जर्नेलको जंगी रहर
मन्तव्यको पुछारमा उपरथी पद लेखेका छन् । क्षत्री उपरथी होइनन् । सहायक रथीबाट अवकाश पाएका उनलाई उपरथी मानार्थ दर्जा दिइएको हो ।
नेपाली सेना मातहतको राष्ट्रिय सेवा दल (एनसीसी) ले किशोरकिशोरी विद्यार्थीमा राष्ट्रिय भावना जगाउन बर्सेनि तालिम दिँदै आएको छ । एनसीसीको यस्तै विकासक्रमबारे पुस्तक निकालिएको रहेछ, राष्ट्रिय सेवा दल (विगत र वर्तमान) । नागरिकलाई सदाचारी बन्न प्रेरित गर्ने यो संस्थाका प्रमुख आफैँ आचरणविपरीत काम गर्दा रहेछन् । किताब पल्टाउँदा प्रमाण खडा छ । एनसीसी प्रमुखको हैसियतमा रमीन्द्र क्षत्रीको दुईपाने मन्तव्य छ । मन्तव्यको पुछारमा उपरथी पद लेखेका छन् । क्षत्री उपरथी होइनन् । सहायक रथीबाट अवकाश पाएका उनलाई उपरथी मानार्थ दर्जा दिइएको हो ।
अवकाशलगत्तै एनसीसीको प्रमुख सल्लाहकार बनेका क्षत्री चार वर्षपछि कार्यकारी निर्देशक हुँदै हालसम्म बहाल छन् । मानार्थ भए पनि उपरथीकै पोसाकमा कार्यालय आउजाउ गरिरहेका छन् । अवकाशप्राप्त केही सैनिकको सिकायत जंगी अड्डामा नपरेको होइन । तर सबै मौन छन् । अहिले अर्को रमिता थपेछन्, सेवारत उपरथीसरह पुस्तकमा आफूलाई अंकित गरेर । दर्जा लेखेर अवकाशप्राप्त राखिने अन्तर्राष्ट्रिय चलन नै हो ।
एनसीसीको यो पुस्तक ०६९ मा निकालिएको नेपाली सेनाको इतिहासकै लेखकहरुमध्येका प्रा कमलसिंह राठौरले तयार पारेका रहेछन् । यस किताब पनि सेवा दलको इतिहाससम्बन्धी हो, तर सुरुमै तथ्यको हुर्मत लिइएको छ । प्रश्न स्वाभाविक छ, जंगी अड्डाले इतिहास लेखिरहेछ कि भत्काइरहेछ ? एक जर्साबको रहरमा सैनिक इतिहास बंग्याउन मिल्छ ?
फेरि पनि दुरुपयोग
प्रसंग एनसीसीकै । बारास्थित अमलेखगन्जमा चिया पिउन पसेको होटल परिसरमा टाँसिएको एउटा फोटोले ध्यान तानिहाल्यो । फोटोमा सैनिक पोसाकका व्यक्ति देखिन्छन् । सैनिक अधिकृतबाट एक व्यक्ति प्रमाणपत्र लिइरहेका छन् । फोटोको टुप्पोमा लेखिएबाटै थाहा भयो, भर्नासम्बन्धी सूचना रहेछ ।
सुरुमा त सेनाको स्कुल रहेछ भन्ने अन्दाज लगाइयो । नियाल्दा कुरो अर्कै । हेटौँडा एकेडेमीको प्रचार पो रहेछ । प्रमाणपत्र थाप्ने व्यक्ति रहेछन्, विवादित व्यापारी अजेयराज सुमार्गीका भाइ अरुण । हेटौँडा एकेडेमी उनकै रहेछ । उक्त विद्यालयका विद्यार्थी एनसीसीको तालिममा सहभागी भएका रहेछन् कुनै बखत । त्यही बेला खिचिएको फोटो विद्यालयले नाफामुखी प्रचारमा राखेछ ।
मिडियाकर्मीलाई सेनाकै सूचना तथा जनसम्पर्क निर्देशनालयले ओरिएन्टेसन कार्यक्रमअन्तर्गत फिल्डमा लगेको थियो । सँगै रहेका सेनाका अधिकारीसमक्ष जिज्ञासा राख्दा यसलाई 'मिल्दै नमिल्ने' भनेर टिप्पणी गरे । पहुँचको आडमा बर्दीवाला तस्बिर देखाएर व्यापार गर्नेमाथि जंगी अड्डाले के गर्यो, थाहा छैन ।
अध्यागमनमा जमानी सम्झौता
ट्रेकिङ पेसाका एक चिनारु फ्रान्सबाट निम्तो आएपछि जाने भए । भिसा लाग्यो । मिति तय भयो, १९ माघ । निर्धारित समयमा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे, दिउँसो साढे २ बजे । 'अर्जेन्ट' भनेर चिनारुको म्यासेज आयो । अध्यागमन कर्मचारीले उनलाई अगाडि जान दिएनछन् । अध्यागमनले कारण केही बताएनछ ।
प्रतिबन्धित मुलुक पनि होइन । सामान्य सोधपुछ गर्दैमा डराएका होलान् भनेर केहीबेर पर्खन आग्रह गरेँ । साढे ४ बजेको उडान छ, पौने ४ सम्म नछाडेपछि फेरि अत्तालिएको स्वरमा फोन आयो । कारण खुलाउँदैन । जान पनि दिँदैन । पहिलोचोटि कसरी फ्रान्सको भिसा लाग्यो ? एसएलसी पास मात्र व्यक्ति कसरी फ्रान्स जान सक्छ ? यस्ता बेतुकका प्रश्न सोधेर मानसिक रुपमा गलाएछ ।
बेलिविस्तार लगाएर एक जना मन्त्रीका पीएलाई समस्या बिसाएँ । उनले तुरुन्तै अध्यागमन विभागका महानिर्देशकलाई समस्या पुर्याइदिएछन् । महानिर्देशकले चासो राखेपछि उनी उडे । तर विमानस्थल पुर्याउन जाने आफन्तसँग ऊ फर्केर आउँछ भन्ने बेहोराको जमानी कागजात गराएर । फर्केर आउँछ वा आउँदैन भन्ने चासो हाम्रो अध्यागमनको हो कि सम्बन्धित मुलुकको ? 'खासमा अध्यागमनका कर्मचारीले अनुहार हेरेरै सोझासीधालाई आफ्नो अवैध आम्दानीको स्रोत बनाउँछन् । अत्तालिएर पैसा दिन्छन्,' यो गतिविधि नियालिरहेका एक प्रहरीले जमानी बस्नेलाई र्फकने बेला सुटुक्क भनेछन् ।
यात्रुबाट यस्तै अनधिकृत कमाइ गरेकै कारण विमानस्थल अध्यागमनका कर्मचारी बारम्बार कारबाहीमा परेका, कर्मचारीको समूह नै फेरेका घटना थुप्रै सुनिए । तर यो अड्डाको चरित्र कहिल्यै नफेरिने रहेछ । के गर्ने होला सरकार ?
सम्बन्धित
२००७ को राजा/प्रजाको संयुक्त प्रजातान्त्रिक आन्दोलनपछि अहिलेसम्म जारी भएका संविधानअनुसार र...
कार्यकर्ता होइन, नागरिक भएर सोचौँ
अमेरिकामा चकित पार्ने धेरै पक्षहरू हुँदाहुँदै पनि सुरुमै सबैको ध्यान खिचेर विकासको परिचय द...
अमेरिकी सडक सन्जाल : विकासको अनौठो मोडल
छोरीचेलीको करियरका लागि सीमित रकम तिर्न नसक्ने तर पराई घर पठाउन ऋण गरेरै भए पनि लाखौँ खर्च...
छोरीचेलीको हैसियत बिहे मात्रै ?
ट्याक्सी ड्राइभर पहिलो पटक मैले कसरी र कहिले हेरेँ, याद छैन । तर हेर्नेबित्तिकै मलाई त्यो ...
ट्राभिस कुटाइममा मुर्दाघर आयो
तिमी पनि तिम्रा प्रियहरूलाई भनिदेऊ, ‘क्षमा देऊ ।’ उनीहरूलाई सिकाइदेऊ, बदलाका लागि होइन, बद...
बदलाका लागि होइन, बदलावका लागि लड्नुपर्छ
अमेरिका विकास, शक्ति र संस्कृतिमा जति धनी छ, भित्र लुकेको जातीय तुष पनि उत्तिकै टाँसिएको छ...