लोकल तर बकेर्नो गोपी
गाई पालेर देशमै उद्यम गरेका युवालाई मुख्य भूमिकामा उभ्याइनु आफैँमा सुखद हो । तर विषयले मात्र फिल्मलाई विशेष बनाउँदैन । कसिलो संरचना र सिर्जनशील दृश्य नहुँदा फिल्म फिक्का भइदिन्छ ।
समाजबाट पर–पर भागिरहेको छ नेपाली सिनेमा । बजारु सूत्रमा अल्झिएका र भाषाबाहेक नेपालीपन नभेटिने फिल्मकै बर्चस्व छ । र त, निर्माणको आधा शताब्दी नाघिसक्दा नेपाली फिल्मको मौलिक दृश्यभाषा निर्माण हुन सकेको छैन । सिनेमालाई मनोरञ्जनको सस्तो माध्यममै सीमित गर्न उद्यत छन्, अधिकांश फिल्मकर्मी । यही विडम्बनाबीच पनि हाम्रै परिवेशका कथा, पात्र र तिनका चालढाल बोकेर आक्कलझुक्कल फिल्म आउँछन् । दीपेन्द्र लामा निर्देशित दोस्रो फिल्म गोपी यसको उदाहरण हो । गाई पालेर देशमै उद्यम गरेका युवालाई मुख्य भूमिकामा उभ्याइनु आफैँमा सुखद हो । तर विषयले मात्र फिल्मलाई विशेष बनाउँदैन । कसिलो संरचना र सिर्जनशील दृश्य नहुँदा फिल्म फिक्का भइदिन्छ । गोपीको नियति यही हो । सामीप्यराज तिमिल्सिनालिखित पटकथामा अनेकौँ ‘अर्गानिक’ तत्त्व छन् तर पर्दामा सिलसिलेवर रुपमा बुन्न निर्देशक धेरै कोणबाट चुकेका छन् ।
अभिभावकको चाह छ, गोल्ड मेडलिस्ट छोरा अमेरिका जाओस् । तर सुधीर (विपिन कार्की) नेपालमै गाई फार्म चलाएर बसिरहेका छन् । कलेज पनि पढाउँछन्, विशेष लगावचाहिँ गाईमै छ । उनकी प्रेमिका सुजाता (सुरक्षा पन्त) लाई गाई पालेको फिटिक्कै मन परेको छैन । कृषकमैत्री बजार नहुँदा गाई फार्म बन्द हुन्छ । नयाँ फार्म खोल्न पैसा छैन । अब सुधीर स्वदेशमै केही गर्ने सपना तुहाएर विदेश जान्छन् कि यहीँ थप संघर्ष गर्छन् ? यसको जवाफ फिल्मले दिएको छ ।
नेपाली समाजको आदर्श पात्र हो सुधीर । उनका माध्यमबाट निर्देशकले विदेश जाने हुटहुटी बोकेको युवा पुस्तालाई पुनर्विचार गर्न बाध्य पार्छन् । समाज परिवर्तनमा यसको भूमिका रहोस् भन्ने अभिप्राय: पनि देखिन्छ । फिल्ममेकरमा यति दायित्वबोध हुनु सराहनीय छ तर समाज वा अमुक समूहसँगभन्दा पहिले निर्देशक फिल्मसँगै जिम्मेवार हुनुपर्छ । त्यो भनेको, कलात्मक दृष्यभाषामार्फत उठान गरेको विषय सजीव ढंगबाट पस्कनु । यस मामलामा चाहिँ निर्देशक लामाको गाम्भीर्य देखिँदैन । सुधीरको चरित्र स्थापित गर्न कयौँ दृश्य खर्चिएको छ । तर गाईसँग उनको सामीप्यता महसुस हुँदैन । न सुधीरले कलेज पढाएका दृश्य स्वाभाविक छन्, न त त्यसले मूलकथालाई बलियो बनाउन कुनै भूमिका खेलेको छ । उनकी प्रेमिका, बाबु र फार्म पार्टनरसँगको सम्बन्धसमेत सतही लाग्छ । पटकथाको मागअनुरुप प्रभावशाली दृश्य खिच्न नसक्नु लामाको प्रधान कमजोरी हो । त्यसैले त पर्दामा घटना हुन्छ, दर्शकको आँखा डुल्छ तर मन तानिँदैन ।
मध्यान्तरसम्म सुधीरको आन्तरिक र पारिवारिक द्वन्द्व अनि दूधको उचित मूल्य नपाउँदा आइलागेको सकस देख्न पाइन्छ । यसलाई पनि लम्बेतान ढंगले देखाइएकाले दर्शकलाई बाँधिराख्न हम्मे पर्छ । भेटरिनरी डाक्टर उषा (वर्षा राउत) को आगमनपछि पनि कथाले रफ्तार लिँदैन । सुजाता र उषाको चरित्रचित्रण सपाट छ । उनीहरुको पृष्ठभूमि र बाह्य सम्बन्धलाई नजरअन्दाज गरिएकाले दर्शकमा प्रेम जाग्दैन । उनीहरु आउँछन्, जान्छन्, बस् । अझ मामा (अंकित खड्का) को भूमिकाले मूलकथाको लय नै बिगारिदिन्छ । विश्वसनीय सिक्वेन्स सिर्जन नसक्दा उनीमार्फत केन्द्रीय द्वन्द्व पैदा गर्ने निर्देशक र पटकथाकारको प्रयास ‘फेल’ खाएको छ । गाई पाल्ने कृषकका यावत् समस्या देखाउन भने कन्जुस्याइँ गरिएको छैन । गीत बजाएर गाई चिनेको अनि गाईको जन्मदिन मनाएको दृश्यले भावुक बनाउँछ ।
कथ्यसंरचना र शिल्पमा यावत् समस्याका बीच गोपीमा स्थानीयपनले आत्मीयता दिन्छ । क्लाइमेक्सतिर मामा दौडेकोबाहेक अन्य दृश्य बनावटी लाग्दैन, भलै ती मूर्त ढंगले नखिचिएको किन नहोस् । फिल्ममा त्यस्तो कुनै तफ्व छैन, जसलाई बजारलाई ध्यानमा राखी जर्बजस्ती थोपरिएको होस् । न आइटम वा रोटेपिङ घुमाएर नाच्ने गीत छ, न डाँडाकाँडा र हिमाल पुगेर रोमान्स गर्ने हिरो । न विनासन्दर्भ हुलिएका हास्य संवाद छन्, न त मारधड एक्सन । यस अर्थमा कथावाचनमा निर्देशकको इमानदारी देखिन्छ तर समस्या उही, कुशल प्रस्तुतिको अभाव ।
गोपी अपेक्षाकृत अब्बल नहुनुको अपजस निर्देशक लामापछि सिनेमाटोग्राफर शैलेन्द्र डी कार्कीलाई जान्छ । भाव अनुकुल दृश्य कैद गर्ने मिहिनेतीको छवि बनाएका कार्कीले यसपटक ‘खेलाँची’ गरेको देखिन्छ । निर्देशकको कमाण्ड कमजोर भएको मौकामा कार्कीले पनि बेवास्ता गरेको पो हो कि ! कारण जे होस्, कार्कीको खिचाइ फिल्मको वजन गिराउने मतियार बनेको छ । पृष्ठभूमि संगीत ठाउँ–ठाउँमा कर्कश लाग्छ । डबिङमा उस्तै हेलचेक्र्याइँ देखिन्छ ।
फरक र जीवन्त अभिनयबाट चिनिएका विपिन कार्कीले यसपटक पनि निराश बनाउँदैनन् । तर उनीसँगको अपेक्षा यही स्तरको अभिनय मात्र होइन । चरित्रमा दम नभए पनि सुरक्षाको अभिनय स्वाभाविक लाग्छ । वर्षाले चाहिँ चरित्रलाई आत्मसात् गरेकी छैनन् । मोटो चस्मा लगाउँदैमा डाक्टर मानिदिनुपर्ने जमाना गइसक्यो । भूमिका छोटो भए पनि भोलाराज सापकोटाले तारिफयोग्य काम गरेका छन् । अंकितको चरित्रजस्तै अभिनय पनि विश्वसनीय छैन । प्रकाश घिमिरे, सरोज अर्याल, हिउँबाला गौतम, कमलमणि नेपाललगायतका कलाकारले मन जित्छन् ।
‘लक्ष्मी कहिले काली...’ गीतले न्यारेटिभलाई सशक्त बनाउन सघाएको छ । ‘रोम–कम’ फिल्ममा रमाइरहेका पटकथाकार सामीप्यराज तिमिल्सिनाका लागि गोपी यादगार हुनसक्छ । उनले पात्र र घटनाअनुरुप बलिया संवाद सिर्जेका छन् । घामपानीमा अन्तरजातीय प्रेमकथा भनेर निर्देशक लामाले गतिलो आशा देखाएका थिए । तर ‘भिजुअल स्टोरी टेलर’ का रुपमा गोपीमा उनको परिपक्वता किञ्चित देखिँदैन । परम्परागत आँखाबाट हेर्दा नबिक्ने र ग्ल्यामरविहीन विषय रोजे, उनको प्रशंसा गर्नुपर्ने कारण यत्ति हो, अहिलेका लागि ।
गोपी लोकल गाई त हो तर लैनो होइन, बकेर्नो ।
सम्बन्धित
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
सिनेमामा गन्धको प्रस्तुति
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
नाटकघरमा उज्यालो फर्केला ?
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
'भाषा हटाइदिनुस्, भावना उस्तै हुन्छ'
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
इरफानको शक्तिशाली समय
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
सेलिब्रिटीका लकडाउन सिर्जना
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...