किरिङमिरिङ सडक

- विमल खतिवडा

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित क्याङसिङ पुग्ने जोकोहीले एकपटक गुम्बाथानतर्फ ननियाली आफ्नो यात्रा तय गर्दैन । कारण– क्याङसिङ डाँडाबाट गुम्बाथानतिर देखिने दृश्य नौलो लाग्छ । भिरालो जमिनमा झुरुप्प बस्ती । बस्तीमाथि नागबेली सडक । कतै हरियाली त, कतै उराठलाग्दा पाखा । नीला जस्ताले एकनास टल्किएका घर । यो दृश्यले सबैको ध्यान खिच्छ ।

गाउँमा सडक पुगेको धेरै भएको छैन । ७ वर्षअघिसम्म जलबीरेबाट हिँडेरै यो ठाउँसम्म पुग्नुपथ्र्यो । जलबीरेसम्म मात्र गाडी चल्थ्यो । खाद्यान्न पिठ्युँमा बोकेर लग्नुपथ्र्यो । गुम्बाथानबाट जलबीरे पुग्न एक दिन लाग्थ्यो । पछि कात्तिकेसम्म मोटरबाटो पुग्यो । पहिलेभन्दा दूरी केही छोटियो । बिहान कात्तिकेबाट चामलको बोरा बोकेर साँझ फर्कने गाउँले बढे । बिस्तारै गाउँ–सडक सन्जालमा जोडियो । घरमाथिबाट गाडी गुड्न थालेपछि स्थानीय दंग परे । अहिले चामलदेखि दैनिक उपभोग्य वस्तु बोक्न न जलबीरे पुग्नुपर्छ, न त कात्तिके नै । घरअगाडि नै खोजेको कुरा आइपुग्छ ।

त्यसो त, यात्रुबस गाउँसम्म पुगिसकेको छैन । जीप र सामान बोक्ने ट्रक मात्र गुड्छन् । बोल्देसम्म यात्रुबस पुग्छ । नेसम खोला नजिकसम्म मोटरबाटो पुगेको छ । यो गाउँबाट तेम्बाथान पुग्न झन्डै एक दिन लाग्छ । त्यो पनि भीरको बाटो छिचोल्दै यात्रा गर्नुपर्ने बाध्यता छ । गुम्बाथानमा लामा, शेर्पा समुदायको बसोबास बढी छ । तेम्बाथानमा भने शेर्पा समुदायको बाक्लो बसोबास छ । त्यहाँका स्थानीय सडकको पर्खाइमा रहे पनि गुम्बाथानका लागि सडक वरदान बनेको छ ।

बाटोमा भारी बोकेर हिँडेकाहरुको मुहारमा मुस्कान देख्न पाइन्छ । गाडी चढ्न नपाए पनि फराकिलो सडकमा ओहोरदोहोर गर्न पाउँदा स्थानीयको धेरै गुनासो छैन । तर बर्खायाममा भने सडक ठप्प हुन्छन् । कतै पहिरोको समस्या त कतै गाडी फसेर बाटैमा अलपत्र परिन्छ । “सडकले अलिकति सहज भएको छ,” गुम्बाथानका मिङमार लामा भन्छन्, “सबै गाउँसम्म सडक पुगिसकेको छैन ।” माग तेम्बाथानसम्म सडक पुग्नुपर्छ भन्ने छ । तेम्बाथान पुग्न सदरमुकाम चौताराबाट दुई दिन लाग्छ । एक दिन गाडीमा र अर्को दिन पैदल यात्रामार्फत पुगिन्छ । अन्य गाउँभन्दा गुम्बाथान आकर्षक छ, जहाँ २ सय घरधुरीको बसोबास छ ।

गाउँमा शिक्षा र स्वास्थ्य सुविधा छैन । बिजुलीको पोल, तार टाँगिएको छ तर बत्ती बल्दैन । ०७२ को भूकम्पबाट यो गाउँ पनि अछूतो रहेन । घर ढले । केहीले ज्यान गुमाए । अहिले भूकम्पप्रतिरोधी एउटै आकृतिका घर ठडिएका छन् । “सडक बनेपछि विकासको अनुभूति गरेका छौँ,” स्थानीय कान्छा लामा सम्झन्छन्, “त्योभन्दा पहिले हामी सदरमुकामबाट ओझेलमा थियौँ ।’ उपचारका लागि ३ घन्टाभन्दा बढी हिँडेर पाँगरपु पुग्नुपर्छ ।

गाउँमा ८ कक्षासम्म मात्र पढाइ हुन्छ । १० कक्षा पढ्न पाँगरपु पुग्नुपर्छ । सक्नेले सदरमुकाम र सहरमा राखेर छोराछारी पढाएका छन् । आर्थिक अवस्था कमजोर हुनेहरुले बीचैमा पढाइ छाड्ने गरेका छन् । गाउँमा गहुँ, मकै, कोदो उत्पादन हुन्छ । यसले वर्ष दिनसम्म खान पुग्दैन । चामल किनेर खानुको विकल्प छैन । स्थानीयले व्यावसायिक रुपमा केहीले चौँरी त केहीले बाख्रा पालेका छन् ।

गाउँमा रोजगारीका अवसर नहुँदा प्रत्येक घरका एक जना वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेका छन् । यसरी विदेसिनेहरुले छोराछोरीलाई सहरमा राखेर पढाएका छन् । घरमा सोलार टल्किएका छन् । पुराना घरलाई नयाँ बनाएका छन् । छाना फेरेका छन् । महिला–पुरुष सराबरीजस्तै विदेसिएका छन् । महिला सबैभन्दा बढी इराक छन् भने पुरुष दुबई, कतार र मलेसियातिर । विदेशको कमाइले परिवार पालिएको छ । चिसोमा गाउँभन्दा माथिल्लो बस्ती शीतलहरले सेताम्य बन्छ । यही बेला हिउँसमेत थपिन्छ । स्थानीय अगुवा गिर्मी लामा भन्छन्,“सडकले खुसी त ल्यायो तर समस्याका चाङ उस्तै छन् ।”

शब्द/तस्बिर : विमल खतिवडा

प्रकाशित: फाल्गुन ३, २०७५

ट्याग: दृश्य
×