यसरी भित्रियो बनारसबाट अखिल
नेपाली छात्र संघको विसं ०१३ को चुनावमा बनारसमा अध्ययनरत नेपाली विद्यार्थीबीच पार्टीगत रुपमा नलड्ने सहमति भए पनि केहीले बखेडा झिके
नेपाल कम्युनिस्ट पार्टी (भारत) इकाइ गठन गरेको दुई वर्षपछि बनारसमै अखिल भारत नेपाली विद्यार्थी फेडेरेसनको महासम्मेलनको चुनाव गरायौँ, विसं ०१२ मा । सम्मेलनमा दुई पदाधिकारीमध्ये एउटा पक्ष नेपाली कांग्रेस समर्थित र अर्को पक्ष कांग्रेसविरोधी बनेर चुनावमा खडा भयौँ । त्यो चुनावमा कांग्रेसविरोधी प्यानलले जित्यो । यही चुनावबाटै अन्तत: कम्युनिस्ट पक्षधर विद्यार्थी संगठन अखिल (अनेरास्ववियु) गठनको आधार बनेको हो ।
चुनावमा कोषाध्यक्ष पदमा म र अध्यक्षमा धनकुटाका ज्ञानेन्द्रबहादुर कार्की चुनियौँ । उनै कार्की पञ्चायतकालमा दर्जनौँ पटकभन्दा बढी मन्त्रीसमेत भए । त्यतिबेला नेपालबाहिर कुनै पनि नेपाली विद्यार्थी संगठनको स्थापना र अस्तित्व थिएन, त्यसमा पनि नेपालका राजनीतिक दलसँग आबद्ध विद्यार्थी वा युवा संगठन त झन् छँदै थिएनन् । यसकारण विदेशमा बसेर पनि नेपालीको गौरव उठाएको भन्दै प्रोत्साहनस्वरुप राजा महेन्द्रको भरथेग रह्यो ।
अखिल भारत नेपाली विद्यार्थी संगठनको स्थापना भएको थाहा पाएर कोलकाता भ्रमणका क्रममा राजा महेन्द्रले कार्कीका नाममा सफलताको शुभकामनासहित ठूलै आर्थिक सहयोग गरे । सम्मेलनमा कांग्रेसविरोधी समूह पराजित भई हाम्रो समूहले जितेको थियो ।
सम्मेलनबाट छानिएको नेतृत्वले पहिलो बैठकमै नेपालमा एक राष्ट्रिय विश्वविद्यालय स्थापनाका लागि प्रस्ताव पास गर्यो । राजालाई त्यो प्रस्तावले उत्साहित बनाएछ । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालय स्थापनाको पहल लिए । हाम्रो प्रस्तावलाई प्रशंसा गरेर महेन्द्रले शुभकामना पत्रसमेत पठाए ।
म बनारसको काशी हिन्दु विश्वविद्यालय अध्ययन गर्न जानुभन्दा अगाडि नेपाली विद्यार्थीले नेपाली छात्र संघ, काशी विश्वविद्यालय स्थापना गरेका थिए । सोही संगठनको चुनाव विसं २०११ को मंसिर अन्त्यमा तोकियो । त्यो निर्वाचनमा नेपाली छात्र संघको सभापतिमा सुरेन्द्रबहादुर बस्नेत, नेपाली कांग्रेस पक्ष र म कांग्रेसविरोधी पक्षबाट उम्मेदवार बन्यौँ ।
त्यसबेलासम्म छात्र संघमा बनारसमा पढ्ने सम्पूर्ण नेपाली विद्यार्थीले मतदान गर्न पाउँथे । निर्वाचनको मिति आउनै लाग्दा बस्नेत समूहलाई जिताउन निर्वाचन समितिले काशी हिन्दु विश्वविद्यालयबाहिर अध्ययन गर्ने नेपाली विद्यार्थीले मतदान गर्न नपाउने निर्णय गर्यो । हाम्रो मागचाहिँ नेपालबाट आएर बनारसका विभिन्न कलेज र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले पनि मतदान गर्न पाउनुपर्छ भन्ने थियो । त्यसो भएको खण्डमा मेरो जित सुनिश्चितै थियो । हाम्रो समूहले निर्वाचन वहिष्कार गर्यो ।
हामीले पढ्ने बनारसमा रहेका अन्य कलेजमा अध्ययनरत नेपाली विद्यार्थीको हकअधिकारका लागि नयाँ संगठनको आवश्यकता महसुस गर्यौँ । किनभने, काशी विश्वविद्यालयबाहिरका कलेज र विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या अधिक थियो । त्यसपछि बनारसको नेपाली संस्कृत महाविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको मंगलागौरीस्थित छात्रवासमा विद्यार्थीहरुको बृहत् भेला गराई पहिलो पटक अखिल बनारस नेपाली विद्यार्थी फेडेरेसन गठन भएको हो, विसं २०१० मा ।
त्यो विद्यार्थी भेलाले सभापतिमा दिवाकरविक्रम राणा (काठमाडौँ) र महासचिवमा म (धरान) समेत गरी २१ सदस्यीय कार्यसमिति गठन गर्यो । त्यही भेलाले अखिल भारत नेपाली विद्यार्थी महासम्मेलन गर्न उत्प्रेरणा दिएको थियो । अखिल भन्ने शब्द त्यसअघि नेपालमा अस्तित्वमा आएकै थिएन । हामीले बनारसमै हुँदा अखिल नाम राखेपछि नै नेपालमा खुलेका अन्य कम्युनिस्ट पार्टीका विद्यार्थी, मजदुर आदि भातृ संगठनका हकमा अखिल शब्द कम्युनिस्ट जनाउने ‘ब्रान्ड नेम’ नै हुन पुगेको हो ।
सम्मेलनको उद्घाटनचाहिँ राष्ट्रिय कांग्रेसबाट निर्वाचित बनारसका भारतीय लोकसभा संसद् सदस्य भगवान सहायले गरेका थिए । सहायले बनारसका कम्युनिस्ट नेता रुस्तम स्याटिनलाई हराएर संघीय संसद्मा जितेका थिए ।
नेपाली छात्र संघको विसं ०१३ को चुनावमा बनारसमा अध्ययनरत नेपाली विद्यार्थीबीच पार्टीगत रुपमा नलड्ने सहमति भए पनि केहीले बखेडा झिके । बखेडा उत्कर्षमा पुगेपछि सुशील कोइराला, उनका दाजु प्रमोद, रमेशजंग थापा, ईश्वर सरदार, माधवलाल तावेदार आदिले मध्यस्थता गरे । सुशीलको भूमिका महत्त्वपूर्ण थियो । विद्यार्थीबीच दलगत आबद्धता देखाएर र प्यानल बनाएर चुनाव नलड्ने सहमति बन्यो । म महासचिवमा निर्विरोध भएँ ।
त्यसपछिका चुनावमा विद्यार्थीबीच राजनीतिक पक्ष/विपक्ष अनि एक पक्षले चुनाव वहिष्कार गर्ने र अर्को पक्षले भाग लिने भन्ने कुरा रहेन । म पढाइ सकेर धरान फर्कें । कामविशेषले विसं ०१३ अन्त्यतिर काठमाडौँ आउँदा तत्कालीन कम्युनिस्ट पार्टीमा आबद्ध युवा सम्मिलित भेला भयो । त्यस भेलाले नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलाल श्रेष्ठको निर्देशनमा युवा संघ गठन गरी मलाई पहिलो अध्यक्ष चुनेको थियो ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...