तिलस्मी कथाजस्तो

- भीष्म उप्रेती

झोलामा पानीको बोतल मात्र बोकेर हामी सगरमाथा आधारशिविरतिर हिँड्न थाल्यौँ । लोबुचेबाट हाम्रो यात्रा उत्सुकताको उत्कर्षतिर थियो ।

२०१७ नोभेम्बर चौथो साता । उमेरले ६ दशक टेकिसकेकी कोलेट हामीसँग यात्रामा थिइन् । उनको हिमालप्रतिको आकर्षण, आत्मबल र विश्वास ज्यादै बलियो रहेछ । तीभन्दा उमेरले अलि कान्छी कोने त्यसरी नै हिँडिरहेकी थिइन् । लाग्थ्यो, यी आइरिस महिलामा हिमालप्रतिको तृष्णा अनन्त छ । यी दुवै सगरमाथालाई आगालो हालेर म्वाइँ खान चाहन्छन् ।

“तिमीहरु दुवै जना ब्वाइफ्रेन्ड भेट्नझैँ हतारिएका छौ त ?” ठट्टा गर्दै भनेँ ।

दुवै मुस्कुराएर उभिए । अनि भने, “हाम्रो प्रेमी हुन् उनी । हामी प्रेम गर्छौं ।”

“तर एउटै हिमाललाई दुवैले कसरी प्रेम गर्छौ ?” रविजीले सोध्नुभयो ।

“यो हाम्रो कुरा हो, हामी मिलाउँछौँ । तर हामी प्रेम गर्छौं ।” कोनेले भनिन् । कोने अलिअलि उत्ताउलिएकी थिइन् । कोनेलाई अस्ति सोधेको थिएँ, “तिम्रो परिवारका बारेमा पनि केही भन न ।”

“म एक्लो हुँ । मेरो परिवार, छोराछोरी वा केटो कोही छैन । आफैँ कमाउँछु, आफैँ खर्च गर्छु ।” मैले उल्ल्याएँ, “अनि आफैँ निर्णय गर्छु, परिणाम पनि आफैँ मात्र भोग्छु ।” कोने मुस्कुराइन् र भनिन्, “हो ।”

स्वतन्त्रता पनि अनेक किसिमबाट प्राप्त हुन्छ । स्वतन्त्रताको आयाम पनि अवस्थाअनुसार फरक–फरक छन्– सोचेँ ।

कोनेलाई हेरेँ । उनी साँच्चिकै राम्री त होइनन्, तर छि: भन्नुपर्ने गरी नराम्री पनि होइनन् । मन सफा भए मान्छेमा सौन्दर्य थपिन्छ । मलाई उनको मुस्कान मन पर्‍यो । “तिमी कति मज्जाले हाँस्छ्यौ ।” भनेँ । उनी झनै मुस्कुराइन् र भनिन्, “धन्यवाद ।”

हिँड्दै गर्दा बाटोमा दाहिनेतिर तल माटैमाटोको बीचमा ठाउँठाउँमा ठूलठूला खाडल परेजस्तो देखिन्थ्यो । ती ठाउँमा सिमेन्ट भरेर राखेजस्तो रङमा केही जमेजस्तो पनि देखिन्थ्यो । अरबमा भए तेलका कुवा भन्न हुन्थ्यो होला । तर यति अग्लो उचाइमा सगरमाथा र लोत्से हिमालको फेदमा के होलान् यी ? मनभित्र ह्वात्तै बढ्यो उत्सुकता ।

“खुम्बु ग्लेसियर भनेका तिनै हुन् । हेर्नुस् त तल ।” रविजीले त्यतैतिर इशारा गर्दै भन्नुभयो । पहिलो पटक यस ठाउँमा आए पनि उहाँलाई ग्लेसियरबारे जानकारी रहेछ ।

हिमनदी यस्तो होला भन्ने मैले कल्पनै गरेको थिइनँ । त्यहाँ कतै पानी देखिँदैनथ्यो । प्रस्टसँग चिनिने गरी हिउँ देखिँदैनथ्यो । सायद जमेको हिउँलाई माथिबाट खसेको माटो मसिना ढुंगा मिसिएको बालुवाले छोपेको होला । र, ठाउँठाउँमा छोपिएको ठाउँमा न्यानो भएर हिउँ पग्लेर पानी बगेपछि खाडलजस्तो बनेको होला । उभिएर निकै बेर हेरेँ, खुम्बु हिमनदीका खाडललाई । आधारशिविरतिर जानै सबै पर्यटक फोटो खिचिरहेका थिए ।

एक घन्टा पूरा हिँडेपछि यसअघि नदेखिएका हिमालका चुचुरा पनि देखिए । दृश्यमा परिवर्तन देखापर्‍यो । दाहिनेतिर निकै माथि लोत्से हिमालको चुचुरोछेउमा अर्को चुचुरो देखियो झुलुक्क । जीवनमा पहिलो पटक देखेको भए पनि फोटोमा अनेकौँ पटक देखेको र पटक–पटक स्वदेश र विदेशमा समेत विभिन्न समयमा गर्व गरिएको हिमाल थियो त्यो, सर्वोच्च उचाइ थियो त्यो, अनेकौँ साहसी मानिसका लागि आरोहण गर्नुपर्ने चुनौती पनि थियो । सगरमाथा वा चोमोलोङ्मा वा माउन्ट एभरेस्ट जेसुकै नामले पुकारौँ, ८८४८ मिटर अग्लो पृथ्वीको सबैभन्दा माथिको सतह थियो त्यो ।

आँखा झिम्क्याउन छाडेर हेरेँ, सगरमाथा । फोटो खिच्न बिर्सेर हेरेँ, सगरमाथा । जीउभरि थकाइ र दुखाइ बोकेर हिँडिरहेको बिर्सेर हेरेँ, सगरमाथा । यात्रा गन्तव्य त अझै बाँकी थियो तर सबैभन्दा ठूलो उत्तेजना र आनन्दलाई प्राप्त गरेको क्षण थियो त्यो । अग्लो सगरमाथासँग आमनेसामने भएर आँखामा आँखा जुधाएर उभिएको समय थियो त्यो ।

“फोटो खिचौँ अब । फेरि बादल आयो भने सगरमाथा छोपिन्छ ।” रविजीको व्यावहारिक कुराले बिउँझिएँ । एक तमासको तन्द्रामा परेछु । मोबाइल झिकेर विभिन्न कोणबाट फोटो खिच्यौँ । कोलेट र कोने अलि परै पुगिसकेका थिए । उनीहरु पनि आह्लादित, उत्साहित र उत्तेजित थिए, अनुपम क्षणको आनन्दमा ।

हिँड्न मन लागेन ।  थचक्क बसेँ । मलाई थोराङ्लापासमा पनि यस्तै भएको थियो । त्यस यात्रामा  थोराङ्लापासलाई गन्तव्य बनाइएको थियो तर यसमा आधारशिविर र कालापत्थरलाई । आधारशिविर पुग्न अझै झन्डै आधा घन्टा हिँड्नुपर्ने थियो ।

“हिमाल चढ्ने सिजन अर्थात् अप्रिल, मे र जुन महिनामा आधारशिविरमा खुट्टा टेक्ने ठाउँसमेत हुँदैन । हजारौँ मान्छेको मेला महिनौँसम्म लाग्छ । पालैपाल, खाना पकाउने सिलिन्डर, चुलो, भाँडाकुाडा र खाद्य सामग्री, पर्वतारोही, गाइड, भरिया, कम्पनीका मानिस, डाक्टर आदि धेरै संख्यामा मानिस महिना, दुई महिना बस्छन् आधारशिविरमा ।” भोलाजीले भन्नुभयो ।

“त्यहाँ त ग्लेसियर पो छ । हिमाल चढ्न आएका र उनीहरुका सहयोगी गरी यतिका मानिस कसरी अटाउँछन् त्यहाँ ?” मैले आश्चर्य मानेर उहाँलाई  सोधेँ ।

“त्यही ग्लेसियरमाथि पाल हाल्ने हो । केही समयपछि न्यानोले ग्लेसियर पग्लिन्छ र ठाउँ धस्किएर भासिन्छ । अनि अर्को ठाउँमा पाल सार्नुपर्छ । यसै गर्दागर्दै पूरै सिजन बित्छ ।” भोलाजीले भन्नुभयो ।

आधारशिविरसम्म आएर एक महिना बिताउने रहर मभित्र चुलिँदै थियो, बायाँपट्टिको पुमोरी हिमालजस्तै । आधारशिविर सगरमाथा चढ्नेका लागि मात्र नभएर लोत्से चढ्नेका लागिसमेत भएकाले यहाँ भीड लाग्नु स्वाभाविक पनि हो । आधारशिविर सगरमाथा र पुमोरीबीच लमतन्न परेको साँघुरो खोँच रहेछ । खोँचमुनि खुम्बु ग्लेसियर बग्दो रहेछ ।

हामी हिँड्न थाल्यौँ ।

आधारशिविरमा पुग्दा कोलेट र कोने त्यहीँ थिए । उनीहरु फोटो खिचेर अघाएका थिएनन् । मैले कोलेटलाई सोधेँ, “कस्तो लाग्दै छ ?”

“अकल्पनीय र असम्भव खुसीले पुलकित छु । मलाई यता आउन आयरल्यान्ड छोड्नुअघि एउटी साथीले ‘त्यहाँ गएर के पाउँछ्यौ’ भनेर सोधेकी थिइन् । मैले यहाँ वास्तवमै केही पाएँ, जसलाई शब्दमा व्यक्त गर्न सक्दिनँ–शुद्धता, अवर्णनीय सौन्दर्य, शक्ति र जादूगरी ।” उनले भनिन् ।

उनलाई ध्यानपूर्वक हेरेँ र सुनेँ । उनले एकछिन आँखा चिम्म गरिन् र प्रार्थनाको अवस्थामा बसिन् केही बेर । उनी कतिसम्म ध्यानमग्न भइन् भने रुखको गिँड हुन् जस्ती लागिन् । त्यसपछि बिस्तारै मलाई हेरिन् ।

कोलेट बिस्तारै उठिन् र फेरि फोटो खिच्न थालिन् । मैले उनलाई हेरिरहेँ निकै बेर । म मौनताको गहिरो भाषालाई अनुभव गरिरहेको थिएँ यतिबेला । हेरेँ– फोटो खिचिरहँदा उनको चञ्चलता र उत्ताउलोपन बच्चाको जस्तै थियो ।

होटलमा फर्केपछि मार्कसँग भेट भयो । बेलाइतका मार्क र उनका साथीहरु भोलाजीसँगै पैदलयात्रामा आएका हुन् । उनीहरु कालापत्थर पुगेर अघि नै फर्किसकेका थिए । “कस्तो लाग्यो आधारशिविर ?” उनले सोधे ।

“गज्जब, अकल्पनीय सौन्दर्यले घेरिएको ।” मैले भनेँ । “सबै चीज बिर्सने रहेछ, त्यहाँ पुगेपछि,  आफैँलाई पनि ।” छेउमै बसेकी कोलेटले भनिन् । मार्क मुस्कुराए । “हामी भोलि बिहानै जान्छौँ ।” उनले भने ।

एकछिन सन्नाटा छायो त्यहाँ । त्यसपछि मार्कले भने, “बुझ्नुभो, सगरमाथाको क्याम्प ४ बाट माथि गएपछि त कहिलेकाहीँ हिमालको नशा लाग्छ ।” लेक लागेको त सुनेको हुँ । तर हिमालको नशा ? यो कस्तो हुँदो हो ? यसको असर कस्तो पर्दो हो ? मभित्र उत्सुकताको मूल फुट्यो । आफ्नो जिज्ञासा उनीसामु राखेँ । उनी मुस्कुराए । एकछिन मौन बसेपछि लसुन हालेको चिया पिउँदै भने, “अब म तपाईंहरुलाई एउटा घटना सुनाउँछु, केही वर्षअघि यही सगरमाथामा घटेको ।”

त्यस कोठाका मानिस र हाँसो–ठट्टा भुलेर मार्कलाई सुन्न थाल्यौँ ।

“एउटा स्वीस डाक्टर थियो । हिमाल चढ्ने भनेर आएको । आँट गरेर हिमाल चढ्न गयो ऊ । हामी आधारशिविरमै थियौँ, टोलीलाई आरोहणका लागि बिदाइ गरेर । ऊ आधारशिविरबाट बिदा भएर क्याम्प १ मा गयो । फेरि अर्को दिन आधारशिविरमै फक्र्यो । दुई दिनपछि पुन: क्याम्प २ मा गयो । फेरि फर्केर क्याम्प १ मा आयो । अर्को दिन क्याम्प ३ तिर गयो । यसो गर्दै–गर्दै क्याम्प ४ पनि पुग्यो । केही दिनपछि मौसमको अनुकूलता हेरेर उकालो लाग्यो । उसको साथमा गाइड शेर्पा थिए । तिनी  कतिसम्म ध्यान दिने खालका थिए भने एकैछिन पनि डाक्टरलाई छाडेनन् । साउथ कोलबाट माथि लागेपछि हिलारी स्टेप हुँदै जाँदा कहीँ–कहीँ त डाक्टरलाई शेर्पाले तान्दै–तान्दै माथिसम्म लगे । डाक्टरले बिस्तारै होस गुमाउँदै गएछन् । जति माथि गयो, उति नै हिमालको नशा लाग्यो उनलाई । अल्टिच्युड लाग्दै गएपछि उनी त चेतनाशून्य हुँदै गएछन् । तापनि शेर्पाको भरमा हिमाल चढे र शिखरमा भने पुगे । शिखरमा फोटो खिचेर तुरुन्तै तल फर्कन थालिहाले । उनलाई शेर्पाले बडो होसियारीपूर्वक ओर्लन सहयोग गरे ।”

मार्क एकछिन शान्त भए । यो क्षणभरको मौनता पनि मलाई निकै लामो लाग्यो । “अनि के भयो ?” सोधिहालेँ ।

मार्कले फेरि भने, “गजब के छ भने शेर्पालाई हिमालले त्यति गाह्रो पार्दैन । शेर्पाको जिनमै सायद त्यस्तो केही छ । शिखरबाट करिब ५ सय मिटर तल झरिसकेपछि त ती स्वीसले हिँड्दा–हिँड्दै सपना देख्न थालेछन्– स्वीट्जरल्यान्ड पुगेको । आफूले गाडी चलाउँदै गलेर पार्किङ गरेको । त्यसपछि गाडीबाट ओर्लेर पार्किङ शुल्क तिर्न मेसिनतिर कुनामा गएको । शेर्पाले भने हेर्दै रहेछन् उनलाई । उनी त हेर्दाहेर्दै गलत बाटो लागेर तलतिर लड्न लागिसकेछन् । दौडिँदै पछाडिबाट शेर्पाले ती स्वीसको ज्याकेटमा समातेर तानेछन् र तान्दै–तान्दै ओरालेछन् । क्याम्प ४, त्यसपछि क्याम्प ३ गर्दै क्याम्प १ मा आइपुगुन्जेलसम्म पनि उनमा राम्रो चेत आएको थिएन । आधारशिविर आइपुग्नेबित्तिकै सबै मिलेर उनलाई कोक खुवाइयो । त्यसपछि अलिअलि होशमा फर्केका उनले २० लिटर पानी मागे । ठूलो बाटामा चिसो पानी दिएपछि उनले बसेर तनतनी पिए झन्डै ५ लिटर एकै पटक । त्यसपछि अलि बढी होशमा आए उनी ।”

मार्कले सत्य घटना वर्णन गरे पनि मेरा लागि भने बडो तिलस्मी कथाजस्तो लाग्यो उत्सुकताले भरिएको ।

प्रकाशित: माघ १०, २०७५

ट्याग: यात्रा
×