मकैबाली सिध्याउने मिचाहा कीरा चिन्नुहोस्

- बसन्त बस्नेत

 मिचाहा कीरासित सावधान


९८ वर्षअघि मकैको खेती लेखेर बालीनालीमा लाग्ने कीराबारे जनचेतना जगाउँदा सुब्बा कृष्णलाल अधिकारीलाई राणा सरकारको गाथगादी ताकेको बात लाग्यो । आज राणा शासन त छैन, तर नयाँ मिचाहा बिरुवा/कीरा भित्रिएका छन् । तिनले मकै किसानको गाथगादी ताकेका छन् ।

जस्तो कि, दशक ५० को मध्यतिर 'माओवादी झार' ले पिर्नु पिरेको थियो किसानलाई । संसदीय व्यवस्थालाई दुस्मन करार गर्दै तत्कालीन नेकपा माओवादीले मध्यपश्चिम नेपालका दुर्गम पहाडी बस्तीबाट हतियारबन्द विद्रोह थालेकै बखत नेपालमा 'पार्थेनियम हिस्ट्रोफोरस' नामक झार भित्रिएको थियो । दक्षिण अमेरिकाबाट सुरु यो 'साम्राज्यवादी झार' ले नेपाली किसानलाई अत्याउन कत्ति पनि बेर लगाएन । माओवादी जसै जंगलबाट बस्तीतिर छिर्दै थिए, यो झार जंगलमा साम्राज्य जमाउँदै थियो ।

जंगलको जैविक शक्तिलाई भित्रभित्रै सखाप पार्ने 'पार्थेनियम हिस्ट्रोफोरस' लाई माओवादी झार नाम दिनेमा कुनै 'बुर्जुवा पाठशाला' का वैज्ञानिक थिएनन्, ग्रामीण किसान थिए । समुद्री सतहदेखि १९ सय मिटरसम्म नेपाली खेतबारीमा फैलिइसकेको छ यो झार ।

यो बीचमा अरू किसिमका बिरुवा आइसके । यिनको सरुवा स्रोतबारे वैज्ञानिकहरू पनि यकिन गरेर भन्न सक्दैनन् । तर अधिकांश बिरुवा र कीराहरूको उद्भव पश्चिमा राष्ट्रमा हुन्छ भन्ने अध्ययनले देखाइसकेको छ ।

'पार्थेनियम हिस्ट्रोफोरस' बिरुवाजस्तै भर्खरै नेपाल भित्रिएको आशंका गरिएको 'फल आर्मी वर्म' यस्तै मिचाहा जातको कीरा हो, जसले नेपालको कुल राष्ट्रिय उत्पादनमा तेस्रो हिस्सा ओगट्ने मकैबालीलाई सखाप बनाउँदै छ । 'फल आर्मी वर्म' अर्थात् शिशिर ऋतुमा पल्किने मिचाहा कीरा । ज्ञानीहरूले यसलाई 'विप्लव कीरो' नाम दिन बेर छैन ।

खैरो/खरानी रङको झुसिलकीरा प्रजातिको यो कीराको जीउमा चार वटा थेग्ला हुन्छन् । मुख र पुच्छरको भाग अंग्रेजीको अन्तिम दोस्रो अक्षर 'वाई' झैँ घुंग्रिएका हुन्छन् । कीराले सेता रंगको अन्डा पार्छ । कपालजस्तै देखिने भुत्ला भएको यसको कम्मर खैरो र केही पातलो हुन्छ, जसले गर्दा यसलाई बिरुवामा घुंग्रिएर बस्न सहज हुन्छ । यसै कीराले पूरा अफ्रिका महादेशको २० प्रतिशत मकै सखाप पारिसकेको रिपोर्टहरूले देखाएका छन् ।

'यो कीराले किसानहरूलाई आर्थिक रूपले टाट मात्रै पल्टाउँदै छैन,' विज्ञहरूको रिपोर्टमा आधारित न्यू स्पटलाइट म्यागजिनको पछिल्लो लेखमा भनिएको छ, 'मानव स्वास्थ्यमा समेत संकट ल्याइरहेको छ ।' अमेरिकी ओरिजिनको यो कीरा तीन वर्षअघि सन् २०१६ मा पहिलोपल्ट अफ्रिकामा देखियो । अघिल्लो वर्षको मध्यतिर भारतको कर्नाटकमा भेटिँदै गर्दा यो दक्षिण एसियामा पनि पसेको पुष्टि भयो । लगत्तै तमिलनाडु, आन्ध्र प्रदेशका खेती प्रभावित भए । वैज्ञानिकका अनुसार १ दिनमा सय किमिसम्म तीव्र यात्रा गर्न सक्ने यो कीरा यसै वर्षको सुरुआतमा नेपाल छिरिसकेको अनुमान छ । न्यु स्पटलाइट म्यागजिनका अनुसार मकैबाली अधिक हुने तराई र मध्यपहाडी जिल्ला यसबाट प्रत्यक्ष प्रभावित हुनेछन् । मकै सम्भावित मुख्य सिकार भए पनि अरू बाली उत्तिकै प्रभावित हुने विज्ञहरूले औँल्याएका छन् ।

न्यु स्पटलाइटमा प्रकाशित रिपोर्ट


'खन्चुवा किसिमको कीराले एकैपल्ट सयौँ बालीबिरुवामा खति पुर्याउन सक्छ, मकै मुख्य तारो भए पनि धान, मिलेट, सोर्गमजस्ता महत्त्वपूर्ण खाद्यपदार्थ यसका सिकार हुन्,' म्यागजिनको २१ डिसेम्बर-१० जनवरी अंकमा लेख्दै डा मुनि मुनियाप्पन, प्रा पीके झा र डा ल्युक कोलाभिटोले चेतावनी दिएका छन्, 'नेपालमा तेस्रो महत्त्वपूर्ण खाद्यका रूपमा रहेको मकैलाई फल आर्मी वर्मले पार्ने असर राष्ट्रिय अर्थतन्त्रका लागिसमेत भयावह बन्दैछ ।'

विज्ञहरूले झापा र सिन्धुलीबाट यो मिचाहा कीराको नेपाल प्रवेश भएको प्रारम्भिक अध्ययनबाट निष्कर्ष निकालेका छन् । अध्ययनमा संलग्न एक विज्ञले केही साताभित्रै उच्चस्तरीय टोलीमार्फत यसबारे विस्तृत जानकारी सार्वजनिक हुने बताउँदै कृषक तथा सम्बन्धित उपल्ला निकायले आफ्नो जुगाड गर्न थाल्ने संकेत गरे । यसको जेनेटिक कन्फर्मेसनका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको 'प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र' ले काम गरिरहेको छ ।

"फल आर्मी वर्मको अनुगमन गर्न सजिलो छैन, नेपाल-भारतको सिमाना जोडिएका क्षेत्रमा हामीले यो घातक कीराको प्रवेशबारे परीक्षण र अनुगमन गर्न 'ल्युर' (चारा) राखेका छौँ," नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्राज्ञ डा पीके झा भन्छन्, "नीति निर्माण तहलाई हामीले यस विषयमा झक्झक्याउने प्रयास गरिरहेका छौँ, तर अनुसन्धान टुंग्याउन र कार्यान्वयनमा पाइला चाल्न ढिलो हुँदैछ ।"

'इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट' अर्थात् एकीकृत शत्रुजीव व्यवस्थापनमार्फत यस कीरालाई नियन्त्रण गर्ने कोसिस भइरहेको छ । ल्याम्पपोस्टजस्तै देखिने लाइट ट्रयाक गरेर विषाक्त कीरालाई आकषिर्त गर्न वैज्ञानिकहरू लागिपरेका छन् । उनीहरूका अनुसार लाइटको बत्ती झुन्ड्याउने होल्डरमा कालो रंगको 'ट्रयाप' राखिन्छ । उज्यालो प्रकाशमा स्वभावैले कीराहरू झुम्मिन्छन् । यो कालो रंगको 'ब्ल्याक लाइट ट्रयाप' चाहिँ तिनीहरूका लागि डेथ ट्रयाप हो, जसबाट उम्किएर कोही नबच्ला !

फल आर्मी वर्मभन्दा पहिले पनि विभिन्न किसिमका मिचाहा झार कीरा देखिइसकेको अवस्थामा रोक्न असम्भवप्रायः भएको थियो । यी जातका बिरुवाको विशेषता के हुने गर्छ भने, सुरुमा कुनै प्रयासमार्फत रोक्न सकियो भने सफलता मिल्यो । नत्र तिनीहरू रोक्नै नसकिने गरी सर्वत्र फैलिन्छन् । सुडानलगायत अफ्रिकी देशमा यस्तो प्रकोप फैलिँदा उपल्लो निकाय कसरी सामना गर्ने अन्योलमा फस्यो । किसान केही सीप नलागेर डुबेको आम्दानीको मायाले सडकमा ओर्लिए ।

हाम्रोमा यस्तै दुर्भाग्य नदोहोरिएला भन्न सकिन्न । यसबारे केही संस्थाहरू अध्ययन गर्न कस्सिएका छन्, तर नास्ट आफैँ भने के गरौँ, कसो गरौँको अवस्थामा छ । सरकारी संस्थालाई आलोचना गर्न जहिले पनि सजिलै हुन्छ, तर यो प्रतिष्ठानको हविगत बताउन नेपाली भाषाको अप्ठेरो शब्दमै पुग्नुपर्ने हुन्छ- किंकर्तव्यविमूढ ।

सम्भावित महामारीको यकिन हुँदाहुँदै यस्तो अवस्था किन आयो त ? डा झा स्रोत-साधनको सीमितता र अथक अनुसन्धानको अभावलाई कारक देख्छन् । "नास्टले प्राथमिकताको क्षेत्र छान्न सकेको छैन । वैज्ञानिकहरूले आफ्नो विशेषज्ञताअनुसार मात्रै काम गरिरहेका छन्," उनी भन्छन्, "तर आशालाग्दो कुरा, त्रिवि वनस्पतिशास्त्र विभागले यसमा अग्रसरता देखाएर अनुसन्धान गरिरहेको छ ।"

फल आर्मी वर्मबारे लेख्दै भारतीय मूलका अमेरिकी वैज्ञानिक आइपिएम इनोभेसन ल्याबका डाइरेक्टर डा मुनि मुनियाप्पनले यो कीरा नेपालमा कुन बेला फैलिइसक्छ, अनुमान गर्न नसकिने बताउँछन् । 'जलवायु परिवर्तन र त्यसले ल्याउने मौसमी अनिश्चितता नै यस्ता विषाक्त कीराका लागि अनुकूल अवसर हो,' मुनियाप्पन लेख्छन्, 'कीराले गर्ने क्षति धेरैजसो बालीको सुरुआती समयमै हुन्छ । त्यसैले नेपालजस्ता देशहरूले घातक कीरा चिन्न र त्यसको निदानका लागि प्रयास थाल्न ढिला गर्नु हुँदैन ।'

यसअघि त्यसैगरी फैलिएको अर्को महामारी थियो- टुटा एब्सोल्युटाको । नेपालीमा गोलभेडामारा, अर्थात् गोलभेडा सखाप बनाउने संक्रामक मिचाहा कीरा । तराई र पहाड गरी हालसम्म ३१ जिल्लामा फैलिइसकेको पत्ता लागेको यो कीराले एक सिजनमा ५ करोड रुपैयाँ बराबर गोलभेडा सिध्याउन सक्ने विज्ञहरूको अध्ययनले देखाएको छ । यो अझै पनि नियन्त्रण भइनसकेको बताउँछन्, इन्टरनेसनल डेभलपमेन्ट इन्टप्रेनरका वैज्ञानिक ललित साह ।

साहको भनाइमा टुटा एब्सोल्युटा सन् २०१६ को मेमा नेपाल छिरेको पुष्टि भएको थियो । यसलाई नियन्त्रण गर्न बैङलोरबाट २ सय वटा ल्युर नेपाल ल्याएका उनले लगत्तै सरकारी निकायको समन्वयमा विषाक्त कीराको अनुगमन गरेको जानकारी दिए । "सुरुमा सिन्धुली र ओखलढुंगामा टुटा एब्सोल्युटा छिरेको पत्ता लाग्यो, त्यसपछि हामीले विज्ञ र केही किसानसमेत सहभागी गराएर नियन्त्रणका उपायबारे छलफल गर्‍यौँ," साह भन्छन्, "यस्ता खाले अनेक समस्या फैलिइरहेका छन्, जसबारे हामी कसैलाई पनि समयमा थाहा हुन सक्दैन, त्यसैले नीति निर्माण तहका व्यक्ति बोलाएर झक्झक्याउने दायित्व हाम्रो हो ।"

यसअघि राजधानीमा मंसिर पहिलो साता 'न्यु इन्भेसिभ स्पेसिज थ्रेट्स इन् एसिया' नामक दुईदिने सेमिनार आयोजना गरिएको थियो, जसमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, कम्बोडिया, म्यानमार र भियतनाम गरी ७ देशका ३७ बाली संरक्षणविज्ञले 'फल आर्मी वर्म' को खतराबारे औँल्याएका थिए । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीलाई बोलाएर उनीहरूले जलवायु परिवर्तन र मानवीय आवतजावतका कारण रोगका जीवाणु सरिरहेको तथा विभिन्न नयाँ जातका विषाक्त कीराको संक्रमण भइरहेको छलफल गरेका थिए ।

 'त्यस्ता कीराको आक्रमण हुन सक्ने सम्भावना, तिनीहरूको उचित रोकथाम एवं व्यवस्थापनका विषयमा नीतिगत तहमा सचेतना विस्तार गर्ने उद्देश्यले आयोजित गोष्ठीमा हालै भारतमा फेला परेको नयाँ प्रजातिको कीरा फल आर्मी वर्म विषयमा छलफललाई केन्द्रित गरिएको थियो,' विषादी व्यवस्थापन केन्द्रको वेबसाइटमा प्रकाशित छ । 

प्रकाशित: फाल्गुन २१, २०७५