शवमा संगीन रोपेर अन्त्येष्टि
कृष्णप्रसादको शव घाटमा राखिएको थियो । शव उठाउन बाहुन (मलामी) खोज्दा राणा शासकको डरले कोही आउन मानेनन् ।
राणा शासन हटाएर प्रजाको शासन ल्याउने अभियानमा पिताजी कृष्णप्रसाद कोइराला पक्राउ पर्ने र छुट्ने क्रम चलिरह्यो । विराटनगरदेखि चिसापानीगढी हुँदै काठमाडौँसम्म ल्याएर थुनामा राखियो । पिताजीलाई जेल र जुद्ध धर्मशालाको दुर्गन्धयुक्त चिसो वातावरणमा बस्दाबस्दै निमोनिया भयो । उहाँलाई पहिलेदेखि नै बाथ रोग थियो । शरीर कमजोर हुँदा स्वास्थ्य झनै बिग्रियो ।
माघ २००१ मा काठमाडौँमा परेको ठूलो हिमपातमा पुलिस निगरानीमा रहने गरी पिताजीलाई राणा सरकारले धर्मशालामा थन्काइदियो । धर्मशालामा राणा शासकको थुनुवा रहेको केही दिनमै पत्नीद्वय मोहनकुमारी, दिव्याकुमारी, बुहारीद्वय सुशीला, नोना, छोरा केशव र छोरी बुनु (विजयालक्ष्मी) साथमै उहाँले देहत्याग गर्नुभयो ।
पिताजीको देहत्यागकै दिन भारतीय स्वतन्त्रता संग्रामका क्रममा थुनामा रहेका सोसलिस्ट पार्टीमा काम गर्ने माइला छोरा बीपी भारत बिहारको सेन्ट्रल जेलबाट छुट्नुभयो । तर बीपी पिताजीको अन्त्येष्टिमा भाग लिन तुरुन्त काठमाडौँ आउन सक्ने कुरै भएन । यसरी जनताको हक अधिकारका लागि अविराम लडिरहने पिताजी कृष्णप्रसाद अन्तिम समयसम्म पनि राणा शासकको तारो बन्नुपर्यो ।
पिताजीको शव घाटमा राखिएको थियो । शव उठाउन बाहुन (मलामी) खोज्दा राणा शासकको डरले कोही आउन मानेनन् । ढुण्डीराज कोइराला त्यस समय मोहनशमशेरका छोरा शारदा र विजयलाई ट्युसन पढाउँथे । उनले तत्कालीन पुलिसका सर्वोच्च हाकिम चन्द्रबहादुर थापालाई अनुरोध गर्दा बाआमा मरिसकेका ६ जना पुलिस खटाइदिए । बाआमा निधन नभएकालाई मलामी लैजान नपाइने राणाकालीन थिति थियो ।
त्यतिबेला अहिलेजस्तो कालगतिले मरेबाहेक पोस्टमार्टम गर्ने व्यवस्था थिएन । कृष्णप्रसादको शवमा कात्रो बेर्नुअघि चले–नचलेको जनाउ दिन बन्दुकको संगीनले रोपियो । खासमा राणाकालीन समयमा सरकारी जेलमा रहेर मरेका व्यक्तिलाई संगीनले रोपेर मात्र शव जलाउने परम्परा थियो । पिताजीको शवमा संगीन रोपेपछि छोरा केशवले जंगिएर भने, “मरिसकेको व्यक्तिलाई संगीन किन रोपेको ?”
घाटमा रहेका राणा पुलिसका मान्छेले केशवलाई सम्झाए । थुनामा कैदीको मृत्यु हुँदा उसको शरीरमा संगीनले घोचेर हेर्दा चटपटाएन भनी मुचुल्का लेख्नुपर्ने हुँदा सरकारी चलन भएको प्रस्टीकरण उनीहरुले दिए । सरकारी व्यवस्थाअनुरुप सबै कर्म गरिएको प्रस्टीकरण दिएपछि केशवले चित्त बुझाउनुको विकल्प रहेन ।
कुनै बेला सरकारी जागिर (सुब्बा) को नियुक्तिसमेत पाएको व्यक्तिलाई आफ्नो शासनको बर्खिलापमा आवाज उठाएको भन्दै पिताजी कृष्णप्रसादप्रति राणा कठोर र निर्दयी भए । राणा शासनका अगाडि कसैको केही लाग्दैनथ्यो । उनीहरुको बोली नै कानुन बन्ने अवस्था थियो । भीमशमशेरले त कोइराला परिवारको उठिवास नै लगाएका थिए, सम्पत्ति जफत गरिदिएर । तर, जुद्धशमशेरले प्रधानमन्त्री भएपछि जायजेथा फुकुवा गरिदिएका थिए ।
राणा शासकले पिताजी कृष्णप्रसादलाई सम्मान पनि दर्शाउँथे कुनै बेला, जुन कुरा बीपीले नै उल्लेख गर्नुभएको छ । बीपीले राणा शासकसँग कृष्णप्रसादको सम्बन्धबारे भन्नुभएको छ– ‘भीमशमशेरको मृत्युपछि श्री ३ भएका प्रधानमन्त्री जुद्धशमशेरले पद सम्हालेको त्यस्तै २०/२१ दिन भएको थियो । पिताजी जुद्धशमशेर भेट्न (त्यतिबेला चाकरी भनिन्थ्यो) जानुभएको थिएन । त्यस कुरालाई जुद्धशमशेरले नोट गरेका रहेछन् । उनले आफ्ना आठपहरिया (सरदार) लाई पठाएछन्, कृष्णप्रसादलाई ल्याउनू भनेर । त्यसबेला जुद्धशमशेर जावलाखेल बस्थे । सरदारले कृष्णप्रसादलाई लिएर जुद्धशमशेरकहाँ पुर्याए । त्यसपछि जुद्धशमशेरले पिताजीलाई ‘मलाई किन भेट्न नआएको भनेर सोधेछन् ।’
पिताजी सधैँभर जनताका पीरमर्का सम्बोधन होऊन्, देशमा प्रजातन्त्र आएर जनताकै छोराछोरीले शासनाधिकार सम्हाल्न पाऊन् भन्ने विचारका हुनुहुन्थ्यो । पिताजीले जुद्धशमशेरसँगको भेटमा आफ्ना २१ छोराछोरीका लागि बडेबडे महल नबनाउन, बिर्ता नलिनसमेत आग्रह गर्नुभएको थियो । पिताजीका कुरा सुनेपछि जुद्धशमशेरले आफ्ना सन्तानका लागि सम्पत्ति जोड्दिनँ, जनताकै लागि काम गर्छुसमेत भनेछन् ।
यसरी राणा शासकसामु निडर भएर बोल्ने पिताजीलाई उनीहरुले सम्मान पनि दर्शाउँथे । तर, आफ्नै शासनविरुद्ध लागेको भन्दै उनै राणाहरुले पिताजीलाई कहिले जेल, कहिले धर्मशालामा बन्दीका रुपमा राखिरहे । काठमाडौँको जुद्ध धर्मशालामा मृत कृष्णप्रसादका साथ छोरा केशव पाटन शंखमूल गए । शंखमूल (बागमती घाट) मै कृष्णप्रसादको दाहसंस्कार गरियो ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...