आईसीपी अलपत्र
१४ वर्ष बितिसक्दा पनि सुनौली–भैरहवा नाकामा नेपाल–भारत सीमा एकीकृत जाँच चौकी बनेन
सुनौली–भैरहवा नाकामा नेपाल–भारत सीमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण सम्झौता भएको खबरले भैरहवा, बुटवल, नवलपरासीलगायतका उद्यमी व्यवसायी खुसी थिए, १४ वर्ष पहिले । तर भारतीय पक्षको बेवास्ताका कारण सम्झौता नै अलपत्र पर्दा नेपाली व्यवसायीको त्यो उत्साह चिसिएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा भैरहवा भन्सार क्लियरिङ एजेन्ट विष्णु शर्मा भन्छन्, “यतिका वर्ष आयोजनाको काम अगाडि नबढ्दा शंका उब्जिएको छ ।”
दुई मुलुकबीचको आयात–निर्यातलाई सहजीकरण गर्न भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा आईसीपी निर्माण हुने भनिएको थियो । सम्झौताअनुरूप नेपालका तर्फबाट गरिनुपर्ने ५२ बिघा जग्गा अधिग्रहण र तारबार १० वर्षअगावै भइसके पनि भारतका तर्फबाट काम बढ्ने/नबढ्ने टुंगो छैन । आयोजनाका लागि नेपालतर्फ स्थानीय सम्पर्क कार्यालय तोकिएको संघीय आयोजना कार्यान्वयन इकाइ भैरहवाका आयोजना प्रमुख राजेन्द्रप्रसाद पाण्डेय भन्छन्, “हामीले केन्द्रको निर्देशनअनुरूप काम गर्ने हो । माथिबाट पनि यसबारे थप कुनै निर्देशन आएको छैन ।”
भारतले भने अहिलेसम्म आयोजनाका लागि आवश्यक जमिन अधिग्रहणसमेत गरेको छैन । आयात–निर्यातलाई एकद्वार प्रणालीअन्तर्गत सबै सेवा एउटै स्थलबाट उपलब्ध गराउन सहजीकरण गर्ने उद्देश्यले सन् २००५ मा विराटनगर, वीरगन्ज, भैरहवा र नेपालगन्ज नाकामा भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा आईसीपी निर्माण सम्झौता भएको हो । सम्झौताअनुसार वीरगन्जको आईसीपी भने सञ्चालनमा आइसकेको छ । विराटनगरको ८० प्रतिशत निर्माण सम्पन्न भइसकेकाले यसै वर्ष नेपाललाई हस्तान्तरण गर्ने तयारी भारतीय पक्षको छ । नेपालगन्जमा भारततर्फको आईसीपी केही दिनअघि भारतीय गृहमन्त्री राजनाथ सिंहले शिलान्यास गरेका थिए ।
सहरी विकास तथा भवन निर्माण विभागका अनुसार २ अर्ब ३७ करोड ५३ लाख भारु लागतको भैरहवाको आईसीपी निर्माणका लागि भारतले नक्सा र डिजाइन तयार पारेर नेपाल सरकारलाई बुझाइसकेको छ । नेपालस्थित भारतीय दूतावासले १५ सेप्टेम्बर २०१७ मा अनुमानित लागत, डिजाइन, नक्सासहितको विस्तृत इन्जिनियरिङ रिपोर्ट नेपाललाई बुझाएको हो ।
उक्त रिपोर्टमा भैरहवा आईसीपीको कुल क्षेत्रफल ३५.११ हेक्टरमध्ये २२.५४ हेक्टरमा भवन र गोदाम निर्माण हुने उल्लेख छ । आईसीपीमा भन्सार, अध्यागमन, पशु प्लान्ट क्वारेन्टाइन, भन्सार पार्किङ, प्रयोगशाला, सुरक्षाकर्मी ब्यारेक, विद्युत् सबस्टेसन, पेट्रोलपम्प, सुरक्षा पर्खाल, सेड घर र गोदाम, बैंकलगायतका संरचना निर्माण हुनेछन् ।
आयोजनामा नेपालतर्फको जमिनबाहेक प्राविधिकसहितको सबै लगानी भारतीय पक्षले गर्ने सम्झौता छ । सहमतिमा नेपालले आफ्नोतर्फ जग्गा अधिग्रहण गरेर भारतीय पक्षलाई काम गर्ने वातावरण बनाइदिने, ढुंगा, गिट्टी, बालुवाजस्ता नदीजन्य निर्माण सामग्री उनीहरूले नै खरिद गर्न सहजीकरण गरिदिने र निर्माणका लागि भारतलाई आवश्यक सामानको सूची नेपाल ल्याउँदा भन्सार छूट दिने सम्झौता छ । यही आयोजनालाई लक्षित गरेर नेपालले एसियाली विकास बैंकको सहयोगमा आईसीपी निर्माण हुने स्थललाई जिरो माइल बनाएर भैरहवामा निर्मित विशेष आर्थिक क्षेत्र जोड्न ५ किमि लम्बाइको बाइपास सडक निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
आयोजना निर्माणबारे पछिल्लो पटक एक वर्ष पहिले नयाँदिल्लीमा आठौँ प्रोजेक्ट स्टियरिङ कमिटीको संयुक्त बैठकमा भारतले आईसीपी निर्माणमा तदारुकता बढाउने, नेपालमा डीपीआर मात्र भएर कार्यान्वयनमा नआएका भैरहवा र नेपालगन्ज आईसीपीलाई कार्यान्वयनतर्फ लैजाने र अर्को बैठक सन् २०१९ मा नेपालमा बस्ने सहमति भएको थियो । तर अर्को बैठकको मिति अहिलेसम्म टुंगो लागेको छैन ।
आईसीपी निर्माण नहुँदा भारतीय सीमाको सडक जामले नेपाल प्रभावित हुन थालेपछि यस नाकाबाट आयात हुने वस्तु अन्यत्र मोडिन थालेको व्यवसायीको भनाइ छ । त्यसका लागि दुईदेशीय सरकारी स्तरका बैठकमा नेपाल सरकारले भारतलाई दबाब दिनुपर्ने सिद्धार्थ उद्योग वाणिज्य संघ अध्यक्ष कुलप्रसाद न्यौपाने बताउँछन् । भन्छन्, “हामीले आफ्ना तर्फबाट प्रयास जारी राखिरहेका छौँ । तर यसबारे नेपालले भारत सरकारसँग पहल गर्न नसकेको अनुभूति भएको छ ।”
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...