तपाईं पनि राजनीतिमा ?
राजनीतिलाई हेर्ने आँखामा ‘कलर ब्लाइन्डनेस’ छैन भने स्वाभाविक रुपमा देखिन्छ, यो त कहिले निख्खर कालो, कहिले गाढा रातो, कहिले अचाक्ली गेरु वा असाध्यै सेतो भएर गुज्रेको हुन्छ ।
‘तपाईं पनि राजनीतिमा ?’ यो प्रश्नले अघिल्ला केही महिना पूरै अलमल्यायो । किशोरवयमा गरेको जहानियाँ राजनीतिलाई बिर्सेर पूरापूर व्यवसायमा लागेको पनि निकै भएको थियो । प्रश्न नाजायज थिएनन् । बारम्बारका प्रश्नले घरिघरि यस्तो पनि लाग्थ्यो, कतै राजनीतिको मेलो समातेर मैले गलत त गरिनँ ? प्रश्नलाई माथ गर्न पनि प्रश्नै सोचेँ र आफैँलाई सोधेँ – के राजनीति सामान्य ‘कप अफ टी’ होइन र ? एक कप चियाका लागि किन तथानाम सोच्नुपर्छ मैले ?
मन–शान्तिका लागि कित्लीमा उमालेको केही कप चिया सकियो । तर चियासँगै उम्लिएको मन झन् अशान्त भएर आयो । अहँ, द्विविधा सकिएन । भन्छन्, मान्छेको जिन्दगी रोजाइहरुको फेहरिस्त मात्रै हो । मान्छे हरेक क्षण अनेकन विकल्पका अगाडि उभिएको हुन्छ । उसलाई कुन विकल्प रोज्ने भन्ने स्वतन्त्रता त हुन्छ तर कुनै पनि नरोज्ने स्वतन्त्रता हुँदैन किनकि कुनै नरोज्नु पनि एउटा विकल्प हो । फेरि द्विविधा मेट्छु, राजनीति नगर्नु पनि एउटा राजनीति नै हो । भोट नहाल्नु पनि एक प्रकारको मतदान नै हो । यसले पनि कुनै न कुनै व्यवस्था र दललाई फाइदा वा बेफाइदा पुर्याएकै हुन्छ ।
कलेजकालीन दिनमा सोपेनहावरको यस्तै कुनै आशय पढेको थिएँ । सम्झेँ, जिन्दगीमा यसअघि लिएका यस्तै महत्त्वपूर्ण निर्णय । सम्झेँ, किनाराका साक्षी साथीहरुलाई । सम्झेँ, समाज, जसको काखमा म हुर्कें, जसलाई हुर्काउन सकिरहेको थिइनँ । जसले मलाई शिक्षित, समृद्ध र सुखी बनाएको थियो तर मैले उसलाई त्यही बनाउन सकिरहेको थिइनँ ।
समाजबाटै सिकेको हुँ– माता, मित्र र मातृभूमिको ऋण कहिल्यै तिर्न सकिँदैन । म ऋणमुक्त हुन राजनीति गरिरहेको पनि छैन । ऋणमोचनजस्तो अमूर्त र असम्भव कामको पछाडि कुद्ने मान्छे कदाचित होइन म । अखबारका पहिलो पाना पढ्दा–पढ्दा दिक्दार भएर आएको हुँ । खुबी नहुने तर आसन ओगट्नेहरुलाई झस्काउँदा मात्रै पनि मजा आउला भनेर उभिएको हुँ । मान्छेको अनुहारमा थोरै भए पनि मुस्कान जगाउन सकिन्छ लागेर राजनीतिमा होमिएको हुँ । आफ्नै तर्कले चित्त बुझ्यो । ढुक्क भएँ, मैले गलत गोरेटो समातेको छैन ।
‘तपाईं पनि राजनीतिमा ?’ सायद २० वर्षअघि पाकिस्तानमा इमरान खानलाई कैयौँ पटक सोधिए होलान् ? म एक ‘आम आदमी’ न हुँ ।
‘तपाईं पनि राजनीतिमा ?’ पाँच वर्षअघि भुटानका लोते छिरिङलाई कति सोधियो होला ? म एक किसानको छोरा न हुँ ।
सफल क्रिकेटर भए पनि इमरानलाई पत्रकारको बलशाली बलिङका अघिल्तिर तर्कको क्रिज सम्हाल्न कति गाह्रो भयो होला ? छिरिङ चल्तीका सर्जन थिए तर जतनसाथ प्रश्नको पोस्टमार्टम गर्न उनलाई कति गाह्रो भयो होला ?
म त सामान्य पेसाकर्मी हुँ । गरिखाने एउटा औसत कारिन्दा हुँ । मेरा दु:ख साना हुन् । मेरा द्विविधा पनि सामान्य हुन् । राजनीतिका नाममा मैले गर्नुपर्ने त्याग पनि सामान्य हुन् । मेरो जिन्दगी नै एक सामान्य हो । अनि म सामान्य मान्छेका लागि राजनीतिमा होमिने निर्णय कसरी असामान्य हुन्छ ? कसरी असजिलो हुन्छ ? कसरी परिवार, साथीभाइका लागि विरक्तिलो हुन्छ ? म पूरापूर निष्कर्षमा पुगेँ कि राजनीति भनेको खासमा एक कप चिया नै हो । सामान्य काम । मनको तर्कनाले चित्तको बाटो समातेपछि ढुक्क भएँ ।
मान्छेको स्वभाव पनि अचम्मकै हुन्छ । कहिलेकाहीँ आफूले विशेष काम गर्दैछु भनेर सोच्दा ढुक्क हुन्छ । कहिलेकाहीँ आफ्नो कामलाई सामान्य ठान्दा पनि ढुक्क हुन्छ ।
राजनीति गर्नुको एउटा खास्साको काम भनेको समयसँग आफू अपडेट हुनु हो । समाजलाई अपडेट गराउन प्रेरित गर्नु हो । देशको हालमा त लगभग अपडेट नै थिएँ । गएका केही साता भारतका पछिल्ला राजनीतिक गति र गणितलाई हेर्न बसेँ ।
धेरै भएको रहेछ, भारत नपढेको । भूकम्पले आजित नेपालमाथि लगाइएको अमानवीय नाकाबन्दीपछि भारतीय जनता पार्टीको राजनीतिलाई ‘फलो’ गर्नै छाडिदिएको थिएँ । अहिले त्यसैबारे अपडेट भई बहस गर्न खोज्दा ठूलै अन्तराल महसुस भयो । नेपाली शब्द ‘अन्तराल’ बडो मीठो सुनिन्छ तर त्यसलाई अंग्रेजीमा जब हामी ‘ग्याप’ भन्छौँ, तब अत्यासलाग्दो लाग्छ त्यो ।
अर्थ एउटै हुँदैमा शब्दको मिठास र महिमा उस्तै हुँदो रहेनछ । राजनीति पनि त्यस्तै त हो । युरोप, अमेरिका, इमरान, डा छिरिङ, मोदी, राहुल गान्धी र नेपालका राजनीतिज्ञ अनि म बबुरो महेशको राजनीति । मलाई थाहा छ, अर्थ एउटै भए पनि यी राजनीतिको मिठास र महिमामा फरक छ । यसलाई ‘अन्तराल’ जस्तो सुन्दर बनाउने कि ‘ग्याप’ जस्तो विद्रुप ? त्यो मेरो हातमा छ ।
‘नाथुराम गोड्से मुर्दावाद’ भन्न नसक्ने ‘आरएसएस’ बाट सुरु भएको मूलधारको राजनीति ‘समृद्ध गुजरात’ हुँदै ‘किसानले आत्महत्या गर्ने देश’ सम्म भारत पुगिसकेको छ । ऋणको असाध्य भारीले थिचिएर दसौँ हजार भारतीय किसानले गरेको आत्महत्याको खबर उहिले त पढिन्थ्यो–पढिन्थ्यो, अहिले पनि त्यो खबरको सिलसिला जस्ताको तस्तै पो रहेछ । ऋणले किचेर आत्महत्या नै गर्नुपर्ने स्थिति देखेर मुटु नकपाउने र आँखा नरसाउने मान्छे को होला ?
हेर्छु, अहिले छिमेकका सबै अनलाइन पोर्टल भारतीय संसद्अगाडि ताँतीबद्ध हजारौँ किसानको रातो रंगले रंगिएको छ । गम्छु, भन्नेहरु ‘ग्रे पोलिटिक्स’ भन्छन् तर राजनीतिका सबै रंग फिक्का हुँदैनन् । राजनीतिलाई हेर्ने आँखामा ‘कलर ब्लाइन्डनेस’ छैन भने स्वाभाविक रुपमा देखिन्छ, यो त कहिले निख्खर कालो, कहिले गाढा रातो, कहिले अचाक्ली गेरु वा असाध्यै सेतो भएर गुज्रेको हुन्छ ।
हेर्छु, हेरेको छु, होस गुमाएको भारतीय समाजमा जोसिला युवाहरु म्याराथनमा सामेल छन् । उनीहरुको ‘भिडियो–भ्युअर्स’ मा जोडिँदो अंकले केजरीलाललाई माथ गर्दैछ । कनैया कुमार, सुभ्रस्था र सहेला रसेदका स्टेटमेन्ट र स्टाइल ट्रेन्डिङमा छन् ।
लोकप्रिय शिक्षालय जेएनयूका उत्पादन कनैयाको लालसलाम किस्सा मज्जाको सुनिन्छ । तर बिहारको गाउँदेखि तिहाडको जेलसम्म उनले गरेको राजनीतिक यात्राको रंग खैरो देखिन्छ । भारतीय युवा पुस्ता र प्रहरी प्रशासन भलै त्यसलाई खाँटी रातो रंगको देख्छ । उनको राजनीतिले दुई तिहाइको सरकारलाई हल्लाउँछ– केही भय, केही विस्मयमा राखिदिन्छ मोदीको मनलाई । जब भावले राजनीति समात्छ, तब भूत लाग्छ । तर जब विचारले समात्छ, भूत होइन वर्तमान लाग्छ । भाव र विचार दुवै ब्यानर बोकी हिँड्ने कनैया, सुभ्रस्था र सहेलाहरु वर्तमान हुन् कि भूत ? यसको फैसला किसानका फाँट, रेलका स्टेसन र चियाका अड्डामा अवश्य भइरहेका छन् ।
यता नेपाली राजनीतिमा विप्लव जारी नै छ । प्रचण्डका तस्बिर यतिखेर छापाका फ्रेमबाहिर छन् । फ्रेमभित्र प्रकाण्ड घुस्दै छन् । खिच्ने क्यामेराम्यान फरक हुन् कि तस्बिरका लागि तकदिर बदल्न मोर्चामा उभिने व्यक्तिले आसन बदलेका हुन्, यसै भन्न सकिन्न । फ्रेमबाहिर देखिने प्रचण्डले आफन्त गुमाउनुको पीडा र आँसुको मूल्य बिस्तारै बुझ्दै गएको प्रतीत हुन्छ । उनलाई देउरालीको फूलसँगै महादेवकी प्रेमिका सतीदेवीको गला पतन भएको कुनै अमुक मन्दिरमा भेटिँदा पनि समाजले अन्यथा मानेको छैन । भुँडी डुबाउने कुण्डमा स्नान लिँदा पनि अनौठो मानेको छैन ।
यस्तो लाग्छ, माक्र्सवादी मथुरामा जन्मेका उनी एउटा अवतार हुन्, जसले अझै धेरै लीला रचाउन बाँकी नै छ । त्यही कृष्ण कुनै बेला दही चोर्छ, स्त्रीका कपडा चोर्छ, उसैले गोवद्र्धन पर्वत उचालेर लोकको रक्षा गर्छ । मुलुकको पछिल्लो राजनीतिलाई आफ्नै औँलामा अड्याउन र घुमाउनमा अभ्यस्त हुने कृष्ण र उनका अनुयायी छोटा–कृष्णहरुको लस्कर छ राजनीतिमा । कृष्णका सबै लीला रोचक छन् । त्यसो त, कोरा रोचकता एउटा कम्युनिस्टले छाड्ने विम्ब होइन भन्ने कुरा प्रचण्डलाई झनै थाहा होला ।
भोजनमा मिसाइने मरीच भारतबाट नेपाली भान्सामा आउँछ । प्रचण्ड आयातीत होइनन् भन्ने अहिलेसम्मको विश्वास छ मलाई । तर मरीच आयातीत होस् वा रैथाने, आफ्नै रापले खुम्चनु मरीचको स्वभाव हो । मरीच जतासुकैको होस्, तिनको स्वाद पनि लगभग उस्तै हुन्छ । अर्गानिक मसला खान बानी परेका थोरै जिब्रोवाजलाई मात्र फरक लाग्न सक्छ स्वाद । आम जिब्रोका लागि रैथाने र आयातीत मरीचको स्वाद उस्तै हुन्छ । कुरा स्वादको होइन, संरचनाको हो । नेपालको वामपन्थी राजनीतिको अर्गानिक स्वाद चाउरिँदै गएको छ भन्नेमा सायदै कसैले शंका गर्ला ।
फ्रेमभित्र घुसेका प्रकाण्ड अलिकति भूत, अलिकति वर्तमान बोकी हिँडेका छन् । उनी कम बेवास्ता, आकर्षण र चयनमा छैनन् यतिखेर । अस्थिरता जतासुकै छ, आकर्षण पनि जतासुकै छ । आम आदमीमा अलमल छ । विचार उत्तिकै बलिया छन्, भूत फेरि उत्तिकै कमजोर पनि । जिन्दगी विचारले जिउने कि भूतले ? जनता सोध्दैनन् । चुनावमा आफैँ उत्तर दिन्छन्, दिए र दिइरहेका छन् । फेरि दिनेछन् ।
मैले प्रेम गरेर पढेको देङ स्याओ पिङको ब्लू प्रिन्ट धमिलो भएछ, सी जिन पिङको माओ ब्रान्डको नक्सामा । सी जिन पिङप्रति हिमालजस्तै विश्वास राख्ने चिनियाँ युवाले माओलाई म्युजियममा मात्रै सम्झन्छन् । हिजोका देङ स्याओ पिङलाई बिर्सेझैँ गर्छन् । सम्झँदा कुनै स्वार्थ छैन, डर पनि छैन, प्रेम पनि छैन । भयरहित स्मृति–यात्रामा प्रेम हुँदैन । किलोमिटर र माइल मात्रै हुन्छ । ल्यान्डमार्क र डेस्टिनेसन हुन्छ । प्रेमरहित त्यही यात्राले विश्वको पहिलो अर्थतन्त्रमा चीनलाई लग्दैछ । यो कुरा दि इकोनोमिस्टको कभर कथाले भनेको हो ।
गंगामा पानी यति धेरै बगेछ कि अहिले त्यही पानी खाएर हुर्केको भारतीय कम्युनिस्ट पार्टी माओवादीले चिनियाँ सरकारलाई ठाडै गाली गर्दो रहेछ, जसरी नेपालका प्रचण्डले कुनै बेला अमेरिकालाई गर्थे । यो कुरा नपचे पनि पचाउनैपर्छ । भारतीय कम्युनिस्टका लागि चीन गलत छ । तर माओ गलत छैनन् । चीनले देङ स्याओ पिङलाई समेत सही भन्न छाड्यो । सी जिन पिङले अब जित्ने अमेरिकालाई हो । हार्न कसैसँग पर्दैन । माओको देशले अमेरिकालाई जितेपछि त्यो जितमा हाम्रा मोहनविक्रम सिंह र मोहनचन्द्र अधिकारीको फुटनोट के होला ? नेपाली माओवाद निश्चित छैन ।
‘तपाईं पनि राजनीतिमा ?’ धेरै जवानलाई अझ धेरैले सोधिरहने राष्ट्रिय प्रश्न बन्दैछ यो । प्रश्नमा शक्ति छ । यही प्रश्नले भुटान र पाकिस्तानभन्दा अगाडि लैजान्छ देशलाई ।
Twitter : @maheshhbhandari
सम्बन्धित
नेपालजस्तो देश, जहाँ भद्रताको अभिनय गर्ने मानिसहरूबाट सिर्जित सभ्यता र परम्पराको डर अविच्छ...
एडवर्ड सइद, पेड कन्सल्ट्यान्ट र बुद्धिजीवी
समान अधिकारका लागि राजनीतिमा महिलाको भूमिका अपरिहार्य छ किनभने निर्णय लिने शक्ति पुरुषहरूक...
नेपालमा महिला प्रधानमन्त्री कति वर्षपछि ?
समृद्ध मुलुक निर्माणका लागि राज्यले चाल्नुपर्ने शृंखलाबद्ध कदमहरू...
संकटकालका अनुभव र शिक्षाहरू
नेपाली राजनीतिमा युवाहरूको सहभागिता विरासत, सम्पत्ति र अनुभवमा मात्रै आधारित छ । कुनै दल व...
दलीय घेराभित्रै खुम्चिएको युवा पुस्ता [युवा नेतृत्व : नेपाल बहस- ८]
नेपाली राजनीतिमा युवा नेतृत्वको चित्रण गर्दा एउटै समानता भेटिन्छ– युवावस्थामा पार्टी र सरक...
युवाले वैकल्पिक धारको नेतृत्व गर्नुपर्छ [युवा नेतृत्व : नेपाल बहस- ७]
त्रिविमा आंशिक प्राध्यापकको समस्या नियमित विज्ञापन नहुनु र भएका विज्ञापन पनि कम हुनु नै हो...