इदी अमिनको खहरे राष्ट्रवाद
अमिन कतिसम्म क्रूर थिए भने उनलाई मान्छेको मासु खान असहज लाग्दैनथ्यो । आठ वर्षे शासनकालमा आप्रवासीका लागि कालो प्रेत बनेका यी अमिन युगान्डियनका लागि भने राष्ट्रवादी थिए ।
इदी अमिन सम्झिनासाथ एउटा भयानक भाव आउँछ । पाँच दशकअघि अफ्रिकी राष्ट्र युगान्डाको कमान सम्हालेका अमिन एक निर्दयी र क्रूर तानाशाहका रुपमा विश्व इतिहासमा अंकित छन् । युगान्डामा बसिरहेका ब्रिटिस पासपोर्टधारी एसियाई मूलका नागरिकलाई ९० दिनभित्र मुलुक छाड्न बाध्य बनाएका थिए अमिनले । सपनामा अल्लाहले आफूलाई यो आदेश दिएको उनको दलिल हुने गथ्र्यो ।
अमिन कतिसम्म क्रूर थिए भने उनलाई मान्छेको मासु खान असहज लाग्दैनथ्यो । आठ वर्षे शासनकालमा आप्रवासीका लागि कालो प्रेत बनेका यी अमिन युगान्डियनका लागि भने राष्ट्रवादी थिए ।
आप्रवासीका सम्पत्ति लुटेर बाँड्न थालेपछि उनी रैथानेहरुका लागि ‘राष्ट्रवादी अमिन दादा’ हुनु आफैँमा अस्वाभाविक पनि भएन । तर यो बेग्लै कुरा हो कि उनको राष्ट्रवादको जग कमजोर थियो । आर्थिक रुपले देश जर्जर हुन थालेपछि अमिनको रङ फिक्का हुन बेर लागेन । उनले ४६ वर्षअघि आफ्ना सैन्य अधिकारीहरुलाई सम्बोधन गर्ने क्रममा एसियाईहरुलाई देश निकालाको घोषणा गरेका थिए । उनको राजनीतिक शक्ति क्षय भएपछि देश निकाला गरेका विशेषगरी भारतीयहरुलाई फिर्ता ल्याउने प्रयास भयो । कति आए । कति आएनन् । तर अमिनको सनकले रसातलमा पुगेको यो मुलुकले नयाँ नेतृत्व पाएपछि कायापलट गर्यो । विदेशी लगानीकर्ता भित्र्याउन थालियो । आर्थिक उदारवाद लागू गरियो ।
पुस मध्यमा राजधानी कम्पालामा आयोजित गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकमा पाहुना बोलाइएका युगान्डा सरकारका प्रतिनिधिहरुमा भने कथित राष्ट्रवादी अन्धवेगको संकेत कतै देखिँदैनथ्यो । उनीहरुको एउटै भनाइ थियो, ‘हामीकहाँ लगानी गर्नुस् । हाम्रा नागरिकलाई रोजगार दिनुस् । कमाएको पैसा आफ्नो देशमा लग्नुस् ।’
युगान्डा सरकारका मन्त्रीहरुको उक्त भनाइ सुन्दा मलाई दुई तिहाइ बहुमतको नेपाल सरकारको गाँजेमाजे आर्थिक नीति स्मरण गरायो । नेपालको गतांकमा प्रकाशित आवरण कथामा लेखिएकै छ, नेपालमा विदेशी लगानीका जति कुरा गरे पनि त्यसका लागि आकर्षक वातावरण बनाउने काम हुन सकेको छैन । विदेशी लगानी त टाढाको कुरा, स्वदेशी पुँजीपतिहरु पनि सरकारको उद्योगी/व्यवसायी प्रतिकूल नीतिका कारण अलमलमा छन् । चीन र भारतजस्ता विशाल अर्थतन्त्र भएका मुलुकको काखमा रहेको नेपालले नजिकको छिमेकी होइन, टाढाको युगान्डाबाटै सिक्नुपर्ने भयो ?
अफ्रिकामा आलुजस्ता नेपाली
वैध रूपले बसेर आयआर्जन गरिरहेका नेपालीको संख्या युगान्डामा एक सय पनि छैन । यति सानो संख्यामा रहेको नेपाली समुदायले क्षेत्रीय बैठक आँट्नु आफैँमा आश्चर्यजनक थियो । अझ आश्चर्य त त्यतिबेला भइयो, जतिबेला बैठकलाई उच्च महफ्व दिएको देखियो, युगान्डा सरकारले । सरकारका मन्त्रीहरु, सरकारी लाइन एजेन्सीका प्रतिनिधिहरु, स्थानीय मिडियाले नेपाली समुदायको बैठकलाई दिएको उच्च प्राथमिकता देखेर म फुरुंग नहुने कुरै भएन । तर यसको अन्तर्य के हो ? जान्न मन लाग्यो ।
संघका अफ्रिकी संयोजक सुनील कार्कीले राज खोले । खासमा युगान्डामा नेपालीहरु आलुसरह बसेका रहेछन् । जसरी आलु अरु जुनसुकै तरकारीमा सहजै मिल्न सक्छ, त्यसरी नै यहाँका नेपालीहरु स्थानीय युगान्डियनसँग पनि घुलमिल छन् । आपत्विपद्मा एकअर्कालाई सहयोग गर्छन् । किनभने, आम युगान्डियन र नेपालीको जीवनशैली उस्तै–उस्तै छ । उनीहरुले पनि निरंकुश शासन भोगेका छन् । भ्रष्टाचार र बेथितिको चक्रमा फनफनी रिंगेका छन् । उचनीच सहेका छन् । आर्थिक असमानताको असन्तुलनले ल्याउने सामाजिक चित्रको कुरुप अनुहार देखेका छन् ।
तानाशाह इदी अमिनले युगान्डाबाट एसियाई मूलका बासिन्दालाई देश निकाला गर्नुको पछाडि एउटा तर्क दिएका थिए । उनले भनेका थिए, ‘हाम्रो देशमा रहेका एसियाईहरु स्थानीय युगान्डियन जनतासँग घुलमिल हुन चाहेको देखिएन । उनीहरु एकलकाँटे भएर बसे । हाम्रो आर्थिक शोषणमा मात्र उनीहरुको रुचि रह्यो ।’ अमिनको यो अभिव्यक्तिको संकेत युगान्डामा दुई सय वर्षको डायस्पोरा इतिहास रहेको भारतीयप्रति थियो ।
सम्भवत: यो कुरा युगान्डाको नेपाली समुदायले समयमै बुझ्यो । यसै पनि नेपाली जहाँ गए पनि, जसो गरे पनि, जे भने पनि नेपाली मन लिएर सबैसँग घुलमिल हुने सामाजिक मान्छे जो हो । एक उदाहरण हुन्, युगान्डाको पर्यटकीय थलो जिन्जामा रेस्टुराँ व्यवसाय गरिरहेका राजमणि भण्डारी । उनले रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिएका छन् । स्थानीयसँग मिलजुल गरेरै बसेका छन् । माया, पैसा दुवै कमाएका छन् । गोजीमा दाम छैन भन्नु परेको छैन । एकलकाँटे भएर बस्यो भन्ने बात पनि लगाएका छैनन्, युगान्डियनले । इदी अमिन दादाको एउटा गुनासोको सम्बोधन त गरेकै छ, सानो नेपाली डायस्पोराले ।
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...