सायन : फेल/पास

पुस्तक : छुटेका अनुहार |लेखक : रमेश सायन |प्रकाशक : लिपि बुक्स |पृष्ठ : २५०|मूल्य : ३४५ रुपैयाँ

- राजकुमार बानियाँ

कृतिभन्दा व्यक्तिको प्रभावमा छ, समकालीन नेपाली साहित्य । प्रकाशनदेखि मूल्यांकन र पुरस्कार वितरणको परिपाटीसमेत वस्तुगत नभएर मनोगत छ । त्यसैले नाम चलेका साहित्यकारले लेखेजति ‘सबै साहित्य र उत्कृष्ट’ ठान्ने अनौठो भ्रान्ति छ । यथार्थमा यो साहित्यबाटै साहित्य हराउँदै गएको स्थिति हो ।

भव्य विज्ञापन र बिक्रीको हाउगुजी जतिसुकै देखाइयोस्, नवलेखनले प्राय: खल्लन अनुभव दिलाइरहेको छ । यस्तो ‘लिटेररी डिप्रेसन’ मा रमेश सायनको गैरआख्यान छुटेका अनुहारले थोरबहुत ध्यानाकर्षण गराएको छ । ‘कन्फेसन’ लाई नै उनले संस्मरणको प्रिय सूत्र बनाएका छन् ।

कोरियामा तीन वर्ष के गरे सायनले ? अन्तिम पाठमा त्यसको जवाफ छ । काम र ‘काम’ शीर्षकमा उनले कोरियाली मालिकको कृषि फार्ममा १६ देखि १८ घन्टासम्म काम गरेको लुकाएका छैनन् । ३० वर्षसम्म श्रम नगरेका उनले फेसबुके  दुनियाँबाट ‘डिस्कनेक्ट’ भएर उमेरको साँवा, ब्याज, ब्याजको पनि स्याज तिरेको उल्लेख गरेका छन् । उनको स्वीकारोक्ति छ, ‘देशमा मजसरी शारीरिक श्रम नगरी हल्लिएर बाँच्नेहरुका लागि कोरिया सुधारगृह हो ।’

‘फ्याक्ट’ लेख्ने कि ‘फिक्सन’ ? अधिकांश लेखक फ्याक्टमा फिक्सन, फिक्सनमा फ्याक्ट मिसाउने कलाबाजी गर्छन् । त्यसैले न फ्याक्टलाई पत्याउने माहोल छ, न त फिक्सनलाई । किताबमा सायनका आश्चर्यजनक स्पष्टीकरण छन् । जुत्ता कारखानाको जागिर रुचाउँदैनन्  । मोटरसाइकल चलाउन जानेको छु भनेर ढाँट्छन् र ट्याक्टर बेच्ने कम्पनीको फिल्ड अफिसरको जागिर पाउँछन् । त्यसको पोल खुलेपछि रिसेप्सनिस्टमा घटुवा हुन्छन् ।

आफ्नो सहने क्षमता देखेर आफैँ छक्कै पर्छन् । फेरि काकतालीमा ‘ट्याक्टर बेच्ने सर’ मै बढुवा हुन्छन् । माओवादी अपहरणमा पर्छन् । अपहरण त उनका लागि पुरस्कारजस्तो हुन्छ । थप बढुवा पाएपछि अपहरणकारीलाई धन्यवादसमेत दिएका छन् ।

सायनका संस्मरण सरल भएर पनि भावपूर्ण छन् । घटना, पात्र र परिवेशको छनोट अब्बल छ । बोनम प्रताप नामक साथी आफूले कविता प्रतियोगितामा प्रथम भएबापत पाएको खाम सायनलाई ऋणमुक्त गर्न थमाउँछन् । तुलसी राई नामक पात्र मर्निङ वाक पनि मोटरसाइकलमै जान्छन्, शौचादिका लागि पाखाभित्ता पुग्दा पनि मोटरसाइकलमै कुद्छन् । यसमा करुण हास्य छ, चोटिलो व्यंग्य पनि ।

फ्याट्ट एसएलसी फेल भएँ

प्रेम अग्राखको आगो रहेछ सधैँ रापिलो झरिलो

मानौँ, प्रेमी चिनी हो, प्रेमिका पानी हो उनीहरु घुलिरहेका छन् आपसमा

मैले सबभन्दा धेरै सोच्ने कुरा यौन सपना हो

समयले भन्दा धेरै सपनाले जवान बनाउँछ

अरुलाई जत्ति नै आफूलाई पनि अविश्वास गर्न सक्छु

भोलि मरेँ भने पनि बाँचेको कारण नै मरेको हुँ मृत्युको जिम्मा पनि मैले लिनुपर्छ

सायनको गद्यबान्की फुर्तिलो र चहकिलो छ । ‘फ्री स्टाइल’ उनको लेखनको पुँजी हो । हरफैपिच्छे उनका आनीबानी, प्रेम र जीवन, जिन्दगी र संघर्ष झल्किन्छन् । अनुभवको घान हालेर निबन्धको कलेवर दिने उनको अधिकतम कोसिस छ । पूर्वप्रेमिकालाई १० वर्षपछि भेट्दा कस्तो भयो ? पहिलो सिमकार्डको चारो लिएको तर भाँडो नभएको अवस्था कस्तो थियो ? उनले इमानदारीपूर्वक कन्फेसन गरेका छन् । कतैकतै उनको सत्याग्रह डरलाग्दो पनि छ ।

किताबमा उनले बरु आफैँलाई झूर भनेका छन्, अरु पात्रलाई कतै गलत भनेका छैनन् । किताब पढ्दा लाग्छ, सानातिना घटना नै जीवनदर्शनका धरातल रहेछन् । किताबमा १९ वटा मुक्त अनुभूति छन्, फरक–फरक शीर्षकमा । तर तिनीहरु एकआपसमा जोडिएका छन् । प्रस्तुति औपन्यासिक छ । काव्यको रैथाने स्वाद पनि । निबन्धमा कविता भेटिनु संयोग मात्र होइन, किनभने सायन आफैँमा कवि हुन् । निजी अनुभव भए पनि यसलाई व्यक्तिगत गन्थन मात्रै मान्न सकिँदैन ।

यति हुँदाहुँदै पनि सायनका सबै संस्मरण उत्तिकै बलिया छैनन् । कतिपय त पाना थप्न मात्र राखिएजस्ता सामान्य छन् । अति भावुकताको मार पनि खेपेका छन् कतिपय संस्मरणले । तिनलाई छिमल्न सकेको भए किताब अझ सानदार हुन सक्थ्यो । किताबमा दुई संस्मरण छन्, ‘फेल’ र ‘पास’ । संस्मरणकारितामा रमेश सायन फेल भए वा पास ? त्यो पाठकले सजिलै भनिदिने छन् ।

प्रकाशित: पुस ४, २०७५

ट्याग: पुस्तक