सर्वोच्चले बचाएको नेविसंघ
पञ्चायती सत्ताले नेता/कार्यकर्तालाई पक्रिएपछि कांग्रेस संगठनमा एकखाले रिक्तता थियो । यही रिक्तता चिरेर युवालाई प्रजातन्त्रप्रति जागरुक बनाउन नेता बीपी कोइरालाले सुवर्णशमशेरलाई आग्रह गरेका रहेछन्, भारत निर्वासनमा जानुअघि ०२५ मै ।
चैत ०२६ को अन्त्यतिर म भर्खरै एसएलसी दिएर बसेकी थिएँ । राजनीतितिर चाख छँदै थियो । त्यसैले बेलाबखत प्रतिबन्धित नेपाली कांग्रेसले लिने आगामी रणनीतिबारे जान्ने/बुझ्ने मौका पाइरहेकी थिएँ । पञ्चायती सत्ताले नेता/कार्यकर्तालाई पक्रिएपछि कांग्रेस संगठनमा एकखाले रिक्तता थियो । यही रिक्तता चिरेर युवालाई प्रजातन्त्रप्रति जागरुक बनाउन नेता बीपी कोइरालाले सुवर्णशमशेरलाई आग्रह गरेका रहेछन्, भारत निर्वासनमा जानुअघि ०२५ मै । सुवर्णशमशेरले त्यसको पहल लिए ।
काठमाडौँ स्वयम्भूको धर्मशालामा नेपाल विद्यार्थी संघ (नेविसंघ) गठन भयो, ६ वैशाख ०२७ मा । संगठन घोषणाको उद्घाटनचाहिँ भर्खरै जेलबाट छुटेका नेता कृष्णप्रसाद भट्टराईले गरे । संगठनलाई अगाडि बढाउन ७ वैशाखमा चोभार र ८ वैशाखमा पशुपतिस्थित राममन्दिरमा गोप्य बैठक बस्यो ।
सोही बैठकले त्रिभुवन विश्वविद्यालय प्रांगणमा देशैभरका प्रजातन्त्रप्रति आस्था राख्ने विद्यार्थीको राष्ट्रिय जमघट गरायो । भेलाले पहिलो पटक विपिन कोइरालालाई नेविसंघ सभापतिमा चुन्यो । नेविसंघको त्यो विधानमा दुई महामन्त्री, तीन उपसभापति र १२ केन्द्रीय सदस्य गठन गर्न सकिने प्रावधान थियो । मनोनीत तीन सदस्यमध्ये रामचन्द्र पौडेल पनि संगठनको नेतृत्वमा अटाए । पूर्वाञ्चलबाट उपसभापतिमा चयन भएका राम उपाध्यायचाहिँ ओखलढुंगाको टिम्बुरबोटे काण्डमा पञ्चायत शासनबाट मारिए, ०३० मा ।
स्वदेशमै रहेका कांग्रेस नेताले राजधानीमै भ्रातृ संस्था गठन गरेपछि पञ्च शासकहरु तिलमिलाए । राजाको शासनलाई कांग्रेसको खुला चुनौती पनि थियो त्यो । त्यसपछि नेविसंघका अधिकांश नेता धमाधम पक्राउ परे । हालका कांग्रेस सभापति शेरबहादुर देउवा पनि समातिएका थिए । नेविसंघ सभापति विपिन भने तत्कालै भूमिगत भएकाले जेल बस्नुपरेन ।
सबैजसो विद्यार्थी नेता पक्राउ परेपछि विपिनलगायतले सर्वोच्च अदालतमा गैरकानुनी थुनाबारे मुद्दा हाले वैशाख अन्त्यमा । उबेला अञ्चलस्तरीय विद्यार्थी संगठनका संरचना वैध थिए । तर तत्कालीन कीर्तिनिधि विष्ट (०२५–०३०) सरकारले नेविसंघ गठन अवैधानिक भएको भन्दै प्रजातन्त्र समर्थक विद्यार्थीमाथि धरपकड जारी राख्यो । वैशाख अन्त्यमा सर्वोच्चमा परेको मुद्दाको सुनुवाइचाहिँ १४ र २५ असारमा भयो ।
सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश रत्नबहादुर विष्ट अध्यक्षताको इजलासमा न्यायाधीश विश्वनाथ उपाध्याय, नैनबहादुर स्वाँर र प्रकाशबहादुर केसीले नेविसंघमाथिको मुद्दाको फैसला सुनाए । त्यो फैसलामा नेविसंघ राजनीतिक दल नभई विद्यार्थीको हकहितमा समर्थित संगठन भएकाले अवैध नमानिने निर्णय भयो । यस निर्णयले पञ्चायतको न्यायालय अहिलेजस्तो व्यक्ति, पार्टी समर्थित न्यायाधीशको पक्षमा नबाँडिएको देखियो । यसरी जुन व्यवस्थाले दलविहीन शासनको कल्पना गर्यो, त्यही व्यवस्थाको न्यायालयले प्रतिबन्धित दलको भ्रातृ संस्थामाथि आइलागेको संकट टारिदियो ।
अचम्म के भने नेविसंघलाई अवैध मान्नुपर्ने पञ्चायती शासनको त्यो निर्णयविरुद्ध कांग्रेसलाई कानुनी लडाइँमा सहयोग/समर्थन गर्ने वकिलको संख्या ठूलो थियो । नेविसंघ पक्षमा लड्ने कानुनवेत्तामा गणेशराज शर्मा, कुसुम श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, मुकुन्द रेग्मी, ऋषिकेश शाहलगायत ६० जनाको टोली थियो ।
उनीहरुको बहस पैरवीका कारण नेविसंघ उबेलाको सर्वोच्चबाट पनि वैध संगठन भएको प्रमाणित हुन पुग्यो । थुनामा रहेका युवाले जेलमै विद्यार्थीको संकेतचिह्न कलम र विद्रोहको प्रतीक मसाललाई आधार मानेर नेविसंघ झन्डाको आवरण तयार पारे । अन्त्यमा त्यो झन्डाले संगठनको अपनत्व लियो । यसरी सुवर्णशमशेरको खटनपटन र व्यवस्थापनमा स्वयम्भूको धर्मशालामा गठन भएको नेविसंघले वैधता पायो भने थुनामा रहेका विद्यार्थी नेता पनि मुक्त भए । बीपी निर्वासन (भारत) मा रहेकाले नेविसंघ गठनमा सहभागी हुन सकेनन् । उनले शुभकामना सन्देशसहितको पत्रचाहिँ पठाएका थिए, सुवर्णशमशेरलाई ।
नेविसंघ गठनपछि आयोजित विजयोत्सवमा मचाहिँ सहभागी हुन सकिनँ । बिरामीले थलिएपछि आराम गर्न पुख्र्यौली घर बेथान (रामेछाप) मा थिएँ ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...