छाया प्रधानमन्त्री !
दाहालको अहिलेको ‘ओली–साथ’ उनले भनेजस्तो सरकारको गियर बढाउने तरिकाभन्दा ज्यादा ‘छाया प्रधानमन्त्री’ को अभ्यास देखिँदैछ ।
नेकपाको स्थायी कमिटी बैठकमा दुई अध्यक्षमध्ये एकले सरकार र अर्कोले पार्टी सञ्चालन गर्नुपर्ने नेता वामदेव गौतमको फरक मतको जवाफ दिँदै १ पुसमा ओलीले भनेका थिए, “संविधानले मिल्दैन र पो, नत्र दुइटा प्रधानमन्त्री हुन्थ्यौँ ।”
त्यसयता प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई छाया प्रधानमन्त्रीसरह हिँडाइरहेका छन् । २७ मंसिरमा काठमाडौँ–निजगढ फास्ट ट्रयाकको ब्रिफिङ लिन सैनिक मुख्यालय जाँदा रक्षामन्त्री ईश्वर पोखरेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँगै पार्टी अध्यक्ष दाहाल पनि थिए (हेरौँ, तस्बिर) । १२ पुसमा धरहरा शिलान्यासमा पनि दाहाल प्रधानमन्त्रीसँगै थिए । जबकि, ती कार्यक्रममा अन्य राजनीतिक पार्टीका कुनै नेता सहभागी थिएनन् । सैनिक मुख्यालयभित्रको ब्रिफिङमा भएको उपस्थितिलाई राज्यका अंगमा पार्टी नियन्त्रणका रुपमा समेत आलोचना भइरहेको छ ।
वामदेवलाई संसद्मा ल्याउन आफ्नै निवासमा काठमाडौँ–७ का रामवीर मानन्धरलाई राजीनामा पत्र लेख्न लगाएबाहेक दाहालले पार्टी एकतापछि प्रधानमन्त्री ओलीभन्दा फरक देखिने एउटै काम गरेका छैनन् । त्यो प्रकरणमा पनि उनी लगत्तै पछाडि फर्किहाले । त्यसै पनि दुई नेताबीच पाँच वर्षे स्थिर सरकारको कार्यकाल बाँड्ने भद्र सहमतिको चर्चा छ । दाहालको अहिलेको ‘ओली–साथ’ उनले भनेजस्तो सरकारको गियर बढाउने तरिकाभन्दा ज्यादा ‘छाया प्रधानमन्त्री’ को अभ्यास देखिँदैछ ।
धरहरामा नेपाली पारा
भूकम्प गएको साढे तीन वर्षपछि पुनर्निर्माण प्राधिकरण धरहराको भाँचिएको फेदको संरक्षणमा जुट्यो । वरपर घेरियो, भग्नावशेषलाई टिनको छाना लगाइयो । भूकम्पले भत्काएको नौतले धरहराको मैदानमा २२ तले टावरको शिलान्यास समारोह १२ पुसमा घोषणा गरियो, ‘भाँचिएको धरहरालाई भूकम्प स्मारक बनाउँछौँ ।’
त्यसो त, धरहराको बँचेको खण्ड झन्झन् बेरुप भइसकेको छ । खण्डहरबाट भीमसेनकालीन इँटा चोरेर घरघर पुर्याइएको छ । इँटा चोरीको लहरै चलेपछि सरकारले भग्नावशेषका इँटा–माटो बटुलेर टुँडिखेलमा थुपार्यो । तर नयाँ धरहरामा तिनलाई कसरी संरक्षण गर्ने कुनै टुंगो छैन । स्मारक बनाउने भग्नावशेषलाई प्राधिकरणले पूरै बेवास्ता गरेर चार वर्षा खुवायो ।
प्रधानमन्त्री केपी ओलीले अघिल्लै कार्यकालमा ‘म बनाउँछु मेरो धरहरा’ नारासहित रकम संकलन अभियान थालेका थिए । शिलान्यास हुनै यत्तिका समय कुर्नुपर्यो । तैपनि, धरहराको मापदण्ड स्वीकृत नगराएकामा सहरी विकासमन्त्री इस्तियाक राईले विरोध जनाइसकेका छन् । यस्तो पाराले दुई वर्षभित्र धरहराको टुप्पोबाट काठमाडौँ हेर्ने प्रधानमन्त्री ओलीको इच्छा पूरा हुन त मुस्किलै छ । ‘परम्परा झल्किने र आधुनिकता टल्किने’ नारामाथि झन् धेरै प्रश्नैप्रश्न छन् ।
मनमोहनको सेवा
कुनै पनि सेवाको गुणस्तर र भरोसाको जाँच आफैँलाई परेपछि हुँदो रहेछ ।
मंसिरका दुई साता आमाको उपचारमा बिते । बोसो जमेर रक्तनलीमा ‘ब्लकेज’ देखिएपछि पाँच वर्षदेखि औषधी सेवन गर्नुपथ्र्यो । त्यसैमा एक्कासि रक्तचाप बढ्यो । नियमित जाँचकै लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर गइयो । तर रक्तचाप १२०/१५० पुगेपछि इमर्जेन्सी भर्ना गर्नुपर्यो । दिनभर रक्तचाप नियन्त्रणमा आएपछि डा गरिमा श्रेष्ठले थप जाँचका लागि अर्को दिन बोलाइन् ।
उच्च रक्तचाप र मुटु रोगका बिरामीका लागि मनमोहन सरल, भरपर्दो र सस्तो लाग्यो । एउटै छातामुनि सबै परीक्षण । ओपीडी पर्चा काटेपछि पालो मिचिने कुनै चिन्ता रहेनछ । चिकित्सक कक्षबाहिर पालो–सूची टासिँदो रहेछ । अस्पतालकै स्टाफले पनि पालो मिच्न नमिल्दो रहेछ । ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र इमर्जेन्सी बिरामीका लागि छुट्टै व्यवस्था रहेछ । विशेषज्ञ चिकित्सकहरु बिदा बस्नु एक साताअघि नै सूचना टाँगिँदो रहेछ । महँगो शल्यक्रियामा एक लाख रुपैयाँसम्मको सरकारी सहुलियत रहेछ । तीन चरणको परीक्षणपछि मुटु रोग विशेषज्ञ सुवर्णमणि आचार्यले भनिदिए, “आमा, रक्तनलीमा अब कुनै ब्लकेज छैन । उच्च रक्तचाप छ, त्यो मुटु रोग होइन ।” पाँच वर्षदेखि नबिराई खाइरहेको औषधी छुटेपछि आमा त्यसै दंग ।
ऋण काढेरै भए पनि शिक्षा र स्वास्थ्य सेवा निजीबाटै लिन खोज्नेहरुको अचेल कमी छैन । कतिसम्म भने त्रिभुवन विश्वविद्यालयको अनुभव भजाएर निजी कलेज चलाइरहेका छन् । वीर, शिक्षण र गंगालालका विशेषज्ञको नाम सुनेर निजी अस्पताल र क्लिनिक धाउने बिरामी उत्तिकै छन् । कमजोर व्यवस्थापनले सरकारी सेवाको बदनाम भइरहेको मात्र हो । सरकारी सेवालाई कसरी सरल, भरपर्दो र सस्तो बनाउन सकिन्छ भन्ने असली उदाहरण लागे, मनमोहनका डा प्रकाश सायमी र डा भगवान कोइराला ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...