्लै, कहिले कोही साथीसँग बा भैँसी खोज्न जानुहुन्थ्यो । आज त पक्कै ल्याउनुहोला भन्यो, रित्तै आउनुहुन्थ्यो । बालाई निर्णय गर्न असाध्यै गाह्रो हुन्थ्यो । बेलुका बाले आमा र गफिन आएका छिमेकीलाई दिनभरि आफूले हेरेका भैँसीहरुका बयान सुनाउनुहुन्थ्यो:
– एउटा भैँसी साह्रै मन परेको थ्यो । दूध थुने मानो । साथमा पाडी । जो बसे पनि दूध दिनी, असाध्यै गुनी । हेर्दा पनि साह्रै मिलेको जीउडाल, खाइलाग्दो । तर जिब्रो रातो रच । रातो जिब्रो भएको भैँसीले पिर्च भन्चन् ।
– अर्को पनि मन परेको थ्यो । दाम पनि मिलाएरै देका थे । तर अलि बूढी । अर्को बेत नै ब्याउन नसक्लाजस्तो ।
– अर्को भैँसी पनि मन त परेको थ्यो । तर ब्याको रैन्च । नब्याको भैँसी ल्यायो, भोलि के–कसरी ब्याउनी हो भन्ने पिरलो । बैगुनी छ कि भन्नी डर । पैसा हाल्नै परेपछि ब्याएको भैँसीलाई पैसा हाल्नुपर्च ।
– अर्को भैँसी पनि साह्रै मन परेको थ्यो । तर भाउ मिलेन । यस्तो सिङ घुमेपछि छोइखाँदो गर्दैनन् । सिङले दूध दिनी हो जस्तो गर्चन् ।
– अर्को भैँसी पनि मन परेको थ्यो । तर थुनेलो भएर एउटा थुन बिग्रेको रच । तीन थुनबाट मात्र दूध आउनी ।
सबै ठीकठाक हुन्थ्यो । तर जहाँ पनि ‘तर’ ले कुरा बिगाथ्र्यो । त्यसैले ‘तर’ सँग मलाई खुब रिस उठ्यो ।
बाका यस्ता कुरा सुन्दा कुहिनाबाट धारा लगाउँदै सप्य्राकसप्य्राक दूधभात खाएको कल्पनामा डुब्थेँ । परदेशबाट घर फर्कंदै गरेको लाहुरेलाई घर आइपुग्नै लाग्दा घरको अत्यार अझ धेरै लागेझैँ मलाई पनि दूधको अत्यार लागेको थियो ।
♦♦♦
आमाले बलियो बोलीमा भन्नुभयो, “आज त जसरी पनि आँटेर एउटा भैँसी ल्याउनुहोला । पाइएन भने बरु बास बसेरै भएर पनि ल्याउनुहोला । तर रित्तै नआउनुहोला ।”
बाले पनि आँटिलो भएर भन्नुभयो, “एउटा भैँसी मन परेको छ । भाउ मिलाइदिए भने त्यही भैँसी ल्याउँचु ।”
आमाले सानो आवाजमा शंका व्यक्त गर्नुभयो, “भरे पनि रित्तै आउनु हुने हो कि ?”
बाले सुन्नुभएको थियो या नसुनेझैँ गर्नुभएको थियो, यसै भन्न सक्दिनँ । जेहोस्, बाको अनुहार नसुनेजस्तो देखिएको थियो ।
बेलुका बा कतिखेर भैँसी डोर्याउँदै आउनुहोला भनेर मेरा आँखा धेरैजसो बाटोतिरै थिए । भरे त दूध खान पाइन्छ भनेर साथीहरुलाई खुब गफ हानेको थिएँ । साथीहरुसँग टालाको भकुन्डो खेल्दा पनि मेरा आँखा भकुन्डोमा भन्दा धेरै बाटोतिरै थिए । त्यसैले मैले एक गोल पनि हान्न सकिनँ । गोल हान्न नसकेकामा खिन्न भइनँ । किनभने, बाले भरे भैँसी ल्याउनुहुन्छ । गोल हान्न नसकेको खिन्नता दूधको सम्झनाले नै मेटिदिएको थियो ।
हावा भरिएको रातो बेलुनजस्तो भएर घाम डाँडामा बस्दा पनि बा आउनुभएन । अब त बाटोतिर हेरे पनि अँध्यारोले छेकेर नदेखिने भयो । भकुन्डो पनि नदेखिने भयो । बा आउनुभएन । घर फर्कंदै गर्दा सोचेँ, यसपटक बाले बासै बसेर भए पनि ल्याउनुहुने भयो ।
घर जाँदै गर्दा एउटा साइकलले मलाई उछिनेर गयो । पछाडिबाटै मैले चिनिहालेँ, बा । उछिनेर जाँदा पनि बाले मलाई यादै गर्नु भएनछ । सायद भैँसीकै तानामा हुनुहुन्थ्यो ।
म खिन्न भएँ, आज पनि भैँसी नलिई आउनुभएछ । अरु दिन भएको भए बाको साइकल पछिपछि दगुर्ने थिएँ हुँला । भैँसी नल्याउनुभएकाले दगुर्नै मन लागेन । अघि भकुन्डो खेल्दा गोल हान्न नसकेकामा हुनुपर्ने खिन्न बल्ल भएँ ।
बा, आमा र दिदीभन्दा धेरै म खिन्न भएको थिएँ । साँझ तरकारीसँग मात्र भात खाँदा मलाई निस्तै खाएजस्तो भयो ।
बेलुका बा धेरै बेरसम्म केही बोल्नुभएन । मैले “खोइ त नि बा भैँसी ?” भनेर सोध्दा पनि केही बोल्नुभएन । आमाले “आज त पक्का ल्याउनुहोला भनेको... ?” भन्दा पनि बोल्नुभएन ।
बेलुका बीबीसी सुन्न र बासँग गफिन छिमेकीहरु आए । त्यसपछि भने बा बोल्नुभयो, “आज त जसरी पनि ल्याउँछु भनेर गको थेँ, भैँसी पनि मन परेको थ्यो, दाम पनि मिल्लाजस्तो थ्यो । तर घराँ लोग्नेमान्छे रैन्चन् । आइमाईको मात्र भरमा ल्याउन सकिनँ । उस्ले दाम्लो फुकाइदिन्छु हजुर भनेकी थिई तर भर पर्न सकिनँ । आइमाई केटाकेटीको भर हुँदैन ।”
किन त्यही दिन त्यो लोग्नेमान्छेलाई घर नहुनु परेको होला ? त्यो लोग्नेमान्छेसँग असाध्यै रिस उठ्यो । किताबबाट आँखा उठाउँदै आमाले भन्दा पहिले मैले आत्तिँदै सोधेँ, “ती लोग्नेमान्छे कैले आउँचन् अरे बा ?”
“पहाड गका अरे । गोडा दसेक दिनमा आउँचन् अरे ।”
दस दिन कुर्ने धैर्य हामीसँग थिएन । बासँग पनि रहेनछ र अलि आँटिलो बोलीमा भन्नुभयो, “भोलि त जसरी पनि ल्याउँचु । जगतपुरका पण्डितको भैँसी मन परेको छ । बूढाले दरदाम पनि मिलाउँचन् । भोलि त्यही भैँसी भए पनि ल्याउँछु ।”
भोलिपल्ट घरबाट निस्कने बेलामा बाले दिदी र मलाई भन्नुभयो, “भैँसीलाई घाँस काटेर राख्नू ।”
घाँस काट्न कहिल्यै जाँगर नदेखाउने म खुब जाँगरिएँ । दिदी पनि जाँगरिई । दिदी र मैले असारे गर्मीमा खुब घाँस काट्यौँ । मकैका पातले अनुहार र पाखुरामा पासे पनि पासेजस्तो लागेन । खलखल पसिना आउँदा पनि गर्मी भएन ।
आमाले “तैँले घाँस काट्न सक्तैनस्” भन्दा पनि अटेरी गरेर खुब घाँस काटेँ । सानासाना मुठा बनाउँदै दिदीलाई भनेँ, “तैँले काटेको घाँस भैँसीलाई, मैले काटेको पाडीलाई ।”
दिदीले मुख बिगारेर भनी, “त्यति सानो पाडीले त घाँस खाँदैन, दूध मात्र खान्छ ।”
“त्यसो भए मैले काटेको पनि भैँसीले नै खान्छ र झन् धेरै दूध दिन्छ ।”
साथीहरुले भकुन्डो खेल्न बोलाउँदा पनि नगई घाँस काटेँ । हतारिएर घाँस काट्दा हात पनि काटेँ, देब्रे हातको कान्छी औँलाको टुप्पामा । आमाले नकाट भन्दाभन्दै काटेकाले गाली खानुपर्ला भनेर दिदीलाई भनेँ, “आमालाई नभन् है दिदी ।”
दिदीले टाउको हल्लाउँदै गन्धेको रस निचोरेर घाउमा हालिदिई । भरे दूधभात खान पाइन्छ भन्ने खुसीले जति चहर्याउनुपर्ने हो, त्यति चहर्याएन ।
घर फर्केर मैले आमालाई घाउ लुकाइरहेँ । मेरो ध्यान घाउ लुकाउनमा भन्दा धेरै बाटोतिर थियो । कति खेर बाले भैँसी लिएर आउनुहोला ।
घाम डुब्नासाथ बा साइकल बजाउँदै टुप्लुक्क आइपुग्नुभयो । फेरि पनि रित्तै आउनुभएको थियो । तर बाको अनुहार रित्तो थिएन । बाले साइकलको स्ट्यान्ड लगाउन नपाउँदै मैले सोधेँ, “खै त नि बा भैंसी ?”
बाले साइकलको स्ट्यान्ड लगाउनुभयो र पिँढीको खाटमा आएर बस्नुभयो । आमा, दिदी र म बाको अगाडि उभियौँ । हँसिलो अनुहार बनाएर बाले भन्नुभयो, “पण्डितको भैँसीलाई बैना देर आको छु ।”
एक्कासि हामी सबैको अनुहार उज्यालो भयो । सबैभन्दा धेरै मेरै अनुहार उज्यालो भयो । आमाले बत्ती बाल्नुभयो । मेरो अनुहार झन् उज्यालो भयो ।
मैले खुसी हुँदै सोधेँ, “आज किन नल्याउनुभको त नि बा ?”
बाले बुझाउनुभयो, “म एक्लै । साथमा साइकल पनि भो । म एक्लोले भैँसी डोर्याउनु कि साइकल डोर्याउनु कि पाडो धपाउनु ? भोलि बिहानै तँ र म हिँडेर जाम्ला । म भैँसी डोर्याम्ला, तँ पाडो धपाउलास् ।”
मैले उत्साहित हुँदै भनेँ, “म त पाडोसँग खेल्नी हो ।”
दिदीले आँखा मर्काउँदै भनी, “बाख्राको पाठो हो र पाडो ?”
आमाले हलुका व्यंग्य गर्दै बालाई सोध्नुभयो, “घराँ लोग्नेमान्छे त थिए ?”
बाले सहज भएर भन्नुभयो, “नभई निर्णय गर्छु त ? बरु उनकी जहान थिइनन् । कुन्नि कुन आफन्तको बिहेमा गकी रचिन् । मैले जहानसँग सल्लाह गर्नुपर्च कि भनेर सोधेँ । उनले सल्लाह भइसकेको छ हजुर । नभए पनि विश्वास गर्नुस्, मर्दको बोली र बन्दुकको बोली खेर जाँदैन भने । हक्की रचन् पण्डित । ती त बनारसमा शास्त्रीसम्म पढेका विद्वान् पण्डित पो हुन् त । सप्ताह, पुराण भन्चन् । हाइस्कुल पढाउँचन् । कहलिएका मानिस हुन् ।” बाले पनि हलुका व्यंग्यसहित आमालाई भन्नुभयो, “बरु बूढीले नै तैँलेझैँ क पनि चिनेकी छैनन् रे ।”
आमाले आँखा र मुख सँगसँगै मर्काउँदै अन्तै फर्केर भन्नुभयो, “उबेलाँ पढाइदेको भए हाम्ले पनि अक्षर चिन्दा हुम् नि । उबेलाँ गाईभैँसी र घाँसदाउरा मात्र चिनाइदिए । अहिले त्यही मात्र पढ्नुपर्या छ ।”
♦♦♦
भोलिपल्ट बा र म घरबाटै दाम्लो लिएर भैँसी लिन गयौँ । डेढ घन्टा हिँडेपछि हामी पण्डितको घर पुग्यौँ । हामी पुग्दा पण्डित नयाँ कुर्तासुरुवालमाथि जुवारीकोट लगाई हातमा छाता र काँधमा झोला भिरेर कतै जान निस्कँदै रहेछन् । बाले उनलाई नमस्कार गर्नुभयो र भन्नुभयो, “भैँसी लिन आइयो क्यारे पण्डितजी ।”
तर पण्डितले नमस्कार पनि राम्ररी फर्काएनन् र बासँग बोल्नसमेत अनकनाए । बाले मलाई भैँसी र पाडोतिर देखाउँदै भन्नुभयो, “ल हेर, ऊ त्यही भैँसी हो । अगाडि पाडो बसेको छ ।”
भैँसी र पाडो हेर्न म गोठतिर जाँदै गर्दा भान्छाबाट कराउँदै पण्डितनी निस्किइन् र बासँग भनिन्, “हिजो म घर नहुँदा उहाँले बैना गर्नुभच । यो भैँसी त बेच्नी हैन हजुर । घरमै जन्मेको पाडी हो । साह्रै गुनिलो छ । दूध मीठो छ । घिउ पालाकै एक माना लाग्च । यस्तो लछिनको भैँसी बेच्नी हैन ।”
बाले खिन्न हुँदै भन्नुभयो, “मैले त हिजो बैना गरिसक्या छु ।”
पण्डितनी झन् च्याठ्ठिइन्, “उहाँले बैना अरेर हुन्च ? उहाँले गाईभैँसीको स्याहारसुसार गर्नुपर्ने हैन, दुहुनबाहन गर्नुपर्ने हैन । उहाँलाई घरभित्र र गोठभित्रको कुरा था हुन्न हजुर ।”
बा खिन्न हुनुभयो । बाभन्दा धेरै म खिन्न भएँ । पण्डितनी चर्कोचर्को बोल्दै भान्छातिर पसिन्, “तपैँले हिजो लगेकै भए पनि यो भैँसी त म फिर्ता ल्याउने थिएँ ।”
चिसा हातले हातमा समाउँदै पण्डितले बालाई आँगनको डिलतिर ल्याए र चिसै बोलीमा भने, “यस्तै भयो, नरिसाउनुहोला हजुर । जहानले मानिन । बरु म तपाईंलाई अर्को ठाउँमा किनाइदिन्छु ।”
पण्डितले सय रुपैयाँ बैना तिनै चिसा हातले बालाई फिर्ता दिए ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...