चुनढुंगा खानीमा बिचौलियाकै रजाइँ, रैथानेको उठीबास
उनीहरू चुनढुंगा खानी उद्योगका कारण आफ्नै थातथलो छाड्न बाध्य भएका हुन् । स्थानीय पिमिसरा सारुका अनुसार घरमा बस्न सकिने अवस्था छैन, घरजग्गा कम्पनीले उपभोग गर्दैछ ।
निस्दी गाउँपालिका-७, ज्यामिरे भुटुकेको सिंगो २६ घरपरिवार अहिले पूर्व नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकाको सर्दीमा विस्थापित भयो । केही परिवार सर्दी पुगिसकेका छन् भने कतिपय बसाइँ सर्ने तयारीमा छन् । घर छेउमा कर्कश आवाज र ढुंगा पल्टिन थालेपछि उनीहरूको दैनिकी प्रभावित भयो । बिस्तारै सबै घरपरिवार सर्दीतिरै बसाइँ सर्ने तयारीमा छन् । उनीहरू चुनढुंगा खानी उद्योगका कारण आफ्नै थातथलो छाड्न बाध्य भएका हुन् । स्थानीय पिमिसरा सारुका अनुसार घरमा बस्न सकिने अवस्था छैन, घरजग्गा कम्पनीले उपभोग गर्दैछ ।
सारु मात्रै होइन, यहाँका २६ घरपरिवार चुनढुंगा उत्खननबाट प्रभावित हुन् । उनीहरूलाई झन्डै एक वर्षे अवधिमा होङसी शिवम् सिमेन्ट उद्योगले सर्दीमा नयाँ घर बनाइदिएको छ । थातथलो छाडेर मधेस (तराई) झर्दा त्यहाँ खेलमैदान, मन्दिर र बस्न सामुदायिक भवन नभएको उनको गुनासो छ । केही घर बसाइँ सरिसके । बाँकी जाने तयारीमै छन् ।
होङसी मुलुककै ठूलो सिमेन्ट उद्योग हो । यसले यहाँ ३० वर्षका लागि चुनढुंगा खानी उद्योग सञ्चालन अनुमति पाएको छ । चुनढुंगा उत्खनन भएको ज्यामिरे भुटुकेको जग्गा सुरुमा भने होङसीको थिएन । यहाँ चुनढुंगा खोज्ने अनुमति तिनाउ गाउँपालिका-३ का बाबुराम पाण्डेयको कम्पनीको थियो ।
पाण्डेयले साविकको ज्यामिरेका सचिव टुकराज पाण्डेयसँग बाख्रापालनलगायतका लागि भन्दै जग्गा किन्ने प्रयास गरेका थिए । तर व्यक्तिगत रूपमा नभएपछि बाबुरामले खानी तथा भूगर्भ विभागको लाइसेन्स लिए । त्यस क्षेत्रमा चुनढुंगा खोजीको लाइसेन्स लिएर परीक्षण गर्दा गुणस्तरीय चुनढुंगा भेटियो । "हामीलाई सरकारले एक रुपैयाँ पनि नदिई अतिक्रमण गर्छ भन्दै धम्की दिए," भुटुकेका स्थानीय हुमबहादुर सारुको गुनासो छ, "सबै गाउँले एकजुट भएर जग्गा बिक्री गरिएन ।" जग्गा किन्ने दलाल पटक-पटक आए । पछि कम्पनीले सबै जग्गा लिइसकेको थाहा पाए, स्थानीयले ।
जग्गा उपभोगका लागि गरिएका लिखत
ज्यामिरेको भुटुकेका सबै घरपरिवारलाई अहिले अन्यत्रै स्थानान्तरण गरिएको छ । त्यसैले अन्यत्रका पीडितले पनि मुआब्जा माग्न थालेका छन् । "पीडित परिवारलाई बसाइँ व्यवस्थापन गर्नुपर्छ," माथागढी-७ रहबासका रेवतबहादुर सुनार भन्छन्, "हामी सबै थातथलो बिक्री गरेर हिँड्नुपर्ने भएको छ ।" अहिले जनता केही सचेत छन् । तर बिचौलियाको मारमा परेपछि कम्पनीबाट फाइदा लिन मुस्किल छ । जिल्लाका दर्जनभन्दा बढी स्थानमा चुनढुंगा उत्खनन र दर्तामा बिचौलियाकै बोलवाला छ । रूपन्देही, नवलपरासी, कपिलवस्तुमा खुलेका सिमेन्ट उद्योगका लागि चुनढुंगा पाल्पाको महाभारत क्षेत्रबाट लगिन्छ ।
नवलपरासी पूर्वको होङसी शिवम् सिमेन्टले ज्यामिरे भुटुकेबाट र पाल्पा सिमेन्टले रहवास, गोठादी, कोलडाँडाबाट चुनढुंगा लगेका छन् । सर्वोत्तम, सिद्धार्थ, अर्घाखाँची, बुटवल सिमेन्टलगायतले मस्याम, दोभान, झुम्सा, कचल, सिद्धेश्वरबाट लैजान्छन् । पूर्वखोला-३ जल्पा, ज्यामिरे, बहादुरपुरलगायतका स्थानबाटसमेत चुनढुंगा लैजाने तयारी छ । दैनिक एक हजारभन्दा बढी टिपरले चुनढुंगा निकासी गर्दै आएका छन् । जिल्लाका अझै आठ स्थानबाट चुनढुंगा निकाल्ने तयारी छ ।
सुरुमा कम्पनी आफैँले जग्गा किन्दा स्थानीयलगायतको लफडा झेल्न नचाहने हुँदा बिचौलियालाई मौका मिल्छ । तिनाउ गाउँपालिका-३ मरेक र श्रीडाँडाको खोजतलास अनुमति पनि झुम्साकै बाबुराम पाण्डेयलगायतकै कम्पनीबाट भएको हो । "सिमेन्ट उद्योगलाई जग्गा बिक्री गरेको हो," पाण्डे स्वीकार्छन्, "सुरुमा जग्गा लिन विभिन्न झन्झट बेहोर्नुपर्छ । त्यो सबै कम्पनीले कहाँ झेल्छन् ?" बुटवल सिमेन्टलाई चुनढुंगा आपूर्ति गर्ने कञ्चन क्वायरिजले मरेकडाँडाबाट उत्खनन गरिरहेको छ । झुम्सा दोभानस्थित श्रीडाँडाको जग्गाबाट सिद्धार्थ मिनरल्सले अर्घाखाँची सिमेन्टका लागि चुनढुंगा लगेको छ । यहाँ पनि व्यक्तिका जग्गा थिए । श्रीडाँडाबाट सात घर विस्थापित भए । अझ ६ घर विस्थापित अवस्थामा छन् । यहाँ पनि न्यून मूल्यमा जग्गा खरिद गर्ने र बढी नाफा हात पारेर बिक्री गर्ने बिचौलिया बग्रेल्ती छन् ।
श्रीडाँडास्थित चुनढुंगा खानी | तस्बिरहरु : माधव अर्याल
जिल्लाका २१ भन्दा बढी स्थानमा चुनढुंगा उत्खनन अनुमतिका लागि स्वीकृत भइसकेको खानी तथा भूगर्भ विभागले जनाएको छ । पछिल्लो समय स्थानीयको आन्दोलन जारी छ । सिजी सिमेन्टले रिब्दीकोट-१, ख्याहा जोगीथुममा बिचौलिया लगाएर जग्गा खरिद गरिरहेको छ । सात घर यहाँबाट विस्थापित भइसके । १ सय १९ घरपरिवार चुनढुंगा उत्खननको जोखिममा छन् । तर पीडितका विषयमा बोलिदिने कोही छैन । स्थानीय लालबहादुर कुमाल दुःखेसो पोख्छन्, "हामी सबै विस्थापनको खतरामा छौँ ।"
केही समयअघि उद्योगले नै जथाभावी जग्गा खरिद गर्ने र बिचौलिया लगाउन थालेपछि रैनादेवी छहरा-२ सोमादी सर्देवाका वासिन्दा आन्दोलित भए । अहिले भने तिनीहरूलाई जागिर दिइएको छ ।
ज्यामिरे भुटुकेमा आन्दोलनरत स्थानीय
पाल्पा सिमेन्टको चुनढुंगा उत्खनन क्षेत्र रहवासमा हरेक साता आन्दोलन भइरहेका छन् । स्थानीयको माग पूरा नगर्दा कहिले उत्खनन बन्द र कहिले खुल्ने गर्छ । अहिले पनि स्थानीयले जग्गा विषयको किचलो कम्पनीसँग राखेका छन् । १४ घरले जग्गा बिक्री गरिसके । अझै १५ भन्दा बढी घरपरिवारको जग्गा बिक्री गर्न बिचौलिया प्रयोग भइरहेका छन् ।
वडाध्यक्ष जंगबहादुर थापा भन्छन्, "बाख्रापालन गर्ने भन्दै आएका बिचौलियालाई स्थानीयले जग्गा बिक्री गरे ।" यहाँबाट विस्थापित उनीहरूले माथागढी-२ रुप्सेमा घडेरी किनेका छन् । कृषि र पशुपालन गर्ने नाममा गाउँबस्ती पसेर सस्तो मूल्यमा जग्गा बेच्दै आएका बिचौलियाले स्थानीयलाई जानकारी नदिएरै सिमेन्ट उद्योगलाई बेच्छन् । यसबाट बिचौलिया मालामाल बने पनि स्थानीय बस्ती सारेर अन्यत्र जानुपर्ने बाध्यता छ ।
सम्बन्धित
अमेरिकाले बर्सेनि निकाल्ने आतंकवादसम्बन्धी प्रतिवेदन नेपालबारे फेरिएको धारणा...
नेपाललाई 'आतंकवादको हब' मान्ने अमेरिकी धारणा कसरी परिवर्तन भयो ?
लकडाउनपछि आफ्नो मुलुक फर्किएका भारतीय मजदुर सम्पर्कमै आएनन्, रेडजोनमा परेका स्वदेशकैलाई ल्...
उद्योग चलाउनै मुस्किल
सात दशकयताको दलीय तानातानको शिकार बन्दै आएको नागरिकता मुद्दामा यसपल्ट पनि विगतकै राजनीतिक ...
नागरिकतामा किन सधैँ किचलो ?
केन्द्रीय अनुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीब...
आश्रममै रहे पनि किन पक्राउ पर्दैनन् बमजन ?
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेशमा आएर केन्द्रीय भूमिका गुम्ने भय, पार्टी इन्चार्ज र अर्...
ओलीका ‘अलराउन्डर’ विश्वासपात्र
कोरोना महामारीले खर्च घटाउन र प्रशासनलाई चुस्त राख्न सबक सिकाए पनि अनावश्यक खर्च कटौतीमा भ...