रमिता हेरिरहन पाइयोस्
गुटगुटका नेताहरुले सलाई कोरुन्, कार्यकर्ताहरुले दाउरा जोरुन्, सञ्चार माध्यमहरुले घिऊ हालून् । धूवाँ मात्र पुतपुताएर भएन, आगो बालून् । सम्बन्धितहरुले हाम्रो स्वास्थ्य बिग्रन नदिऊन्, रमिता हेर्ने वातावरण मिलाइरहून् ।
हामीलाई शान्ति, सुव्यवस्था, प्रगतिभन्दा अशान्ति र दुर्गतिमै बाँच्ने नानीदेखिकै बानी भइसक्यो । हरेक दिन केही न केही मस्तिष्क हल्लाउने समाचार सुन्न नपाउँदा हामीलाई छटपटी हुन थालिहाल्छ । हत्या, बलात्कार, भ्रष्टाचार, दुर्घटना, कारबाही, गिरफ्तार, ठगी, वादविवाद, टुटफुट, अवरोधजस्ता शीर्षकका समाचार सुनेर-पढेर नै हाम्रो दैनिकी सुरु हुन्छ । यस्ता केही कुरा सुनिएन भने हामीलाई यो जुनी खेर गइरहेजस्तो लाग्न थाल्छ ।
नकारात्मकता हाम्रो आदतको अभिन्न अंग भइसक्यो । हाम्रो गरिखाने मेलो, जीवनयापनको सिलसिला । हाम्रो कान त्यतै ठडिन्छ, ध्यान त्यतै अडिन्छ । हत्या, बलात्कार, हिंसा होस् र सरकारलाई धित मरुन्जेल गाली गर्न पाइयोस् । विकृति बढोस् र त्यसलाई व्यंग्य ठोक्न पाइयोस् । प्रधानमन्त्री, मन्त्रीहरु नै भ्रष्ट होऊन् र जुलुस निकाल्न पाइयोस् । ठेकेदारहरुले लापरबाही गरुन् र तिनीहरुविरुद्ध लेख्न पाइयोस् । राष्ट्रिय महत्त्वका ठेक्का बारम्बार टुटून्, आयोजना अधूरा होऊन् अनि सरकारको सातो खान पाइयोस् । जस्तै, मेलम्ची आयोजना । मेलम्चीको पानी काठमाडौँमा आउला-आउलाजस्तो भयो भने केही न केही अवरोध खडा भइजाओस् । त्यो जति उता गयो हामीले सरकार, नेता, मन्त्रीहरुको अकर्मण्यमाथि उति नै तिखा टिप्पणी गरेर आनन्द बटुल्न पाउँछौँ । यस्तो अनौठो बानी लाग्यो हामीलाई ।
प्रधानमन्त्री भ्रष्टाचारविरुद्ध चर्को स्वरमा चिच्याइरहून्, भ्रष्टाचारीहरु उनकै वरिपरि परिक्रमा गर्दै दाँत ङिच्याईरहून् । ठेकेदारले ठगिरहून्, कर्मचारीले कमिसन लगिरहून् । अख्तियारले भ्रष्टलाई समाउँदै गरोस्, अदालतले तिनीहरुलाई छाड्दै गरोस् । भ्रष्टका संरक्षकलाई बाह्र हातका टाँगाले पनि नछोओस् । विराटनगरमा जस्तै अदालत नै रित्तिने गरी न्यायाधीशहरु कारबाहीमा परेका खबर अरु पनि आइरहून् । तस्करीका ठूल्ठूला घटनामा राज्यका उच्च ओहोदावालाहरु जोडिइरहून् । कारबाहीका सिलसिला भने ठूला माछाबाट तर्किएर स-सानातिर मोडिइरहून् ।
सत्तामा दुर्जनकै बोलवाला चलिरहोस्, सज्जनको नौनारी गलिरहोस् । इमानदारहरु भोकै मरुन्, बेइमानहरु मरेपछि पनि खाइरहून् । चोरले अवार्ड पाऊन्, पाकेटमाराले तक्मा लाऊन् । सार्वजनिक सम्पत्तिमा आगो लगाउनेहरुका निधार अबिरले रंगियून्, जेलबाट हत्यारा निस्कँदा डेढ सय केजीको माला पहिरियून् । यस्तै रमिता हेरिरहन मन लाग्ने अनौठो बानी लाग्यो हामीलाई ।
एमाले र माओवादी मिलेर नेकपा बनेको एक वर्ष हुन लागिसक्यो । अझसम्म कुनै ठूला विवाद नगरेर यिनीहरुले हामीलाई निरास बनाउँदैछन् । दुई अध्यक्षबीचको भनाभनले चर्को रुप लिन्छ र आनन्द प्राप्त होला भन्दाभन्दै त्यो पनि मत्थर भयो । यो त हामीमाथि अपमान भयो । त्यसरी झगडा नसेलाओस् । गुटगुटका नेताहरुले सलाई कोरुन्, कार्यकर्ताहरुले दाउरा जोरुन्, सञ्चार माध्यमहरुले घिऊ हालून् । धूवाँ मात्र पुतपुताएर भएन, आगो बालून् । सम्बन्धितहरुले हाम्रो स्वास्थ्य बिग्रन नदिऊन्, रमिता हेर्ने वातावरण मिलाइरहून् ।
कांग्रेस पार्टीमा अलि अस्ति ठूलै मारमुंग्री हुने हल्ला आयो तर त्यो पनि सेलायो । हाम्रो उमंग नै लोलायो । छाया सरकार गठन होला र घम्साघम्सी हेरौँला भनेको पनि त्यत्तिकै भयो । कांग्रेसबाट पनि सदन अवरोध, सडक आन्दोलन, नारा-जुलुस, आगजनी भएको निरन्तर देख्न पाइयोस् । सनसनीपूर्ण स्टाटस लेख्न पाइयोस् ।
आधा जुनी यस्तै रमितामा बितिगो । अब सकारात्मक केही भयो भने खप्न गाह्रो पर्छ । त्यसैले यस्तै रमिता हेर्दैहेर्दै यो एकबारको जुनी बिताउन पाइयोस् ।
सम्बन्धित
अब हामी त्यता वरपर गस्ती गर्छौं । ढुंगाहरूमा लठ्ठीले हानेर आवाजहरू निकाल्छौँ, सुसेल्छौँ । ...
सुत्न दे इन्डिया !
स्रोतले कति पटक बिहान माधव नेपाललाई र दिउँसो प्रचण्डलाई प्रधानमन्त्री बनाइसक्यो । साँझमा प...
यस्ता अद्भुत समाचार मित्रहरूले कहाँबाट ल्याउँछन् ?
हामीले पूरा नहुने आशा गरेर आफ्नो स्वास्थ्य बिगार्नुभन्दा पूरा हुने सम्भावना भएका अपेक्षा ग...
नयाँ वर्ष नयाँ आइडिया
नेपालमा भने कोरोना नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयले होइन, गृह मन्त्रालयले लिएजस्तो...
प्रहरी लगाऊ, कोरोना भगाऊ !
यो समय त नाकमा मास्क, आँखामा कालो चस्मा र कानमा ठेडी लगाएर चुपचाप घरमा बस्ने समय हो ।...
त्यत्तिकै भ्रष्टाचार भयो भन्ने ?
बाइकवालाले फुऽ गरेको त मापसे पोजिटिभ देखियो । ट्राफिकले समाइहाले । तर बाइकवालाले भने, ‘माप...