‘पारमाणविक भट्टीको अर्कै आशय’– डा महेश मास्के
नेपालमा प्रयोग हुने कोबाल्ट सिक्स्टी अत्यधिक खतरनाक रेडियोधर्मीमा पर्छ । रेडियो विकिरणले मानिसको कोष र डिएनएमा समेत असर पर्छ र क्यान्सरजस्ता रोग उत्पन्न गर्न सक्छ । विगतमा तिनीहरूको सुरक्षित विसर्जन नगरेका घटना पनि छन् ।
डा महेश मास्के | चिकित्सक, पूर्वराजदूत
पारमाणविक तथा रेडियोधर्मी पदार्थसम्बन्धी विधेयकको विरोध किन ?
पारमाणविक पदार्थ र रेडियोधर्मी पदार्थलाई छुट्याएर बुझ्नुपर्ने हुन्छ । नेपालमा चिकित्सा सेवामा डाइग्नोसिस र विशेषत: क्यान्सर उपचारमा रेडियोधर्मी पदार्थ प्रयोग हुँदै आएको छ । रेडियोधर्मी पदार्थ पनि वर्गीकरण गरिएको हुन्छ, जोखिमयुक्त, खतरनाक र अधिक खतरनाक । नेपालमा प्रयोग हुने कोबाल्ट सिक्स्टी अत्यधिक खतरनाक रेडियोधर्मीमा पर्छ । रेडियो विकिरणले मानिसको कोष र डिएनएमा समेत असर पर्छ र क्यान्सरजस्ता रोग उत्पन्न गर्न सक्छ । विगतमा तिनीहरूको सुरक्षित विसर्जन नगरेका घटना पनि छन् । त्यसकारण रेडियोधर्मी पदार्थको सुरक्षित उपयोग र विसर्जनका लागि ऐन चाहिएको छ । तर अहिले मस्यौदा गरेको विधेयकमा पारमाणविक पदार्थ अर्थात् युरेनियम र प्लुटोनियमको प्रशोधन, उत्पादन, उपयोग, पैठारी र निकासीसम्मको उद्देश्य राखियो । नेपालको पारवहन सुविधा प्रयोग गरेर तेस्रो देशमा लग्न सकिने प्रावधान पनि राखियो । यसले नेपालमा पारमाणविक अनुसन्धान भट्टी र युरेनियम प्रशोधनका लागि लाइसेन्स वितरण गरेर उद्योग र व्यापारका रूपमा विकास गर्ने खोजेको देखिन्छ । त्यसैले विरोध भएको हो ।
रेडियोधर्मी पदार्थ उत्पादनमा भट्टी स्थापना गर्ने कुरा छ नि ?
नेपाललाई चाहिने रेडियोधर्मी पदार्थको मात्रा अत्यन्त थोरै छ । त्यसका लागि रिसर्च रियाक्टर आवश्यक पर्दैन । विभिन्न क्षमताका चुम्बकबाट चल्ने सस्ता र सुरक्षित, कम प्रदूषण गर्ने साइक्लोट्रोन पर्याप्त छन् । हिजो रियाक्टर प्रयोग गरेका क्यानडाजस्ता देश साइक्लोट्रोन प्रविधिलाई अगाडि बढाइरहेका छन् । विधेयक मस्यौदा गर्ने विद्वान् वैज्ञानिकलाई यति सामान्य कुरा थाहा हुनुपर्ने हो । यो विधेयकको मूल उद्देश्य नै पारमाणविक पदार्थ र प्रविधि उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने हो, यसका विकल्पलाई होइन । विधेयकमा उल्लिखित क्रियाकलाप, अभ्यास, संयन्त्र, निकासी, पैठारी आदिको परिभाषाले युरेनियम कच्चा पदार्थको प्रशोधनदेखि परिमार्जनसम्म र उत्पादनदेखि निकासीसम्मको आयाम समेटेको छ । त्यसैले विधेयक अर्कै आशयले आएको हो कि भन्ने लाग्छ । २६ पृष्ठको विधेयकमा परमाणु विज्ञानको अध्ययन, अध्यापन र अनुसन्धानबारे कतै उल्लेख नहुनु तर यस्ता भट्टीको लाइसेन्स र नियमनकारी व्यवस्थामा पृष्ठहरू खचिर्नुले यो विधेयक केका लागि ल्याइएको हो भन्ने अनुमान गर्नु कठिन छैन ।
विधेयकमा शान्तिपूर्ण उपयोगका लागि मात्रै पारमाणविक भट्टी सञ्चालन गर्न पाउने तर हातहतियार प्रयोग गर्न/बनाउन नपाउने व्यवस्था छ । डराउनुपर्ने कारण किन ?
आईएईएको सदस्य राष्ट्र भएपछि शान्तिपूर्ण प्रयोजनका लागि मात्रै पारमाणविक प्रविधि प्रयोग गर्न पाइन्छ । तर यस्तै भट्टीबाट कतिपय देशहरूमा लुकाइछिपाइ पारमाणविक बम बनाउने पदार्थ उत्पादन गरिएका उदाहरण छन् । जस्तो कि, भारतको साइरस । मानवीय गल्ती, प्राकृतिक दुर्घटना वा आतंककारी गतिविधिबाट त्यस्ता भट्टी विस्फोट भए कस्तो क्षति पुग्न सक्छ भन्ने उदाहरण पनि चेर्नोबिल र फुकुसिमाले देखाएका छन्, त्यसमा मात्रात्मक अन्तर भए पनि ।
तपाईंको डर भूराजनीतिसँग पनि जोडिएको हो ?
नेपालजस्तो भूसामरिक देशमा यसप्रति ध्यान नपुर्याएको देख्दा अचम्म लाग्छ । छिमेकी मात्रै होइन, प्रतिस्पर्धी ठूला देशसमेतको ध्यान नेपालतर्फ मोडिनेछ, जसको बोझ देशका लागि प्रीतिकर हुने छैन ।
यो पनि पढ्नुहोस्→ विपद् निम्त्याउने विधेयक
सम्बन्धित
‘कोरोनाले सबै क्षेत्र भत्किएपछि कृषिमा मात्रै सम्भावना देखेका छौँ’ (कृषि तथा पशुपन्छी विका...
'तीन वर्षपछाडि नेपालको कृषि व्यवस्था नयाँ स्वरूपमा आउनेछ'
सम्हाल्न नसक्ने स्थितिमा पुग्यौँ । प्रदेश र संघीय सरकारलाई भनिरहेका छौँ तर हाम्रो कुरा सुन...
‘विशेष स्वास्थ्य टोली नपठाए नरैनापुरको स्थिति नियन्त्रणबाहिर'
यो सबै पदको झगडा हो । नेताहरूमा धैर्य छैन । महाधिवेशन र अर्को चुनाव पर्खिन नसक्नेले जनताला...
'महाधिवेशनबाट ओली र प्रचण्डलाई बिदा गर्नुपर्छ'
जसलाई एजेन्डा तयार गर्न जिम्मा दिइएको हो, उसलै तयार नगरेपछि ओलीलाई किन दोष ? - सत्यनारायण ...
‘त्यसो भए नेकपा नै विघटन गरिदिऊँ’
सचिवालयको संरचनाको औचित्य नै भएन । अब सचिवालय विघटन गरेर स्थायी समितिमै सबै विषय छलफल गर्न...
‘नेकपाको सचिवालय विघटन गरौँ’
सबैभन्दा कम कमजोरी भएको नेता छान्ने हो भने माधव नेपाल हो । माधव नेपालमा मान्छे समातेर राख्...