टुटल र पठाओको उल्टै प्रचार
सडकभरि ट्याक्सी हुन्छन् तर भनेको ठाउँमा जाने भेटिनु भाग्यको कुरा हो । मिटरमा जान मरिगए मान्दैनन्, ठाडै ‘यति दिने हो भने मात्र जान्छु’ भन्छन् । कि नचढ्नुपर्यो, नत्र नाइँनास्ती गर्न पाइँदैन ।
टुटल र पठाओ सुरु भएको वर्ष दिन बितिसकेको थियो, ट्राफिक प्रहरीलाई मतलबै थिएन । के सनक चढेछ कुन्नि, पुस अन्तिम साता चार जना ‘राइडर्स’ लाई प्रहरीले पक्रियो । मोटरसाइकलले यात्रु ओसार्न नपाइने जिकिर गरियो । कसैबाट छिपेको थिएन, प्रहरीको यो ‘एक्सन’ ट्याक्सीधनीबाट प्रेरित थियो । यसरी एकाध ‘राइडर्स’ को कठालो समात्दा अरु बिच्किने लालसा हुँदो हो तर त्यसो भएन । बरु टुटल र पठाओको समर्थनमा सामाजिक सन्जालमा अभियान चल्यो । यसो हुनुमा टुटलप्रतिको प्रेमभन्दा ट्याक्सीप्रतिको विरक्तिले भूमिका खेलेको थियो ।
सडकभरि ट्याक्सी हुन्छन् तर भनेको ठाउँमा जाने भेटिनु भाग्यको कुरा हो । मिटरमा जान मरिगए मान्दैनन्, ठाडै ‘यति दिने हो भने मात्र जान्छु’ भन्छन् । कि नचढ्नुपर्यो, नत्र नाइँनास्ती गर्न पाइँदैन । साँझ परेपछि भाडा दोब्बर नतिरी सुखै हुँदैन । नियमित प्रयोगकर्ता जोकोहीलाई सोध्नुस्, ट्याक्सी सास्ती र अपमानको मुहान भइदिन्छ, प्राय: । त्यसमाथि प्रविधि र सीप प्रयोग गरेर आत्मनिर्भर हुँदा सरकार नै बाधक बन्दा सहनु कसरी ?
टुटलमार्फत लाजिम्पाटबाट वनस्थली जाँदै गर्दा मोटरसाइकल चालकलाई सोधेँ, “प्रहरीले समातेर दु:ख दियो है ?” उनको जवाफले मलाई अचम्मित पार्यो, “दु:ख होइन, फाइदा भयो । हाम्रो सित्तैमा प्रचार भयो । सेवाग्राही अझ बढे ।” हो त है ! उदाहरण म नै थिएँ, चालक पक्रेपछि हो, टुटल र पठाओ प्रयोग गर्न थालेको । त्यसपछि बानी लागेको छ ।
अब एउटा कुरा निश्चित छ, कि ट्याक्सी सुध्रिन्छन्, कि किनारा लाग्छन् ।
कुरा कसले नबुझेको ?
सबैभन्दा पुरानो महानगर, काठमाडौँ । सबैभन्दा विवादित मेयर पनि काठमाडौँकै । विद्यासुन्दर शाक्य जता पाइला राख्छन्, उतै लफडा हुन्छ । सम्पदा संरक्षणका अभियन्तामाझ ‘भिलेन’ को छवि रहेछ उनको । काष्ठमण्डपबाट सुरु शाक्यको अनुदार र सम्पदावैरी नीति बागदरबारदेखि रानीपोखरीसम्म छताछुल्ल भयो । वसन्तपुर दरबार क्षेत्रभित्र महर्जन बिजनेस कम्प्लेक्सको अनधिकृत रुपमा नक्सा पास गरेपछि त शाक्यविरुद्ध सम्पदाप्रेमी आगो भए । तर यी गुनासाको मेयरलाई वास्तै छैन । गैरउत्तरदायी भावमा भनिदिन्छन्, “अभियन्ता र विज्ञको कामै विरोध गर्ने मात्र हो ।”
अब यथार्थ नियालौँ । सम्पदाप्रेमी हुँदैनथे भने प्रताप मल्लकालीन रानीपोखरी कंक्रिटले ढाकिन्थ्यो, भीमसेन थापाले बनाएको ऐतिहासिक बागदरबार नास भइसक्थ्यो । वसन्तपुरको स्वरुप बिग्रदैनथ्यो मात्र, वरपरका मूर्त/अमूर्त सम्पदा नष्ट हुन्थे । तर, मेयरले साथ दिएको भए स्थानीयकै अमानतमा काष्ठमण्डप पुनर्निर्माण हुन्थ्यो । धरहरा मासिएर कंक्रिटयुक्त भ्युटावर बनाउने योजना बन्दैनथ्यो । स्थानीय भूकम्पले क्षतिग्रस्त सम्पदालाई पुरानै स्वरुपमा फर्काएर मौलिकता जोगाउन मरिहत्ते गर्दैछन्, मेयरसाबको दिलचस्पीचाहिँ कंक्रिट र ठेक्कापट्टातिर ज्यादा छ ।
यहीबीच महानगरले नयाँ भवन मापदण्ड ल्यायो । संस्कृति मन्त्रालय, पुरातत्व विभाग र काठमाडौँ उपत्यका विकास प्राधिकरणले सम्पदा क्षेत्रमा लागू नगर्न कडा निर्देशन दिए । तर मेयरसाबको सुध्रने छाँटकाँट छैन । उनको रटान छ, ‘कसैले कुरै बुझ्दैनन् ।’
फ्लपको लस्कर
दसैँयता झन्डै २० नेपाली फिल्म प्रदर्शन भए । प्रसादले जेनतेन लगानी उठायो । बाँकी सबै घाटामा । अधिकांश फिल्म शुक्रबार हलमा लागेर आइतबार उत्रिए । मल्टिप्लेक्स मात्र होइन, सिंगल थिएटरमा पनि सुक्खा लाग्यो । जोकोही फिल्मकर्मीलाई भेट्नुस्, दु:खेसो एउटै हुन्छ, ‘फिल्म चल्नै छाडे, खडेरी लाग्यो ।’ निराशा छ सर्वत्र ।
गाँठी कुरातिर कसैको ध्यानै छैन । सबै भन्छन्, फिल्म चलेनन् । कोही भन्दैनन्, चल्नुपर्ने कुन फिल्म चलेन । स्क्रिप्टभन्दा स्टारलाई महत्त्व दिइएका, कमेडीको नाममा कन्टेन्टलाई बेवास्ता गरिएका, बनाउनभन्दा चलाउन हतार गरिएका, कलाभन्दा बजारको पछाडि दौडिएका फिल्म फ्लप भए भनेर दु:खमनाउ गर्नु किन !
खासमा स्वदेशी फिल्म मात्र ‘डब्बा’ भएका हुन् । हिन्दी फिल्म केदारनाथ र सिम्बाको व्यापार लोभलाग्दो रह्यो । दक्षिण भारतीय फिल्म केजिएफ हेर्नेको भीड लाग्यो । तर यहीसँगै आएको जिरो ठन्डाराम भयो । प्रस्ट हुन्छ, राम्रो फिल्मलाई दर्शक अभाव छैन । नेपाली फिल्मकर्मीको रबैया भने जस्ताको तस्तै छ । केही दिनअगाडि एक निर्माता भेटिए, उनलाई हिरो पनि हुनु रहेछ । ६ महिनाभित्र फिल्म हलमा पुर्याउनु पनि छ । तर हातमा स्क्रिप्ट छैन । उनलाई सोधियो, “किन यति हतार ?” आफ्नो दु:ख बिसाए, “यूकेबाट ६ महिनाको छुट्टीमा आएको । फर्कने बेला फिल्म चलाइसक्नुपर्छ ।” हालत यस्तो छ । अनि, फिल्म नडुबोस् कसरी ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...