छिमेकी सहायता : भूकम्पमा छिटो पुनर्निर्माणमा ढिलो
भूकम्पपछि सबैभन्दा छिटो मानवीय उद्धारमा काठमाडौँ आइपुगेका भारत र चीनको पुनर्निर्माण सहायता भने सुस्त
१२ वैशाख ०७२ को भूकम्पपछि छिमेकी भारत र चीनले मानवीय उद्धार तथा राहतमा प्रतिस्पर्धाजस्तै गरेका थिए । भारतीय उद्धारकर्मीहरू सबैभन्दा पहिले काठमाडौँ ओर्लिए भने चीनले दक्ष उद्धारकर्मी पठाएर भग्नावशेषभित्र पुरिएका घाइतेको जीवितै उद्धार गर्यो । यो तत्परताले भूकम्पबाट क्षतिग्रस्त बस्ती, विद्यालय, स्वास्थ्य संस्था र पुरातात्विक सम्पदा पुनर्निर्माणमा पनि छिमेकीको उत्तिकै साथ पाउने नेपालको अपेक्षा थियो । तर अनेक प्रक्रिया र प्राविधिक कठिनाइँ देखाउँदै भूकम्पपछिको पुनर्निर्माणमा भारत र चीनको सहायता सबैभन्दा सुस्त छ ।
अर्थ मन्त्रालयले २ माघमा आर्थिक वर्ष ०७४/७५ को विकास सहायता परिचालन प्रतिवेदन सार्वजनिक गर्यो । उक्त प्रतिवेदन हेर्दा पुनर्निर्माणमा दुई छिमेकीको सहायता न्यून देखिन्छ । पुनर्निर्माण सुरु भएको तीन वर्षमा भारतले सम्झौताको १ अर्ब ७ करोड ८८ लाख डलरको ०.२ प्रतिशत रकम मात्र खर्च गर्यो । त्यस्तै, चीनले सम्झौता गरेको ७६ करोड ६९ लाख डलरमध्ये ३ प्रतिशत रकम खर्च गर्यो । जबकि, जापानले ४५, अमेरिकाले २७ र बेलायतले ३३ प्रतिशत रकम खर्चिएका छन् । १० असार ०७२ मा भएको नेपाल पुनर्निर्माण सम्मेलनमा दातृ राष्ट्रहरूले ४ अर्ब १० करोड ९५ लाख डलर सहायताको प्रतिबद्धता जनाएका थिए । सम्झौता भने ३ अर्ब ६२ करोड ९२ लाख डलरको मात्र भयो ।
अर्थ मन्त्रालयका अनुसार भूकम्पपछिका पौने चार वर्षमा सम्झौताको २३ प्रतिशत सहायता रकम मात्र खर्च हुन सक्यो । “सम्झौताको थोरै रकम मात्र प्राप्त भएकाले पुनर्निर्माणका लागि थप स्रोत खोज्नुपर्ने बेला आएको छ,” प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले भनेका थिए, “दाताका सर्तले वैदेशिक सहायता लिनै समस्या भयो । त्यसैले सहुलियत दरमा ऋण सहायता लिन वैदेशिक सहायता नीतिको खाँचो छ । हामी तयारीमा छौँ ।”
पुनर्निर्माण प्राधिकरण गठन नहुँदै भारतले भूकम्पबाट अतिप्रभावित सात जिल्लाका १०/१० वटा क्षतिग्रस्त विद्यालय निर्माण गरिदिने घोषणा गरेको थियो । शिक्षा मन्त्रालयले सबैभन्दा धेरै क्षति पुगेका ठूला विद्यालय छानेर भारतको जिम्मा लगायो । तर ती विद्यालयको पुनर्निर्माण अहिलेसम्म हुन सकेको छैन । भारतले तत्कालीन जिविसमार्फत विद्यालय निर्माण गर्ने ढाँचा बनाएको थियो । राज्य पुनर्संरचनामा जिविस नै नरहने स्थिति आएपछि केही समय अन्योल भएको प्राधिकरण स्रोत बताउँछ ।
पहिलो सम्झौताको ढाँचा पुनरावलोकन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला गत वर्ष ८ भदौ ०७४ मा नयाँ सम्झौता गरियो । उक्त सम्झौतामा पुनर्निर्माण हुने भवनको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारी, पुनरावलोकन र निर्माण कार्यको सुपरीवेक्षणका लागि भारतका तर्फबाट परियोजना व्यवस्थापन परामर्शदाता नियुक्ति गर्ने उल्लेख छ । परामर्शदाताको सिफारिसमा मात्र अनुदान रकम निकासा हुने सर्त छ । नयाँ सम्झौताको डेढ वर्षसम्म पनि भारतले परामर्शदाता नियुक्त गरेन । त्यसैले भारतीय अनुदानमा निर्माण हुने ७० विद्यालय, १ सय ५६ स्वास्थ्य संस्था र २८ वटा पुरातात्विक सम्पदामध्ये एउटाले पनि गति लिन सकेको छैन ।
भारतले निर्माण सम्झौता गरेको त्रिवि केन्द्रीय पुस्तकालय | तस्बिरहरू : भास्वर ओझा
पुनर्निर्माणमा भारतले २५ अर्ब अनुदान र ७५ अर्ब ऋण सहायता गर्दै छ । अनुदानमध्ये १० अर्ब आवास, ५ अर्ब विद्यालय, ५ अर्ब स्वास्थ्य संस्था र ५ अर्ब पुरातात्विक सम्पदा पुनर्निर्माणमा परिचालन गर्ने सम्झौता छ । तर अहिलेसम्म आवास निर्माणमा मात्र रकम परिचालन हुन सकेको छ । सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङ छिमेकी मुलुकले प्रतिबद्धता जनाएका विद्यालयको पुनर्निर्माण कहिले सुरु हुने टुंगो नलाग्दा चिन्तित भएको बताउँछन् । “वल्लो गाउँका विद्यार्थी नयाँ भवनमा सर्ने, पल्लो गाउँका अझै दुई वर्ष टिनको टहरामा पढ्नुपर्ने भयो,” उनी भन्छन्, “पुनर्निर्माणको काम सुरु भइसके पनि चित्त बुझाउने बाटो हुन्थ्यो । त्यो पनि भएन ।” पुनर्निर्माणका क्रममा स्थानीय गैरसरकारी संघ–संस्थाले जिम्मा लिएर काम समयमै अगाडि नबढाउँदा थुप्रै सम्झौता रद्द भएका छन् । विद्यार्थीका अभिभावकले भारत र चीनले लिएका विद्यालयको सम्झौता पनि त्यसैगरी रद्द गरेर सरकारले आफँै बनाउनुपर्ने माग गरिरहेको उनी बताउँछन् । “छिमेकीको ढिलाइले गाउँमा ठूलै अन्योल उत्पन्न गरेको छ,” तामाङ भन्छन् ।
भूकम्प प्रभावित जिल्लाका ठूला विद्यालय पुनर्निर्माणमा भएको ढिलाइले गाउँ–गाउँबाट डेलिगेसन आउन थालेपछि प्राधिकरणले भारतीय दूतावाससँग दुई पटक छलफल गर्यो । भारतीय पक्षले परामर्शदाता नियुक्तिले औपचारिकता पाउन केही समय लाग्ने संकेत गरेको छ । अहिलेसम्म १४ विद्यालयको डिपीआर तयार भएको छ भने तीमध्ये आठ वटाको डीपीआर भारतीय पक्षबाट स्वीकृत भई बोलपत्रसमेत आह्वान भइसकेको छ । त्यसैगरी अरू ५६ विद्यालय पुनर्निर्माणको डीपीआर निर्माणका लागि शिक्षा आयोजना कार्यान्वयन इकाइ जुटेको छ ।
एउटा विद्यालय पुनर्निर्माण गर्न २० महिना लाग्ने अनुमान छ । डीपीआरसमेत बनिनसकेकाले भारत र चीनले तत्कालै काम सुरु गर्दासमेत प्राधिकरणको लक्ष्यभन्दा ढिलो मात्र ती विद्यालय पुनर्निर्माण हुने स्थिति छ । प्राधिकरणले आव ०७७/७८ को प्रथम चौमासिकसम्म पुनर्निर्माणका सबै काम पूरा गर्ने लक्ष्य राखेको छ ।
भारतले पुनर्निर्माणको जिम्मा लिएका १ सय ५६ स्वास्थ्य संस्थाको स्थिति पनि उस्तै छ । अतिढिलाइ भएपछि १६ भवनको डीपीआर तयार गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासमा पठाएको छ । त्यस्तै, भारत सरकारको ऋण सहयोगमा निर्माण हुने ५९ भवनको पनि कुनै सुरसार नभएपछि स्रोतान्तर गरिएको छ । तीमध्ये ६ वटाको बोलपत्र सूचना प्रकाशन भइसकेका छन् भने ५३ स्वास्थ्य संस्थाको लागत अनुमान गरिसकिएको आयोजना निर्देशक नवराज प्याकुरेल बताउँछन् । १३–१४ माघमा पुनर्निर्माण प्राधिकरण र भारतीय व्यवस्थापन परामर्शदाताबीच काठमाडौँमा संयुक्त बैठक हुँदैछ । त्यही बैठकले भारतीय अनुदानमा हुने पुनर्निर्माणको गाँठो फुकाउने आशा प्राधिकरण अधिकारीको छ ।
चीनले भूकम्पअघि नै निर्माण गर्ने सम्झौता भएका विद्यालय भवनसमेत बनेका छैनन् । त्यसैको उदाहरण हो, रसुवाको नीलकण्ठ नमुना मावि । ०६८ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको चीन भ्रमणका बेला उत्तरी सीमा जोडिएका प्रत्येक विकास क्षेत्रका २/२ विद्यालय निर्माण गर्ने सम्झौता भएको थियो । ‘हिमाली कार्यक्रम’ नाम दिएर चीनले विद्यालय छनोट गरी सर्भे र माटो परीक्षण गर्यो । छानिएका ती विद्यालयमध्ये नीलकण्ठ माविसहित ६ विद्यालय भूकम्पमा भत्किए । तर लमजुङ र सिन्धुपाल्चोकका दुई विद्यालयबाहेक अरूमा अहिलेसम्म काम सुरु भएको छैन । “भूकम्पअघि नै बन्नुपर्ने विद्यालय कहिले बन्ने टुंगो लागेन,” प्रधानाध्यापक नारायण देवकोटा भन्छन्, “छात्रावाससहितको विद्यालय बन्ने सम्झौताले खुसी थियौँ तर ढिलो हुँदा निरास छौँ ।”
भूकम्पअघि १६ र पछि ११ सदस्यीय चिनियाँ प्राविधिक टोली पुगेर माटो परीक्षणका लागि नमुना लगेबाहेक कुनै काम अगाडि बढेन । भूकम्पलगत्तै विद्यालय व्यवस्थापनले पुनर्निर्माणका लागि जापानी सहयोग नियोग (जाईका) सँग अनुरोध गर्यो । जाईका तयार पनि भयो । तर सर्भे र डिजाइन सकेर टेन्डर आह्वान गर्ने बेला चीनको आपत्तिले काम रोकियो । प्रधानाध्यापक देवकोटा चीनले नै छिटो पुनर्निर्माण गरोस् वा ऊसँगको सम्झौता रद्द गरेर अन्य दातृ संस्थामार्फत काम गर्न माग गर्दै प्राधिकरण, शिक्षा र अर्थ मन्त्रालय धाइरहेका छन् । भन्छन्, “चार वर्षमा चारैतिर धायाँै, तर कुनै सुनुवाइ नभएपछि थाकेर बसेका छौँ ।”
चीन सरकारले सात विद्यालय पुनर्निर्माण सकाएर हस्तान्तरण गर्ने गरी अर्थ मन्त्रालयसँग सम्झौता गरेको थियो । आफ्नै डिजाइन, जनशक्ति, निर्माण सामग्री र कम्पनीमार्फत निर्माण गरी साँचो नेपाललाई हस्तान्तरण गर्ने चिनिया ढाँचालाई ‘टर्न कि’ भनिन्छ । पुनर्निर्माण प्राधिकरणले भवन निर्माणमा विद्युत्, खानेपानी र भन्सार छूटलगायत समन्वयको भूमिका मात्र निर्वाह गर्ने सम्झौता छ ।
सम्झौताअनुसार छिटो काम गरेर ‘टर्न कि’ गर्ने परिचय बनाएको चीन पनि पुनर्निर्माणको ढिलाइमा अर्को छिमेकी भारतसँग प्रतिस्पर्धाजस्तो गरिरहेको छ । उसले काठमाडौँको दरबार हाईस्कुल (भानु मावि) बाहेक अरू विद्यालय निर्माणको सुरुआतसमेत गरेको छैन । देशकै पुरानो विद्यालय भएकाले दरबार हाईस्कुल पुनर्निर्माणमा भएको ढिलाइबारे पत्रपत्रिकामा समाचार आएपछि चिनियाँ पक्षले हतार–हतार काम थालेको थियो । तर दोलखाको सर्व मावि र कालीनाग उच्चमावि, सिन्धुपाल्चोकको सुनकोसी मावि र उग्रचण्डी मावि, रसुवाको नवविजय महेन्द्र मावि र नेपाल राष्ट्रिय मावि पुनर्निर्माण कहिले सुरु हुने टुंगो छैन । “एक महिनाअघि चिनियाँ टोली सर्भे गरेर फर्केको छ । ६ महिनाभित्र निर्माण सुरु हुने जानकारी पाएका छौँ”, शिक्षा केन्द्रीय आयोजना कार्यान्वयन इकाइका निर्देशक इमनारायण श्रेष्ठ भन्छन्, “चीन सरकारले आन्तरिक तयारी गरिरहेको हाम्रो विश्वास छ ।”
चीनले जिम्मा लिएका पुरातात्विक सम्पदामा भने काम भइरहेका छन् । वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ भने नुवाकोट दरबारमा काम सुरु भएको पुरातत्व विभागले जनाएको छ । जापान सरकारसँग २१ डिसेम्बर २०१५ मा भएको ऋण सम्झौताअनुसार गोरखा, धादिङ, मकवानपुर, ललितपुर, रसुवा र नुवाकोटका २ सय ३६ विद्यालय पुनर्निर्माण भइरहेका छन् । एसियाली विकास बैंक (एडीबी) ले भूकम्प अतिप्रभावित जिल्लामा छिटो विद्यालय पुनर्निर्माण गरिरहेको छ । एडीबीको ८ अर्ब ६० करोड ऋण सहयोगमा १ सय ३७ विद्यालय निर्माण भइरहेका छन् । अमेरिकी सहयोग नियोग (यूएसआईडी) को झन्डै एक अर्ब अनुदानमा बन्न लागेका १७ विद्यालय पनि एडीबीले नै निर्माण गरिरहेको छ ।
जापान सरकारको ८० करोड अनुदानमा गोरखा, धादिङ, नुवाकोट, रसुवा, ललितपुर, रामेछाप, दोलखा र मकवानपुरमा एक/एक वटा छात्रावाससहितका विद्यालय निर्माण हुँदैछन् । “एडीबीको जिम्मामा रहेका विद्यालय असार मसान्तसम्म निर्माण भइसक्छन्,” निर्देशक श्रेष्ठ भन्छन् । एडीबी र जाईकाका परियोजनामा एक दर्जन धेरै विद्यालयको एउटै प्याकेज बनाएर ठूला निर्माण व्यवसायीको सिन्डिकेट हुने गरी काम भएको आरोप पनि लाग्यो । तर कार्यप्रगति तिनै ठूला व्यवसायीको राम्रो भएको दाबी अधिकारीको छ । साना र मझौला व्यवसायीले ढिलो काम गरेपछि दातृ संस्थासँगकै परामर्शमा त्यस्तो निर्णय गरिएको श्रेष्ठ बताउँछन् । निर्माण व्यवसायीकै ढिलाइका कारण नुवाकोटका पाँच विद्यालय निर्माणको ठेक्का तोड्नुपरेको उनी सुनाउँछन् । अरू जिल्लामा पनि गैरसरकारी संस्थाहरूले बेलैमा काम नगर्दा सम्झौता तोडेर अन्य संस्थालाई जिम्मेवारी दिइएको छ ।
विद्यालय निर्माणको जिम्मेवारी लिएर दातृ संस्था खोज्न हिँड्ने प्रवृत्ति पनि देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले ०७३ मा १ सय ५० विद्यालय पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । तर स्रोत जुटाउन नसकेको भन्दै एक वर्षसम्म कुनै प्रगति नभएपछि प्राधिकरणले सम्झौता रद्द गरेको छ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका ५ हजार ५ सयसहित ३१ जिल्लाका ७ हजार ५ सय ५३ विद्यालय पूर्ण र आंशिक क्षति पुगे । तीमध्ये ६ हजार ६ सय विद्यालय पुनर्निर्माण सुरु भइसकेका छन् । भारत र चीनले जिम्मा लिएकासहित ७६ विद्यालय निर्माण सुरु भएका छैनन् भने झन्डै १ हजार ४ सय विद्यालय निर्माण कसले गर्ने अझै टुंगो छैन ।
‘पुनर्निर्माणको गति सुस्त होइन’
–सुशील ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
भूकम्प गएको पौने चार वर्ष बितिसक्दा पनि अपेक्षाकृत पुनर्निर्माण हुन नसक्नुको कारण के हो ?
परिणामका हिसाबले पुनर्निर्माणमा खासै ढिलाइ भएको छैन । भूकम्प प्रभावित गाउँबस्तीमा पुनर्निर्माणको लहर चलिरहेको छ । दिनहुँ प्रगति रिपोर्ट आइरहेका छन् । शिलान्यास, उद्घाटन र हस्तान्तरण भइरहेका छन् । यो गतिलाई सुस्त भन्न मिल्दैन ।
दाताको सहायता प्रतिबद्धताअनुसार खर्च भएन नि ?
सुरुको प्रतिबद्धताको ८८ प्रतिशत सम्झौता भएको छ । दाताले भूकम्पलगत्तै गरेको खर्च ६७ अर्बसहित २ सय ६२ अर्बको पुनर्निर्माणको सम्झौता भइसकेको छ । विश्व बैंकले बहुपक्षीय सम्झौता गरेर काम अगाडि बढाएको छ । थुप्रै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत पनि पुनर्निर्माणमा रकम परिचालन भएका छन् ।
धेरै प्रतिबद्धता जनाएका छिमेकी भारत र चीनकै काममा किन ढिलाइ ?
प्राविधिक र प्रक्रियागत कारणले केही ढिलो भएको हो । बैंकिङ प्रक्रियाले ऋण सहायता खर्चिन कठिनाइँ भएको छ । उक्त रकम अर्थ मन्त्रालयले ठूला परियोजनामा खर्चिने गरी सोधभर्नाको सहमति भएको छ । पुनर्निर्माणमा हुने ढिलाइले दुई देशको सम्बन्ध र जनतामा पर्ने नकारात्मक असरबारे हामीले कुरा राखेका छौँ । चीनले निर्माण पूरा गरेर साँचो हस्तान्तरण गर्ने ‘टर्न कि’ ढाँचामा पुनर्निर्माण गर्दै छ ।
एडीबी र जाईकाले गरेका विद्यालय पुनर्निर्माणमा धेरै स्कुलको किन एउटै प्याकेज ?
म पुन: नियुक्त हुनुभन्दा पहिले मन्त्रिपरिषद्ले त्यो ढाँचामा जाने निर्णय गरिसकेको थियो । साना व्यवसायीभन्दा ठूलाबाट गुणस्तरीय निर्माण गर्न सहज हुने दाताको माग थियो । म आएपछि कोसिस गरेँ । तर सम्झौता भइसकेका आयोजनामा सम्भव भएन ।
साढे चार वर्षमा पाँच पटक प्रमुख कार्यकारी अधिकृत हेरफेर भयो । त्यसले पुनर्निर्माणमा के प्रभाव पर्यो ?
त्यसको प्रभाव कुनै न कुनै रूपमा पर्यो नै । प्रत्येक नेतृत्वले केही न केही गर्न खोजेकै हुन्छ । नेतृत्वको सक्रियता र तदारुकताले पनि फरक पार्छ । सुरुमा एउटा भिजन तय भएको थियो । नेतृत्व फेरिँदा केही अलमल भयो । सुरुमै मैले नीतिगत र संस्थागत जग बसाएँ । त्यसको राम्रो पक्ष भनेकै नेतृत्व परिवर्तनले पनि ठूलो फरक पार्न सकेन । पुनर्निर्माण प्रणालीगत रूपमै अगाडि बढ्यो । नीतिगत एकरूपताले पुनर्निर्माण दिगो र दरिलो हुन सक्यो ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...