मरेपछि 'गद्दार स्टालिन’
कम्युनिस्ट पार्टीका नीति र सिद्धान्त विदेशी विचारबाट प्रभावित हुने गर्छन् । विद्यालय तह (०१०) सकाएर म त्यही वर्ष खुलेको पाटन इन्टरकलेजमा भर्ना भएँ, अध्ययन अगाडि बढाउन ।
क्रान्तिबारे जिज्ञासा उत्पन्न हुँदा म १२ वर्षको मात्रै थिएँ । पद्मशमशेरको शासनकाल १७ वैशाख ००४ मा काठमाडौँका तीनै सहर तथा वीरगन्ज, विराटनगरलगायत स्थानमा राणा शासनविरुद्ध 'इन्कलाव जिन्दावाद’को नारा घन्कियो । त्रिचन्द्र कलेजका विद्यार्थी कम्युनिस्ट समर्थक पुष्पलाल श्रेष्ठको नेतृत्वमा राणा शासनविरोधी क्रियाकलाप भइरहे ।
राणा शासन हटाउने मूल लक्ष्य लिएर पुष्पलाल, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्यले कोलकाताको श्यामबजारमा सम्मेलन गरी नेपाल कम्युनिस्ट पार्टी स्थापनाको घोषणा गरे, ७ वैशाख २००६ मा । तिनैमध्येका निरञ्जनगोविन्द वैद्यसँग मामाको नाता भएकाले मलाई कम्युनिस्ट पार्टीप्रति लाग्न प्रेरणा मिल्यो । उबेला वैद्यको कार्यक्षेत्र वीरगन्ज थियो । राणा, कांग्रेस र भारतबीचको सहमतिले निरंकुश राणातन्त्र हटे पनि दिल्ली सम्झौता अस्वीकार गरेपछि नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्धित भयो, २००८-२०१३ सम्म ।
पाटन मंगलबजार टंगल न्हागल टोलमा बाजेले पुख्र्यौली आम्दानी स्रोतका रुपमा सानो कपडा पसल चलाउँदै आएका थिए । बाजेको मृत्यु (२००५) पछि बाबा भारथराम जोशीको काँधमा कपडा पसलको जिम्मेवारी आइलाग्यो । त्यो पसलमा ०५-०६ मा राजनीतिमा सक्रिय माणिकलाल र भक्तलाल श्रेष्ठ आइरहन्थे । बासँग राजनीतिबारे कुराकानी गर्थे । त्यसैको प्रभावका कारण कम्युनिस्ट पार्टीका नेता/कार्यकर्तालाई बाको सहयोग र समर्थन रहन थाल्यो ।
बाजेले चलाएको त्यो कपडा पसलमा कुलेखानीदेखि मकवानपुरसम्मका मानिसको भीड लाग्थ्यो । दाजु केशवराम जोशी (२००९) नेपाल कम्युनिस्ट पार्टी ललितपुरको जिल्ला सेक्रेटरी र म ललितपुर नगर कमिटीको सेक्रेटरी भयौँ । कम्युनिस्ट नेता सिद्धिलाल सिंह सहपाठी थिए । मैले नै उनलाई नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गराएँ । पार्टीमा लागेपछि कम्युनिस्ट कार्यकर्ताको गाँस, बास र कपासको जोहोसमेत हाम्रै पसलबाट जुटाउनुपर्यो बाले । पसलको आम्दानी कार्यकर्ता पाल्न प्रयोग गरियो । आफ्नै परिवारका १२ सदस्य र भूमिगत कम्युनिस्ट नेता/कार्यकर्ताले खाना खाने थलो हाम्रै घर बन्यो । त्यसकारण सबै श्रीसम्पत्ति सकिँदा टाट पल्टियौँ । कपडा पसलको व्यापारले थेगेन ।
त्यतिबला हाम्रो बासथलो इन्द्रचोक थियो । कम्युनिस्ट कार्यकर्ताका लागि सेल्टरजस्तै बन्यो २००७-२०१२ सम्म हाम्रो घर । नेकपाको प्लेनम र सेमिनार हाम्रै घरमा हुन्थे । पार्टीका आगामी रणनीतिबारे गुप्तवासी नेताहरुले त्यही घरमा योजना बुन्थे ।
पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, निरञ्जनगोविन्द वैद्य, तुलसीलाल अमात्य, शम्भुराम श्रेष्ठ, शैलेन्द्रकुमार उपाध्याय, साधना/सहानादेखि केशरजंग रायमाझीलगायतका नेता/कार्यकर्ताको आउजाउ भइरहन्थ्यो हाम्रो घरमा ।
रोचक के भने निरञ्जनगोविन्द वैद्य पुष्पलालको उपस्थितिमा हाम्रै घरबाट बेहुला बनेर दुलही लिन गएका हुन् । ०११ टंकप्रसाद आचार्य प्रधानमन्त्री भएको समय (०११-०१४) कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध फुकुवा भयो ।
कार्यकर्तालाई एउटै भान्सामा खुवाए पनि बालाई कहिल्यै कम्युनिस्ट पार्टीको कार्यकर्ता बन्ने रहर जागेन । देशमा आमूल परिवर्तनका लागि दुवै छोरा कम्युनिस्ट राजनीतिमा लागेपछि आफ्नै जायजेथा सकाएर नेता/कार्यकर्ताको संरक्षण गर्ने बाको चाहना भने पूरा हुन पाएन ।
कम्युनिस्ट पार्टीका नीति र सिद्धान्त विदेशी विचारबाट प्रभावित हुने गर्छन् । विद्यालय तह (०१०) सकाएर म त्यही वर्ष खुलेको पाटन इन्टरकलेजमा भर्ना भएँ, अध्ययन अगाडि बढाउन । अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीका सिद्धान्त घोकेर कार्यकर्ता बनेको मेरा लागि ०११ अविष्मरणीय भइदियो । त्यही बेला सोभियत संघ (हाल रुस) मा एकछत्र कम्युनिस्ट राज चलाइरहेका जोसेफ स्टालिनको मृत्यु भयो । बाँचुन्जेल उनलाई रुसमा 'देवता' समान पुजिन्थ्यो । मर्नासाथै उनैका उत्तराधिकारी खुश्चेभले गद्दार घोषित गरिदिए । यस घटनाले कम्युनिज्मप्रतिको हामी दाजुभाइको आस्थामा उलटफेर ल्याइदियो । कुनै बेला पार्टी चलाउन पाटनका गल्लीगल्लीमा चन्दा माग्न घरदैलो चहार्ने म ०१२ मा कम्युनिस्ट पार्टीबाट मात्र नभई राजनीतिबाटै विश्राम लिन पुगेँ। मैले कम्युनिस्ट पार्टी परित्याग गरेँ, दाजुचाहिँ नेपाली कांग्रेस प्रवेश गरे ।
जोशी इतिहासकार तथा पुरातत्वविद् हुन् ।
प्रस्तुति : गोकुल अर्याल
सम्बन्धित
कम्युनिस्ट पार्टीको गुपचुप गतिविधि गरिरहेका नरबहादुर कम्मर र छाती दुवैतिर जापानी, भारु, ने...
थैले काण्डमा पक्राउ पुर्जी
नारदमुनि स्वयंले अंग्रेजी पढाउँथे । ब्रिटिस फौजको जमदार भएका र त्यति धेरै नपढेका उनले हाम...
नारदमुनि थुलुङको सम्झना
हुन त कतिपयले ममा भारतीय कलाकार मकबुल फिदा हुसैनको प्रभाव परेको भन्ठान्छन् । तर भक्तपुरमा ...
यस कारण घोडाचित्र
राजा वीरेन्द्रले आफ्ना निजी सचिव चेतबहादुर कुँवरमार्फत ६० हजार रुपैयाँ पठाइदिए । त्यही पै...
राजाले दिएको टिकटमा अमेरिका
सरकारी स्वामित्वको अखबार भएको हुँदा व्यवस्थाको विरोध गरेर गोरखापत्रमा व्यंग्यचित्र बनाउन प...
अखबारमा कार्टुनकारिता
जापानको फुकुओका आर्ट म्युजियममा पहिलोपल्ट आयोजित एसियाली कला प्रदर्शनीमा दस अवतार सिर्जना ...