संकटमा एकसिंगे गैंडा र पाटेबाघको 'अन्तिम घर’
जंगल क्षेत्रमा पूर्वाधार निर्माणले वन्यजन्तुको वासस्थानमा अवरोध
लोपोन्मुख एकसिंगे गैँडा र पाटेबाघको 'अन्तिम घर' मानिन्छ, पूर्व रौतहटको बागमती र पश्चिम महाकाली किनारको शुक्लाफाँटासम्मको भूपरिधि । यो अन्तिम घरभित्रै बसेको ८० लाख जनसंख्याको क्रियाकलापले संकट गहिरिँदै गएको छ ।
वन्यजन्तुको अन्तिम घरसँगै चुरे र तराईको वनजंगल विनासले मानिसको वासस्थान पनि मरुभूमिमा परिणत हुने खतरा बढ्दै गएको छ । संरक्षणकर्मीले चेतावनी दिएका छन्, 'यो अन्तिम घर पनि बचाउन सकिएन भने भावी पुस्ताले एकसिंगे गैँडा र बाघ तस्बिरमा मात्र देख्न पाउनेछन् ।'
बाघ, गैंडा र हात्तीजस्ता ठूला वन्यजन्तु ओहोरदोहोर गर्ने बाटाका बस्तीले पनि अवरोध पुर्याएका छन् । भारतको जिम कर्बेटदेखि बागमती किनारसम्मको भूपरिधिको संरक्षण, सम्वर्द्धन र सुरक्षाबाट मात्र विश्वबाटै लोप हुँदै गएका पाटेबाघ र एकसिंगे गैँडाको अन्तिम घर बलियो बन्न सक्ने बताउँछन्, विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) का संरक्षणविद् तिलक ढकाल । भन्छन्, "यो अन्तिम घरभित्र मानिसले पनि आफ्नो घर बनाउनु छ, त्यसैले एकले अर्काको घरको शान्ति-सुरक्षालाई खलल नपुर्याई मिलेर बस्ने हो । यसबाट वन्यजन्तु र मानव दुवैको भावी पुस्ता सुरक्षित हुनेछ ।"
यो परिधिभित्र हालैको गणनामा बाघ २ सय ३५ र एकसिंगे गैँडा ६ सय ४५ को संख्यामा भेटिए । त्यसमध्ये बाघ बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, चितवन राष्ट्रिय निकुञ्जमा ९३, बाँके निकुञ्जमा २१, पर्सा १६ र शुक्लाफाँटा निकुञ्जमा १६ छन् । एकसिंगे गैँडाको संख्या भने चितवन राष्ट्रिय निकुञ्जमा बढी छ । यहाँ ६ सयभन्दा बढी गैँडा गणना गरिएको छ । बर्दिया र शुक्लाफाँटामा त्यहीँबाट स्थानान्तरण गरिएका ४५ वटा एकसिंगे गैंडा छन् । एकसिंगे गैंडा नेपालमा मात्रै पाइन्छ ।
पश्चिम परिधिको बर्दिया क्षेत्रमा पछिल्लो समय बाघको संख्यामा वृद्धि भएको छ । "नेपाल र भारतको यो परिधि बाघ संरक्षणका लागि उपयुक्त सर्किट बनेको छ," बाघविशेषज्ञ कञ्चन थापा भन्छन्, "यो परिधिमा जैविक मार्ग सुधारिँदै गएकाले बाघ-बघिनी रमाइरहेका हुन्छन् ।"
कहिले नेपालका बाघ भारततिर र कहिले त्यताका बाघ नेपाली जंगलमा देखिन्छन् । बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबीचको बर्दियाको खाता, कैलालीको कर्णाली, वसन्ता, कञ्चनपुरको लालझाडी मोहना जैविक मार्गमा संरक्षित, सामुदायिक र चुरे वनक्षेत्र पर्छन् । उक्त जैविक मार्गलाई भारतको लक्काबग्गा, दुदुवा नेसनल पार्क, कतरिनियाघाट वाइल्ड लाइफ सेन्चुरीले जोडेको छ ।
सुरक्षित वासस्थान निर्माण गर्न नसकेकै कारण गैँडा मारिएका उदाहरण धेरै छन् । बाघ र हात्तीका लागि भने पूर्व रौतहटदेखि शुक्लाफाँटासम्मको जैविक मार्गको कनेक्टिभिटी आवश्यक रहेको बताउँछन्, संरक्षणविद् ढकाल । भन्छन्, "हात्ती आफ्नो परम्परागत बाटोमा मात्र हिँड्छ । तर अहिले हात्तीको परम्परागत मार्गमा बस्ती बसेका छन् । त्यसैले हात्तीले घर-बस्तीमा आतंक मच्चाइरहेका छन् ।"
डब्लूडब्लूएफले नेपाल र भारतको यो भूपरिधिलाई जोड्न दुवै देशका सरकारसँग मिलेर तराई भूपरिधि कार्यक्रम (ताल) मार्फत आर्थिक र प्राविधिक रूपमा ठूलो लगानी गरिरहेको छ । तालको उद्देश्य मानिस र जनावर दुवैको घर सुरक्षित बनाउनु रहेको छ ।
तालका प्रबन्धक तथा उपसचिव पूर्णेश्वर सुवेदीका अनुसार यस क्षेत्रमा पर्ने राष्ट्रिय निकुञ्ज, संरक्षित तथा आरक्षित वन, सामुदायिक र राष्ट्रिय वनलाई जोडेर सुरक्षित जैविक मार्गका वन्यजन्तु देखाएर इको टुरिज्मलगायत संरक्षणमुखी कार्यक्रम चलाइएका छन् ।
मोहना करिडोरको कञ्चनपुर डोके बजार क्षेत्रबाट र वसन्ताको हसुलियाबाट जंगल मानव आवादीले टुक्रिएको स्थानीय संरक्षणकर्मी विजय श्रेष्ठको भनाइ छ । त्यस्तै, जंगल क्षेत्रमा भइरहेको सडक, सिँचाइलगायत विकास निर्माणले कर्णाली करिडोर क्षेत्र पनि संकटमा छ । वातावरण विज्ञानका इन्जिनियर प्रसन्न कर्माचार्य भन्छन्, "वन्यजन्तु तथा वातावरणमैत्री पूर्वाधार निर्माण हुनु आवश्यक छ । वन्यजन्तु ओहोरदोहोर गर्ने बाटामा विकासले उनीहरूको 'लाइफ डिस्टर्ब' भइरहेको छ ।"
तस्बिरहरु : सौजन्य डब्लूडब्लूएफका तिलक ढकाल
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...